फुट्ने नै भयो वैद्य माओवादी

फुट्ने नै भयो वैद्य माओवादी


mohan and-badal

मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)भित्रको विवाद छताछुल्ल बनेको छ । सो दलका प्रभावशाली नेता सङ्गठन विभाग प्रमुख रामबहादुर थापा पक्षले मंगलबार बोलाएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा रुपान्तरण भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको हो । पार्टी अध्यक्ष मोहन वैद्य पक्षसँग थप छलफल गर्ने निष्कर्षसहित बोलाइएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा परिणत भएको थापा पक्षमा रहनुभएकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । अध्यक्ष वैद्यले जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएपछि त्यसबारे छलफल गर्नमंगलबारको बैठक स्थगित गरिएको उनले बताइन् ।

अध्यक्ष वैद्य एमाओवादीसँग एकता गर्न सहमत हो भने हामी जेठ १ गतेको केन्द्रीय समितिको बैठकसम्म कुर्छौं, अन्यथा हामी आफ्नै ढङ्गले अगाडि बढ्ने बैठकको निष्कर्ष रह्यो, प्रवक्ता पम्फाले बताइन् । उनले अध्यक्ष वैद्यसँग बुधबार फेरि निर्णायक छलफल गर्ने सहमति बैठकमा भएको जानकारी दिइन् ।

उता सो पार्टीका अर्का वरिष्ठ नेता सीपी गजुरेलले चाहिँ अल्पमतमा परेपछि बैठक स्थगित भएको बताए । अध्यक्ष वैद्य पक्षीय नेता गजुरेलले आज थापा पक्षले डाकेको बैठकमा न्यून केन्द्रीय सदस्यको उपस्थित भएपछि सो पक्षले बैठक स्थगित गरेको टिप्पणी गरे । अध्यक्ष वैद्यले एमाओवादीसँग एकताका लागि ११ बुँदा अघि सारेको तर थापाले त्यसलाई अस्वीकार गर्दै एकपक्षीय रुपमा एकता प्रक्रिायामा जान खोजेको गजुरलेको भनाइ छ । उनले भने, “हामीले कार्यदिशा पहिले मिल्नुपर्छ भन्यौँ, बादल ९थापा०जीले एकताको महाधिवशेन गरेर त्यसले कार्यदिशा टुङ्ग्याउँछ भन्नुहुन्छ, त्यसैमा हाम्रो कुरा मिलेको छैन ।”

उनले पहिलो पार्टीको आन्तरिक एकता कायम गरेर मात्रै एमाओवादीसँग एकताका लागि वार्ता गर्नुपर्नेमा पार्टीलाई जानकारी नै नदिएर एकपक्षीय रुपमा एमाओवादीसँग थापा पक्षले वार्ता गर्दै हिँडेको जिकिर गरे । गजुरेलले विचार, सिद्धान्तबिनाको एकताको पक्षमा आफूहरु नरहेको स्पष्ट पार्दै कार्यदिशामा सहमति भएमा मात्रै एकता हुने बताए । पार्टी फुटको सङ्घारमा पुगेको माओवादीमा दुवै समूहले आफ्नो पक्षमा बहुमत रहेको जिकिर गर्दै आएका छन् ।