राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल


 

आफ्नो चरमोत्कर्षको समयबाट पञ्चायती व्यवस्था गुज्रिरहेको थियो । एकथरी मान्छेहरू थिए– व्यवस्था ठीक भएन, परिवर्तन ल्याउनुपर्‍यो भन्दै आन्दोलित, र अर्काथरी यस्ता पनि थिए जो दरबार खुसी पारेर कसरी व्यक्तिगत लाभ लिने भन्नेमै अहोरात्र चिन्तन गर्दै आयु छोट्याउँथे । तर, नेपालआमाको काखमा यस्ता सन्तानहरू पनि सल्बलाइरहेकै थिए जसलाई व्यक्तिगत फाइदाका कुराले छुँदैनथ्यो, आफ्नो देशलाई कसरी समयानुकूल सुख–समृद्धिको बाटोबाट हिँडाउन सकिन्छ भन्ने ध्येय नै त्यस्ता व्यक्तिभित्र हरदम जागृत भइरहन्थ्यो । यस्तै सीमित नेपालीमध्येका एक बेलप्रसाद श्रेष्ठ एकदिन छक्क परे, जब तत्कालीन राजा वीरेन्द्र बिना कुनै सूचना एक्कासि धुलिखेलस्थित होटल हिमालयन होराइजन परिसरमा प्रकट हुन पुगे । देश–विदेशको चालचलन र समयको गति केही सीमासम्म बुझिसकेपछि आफ्नै परिवेशमा रमाउने अभिलाषाका साथ समाजसेवा र निजी होटल व्यवसायमा रमाइरहेका बेलप्रसादका निम्ति त्यो क्षण के गरौँ कसो गरौँ भनेझैँ भयो । तत्कालीन धुलिखेल नगरपञ्चायतका प्रमुखमा उनी चुनिएको तीन महिना मात्र भएको थियो । राजा भएर पनि सर्वसाधारण व्यक्तिझैँ किन त्यसरी प्रकट भएका होलान् भन्ने जिज्ञासा त्यत्तिकै जागृत भए । तर, त्यस्ता सवालहरूसँग रुमलिइरहने समय थिएन त्यो । राष्ट्रप्रमुखका रूपमा मुलुकले मानेका व्यक्ति साक्षात् प्रकट थिए, अब जो सकेको आतिथ्यता प्रदान गर्नैपर्ने कर्तव्य जो खडा भइसकेको थियो ।

धुलिखेलका गन्यमान्यमध्येका प्रमुख एकको हैसियत बनाइसकेका बेलप्रसादले त्यसअघि कहिल्यै राजपरिवारका कुनै सदस्यसँग भेट्ने अवसर पाएका थिएनन् न त परिवारका कसैले त्यस्तो अनुभव संगालेका नै थिए । आफू परियो एक सर्वसाधारण नेपाली, नेपालका सर्वोच्च कहलिएका यी ‘अभिजात्य’सँग अब कसरी व्यवहार गर्ने ? यस्तै प्रश्न उब्जियो बेलप्रसाद श्रेष्ठको मनमा । तर, परिस्थितिलाई सहज तुल्याइदिए राजा वीरेन्द्रले नै, उनी होटलको आँगनछेउमा रहेको काठको एक पुरानो कुर्सीमा गएर थचक्कै बसिदिए । राजाका एडीसी र अर्का एक सहयोगी नजिकै उभिए । होटलका ग्राहकहरूका निम्ति जुन चिया बन्ने गथ्र्यो त्यही चियाद्वारा राजा वीरेन्द्रको स्वागत गरियो । उनले त्यसलाई त्यत्तिकै आत्मीयताका साथ ग्रहण गरे । बेलप्रसाद छक्क परे, सँगसँगै राजा वीरेन्द्रप्रति श्रद्धाभाव पनि उत्तिकै उम्लिएर आयो उनको हृदयमा । राजा त कस्ता अनौठा र सरल रहेछन् भन्ने लाग्यो बेलप्रसादलाई । ०४४ सालको प्रसङ्ग थियो यो ।

कम सरल र अनौठा व्यक्ति छैनन् बेलप्रसाद श्रेष्ठ पनि । पिता मोहनप्रसाद र माता रामदेवीको कोखबाट वि.सं. १९९७ मा धुलिखेलको पिछडिएको परिवेशमा जन्मिएर पनि सानै उमेरदेखि बेग्लै केही गरूँ भन्ने भावनाबाट ओतप्रोत थिए बेलप्रसाद । घरमा पालिएका भैंसी र भेडाका गोठालो बनेर सुरु भएको थियो उनको बाल्यकाल । ०६ सालमा आफ्नै बाजेहरूले धुलिखेलमा स्कुल स्थापना गरेपछि एक विद्यार्थीका रूपमा परिवर्तन हुनपुग्यो उनको दैनिकी । परिवारकै प्रथम विद्यार्थी बेलप्रसादलाई पढ्नभन्दा धुलिखेलका मन्दिरहरू र तिनमा कुँदिएका कलाकौशलहरूबारेमा जान्न मन लाग्थ्यो । त्यति ठूला मन्दिरहरू कसले कसरी बनाए होलान्, राम्रा-राम्रा मूर्तिहरू कसले कुँदे होलान्, एउटै ढुङ्गाको कति अग्लो स्तम्भ र त्यसमाथि जोडिएको सिंहको सुन्दर मूर्ति कसले कसरी बनायो होला ? यस्ता जिज्ञासा सानै उमेरदेखि लहरझैं उठे उनका मनमा । बुबा–बाजेहरूलाई कसले बनाए होलान् यस्ता मन्दिर र मूर्तिहरू भनी सोध्दा ‘धुलिखेलकै मान्छेहरूले बनाए नि, अरू कसले बनाइदिन्छ ?’ भन्ने जवाफ पाउँदा झनै चकित बन्न पुग्थे उनी । यस्तैयस्तैमा धुलिखेलमै कक्षा नौसम्मको अध्ययन सकी काठमाडौं झरेर जेपी स्कुलबाट ०१४ सालमा एसएलसी पास गरे बेलप्रसादले ।

धुलिखेलको परिवेशमा त्यतिबेला एसएलसी पास गर्नु चानेचुने कुरा ठहरिँदैनथ्यो । एसएलसी पास गरेलगत्तै परिवारबाट ‘मास्टर साव’ बन्नका लागि जोड दिन थालियो बेलप्रसादलाई । आफूलाई क…ख सिकाउने मास्टरजी दलानकाजी उर्फ प्रेमबहादुर राजवंशीलाई टोलसमाजका सबैले प्रदान गर्ने मानमनितोप्रति सानैदेखि लोभिएका बेलप्रसादले त्यस्तै सम्मान मिल्ने सम्झेर स्वीकार गरे र सुरु भयो उनको मास्टरी पेसा । तर, मुस्किलले पाँच–छ महिना मात्र बितेको थियो, धपेडीले मरिएला भन्ने सोचेर छोडे उनले त्यो काम । त्यसपछि बुबाले ‘व्यापार गर’ भनी दबाब दिन थालेछन् । उनका काकाहरूलगायत आफन्तहरू व्यापारको सिलसिलामा भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुर, धनकुटालगायतका स्थानमा पुगेका थिए । बेलप्रसादलाई पनि ओखलढुङ्गा पठाउन लागे उनका बुबाले । अर्कै स्वभावका बेलप्रसाद व्यापारका निम्ति फिटिक्कै तयार हुनुभएन । बरु उनले पढाइ अघि बढाउने सोच बनाए र आफ्नै प्रयत्नले उनी तत्कालीन ‘इञ्जिनियरिङ स्कुल’मा भर्ना हुनुभयो । रानीपोखरीछेउमा त्रिचन्द्र क्याम्पसपरिसरमै रहेको उक्त शिक्षालयमा भर्ना भएको अढाइ वर्षमा उनी ओभरसियर पास गरेर निस्किए । ओभरसियर बनेपछि पनि उनी द्विविधामै थिए– अब अगाडि के गर्ने ?

परिवारबाट कपडा पसल गर्न सुझाव आयो । तर, त्यस्तो झुट बोलेर गर्नुपर्ने काम कुनै हालतमा नगर्ने भन्ने सोच उनमा पैदा भएछ । अरू कुनै उपाय सुझ्दैन, रनभुल्ल परे उनी । यस्तैमा पुस्तक पसल खोल्ने विचार आयो उनलाई । लप्पन–छप्पन गर्नु पनि नपर्ने, ज्ञान बाँड्ने सफा काम भन्ने उनलाई लाग्यो । यो काम सुरु मात्र भएको थियो, एउटा नसोचेको परिस्थिति आइलाग्यो । त्यतिखेरको पूर्व एक नम्बर क्षेत्रअन्तर्गत पर्दथे अहिलेका काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाहरू । धुलिखेललाई छोटा गोश्वारा र चौतारालाई बडा गोश्वारा भनिन्थ्यो । पूर्व एक नम्बरका बडा हाकिम थिए गृष्मबहादुर देवकोटा । उनी धुलिखेल भ्रमणमा पुगेका बेला जिल्लामा एकजना ओभरसियरको सख्त जरुरत परेको तर कोही फेला नपरेको सूचना पाएछन् । यस्तैमा कसैले बेलप्रसादका बारेमा बताइदिएछ । बडाहाकिमले तत्काल बोलाएर ‘ओभरसियर भएर किन जागिर नखाई बसेको ?’ भनी हकारेछन् । बेलप्रसादलाई भने न त जागिर खाने मन थियो न त आँट नै । तर, ‘भोलिबाटै जागिरमा भर्ना हुनू’ भन्ने बडाहाकिम देवकोटाको उर्दी उनले टार्न सकेनन् । यसरी ०१७ सालमा जिल्लाका सीडीओपछिको सुब्बा ओहदाका हाकिमसाब बन्न पुगे बेलप्रसाद श्रेष्ठ ।

Bel Prasad Shrestha with king Birendra

बेलप्रसाद श्रेष्ठ एकदिन छक्क परे, जब तत्कालीन राजा वीरेन्द्र बिना कुनै सूचना एक्कासि धुलिखेलस्थित होटल हिमालयन होराइजन परिसरमा प्रकट हुन पुगे । देश–विदेशको चालचलन र समयको गति केही सीमासम्म बुझिसकेपछि आफ्नै परिवेशमा रमाउने अभिलाषाका साथ समाजसेवा र निजी होटल व्यवसायमा रमाइरहेका बेलप्रसादका निम्ति त्यो क्षण के गरौँ कसो गरौँ भनेझैँ भयो । तत्कालीन धुलिखेल नगरपञ्चायतका प्रमुखमा उनी चुनिएको तीन महिना मात्र भएको थियो । राजा भएर पनि सर्वसाधारण व्यक्तिझैँ किन त्यसरी प्रकट भएका होलान् भन्ने जिज्ञासा त्यत्तिकै जागृत भए ।

सरकारी जागिर सुरु भएपछि रातारात उनको दिनचर्याले पल्टा खायो । नमस्कार गर्नेहरूको ओइरो, एक्कासि ‘ठूला मान्छे’मा दह्रिन पुगे उनी । तर, उनी स्वयम् भने आफूलाई ठूलो ठान्दैनथे । एउटा सेवक नै हुँ देशको, आफ्नो गाउँ–जिल्लाको भन्ने भावना थियो मनभित्र । धुलिखेलको त्यतिखेरको अवस्था साह्रै दयनीय थियो । जताततै फोहोर, पानीको अभाव, कुनै घरमा शौचालय नहुनाले महिलालाई सास्ती, मानिसहरूको चालढाल वा व्यवहार पनि दिक्कै लाग्ने किसिमको । यो देख्दा साह्रै उच्चाट लाग्थ्यो बेलप्रसादलाई । काम पनि केही थिएन आफूले पदीय जिम्मेवारीअनुरूप गर्नका निम्ति । तथापि, केही खानेपानी, बाटोघाटो, स्कुल, धाराजस्ता कामहरू उनका पालामा भए । उनी ओभरसियर हुँदा निर्माण गरिएका धाराहरू अहिलेसम्म पनि धुलिखेलका विभिन्न स्थानमा प्रयोगमै छन् ।

यसरी ०२५ सालसम्म सरकारी जागिरमा रहे बेलप्रसाद । आफू अलिक ‘इनोभेटिभ’ किसिमको व्यक्ति भएकाले नयाँ–नयाँ काम–कुराको मात्र खोजी गरिरहने, एउटै काममा अडिग रहनै नसकिने स्वभाव रहेको बताउने बेलप्रसादलाई कसोकसो अमेरिका जाने रहर पलाएछ । यसबीच बीएको पढाइ पनि पूरा गरिसकेका थिए उनले । अमेरिका जाने रहर एकोहोरो जागिरहेकै बेला एक दिन गजबको घटना भएछ उनको कार्यालयमा । त्यस दिन कामविशेषले सीडीओ धुलिखेलबाहिर पुगेकाले जिल्ला कार्यालयमा बेलप्रसाद नै प्रमुखका रूपमा थिए । त्यस्तैमा एक मधेसी जोगी आइपुगेछन् । कार्यालयका कनिष्ट कर्मचारीहरूले ‘हाकिमसावको कोठा यता’ भन्दै बेलप्रसादकहाँ पुर्‍याइदिएछन् । जोगीले उनलाई एउटा फूलको नाम लेख्न आग्रह गर्दा उनले गुलाफको फूल सचित्र लेखेर दिएछन् । त्यसपछि जोगीले ‘तीन–चार महिनाभित्रै तिमी विदेश पुग्छौ’ भन्ने दाबीका साथ भविष्यवाणी सुनाइदिएछन् । एकातिर अमेरिका जाने हुटहुटी पलाइरहेको अर्कोतिर जोगी त्यसो भन्छ । त्यस दिनदेखि त साह्रै छटपटी बढेछ उनमा । यस्तैमा एक दिन धुलिखेलनजिकैको एक गाउँमा खानेपानीको सर्भे गरिरहेको बेला उनलाई खबर आएछ– ‘तपाईंलाई पिसकोर संस्थाका अमेरिकनहरूले अमेरिका लैजाने भएछन्, छिट्टै काठमाडौं सिंहदरबार पुग्नुपर्‍यो अरे ।’ बेलप्रसादलाई त्यतिबेला आश्चर्य र खुसीको सीमा नै भएन । जोगीको कुरा ठ्याक्कै मिल्न आएकोले पनि उनलाई बढी आश्चर्य लागेको थियो ।

 

अमेरिका कहाँ पर्छ, कति टाढा छ भन्ने राम्रो जानकारीसमेत नभएका बेलप्रसाद नेपाल आउने अमेरिकनहरूलाई भाषा सिकाउने कामका लागि अमेरिका जाने भए । अमेरिका जाने तयारी गर्दा र डोकोटा विमान चढेर कलकत्ता, कलकत्ताको भव्य होटलको बास, त्यहाँबाट थाई एयरको विमानबाट अमेरिकाको यात्राका क्रममा उनले भोगेका नयाँ र अनौठा अनुभूति अत्यन्त रोचक छन् । बाहिरी दुनियाँबारे कुनै ज्ञान नभएको धुलिखेले ठिटो अचानक सात समुद्रपारि पुग्दा अकल्पनीय अनुभवहरू त संगालिने नै भए ।

अमेरिकामा सुरुका तीन महिना अवधि निकै अप्ठ्यारो र अनौठो गरी बित्यो बेलप्रसादको । विदेशीलाई नेपाली भाषा सिकाउनुअघि आफूले पनि फ्रेन्च र जर्मनी भाषा पढ्नुपरेछ त्यहाँ । समय र कामको निकै कडा पावन्दी थियो । तोकिएको अवधिमा काम सकाउनैपर्ने ! नेपालमा जस्तो गति न गतास ढङ्गले काम नचल्ने ! त्यहाँ पहिलेदेखि नै अरू पनि नेपालीहरू त्यही कामका लागि पुगेका रहेछन् । उनीहरूका तुलनामा बेलप्रसाद अत्यन्त मिहिनेती ठहरिएछन् । अरू नेपालीको ताल अमेरिकामा पनि उस्तै थियो– रात परेपछि रक्सी पिएर मस्ती गर्नैपर्ने, कामप्रति लगाव नै नराख्ने, गैरअनुशासित इत्यादि । विदेशमा पनि नेपालीको उही पारा देखेर साहै्र दिक्क लाग्यो उनलाई । तर, आफ्नो अमेरिका बसाइलाई बेलप्रसादले नयाँ काम–कुरा सिक्ने एउटा राम्रो अवसरका रूपमा ग्रहण गरे । अमेरिकनहरू जे पनि जान्ने आफूलाई चाहिँ केही पनि नआउने ! ‘म त कस्तो ठाउँमा जन्मिएको रहेछु’ भन्ने सोचेर हीनताबोध पनि भएछ बेलप्रसादलाई !

तर, त्यसरी हीनता या लघुताभाष पालेर बस्ने मनस्थितिमा थिएनन् उनी । अमेरिकनहरू के–के गर्छन्, कसरी गर्छन् भन्ने बडो ध्यान लगाएर हेर्ने र त्यसलाई आफूले पनि व्यवहारमा उतार्ने कोसिस गर्न थाले । उनको मिहिनेतले रङ्ग देखायो, अमेरिकनहरू खुसी भए र उनलाई अमेरिकामै बस्न आग्रहसमेत गर्न थाले । अमेरिकाबाट सिक्न चाहन्थे तर उहीँ बस्ने रहर थिएन उनमा । त्यसैले अमेरिकन साथीहरूको आग्रहलाई अस्वीकार गर्दै एक वर्षपछि बेलप्रसाद नेपाल फर्किए । फर्किएपछिचाहिँ फेरि दिक्क लागेछ उनलाई । उही ठाउँ, उही परिवेश, मानिसहरू उही–उस्तै ! किन फर्किएछु हँ ? भन्नेसम्मको सवाल मनमा उब्जिएर निकै छटपटी बढेछ । तर, केही नयाँ काम गरिरहुँ भन्ने व्यक्ति त्यत्तिकै छट्पटिएर बस्ने त कुरा आएन ।

राजा वीरेन्द्रसँग बेलप्रसादको यस्तो दोस्ती हुन पुग्यो कि राजासँग कुनै हिच्किचाहट नै नराखी कुरा हुन थाल्यो उनको । कुरा होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यताबाट अघि बढिरहेका बेलप्रसादको सामाजिक क्रियाकलाप र सकारात्मक सोच–व्यवहारबाट राजा वीरेन्द्र अत्यन्त प्रभावित भएछन् । अनि वीरेन्द्रको सादगीपन, केही गर्छु भनी लागेकालाई प्रेरित गर्ने स्वभाव आदिका कारण बेलप्रसाद पनि भुतुक्कै भएछन् । दोस्ती चुलिनुमा यही ‘फ्याक्टर’ले काम गरेको उनको बुझाइ छ । उहाँहरूको सम्बन्ध यतिसम्म घनिष्ट बन्न पुगेको थियो कि राजपरिवारका अन्य सदस्यहरू पनि अनौपचारिक तवरले धुलिखेल पुगिरहन्थे । राजा वीरेन्द्रको अकालमा भएको दर्दनाक अन्त्यलाई बेलप्रसादले आफ्नो जीवनको सर्वाधिक दु:खद् घटनाका रूपमा लिएका छन् । पहिलोपटक धुलिखेलस्थित होटलमा पुग्दा राजा वीरेन्द्रले बसेर चिया पिएको क्षणको स्मरणमा सो स्थानलाई बेलप्रसादले सानो चौतारीको रूपमा दिएर बुद्धको मूर्ति स्थापना गरेका छन् । त्यसले उनलाई अहिले पनि वीरेन्द्रसँगै रहेको अनुभूति गराउँछ । राजा वीरेन्द्रकै सदासयता र उहाँबाट प्राप्त ‘गार्जियनसिप’का कारण पनि हो धुलिखेलले आज यसरी चोला बदल्न पाएको भन्ने धारणा छ बेलप्रसाद श्रेष्ठको ।

यसपछि ०२६ सालतिर एउटा सानो होटल सुरु गरे उनले । अरनिको राजमार्ग बनिरहेको थियो । काठमाडौंमा हिप्पीहरूको बिगबिगी पनि निकै बढिसकेको र धुलिखेलको बाटो विदेशीहरू निकै आवतजावत पनि गर्न लागेको यथार्थलाई ध्यानमा राखी उनले सो व्यवसायमा हात हालेका थिए । ४ बेडको लज, कप, प्लेट, किट्लीलगायतका केही भाँडाकुँडाको जोहो गरेर आफैं भाँडा माँझ्ने, कूचो लगाउने गरी काम सुरु गरेको देखेर गाउँले भन्न थालेछन्, ‘यत्रो पढेको, अमेरिका गएर आएको बेलप्रसाद त खत्तम भएछ !’ तर यस्तो कमेन्ट गर्नेहरूतिर ध्यानै नदिई उनले कसरी राम्रो सेवा दिने भन्नेमा मात्र आफूलाई केन्द्रित गरे । अमेरिकाले उनलाई सिकाएको थियो काम जे गरे पनि मिहिनेतका साथ गर्नुपर्छ भन्ने । पिसकोरका विदेशी साथीहरूसँग सम्पर्क छँदै थियो । उनको होटल व्यवसायले त्यतिखेर चम्किने अवसर पायो जब पिसकोरका सबै कार्यक्रमहरू आयोजना गर्ने, खुवाउने–बसाउने कामको जिम्मेवारी नै बेलप्रसाद या उनले सञ्चालन गरेको होटलको काँधमा दिइयो । १८ घन्टासम्म खटिएर काम गर्नुपर्‍यो उनले तर होटलको प्रगति पनि भयो । यसरी व्यवसाय बढिरहँदा पनि बेलाबेलामा ‘यही हो त मेरो जिन्दगी ? यत्तिकै भाँडा माझेर बिताउने मैले ?’ भन्नेचाहिँ उनलाई लागिरहन्थ्यो ।

आफ्नो समाज र देशकै लागि केही गर्नुपर्छ भन्ने सोचबाट हरदम प्रेरित बेलप्रसादले आफूलाई स्थानीय शौचालयको निर्माण, सरसफाइ अभियान, खानेपानी एवम् अन्य आवश्यक आधारभूत कुराहरूको व्यवस्था गर्ने कामका अगुवाका रूपमा सरिक गराइरहे । एक होटल व्यवसायीका रूपमा उनी । चम्किँदै हुनुहुन्थ्यो भने सामाजिक काममा लागिपर्ने उनको स्वभावले उनलाई बेग्लै सामाजिक प्रतिष्ठा र लोकप्रियता दिलाउँदै थियो । उनमा एउटा सोचले सुरुदेखि नै जरा गाडिरहेको थियो– ‘धुलिखेललाई दक्षिण एसियाकै नमुना स्थलका रूपमा चिनाउने ।’ यही सोचअन्तर्गत धुलिखेललाई नगरपालिका बनाउने अभियान छेडे उनले । तत्कालीन गाउँ पञ्चायतका प्रमुख हुनुको नाताले अघि बढाएको उक्त प्रस्तावले आखिर ०४४ सालमा मूर्तरूप पायो । त्यही साल उनी नगरप्रमुख पनि चुनिए । धुलिखेललाई नमुना नगरपालिका बनाएर देखाउने अभियानको थालनी गर्ने अवसरका रूपमा उनले त्यस जिम्मेवारीलाई अपनाए । इमानदारी, इच्छा र मिहिनेत भएपछि रोक्ने केले ? आज धुलिखेलमा स्थापित काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, त्यहाँको खानेपानी आयोजनालगायत कतिपय विकास-निर्माणका कार्यहरूले अन्तर्राष्ट्रिय रूपमै ख्याति आर्जन गरेका छन् । यसले धुलिखेललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । धुलिखेल साँच्चै दक्षिण एसियाकै नमुना नगरपालिकामा दरिएको छ । र, यसका निम्ति बेलप्रसाद श्रेष्ठको भूमिका अतुलनीय रहेको छ । यसो भएर पनि उनी यसको जश एक्लै लिन पटक्कै तयार छैनन् । सबैको साथ-सहयोगले यो सम्भव भएको बताउने उनी धुलिखेल अस्पतालका निर्देशक डा. राम कण्ठ र काठमाडौं विश्वविद्यालयका संस्थापक प्रा.डा. सुरेशराज शर्मालगायतका आ–आफ्ना क्षेत्रका हस्तीहरूलाई श्रेय दिएर महानता प्रकट गर्छन् ।

बेलप्रसादले गरेका कामको कीर्ति तत्कालीन राजदरबारसम्म पुगेकैले नै रहेछ राजा वीरेन्द्र बारम्बार धुलिखेल धाउने गरेका पनि । हुँदाहुँदा राजा वीरेन्द्रसँग बेलप्रसादको यस्तो दोस्ती हुन पुग्यो कि राजासँग कुनै हिच्किचाहट नै नराखी कुरा हुन थाल्यो उनको । कुरा होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यताबाट अघि बढिरहेका बेलप्रसादको सामाजिक क्रियाकलाप र सकारात्मक सोच-व्यवहारबाट राजा वीरेन्द्र अत्यन्त प्रभावित भएछन् । अनि वीरेन्द्रको सादगीपन, केही गर्छु भनी लागेकालाई प्रेरित गर्ने स्वभाव आदिका कारण बेलप्रसाद पनि भुतुक्कै भएछन् । दोस्ती चुलिनुमा यही ‘फ्याक्टर’ले काम गरेको उनको बुझाइ छ । उहाँहरूको सम्बन्ध यतिसम्म घनिष्ट बन्न पुगेको थियो कि राजपरिवारका अन्य सदस्यहरू पनि अनौपचारिक तवरले धुलिखेल पुगिरहन्थे । राजा वीरेन्द्रको अकालमा भएको दर्दनाक अन्त्यलाई बेलप्रसादले आफ्नो जीवनको सर्वाधिक दु:खद् घटनाका रूपमा लिएका छन् । पहिलोपटक धुलिखेलस्थित होटलमा पुग्दा राजा वीरेन्द्रले बसेर चिया पिएको क्षणको स्मरणमा सो स्थानलाई बेलप्रसादले सानो चौतारीको रूपमा दिएर बुद्धको मूर्ति स्थापना गरेका छन् । त्यसले उनलाई अहिले पनि वीरेन्द्रसँगै रहेको अनुभूति गराउँछ । राजा वीरेन्द्रकै सदासयता र उहाँबाट प्राप्त ‘गार्जियनसिप’का कारण पनि हो धुलिखेलले आज यसरी चोला बदल्न पाएको भन्ने धारणा छ बेलप्रसाद श्रेष्ठको ।

अमेरिकालगायत विश्वका थुपै्र राष्ट्र घुमिसकेका बेलप्रसादलाई नेपालजति प्यारो कुनै ठाउँ छैन । तर, देशले अहिलेसम्म एउटा राजनेता पाउन नसक्नाले परिस्थिति केही बिग्रिरहेको ठहर छ उनको । केवल भाषण गर्नेहरूको हातमा मुलुक छ, काम गर्ने सच्चा देशभक्तहरू त कता उपेक्षित छन् कता † यस्तै लाग्छ उनलाई । जनता पनि राज्य वा सरकारसँग डिमाण्ड मात्रै गरिरहने, कम्प्लेन मात्रै गरिरहने प्रवृत्तिका भएर देशले उपलब्धि हासिल नगरेको बुझाइ छ उनको । ‘जनताको पनि त आफ्नै कर्तव्य हुन्छ नि, आफ्ना लागि गर्ने त पहिला आफैंले हो नि’ भन्छन् उनी । समाज र राष्ट्रका लागि निकै गरेर पनि ‘केही नगरेको’ भावमा आफ्नै दुनियाँमा रमाइरहेका बेलप्रसाद श्रेष्ठ भन्छन्, ‘गल्तीबाट धेरै सिक्न सकिन्छ । खै, हाम्रा नेता महोदयहरूले आफ्ना गल्तीहरूबाट कहिले सिक्ने हुन् ! यदि शान्ति र राजनीतिक स्थिरता मात्र हुने हो भने पनि हाम्रोजस्तो देशले समृद्धिको शिखर छुन बेर लाग्दैन ।’

प्रस्तुति : जयप्रकाश त्रिपाठी