प्रहरी चुस्त, तर ठगीका घटना बग्रेल्ती

प्रहरी चुस्त, तर ठगीका घटना बग्रेल्ती


क्यानाडा, युरोप र अमेरिकामा रोजगारीको प्रलोभन देखाउँदै आकाङ्क्षी युवालाई ठग्नेहरूको सङ्ख्या बढ्दै गएको छ । चाहेअनुसारको देशमा जान भिसा लाग्ने र रोजगारीे पनि सुनिश्चित हुनेलगायतका आश्वासन बाँडेर लाखौँ रकम असुल्ने र अलपत्र पार्ने घटनासँग सम्बन्धित उजुरी पछिल्ला दिनमा निकै बढेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । क्यानाडाको नक्कली भिसा लगाई लाखौँ रकम ठगी गर्ने प्रबल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक डेन्जिन लामा प्रहरीको फन्दामा पर्ने पछिल्ला एक ठग पात्र बन्न पुगेका छन् ।

डेन्जिनले कामनपा–४ मा सञ्चालन गरेको प्रबल एजुकेसन कन्सल्टन्सीको आडमा भिजिट भिसामा क्यानाडा पठाउने भन्दै १०–१५ लाखसम्म रकम उठाई धेरैलाई ठगिरहेको सूचना महानगरीय अपराध महाशाखामा पटक–पटक पुगिसकेको थियो । त्यसपछि सुरु भयो डेन्जिन लामा एवम् प्रबल एजुकेसन कन्सल्टन्सीमाथि प्रहरीको विशेष निगरानी । गोप्य रूपमा कन्सल्टेन्सीलाई निगरानीमा राखी प्रमाण सङ्कलन गर्ने क्रममा दोलखा घर हुने विवेकराज कार्की, रामेछाप घर हुने राजु श्रेष्ठ र देवेन्द्र सुनुवार, भक्तपुर घर हुने रमेशकुमार केसी अपराध अनुसन्धान महाशाखाको सम्पर्कमा आए । उक्त कन्सल्टेन्सीले निजहरूलाई क्यानाडा भिजिट भिसाका लागि प्रतिव्यक्ति १५ लाखका दरले रकम लाग्ने भन्दै प्रोसेसको लागि मात्र ५० हजार तिर्न बाध्य पारेको थियो । यसरी ठग्ने डेन्जिनले थप रकम लिन सेवाग्राहीलाई विश्वास दिलाउन नक्कली भिसासमेत दिएको देखिन आएको प्रहरी महाशाखाको भनाइ छ ।

उक्त महाशाखाबाट खटिएको विशेष टोलीले वसुन्धरास्थित सो कन्सल्टेन्सीको खानतलासी लिँदा कन्सल्टेन्सीले पाँच लाखसम्मका रसिद काटी रकम उठाउने गरेको देखिन आएको थियो । उक्त कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्तासमेत नभई गैरकानुनी ढङ्गले सञ्चालनमा रहेको खुलासा पनि भएको छ । यति मात्र नभई डेन्जिनले विभिन्न एजेन्टमार्फत क्यानाडा जान चाहने व्यक्तिहरूलाई सम्पर्कमा ल्याउने, एजेन्टमार्फत १५ लाख उठाउने र एक क्यानेडियन नागरिकलाई भारतको दिल्लीमा राखी निजमार्फत भिजिट भिसा लगाई ठूलो मात्रामा रकम असुली गर्ने गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । हालसम्म उनले १४ जनालाई ठगी गरेको प्रमाणित भएको प्रहरी भनाइ छ । यसरी ठगी कार्यमा संलग्न काभ्रेपलाञ्चोक सिपाली चिलाउने गाविस–१ स्थायी ठेगाना भई हाल काठमाडौं वसुन्धरा बस्ने डेन्जिनमाथि आवश्यक कानुनी कारबाही सुरु भएको छ भने पीडितहरूले उनलाई कानुनबमोजिम पूरै कारबाही भोगाउनुका साथै आफ्नो डुबेको रकम फिर्ता दिलाइदिन प्रहरी प्रशासनसमक्ष गुहार लगाएका छन् ।

यस्तै, ललितपुर बस्ने प्रवेग डङ्गोलले आफू इसाई धर्मको पास्टर भएको तथा गिर्जाघरमार्फत अमेरिका पठाइदिन्छु भन्दै आङछिरिङ शेर्पाबाट ४७ लाख रुपैयाँ उठाए । रकम दिएपछि अमेरिका जाने र धेरै पैसा कमाउने सपना देखेका शेर्पाले धेरैपछि मात्रै आफू ठगिएको चाल पाए र प्रहरी गुहार्न पुगे । झापा घर भई हाल ललितपुर, बालकुमारी बस्दै आएका विजयराज खड्काले पनि सागर नेपालीसमेत ६ व्यक्तिबाट सिङ्गापुर पठाइदिने आश्वासनमा ६ लाखका दरले ३० लाख रुपैयाँ उठाए । ती युवालाई सिङ्गापुर पठाउनुको साटो आफैँ सिङ्गापुर भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षा कक्षबाट पक्राउ परे । यी केही समयअघिका घटना भए पनि नेपाली समाजमा मौलाएको ठगी धन्दाका प्रतिनिधि घटना हुन् ।
sarvendra khanal
अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार खाडी मुलुकको ठगीको घटनामा म्यानपावर कम्पनीको बढी संलग्नता देखिए पनि युरोप, अमेरिका पठाउने भनी ठगी भएका घटनामा व्यक्तिगत दलालको बढी संलग्नता देखिएको छ । खासगरी शैक्षिक परामर्श केन्द्रका रूपमा खुलेका संस्थाबाट समेत ठगीका धेरै घटना देखिएको एसएसपी खनालको अनुभव छ । महाशाखाले ठगीको आरोपमा दर्जनौँ यस्ता केन्द्रमा केही समयअघि छापा मारेर कयैन सञ्चालकलाई नियन्त्रणमा लिएपछि पछिल्लो समय ठगीमा केही कमी आएको भुक्तभोगीहरू बताउँछन् ।

गोंगबुस्थित आरडीसी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सोमराज घले हुन् वा नयाँ बानेश्वरमा रहेको अहेड इन्टरनेसनल एजुकेसनका सञ्चालक नीरज राई, वल्र्ड एन्ड मेमोरियल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक युवक राई हुन् या नुवाकोट थानसिंह घर भई हाल ललितपुर बस्ने पारस लोहनी, गोरखा छोप्राक घर भई धापासी बस्ने उमेश गुरुङ हुन् वा म्याग्दी पाखापानी घर भई हाल ललितपुर कुपन्डोल बस्ने दुर्गा भट्टचन र कास्की पोखराकी लक्ष्मी जीसी, दाङ, भरतपुर घर भई ललितपुर कुमारीपाटी बस्ने अनिता थापा हुन् या भेरी एन्ड कर्णाली इन्टरनेसनल म्यानपावर कम्पनीका सञ्चालिका कल्पना राउत नै किन नहुन्, यी सब वैदेशिक रोजगारीको नाममा ठगी धन्दामा संलग्न भनी प्रहरी अनुसन्धानबाट पुष्टि भएका प्रतिनिधि पात्रहरू हुन् । यस्ता पात्रको बिगबिगी नेपाली समाजमा दिनहुँ बढिरहनु चिन्ताको विषय बनेको छ ।

महानगरीय अपराध महाशाखाले चालू आर्थिक वर्ष ०७२/७३ को हालसम्मको अवधिमा परेका ठगीका उजुरीमध्ये करिब आधा वैदेशिक रोजगारीसँग सम्बन्धित छन् । महाशाखाले यस अवधिमा म्यानपावर कम्पनी, शैक्षिक परामर्श केन्द्रका सञ्चालक र व्यक्तिगत गरी चालीसभन्दा बढी मामलामा मुद्दा चलाएको बुझिएको छ ।