अनसनकारीलाई यसरी हौस्याए भट्टराईले

अनसनकारीलाई यसरी हौस्याए भट्टराईले


YuvaAnsan-Baishakh20_1
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भएको बताएका छन् । रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानले खुल्ला मञ्चमा रोजगारीको सुनिश्चितताका लागि गरिरहेको सामूहिक आमरण अनसनप्रति ऐक्यबद्धता जनाउन पुगेका भट्टराईले बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भन्दै यसको सकारात्मक समाधान गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गरे । यसका लागि राज्यले तुरुन्त आमरण अनसनकारीहरुसँग सार्थक संवाद गरेर यसको समाधान गरोस् भन्ने आग्रह पनि उनले गरे ।

अनसनकारीहरुको स्वास्थ्यमा प्रतिकूल समस्या आउनुअघि नै राज्यले सम्बोधन गर्नुपर्ने धारणा राख्दै त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा संयोजक भट्टराईले लेखेका छन्– ‘युवाहरुलाई पूर्ण रोजगारीको सुनिश्चितताकालागि शुरु गरिएको आमरण अनसनप्रति नयाँ शक्ति नेपाल र मेरो तर्फबाट हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।’ उनले अनसनकारीको मागप्रति राज्य गम्भीर हुनुपर्ने र आफूले पनि सरकारसँग यो विषयमा कुराकानी गर्ने पनि बताए ।

युवाहरु वेरोजगार भएको देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै डा. भट्टराइले सम्पूर्ण युवाहरु रोजगार भए मात्रै समृद्धिको ढोका खुल्ने तर्क गरे। युवाहरुलााई विदेश पठाएर त्यहाँबाट आएको रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने परिपाटीको अन्त्य गरेर देशभित्रै रोजगारी सिर्जना गरी स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्नेमा पनि संयोजक भट्टराईले जोड दिए ।

ज्ञातव्य छ, रोजगारीको सुनिश्चितताका लाागि बैशाख १५ गतेदेखि रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानका संयोजक पूर्वसभासद् चन्द्रबहादुर थापाको नेतृत्वमा १२ जना युवाहरुले खुल्ला मञ्चमा अनसन सुरु गरेका छन्। सागर नामले समेत चिनिने चन्द्रबहादुर कुनैबेला राजधानीका वाइसीएल कमाण्डरका रुपमा सक्रिय थिए ।