१४औं गोर्खा कप फुटबल पूर्ण तयारी

१४औं गोर्खा कप फुटबल पूर्ण तयारी


gurkha-cup-pressफार्नवरो बेलायत । हिजो तमू धिं यूकेले एक पत्रकार सम्मेलन गरी १४औ गोर्खा कप फुटबल प्रतियोगिता संचालन सबै कोणबाट पूर्ण तयारी भएको जानकारी गराएको छ । यही आउँदो में २९ आइतवार फार्नवरो र अल्डरशटको बीचमा पर्ने आर्मीको क्युन्स एभिन्यु मैदानमा हुन गइरहेको यो फुटवल प्रतियोगिता बेलायतको नेपालीमाझ अति नै लोकप्रिय छ र यो यसलाई तमू धिं यूकेले आफ्नो संस्थाको प्रतिष्ठासँग जोडिएको मान्दछ । तमू धिं यूकेले सञ्चलान गर्दै आएको यो गोर्खाकपको कल्पनाकार र संस्थापक भने रमेश थकाली हुन् र अहिले यो १४औं पटकको गोर्खाकपमा उनको स्थान कहाँ छ, थाहा छैन । हुन पनि यो प्रतियोगिता संचालन खर्च र व्यवस्थापन दुबै हेर्दा सजिलो पक्कै पनि छैन । कम्तीमा ५ देखि ७ हजार नेपाली तथा केही स्थानीय बासिन्दाको उपस्थित, दुई समूहमा गरी ४२ टिम (एकातर्फी ९ जना खेलाडी) सहभागी हुने आशा गरिएको यस मेलामा यस पटक १० हजार मानिसको लागि इन्स्युरेन्स गरिएको बताइएकाेछ । यति ठूलो संख्यामा दर्शक उपस्थित हुने हुँदा बेलायतको सामाजिक कार्यक्रम व्यवस्थापन नियमअनुसार कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्छ र जसले विशेषगरी स्वास्थ्य, सुरक्षा र सरसफाईमा वढी खर्चको भार पर्दछ ।

विगतमा नेपाली युवाहरु बीचको लडाइ झगडाले गर्दा सुरक्षा ईकाइहरुले थप र कडा सुरक्षा व्यवस्थाको चाप थपिदिएको छ । त्यसकारण यस पटक सुरक्षा व्यवस्थालाई व्यवस्थित पार्न स्थानीय प्रहरीले खेलकुद मैदानमा प्रत्यक्ष उपस्थित हुनका अलवा स्थानीय क्षेत्रमा सिभिल पोशाकका प्रहरी परिचालन गरिरहेको छ । प्रहरीलाई मद्दत पुर्याउन खेल मैदानमा ५० जना एस् आई ए लाइसेन्सप्राप्त सुरक्षा अधिकारी र ८० जना जति तमू युवा स्वयंसेवक परिचालन गरिने आयोजकले व्यवस्था गरेका छन् । दर्शकको स्वास्थ्य सुरक्षालार्इ मध्यनजर राख्दै स्वास्थ्यकर्मी र सेण्टजोन एम्बुलेन्सको टोली खेल मैदानमा नै व्यवस्था गरिएको छ ।

यस पटकदेखि संस्थाले गोर्खा कप फुटबललाई ब्राण्डको रुपमा प्रस्तुत गर्नलाई गोर्खा कप अंकित लोगो प्रस्तुत गरेको छ । यसको मुख्य उद्देश्य गोर्खा कपमा तमू धिंको लोगो राख्दा सबै नेपालीले आफ्नो महसुस नगरेको भान पाइएकोले त्यो भानलाई हटाई सबै नेपालीले अपनत्व महशुस गरोस् भन्ने रहेकोछ । किनकि सबै नेपालीले गोर्खा कपलाई विशेष महत्व दिदै आएका पनि छन् । तर के तपाईहरुले अरु नेपाली संघ संस्थालाई पनि आयोजकमा समावेश गराई दायित्व पनि दिन चाहानु हुन्छ त ? भनी राखिएको प्रश्नमा, संयोजक रिटायर्ड क्याटेन पिताम्वर गुरुङ्गले यतिका वर्षसम्म सबै खालको जोखिम उठाएर तमू धिं यूकेले यहाँसम्म गोर्खा कपलाई आयोजकमा अरु संघ संस्थालाई राख्न सकिँदैन तर स्वस्फूर्त रुपमा यस्तो सहयोग गर्छौ भनेर कोही आएमा प्रायोजकमा राख्न सकिन्छ भने ।

गोर्खा कप फुटवल प्रतियोगिताको तयारीका लागि ६ महिना अघिबाट तमू धिं यूकेका खेलकुद सचिव क्याप्टेन रिटायर्ड पिताम्वर गुरुङ्गको संयोजकत्वको टोलीले अथक प्रयास गरी तयारी पूरा गरेको जानकारी गराइएको छ । जानकारी गराइएअनुसार यस पटकदेखि टोली दर्ता शुल्क गत वर्षको भन्दा घटाइएको छ भने पुरस्कारको राशी बढाइएको छ । प्रतियोगिताको अनुमानित लागत ३४ हजार पाउण्ड र आम्दानी पनि त्यसैको हाराहारीमा हुने अनुमान आयोजकको छ । कथमकदाचित फाइदा भएमा उक्त रकम च्यारिटीमा खर्च गरिने बताइएकाे छ । कार पार्क व्यवस्थापनमा स्वयंसेवक टोली परिचालन गरिने र प्रति कार एक ड्राइभरसहित दिन भरिको ५ पाउण्ड र प्रति व्यक्ति १ पाउण्ड तोकिएको छ । खेल मैदानमा विभिन्न प्रकारका गरी ३१ वटा स्टल रहनेछन् ।

कार्यक्रमको शुरुमा तमू धिं यूकेका अध्यक्ष रामचन्द्र सूर्य गुरुङ्गले उपस्थित सबै समाचारदाताहरुलाई खादा लगाएर स्वागत गर्दै राम्रो प्रचार प्रसारको आशा राख्दै प्रतियोगिताको दिनमा उपस्थितिका लागि निमन्त्रणासमेत दिएका थिए भने खेलकुद सचिव र अन्य पदाधिकारीहरुले विविध विषयकाे जानाकरी दिएका थिए । यस पटकको गोर्खा कपको तयारी सुन्दा निकै व्यवस्थित र शान्त वातावरण सम्पन्न हुने विश्वास गर्न सकिन्छ । अन्तमा संस्थाका महासचिव हरि गुरुङ्गले यो गोर्खा कपलाई जसरी सबै नेपालीले सधै मन पराई सहभागिता दिँदै आएका छन्, त्यसरी नै यस पटक पनि सम्पूर्ण नेपाली समाजलाई निम्तो दिंदै सहयोग र सहभागिताका लागि अनुरोध गरेका छन् । खेल तालिका र विस्तृत जानकारी लागि तमू धिं यूकेको वेभ साइट www.tamudheeuk.com बाट पनि पाउन सकिने छ ।
13115956_976961902358838_2626777062456277755_o
-भीम बानिया