लोकप्रियताको शिखरमा ‘नेपाल कप’

लोकप्रियताको शिखरमा ‘नेपाल कप’


लोकप्रियताको शिखरमा ‘नेपाल कप’
कटवालको सलाम

Chief Guest Rukmangad  Katuwal

– श्रीविक्रम भण्डारी

‘तपाईंहरूको छनोटलाई म सलाम गर्छु, यो सुन्दर भूमि आफैँमा उत्कृष्ट थियो, जसलाई तपाईंहरूले अझ उत्कृष्टता प्रदान गर्ने कार्य गर्नुभएको छ, यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ, मलाई विश्वास छ, तपाईंहरूको न्यानो माया पाएर यो भूमिमा अर्को इतिहास रचिएको छ, जसको आत्मसात् सम्पूर्ण इलामवासीले गर्नु जरुरी छ ।’

यो कथन पूर्वप्रधानसेनापति महारथी तथा प्रमुख अतिथि रुक्माङ्गद कटवालको हो । हालै इलामको कर्पोक उमाविको मैदानमा सम्पन्न तेस्रो नेपाल कप फुटबल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कटवालले यो भूमिमा नेपालका महान् कविदेखि मुलुक हाँक्ने राजनेतासमेत पैदा गरिसकेको स्मरण गराउँदै आज यसै क्षेत्रमा प्रमुख अतिथिको भूमिका निभाउन पाउँदा गौरवको अनुभूति भएको प्रस्ट पारेका थिए । प्रमुख अतिथि कटवालले आफूले ०२१ मा कर्पोक उमाविमा दुई वर्ष अङ्ग्रेजी पढाएको र अहिले यहाँ उपस्थित हुँदा आफ्नो मानसपटलमा सम्पूर्ण घटना ताजा भएको चर्चा गरेका थिए । खेलकुदको कुनै रङ्ग, जात नहुने र यो सबैको साझा सम्पत्ति भएको कटवालले खुलासासमेत गरेका थिए ।

कर्पोक उमाविको फुटबल मैदान प्राकृतिक रूपमै सुन्दर भए पनि यहाँ राष्ट्रियस्तरका प्रतियोगिता कमै आयोजना हुन्छन् । ०७१ मा नेपाल स्पोर्टस् फर अल क्लबले नेपाल कप फुटबल प्रतियोगिताको आयोजना गर्न थालेपछि यो मैदानको काँचुली फेरिएको छ । अहिले यो मैदान पूर्वाञ्चलवासीको आँखाको नानी बन्न पुगेको छ । नेपाल कपमा सहभागिता जनाएका र यस मैदानमा प्रतिस्पर्धा गरेका हरेक टिमका खेलाडीले यो मैदानको खुलेर प्रशंसा गरेका छन् । नेपाल कपको दोस्रो संस्करण यही कर्पोक मैदानमा आयोजना भएपछि प्रतियोगितासँगै यो मैदानको चर्चा र लोकप्रियता अझै चुलिएर गएको छ । त्यसैमा यसपटक प्रमुख अतिथिको रूपमा कर्पोक मैदानले पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाललाई पाएपछि कर्पोक प्रतिष्ठामा चारचाँद लागेको थियो । यसर्थमा कटवालले यो विद्यालयमा शिक्षकको रूपमा दुई वर्ष अध्यापन गराउन पाएका थिए । आज त्यही व्यक्तित्व प्रमुख अतिथि भएर आएपछि कर्पोक उमाविले पनि गौरवको अनुभूति गरेको थियो । सो अवसरमा प्रमुख अतिथि कटवालले विद्यालयलाई आफूले लेखेको दुईवटा पुस्तक प्रदान गरेका थिए ।

शाहीको गर्जन :
नेपाल स्पोर्टस् फर अलका अध्यक्ष लोकबहादुर शाहीले नेपाल कप फुटबल प्रतियोगिताको चौथो संस्करण यही वर्ष हुने घोषणा गरेका छन् । शाहीले दोस्रो संस्करण दशैँ र तिहारको माझमा भएको स्मरण गराउँदै नेपाल कपको चौथो संस्करण पनि सोही समयमा हुने बताएका हुन् । मुलुकमा आएको विनाशकारी भूकम्प र लागेको नाकाबन्दीले तोकिएको समयमा प्रतियोगिता गर्न नसकिएको जानकारी दिँदै अहिले गर्नुपरेको खुलासा गरेका थिए । अब प्रतियोगिता पुरानै समय तालिकामा सञ्चालन हुने बताउँदै शाहीले अर्को वर्ष भारतबाहेक अन्य विदेशका टिमहरूलाई पनि कर्पोक मैदानमा उतार्ने घोषणा गरेका थिए । शाहीको यो गर्जन कति सार्थक हुन्छ त्यो आफ्नो ठाउँमा भए पनि यदि यस्तो भएमा प्रतियोगितामा चारचाँद लाग्ने प्राय: निश्चित छ । इलामवासी यसैको प्रतीक्षामा रहेको छन् । त्यस्तै शाहीले यो प्रतियोगिता फिक्कलवासीको मात्र नभई सम्पूर्ण इलामवासीको भएको बताउँदै यसको विकास र विस्तारका लागि सम्पूर्ण इलामवासीले हातेमाले गर्नुपर्ने बताएका थिए ।

सहयोगी हातहरू :
नेपाल कप फुटबल प्रतियोगितालाई सफलताको मूर्तरूप दिन यसपटक चर्चित समाजसेवी तारा सापकोटा र हिमाल मास्केले विशेष भूमिका निभाएका थिए । सापकोटाले प्रथम तथा दोस्रो पुरस्कारस्वरूप एक लाख पचास हजार प्रदान गरेका थिए । त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, सङ्घका केन्द्रीय सदस्य तथा समाजसेवी एवम् खेलकुदप्रेमी हिमाल मास्केले एक लाख प्रदान गरेका थिए । खेलकुदप्रति सकारात्मक धारणा राख्ने यी व्यक्तित्वले नेपाल कपलाई अझ स्तरीय र सफल बनाउन भविष्यमा समेत आफ्नो सहयोगलाई निरन्तरता प्रदान गर्ने जनाएका छन् । यसैगरी यो प्रतियोगितालाई सफल पार्न विभिन्न व्यक्ति तथा महानुभावले सहयोग गर्नुभएको थियो ।

तेस्रो नेपाल कप सशस्त्रलाई :
तेस्रो नेपाल कप आमन्त्रण फुटबलको उपाधि पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिमले जितेको छ । हालै इलामको कर्पोक फुटबल मैदानमा सम्पन्न फुटबल प्रतियोगितामा सशस्त्रले झापाको काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल कपमा आफ्नो नाम लेखाउन सफल भएको हो । विजेता टोलीले नेपाल कपका साथै नगद एक लाख हात पारेको थियो भने उपविजेताले नगद ५० हजार । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि पूर्वप्रधानसेनापति महारथी रुक्माङ्गद कटुवालले पुरस्कार वितरण गरेका थिए ।

स्पोर्टस् फर अलको आयोजनामा इलाम कर्फाेक मैदानमा भएको प्रतियोगितामा पहिलो गोल काँकडभिट्टाका कर्ण लिम्बूले गरेका थिए । उनले खेलको १२औँज्ञ मिनेटमा सशस्त्रका रक्षक रमेश दङ्गालले गोलरक्षकलाई दिएको बललाई आफ्नो कब्जामा लिँदै गोलरक्षकलाई कटाउँदै गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा २३औँ मिनेटमा सशस्त्रका उज्ज्वल चेम्जोङले गरेको गोललाई रेफ्री शुक्र तामाङले अफसाइड दिएका थिए । यसको लगत्तै सशस्त्रका सन्तोष श्रेष्ठले २५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए । बराबरबाट हौसिएको सशस्त्रका लागि २७औँ मिनेटमा फुसन मर्मुले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए । एक गोलले पछि परेको काँकडभिट्टाका लागि ३७औँ मिनेटमा दिलेन लोक्तानले फाउलबाट पाएको फ्री किकलाई सीधै गोलमा परिणत गर्दै खेललाई २–२ को अवस्थामा ल्याए । खेलको ५२औँ मिनेटमा कर्नर किकको बललाई नियन्त्रणमा लिँदै झलक गुरुङले गोल गर्दै सशस्त्रलाई जित दिलाएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच तथा उच्च गोलकर्ता काँकडभिट्टाका कर्ण लिम्बू घोषित भए । उनले प्रतियोगिताभर चार गोल गरेका थिए । प्रतियोगिताको दुई महत्त्वपूर्ण उपाधि हात पारेका लिम्बूले २० हजार प्राप्त गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिम इलाम– ११ का प्रदीप विष्ट घोषित भए । उनीहरूले प्रमाणपत्रका साथै ट्रफी र नगद प्राप्त गरेका थिए । प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथि कटुवाल, समाजसेवी तारा सापकोटा, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राई, इलामका प्रमुख सेनानी तथा जिल्ला खेलकुद विकास समितिका पदेन सदस्य प्रकाश लामिछाने, नेपाल विघुत् प्राधिकरण कर्मचारी सङ्घका केन्द्रीय सदस्य, समाजवेसी तथा खेलप्रेमी हिमाल मास्केलगायतलाई खेलकुद विकासमा गरेको योगदानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।
c Karna limbu kick off to goal