रेखाको ध्यान आफ्नैमा केन्द्रित

रेखाको ध्यान आफ्नैमा केन्द्रित


-राजन घिमिरे
चलचित्र हिरोबाट नेपाली सिनेमामा प्रवेश गरेकी हिरोइन रेखा थापा यतिबेला साँच्चि नै हिरोइनको रूपमा स्थापित भइसकेकी छिन् । राजेश हमाल जस्तै पूरा सिनेमा बोक्न सक्ने अनि आफ्नै नामले पनि रेखाले सिनेमा चलाउन सक्ने भइसकेकी छिन् । यो अवस्थामा पुगेकी रेखा यतिबेला भने आफ्नो सोचमा परिवर्तन गर्न थालेकी किन- ‘सस्तो बेसाहाले पखाला चल्छ भनेजस्तै अब ब्यानर हेरेर सिनेमा खेल्नेछु ।’ बरु भनेजति पारिश्रमिक आएमा एउटै सिनेमालाई प्रसस्त समय दिने तर फिल्म बढी खेल्ने लोभमा आफू पनि दु:ख नपाउने र अरूलाई पनि दु:ख नदिने यो सोच हो रेखा थापाको ।
यतिबेला रेखा थापा हरसमय समाचार बन्ने गरि्छन् । फिल्म हातमा होस् या नहोस् कुनै सांस्कृतिक कार्यक्रममा जाँदा होस् या विदेश भ्रमण नै होस् । हरसमय समाचारमा आइरहने रेखा यसबारेमा यसो भन्छिन्, ‘म आफैं समाचारको भोको होइन । के गर्दा म समाचार बन्छु मलाई थाहा छैन । तर पनि म समाचार बनिरहेकी हुन्छु । यसमा मेरो गल्ती होइन ।’
त्यसो त रेखा अलि बढी ग्ल्यामर पहिरनमा सिनेमाको पर्दामा देखिने नायिकाको रूपमा पनि आलोचित हुने गरि्छन् । तर, रेखा यो आलोचना केवल आलोचना मात्र हो भन्छिन् । ‘मलाई लाग्छ यो कुरा पुरानो भयो । तर, पनि मैले जवाफ दिनैपर्छ । मैले पर्दामा खुलेर आफूलाई प्रस्तुत गर्दा कसैलाई असर नपरोस् भन्ने चाहन्छु । मेरो उपस्थितिले समाजमा नकारात्मक प्रभाव नपर्दा म सफल भएको ठान्छु । त्यसैले सिनेमा भनेको अर्को पाटोले सोच्दा ग्ल्यामर क्षेत्र पनि हो । मनोरञ्जनका लागि हलमा आएका दर्शकले मनोरञ्जन पाउँदा म खुसी हुन्छु । अनि अर्को कुरा म ग्ल्यामर भएँ भनेर मलाई दर्शकले आरोप लगाउनुभएको होइन । म भन्छु हुनेले पो देखाउँछ,’ उनी भन्छिन् ।
अब रेखा अरूहरूको सिनेमामा भन्दा आफ्नै सिनेमातिर बढी ध्यान दिन थालेकी छिन् । यो सोच उनको पुरानो सोच पनि हो रे । ‘मैले अहिलेसम्म आफैंले बनाएको चलचित्र हिट भएका छन् बरु बाहिरका फिल्म फ्लप भए । बाहिरको फिल्म खेल्दा जस पनि पाउन गाह्रो हुन्छ । त्यसैले पनि होम प्रोडक्सनतिर बढी समय दिँदा आर्थिक रूपमा पनि फाइदा हुने देखेँ,’ रेखाको योजना रहेको छ । दर्शकहरूमाझ अब राम्रो फिल्म मेकरको रूपमा पनि स्थापित हुने जमर्कोमा रहेकी रेखाले निर्माण गरेको पछिल्लो चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ प्रदर्शनका लागि तयार भइसकेको छ ।

आयो कल्पवृक्ष
‘मैले हार्दा तिमीले जित्छौ भने
म हार्न तयार छु…’
गायिका अञ्जु पन्तको स्वरमा चेतन सापकोटाले सङ्गीत दिएको यो शब्दलाई लेखेका हुन् कलाकर्मी लय सङ्ग्रौलाले । कल्पवृक्ष नामक एल्बममा सङ्ग्रहित नौवटा गीतमध्ये यो गीत यतिबेला साङ्गीतिक बजारमा निकै चर्चा पाउन सफल भएको छ । त्यो त एल्बमलाई समग्रतामा हेर्ने हो भने ‘कल्पवृक्ष’ एल्बमभित्र समेटिएका अन्य आवाजहरूका कारण पनि यो एल्बमलाई एल्बमहरूको भीडमा उच्चकोटिको एल्बम भन्दा फरक नपर्ला । विशेष गरेर वजनदार शब्द नै लय सङ्ग्रौलाको विशेषता मानिन्छन् भने आफ्नो त्यो विशेषतालाई उनले यो एल्बममा पनि प्रस्तुत गरेका छन् ।
म्युजिक नेपालले बजारमा ल्याएको ‘कल्पवृक्ष’को आज -बुधबार) एक समारोहबीच विमोचन गरिने कार्यक्रम रहेको छ । लामो समयदेखि गीत लेखनलाई पनि निरन्तरता दिँदै आएका लय सङ्ग्रौलाले आफ्ना छरिएर रहेका गीतलाई एउटै एल्बममा समेटेर अब आफ्नो गीतलेखन यात्रालाई बलियो तरिकाले अगाडि बढाउने योजनामा लागेका छन् भन्दा फरक नपर्ला ।

कलाकारहरूको अमेरिका यात्रा
अमेरिका रहेका नेपालीहरूमाझ शान्ति र सद्भावका लागि आफ्ना हास्यव्यङ्ग्य र साङ्गीतिक कोसेली प्रस्तुत गर्न ‘शान्तिका लागि सांस्कृतिक यात्रा-२०१०, अमेरिका’ नामक कार्यक्रममा सहभागी हुन चर्चित लोकगायिका तथा कलाकारहरू अमेरिका पुगेका छन् । यसरी अमेरिका पुगेका कलाकारमा हास्यकलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, गोपाल अधिकारीका साथमा गायक यम बराल, गायिका नलिना चित्रकार, कार्यक्रम प्रस्तोता एवम् लोकगायिका सुनिता दुलाल रहेका छन् । मुनलाइट रर्ेकर्डस्को ब्यानरमा नेपाल-अमेरिका प्रेस क्लबको आयोजनामा सम्पन्न हुन गइरहेको सो कार्यक्रम अमेरिकाका विभिन्न सहरमा आयोजना गरिन लागिएको कार्यक्रमका निर्देशक शिव विष्टले अमेरिकाबाट फोनमार्फत जानकारी दिनुभयो ।

सुमनको शालीनता
हत्या, हिंसा अनि काटमारका विषयमाथि निर्माण भइरहेका सिनेमा हेर्दाहेर्दा अब दर्शक अलि बढी नै आजित भइसकेका देखिन्छन् ।
नेपाली सिनेमामा शालीनता, भद्र अनि प्रेम र यस्तै विषयका सिनेमा दर्शकले खोजिरहेको अवस्थामा यस्तै चरित्रलाई सुहाउने एउटा अनुहार यतिबेला निकै चल्तीमा रहेको छ । त्यो अनुहार हो- सुमन सिंह ।
सुमनलाई पहिले दर्शकले टेलिभिजनमार्फत देखेका हुन् भने उनको क्षमता त्यसपछि निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दुई किनारा’मा प्रस्टसँग देखियो । पहिले नै तुलसी घिमिरेको नजरमा परेका सुमन यतिबेला भने प्रायश: निर्माता-निर्देशकहरूको छनोटमा पर्ने गरेका छन् । हेर्दा मिजासिलो अनि भलाद्मी पाराका सुमन यतिबेला व्यस्त पनि भइरहेका छन् । प्रदर्शन हुने, काम भइरहेको र काम गर्न लागेको गरेर रामै्र सङ्ख्यामा चलचित्र छन् उनको हातमा । बिस्तारै हिँड्ने तर गन्तव्यमा पुग्ने गरी नै हिँड्ने सोचका साथ अगाडि बढेका सुमन एउटा चलचित्रको काम नसकाइकन अर्को गर्दैनन् । ‘म कसैलाई धोका दिन चाहन्न । फलानोले गर्दा सुटिङ नै रोकियो भन्ने खालको व्यवहार प्रस्तुत गरेर हिरो बन्न रमाइलो हुँदैन । त्यसैले निरन्तरता नै सफलता ठान्छु म,’ सुमनले बताए ।