एनसेलले बुझायो करिव दश अर्ब

एनसेलले बुझायो करिव दश अर्ब


Ncell-Logo

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले अग्रिम कर कट्टीवापत सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको करदाता कार्यालय ललितपुरले जनाएको छ । सो कार्यालयका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी १५ प्रतिशत रकम बुझाएको हो । बुझाउनुपर्ने २५ प्रतिशत रकममध्येको बाँकी १० प्रतिशत रकम भने बिक्रेता टेलियासोनेराबाट असुल गराउने तयारी गरिएको छ । किनकि, टेलियासोनेरा तथा भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा हालै मलेसियाको एक्जियटाले खरिद गरेको थियो।

उक्त कारोबार वापत एनसेलले पूँजिगत लाभकर त्यसको लाभकर तिर्नुपर्ने दायित्व टेलियासोनेराको छ । एनसेलले खरिदको १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर सरकारलाई रकम बुझाउने जम्मा सात दिनको म्याद पाएको थियो, २६ गते आइतबार समाप्त हुँदै थियो ।

यसप्रकार केही स्वार्थी व्यक्ति तथा समूहको शिकार बन्न लागेको एनसेलले नेपाल सरकारलाई आयकर दाखिला गर्न सुरु गरेको छ । उसले शुक्रबार नै ९ अर्बभन्दा बढी रकम दाखिला गरेको हो । ठुला करदाता कार्यालय स्रोतका अनुसार बाँकी रकम आइतबार नै तिर्ने तयारी एनसेलले गरेको छ । आइतबारभित्रै सम्भव नहुने अवस्थामा कर तिर्ने म्याद केही समय थप्न आग्रह गरिनसक्ने पनि बुझिएको छ ।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो । सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए ।