कसको कर्तव्य के ?

कसको कर्तव्य के ?


Birendramani-Paudel

– वीरेन्द्रमणि पौडेल

मानवतालाई केन्द्रभागमा राखेर मानवसमाजले निर्धारण गरेको काम र चिन्तनशैलीलाई कर्तव्य भन्ने गरिएको छ । कर्तव्यपालनले मानवसमाजलाई ठीक बाटोमा डोर्‍याउन मद्दत गर्छ, तर यो कर्तव्य नामको काम र चिन्तन सबैले एकनासले निर्वाह गर्छन् भन्ने होइन । कसैले थाहा नपाएका कारण कर्तव्य पालन गर्दैनन् गर्न सक्दैनन् भने कसैले थाहा पाएर, सक्ने भएर पनि कर्तव्यपालन गर्दैनन् । यसो हुनुमा शायद सत्यलाई अस्वीकार गर्ने आदत र ज्ञानको कमीले हुन सक्छ ।

प्रकृतिले विभिन्न अकारप्रकार र विशेषताले भरिपूर्ण जीवहरू उत्पादन गरेको छ । प्रकृतिका अनेक उत्पादनमध्ये मान्छे एउटा हो र यो विशेषताका हिसाबले अरूभन्दा ज्यादै भिन्न देखिन्छ । कार्यशैली र चिन्तनशैलीको फरकपन बेग्लै भयो यसका शरीरमा विभिन्न अङ्गहरू छन् र यिनको काम–कर्तव्य पनि अलग–अलग बुझ्न सकिन्छ । मान्छेको शरीरमा आँखा छ यसले हेर्ने काम गर्छ । नाकको सुँघ्ने र कानले सुन्ने काम गर्छ । त्यस्तै अन्य जति पनि अङ्गहरू छन् तिनले अलगअलग काम गर्छन् । अलग तरिकाले कर्तव्यको पालना गर्छन् । एउटाले गर्ने कामको अर्कोले कुनै पनि कोणबाट कहिल्यै पनि हस्तक्षेप गर्दैनन् । सिर्फ आफ्नो काम गर्दछन् । आफ्नो काम गर्ने र अरूको कामको विषयमा हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने भएका कारण मान्छेका शरीरका अङ्गहरूको सदाबहार परिचय स्थापित भएको छ । यदि एउटा अङ्गको काममा अर्कोले हस्तक्षेप गर्ने र टीका–टिप्पणी गर्ने हुँदो हो त कुनै पनि अङ्गको परिचय स्थापित हुने थिएन र त्यसको परिणाम यही हुन्थ्यो कि शरीर सञ्चालन प्रक्रियामा पनि अवरोध पैदा हुन्थ्यो ।

अब समाज र राष्ट्र हाँक्ने–हाँकिने र चल्ने–चलाउने प्रक्रिया पनि त्यस्तै हो । समाजमा विभिन्न पेसाका मानिस हुन्छन् । एउटा पेसाको मानिसले गरेको कामका कारण अरू मानिसलाई सहयोग प्राप्त हुन्छ र त्यही सहयोग ऊ बाँच्नका लागि सहयोगी बन्दछ । किसानले धान उत्पादन गर्दछ । किसानले उत्पादन गरेको धानको चामल खाएर अन्य पेसाका मानिस बाँच्छन् । डाक्टर, इन्जिनियर, पाइलट, सेना, पुलिस, वकिल, न्यायाधीश, उद्योगी, व्यापारी, शिक्षक, पत्रकारलगायत सबै पेसाका मानिसलाई अन्न उत्पादनमार्फत किसानले बचाएको छ । सबै पेसाका मानिस कुनै न कुनै रोगको सिकार हुन्छन् र डाक्टरले रोग निको बनाउन मद्दत गर्छ । किसानले अन्न उत्पादनमार्फत डाक्टरलाई बचाएको छ भने किसान बिरामी हुँदा डाक्टरले बचाएको छ । डाक्टर र किसानलाई एउटा पाइलटले एक देशबाट अर्को देशसम्म पुर्‍याएर सेवा गरेको छ । ती पाइलटसँग किसान र डाक्टर फेरि पनि जोडिएकै छन् । पाइलट बिरामी हुँदा डाक्टर चाहियो । अन्नको सवालमा किसानको मद्दत चाहियो । सेनाले राष्ट्रको रक्षा गर्छ र सेनालाई शिक्षक, पत्रकार, डाक्टर, किसानलगायतको मद्दत चाहिन्छ । अब उदाहरण धेरै प्रस्तुत गर्दा रसिलोपन हराउँदै जान्छ ।

त्यसकारण यसलाई यसरी व्याख्या गर्दा ठीक हुन्छ कि हरेक पेसाका मानिसले अर्को पेसाका मानिसलाई बाँच्न सजिलो बनाएको छ । त्यसकारण आफ्नो कर्तव्य ठीकसँग पालना गरेर अन्य पेसाका मानिसलाई बाँच्न सजिलो बनाइदिने जुनकुनै पेसाका मानिसको पनि घटी वा बढी महत्त्व नहुने स्पष्ट छ । समय र परिस्थितिअनुसार कहिले कसको महत्त्व र आवश्यकता महसुस गरिएला कहिले कसैको तर महत्त्व सबैको छ भन्ने कुरा कसैले पनि नबिर्सिंदा ठीक हुन्छ । कहिल्यै पनि बिर्सन नमिल्ने विषय भनेकोचाहिँ के मात्रै हो भने अरू पेसाका अरू मानिस बाँचेकाले मात्रै म बाँचेको हुँ र अरूको अस्तित्व कायम भएको कारणले मात्रै मेरो अस्तित्व कायम भएको हो भन्ने सत्य हो ।

अब विभिन्न पेसामा आबद्धहरूले आफ्नो कामलाई परम् कर्तव्य सम्झेर सोहीअनुसार कार्य सम्पादन गर्छन् भने त्यो देश सम्पन्नशाली हुन्छ र अविकसित र कमजोर छ भने पनि चाँडै विकासको गति समात्छ । एउटा कुनै देश अघि बढ्न र समृद्धशाली कहलिन सबै पक्ष र पेसाका मानिस उत्तिकै इमानदार र कर्तव्यनिष्ठ त हुनैपर्छ यसको अतिरिक्त सम्बन्धित देशको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने पक्ष शतप्रतिशत कर्तव्यपथमा चलेको हुनुपर्छ त्यसपछि मात्रै अन्य पक्षबारे चर्चा हुनसक्छ । नेपालको सन्दर्भमा चर्चा गर्ने हो भने यहाँको प्रहरी सङ्गठनले जनताको जिउधनको सुरक्षाको जिम्मेवारी पाएको छ । कुनै एउटा उदाहरण प्रस्तुत गर्नुअघि नेपालको प्रहरी सङ्गठनको उपस्थिति र अवस्थाबारे केही शब्द निर्माण गर्न उपयुक्त ठानिएको छ ।

विक्रम सम्वत् २०१२ सालमा प्रहरी ऐन बनेपछि केही व्यवस्थित हुन पुगेको नेपाल प्रहरी सङ्गठन तानाशाही प्रवृत्तिका लोकतन्त्रवादी नेता गिरिजाप्रसाद कोइरालाले माओवादीसँग जुधाउन सशस्त्र प्रहरी बल निर्माण गरेपछि दुईखाले प्रहरी सङ्गठन आज अस्तित्वमा छ । काम सकिएपछि प्रयोग गरिएका चिजबीच थान्कोमान्को लाउने चलन मानव समुदायमा सधैँभरि कायम छ, तर माओवादीसँग भिडाउन गठन गरिएको सशस्त्र प्रहरीलाई माओवादी शान्तिप्रक्रियामा आएर सरकारै चलाइसक्दा पनि थान्कोमान्को लाउने काम कसैले गरेन । किताब पढेपछि कतै व्यवस्थित तरिकाले थन्क्याइन्छ । बारीमा कोदालो प्रयोग गरिसकेपछि ठीक ठाउँमा राखिन्छ । कलमको लेख्ने काम सकिएपछि बिर्को बन्द गरिन्छ र गोजी वा कतै थन्क्याइन्छ, तर पूरा काम सकिएपछि पनि अदूरदर्शी नेपाली राजनेताले सशस्त्र प्रहरीलाई ठीक तरिकाले थान्को लाउन सकेनन् र त्यसको परिणाम भकाभक सशस्त्र प्रहरीका भूतपूर्व महानिरीक्षकहरू करोडौँ ठगीमा मुछिन पुगेका छन् । यिनीहरूलाई ठीक तरिकाले राज्यले प्रयोग गर्न नसक्दा आफूले आफैँलाई चलाउने अवस्थामा पुगे । आफैँलाई चलाउँदा भ्रष्टाचारी बन्न पुगे ।

अब जनपथ प्रहरीतर्फको सन्दर्भमा चर्चा गर्दा यतातिर पनि भ्रष्टाचारी प्रहरीहरू नभएका होइनन्, तर यतिबेलाका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल जो धनलाई भन्दा इज्जतलाई प्राथमिकता दिने खालका रहेछन् यिनको मातहत चल्ने अधिकांश प्रहरी कर्तव्यनिष्ठ मानिएका छन् तीमध्ये एउटा उदाहरण बन्न पुगेका छन्– चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवर र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर राजन भेटवाल । एसपी वसन्तले कार्यभार सम्हालेपछि यिनले मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने चालकलाई कानुनबमोजिम कारबाही गरे । कानुन तोड्ने कसैलाई पनि छुट दिएनन् । मादक पदार्थ सेवनपश्चात् सवारीसाधन हाँक्दा चालकको जीवन त जोखिममा पर्छ नै, उसले धेरैको जीवन बर्बाद पार्न सक्छ पारेकै छन् । कमसे कम यो अवस्थाको अन्त्य गर्न वसन्तबहादुर कुँवर सफल भएका छन् ।

यिनको यो साहस मिसिएको कर्तव्यपालनले दुर्घटना कम भएको छ, धेरैको जीवन जोगिएको छ । पहिले पहिले अरू एसपीको पालामा मादकपदार्थ सेवनकर्ताहरूको तर्फबाट आउने भनसुनलाई प्राथमिकता दिइन्थ्यो । तर, हिजोआज त्यो अवस्थाको पूरै अन्त्य भएको छ । चाहे मन्त्रीको आदेश आओस् वा आफ्नै सङ्गठनका माथिल्ला हाकिमको फोन, यिनले कानुन तोड्नेहरूलाई सजाय दिएरै छाडेका छन्, त्यसै छाडेका छैनन् । त्यति मात्र होइन, बीसौं वर्षअघिदेखि अदालतले सजाय तोकेको तर फरारहरूलाई समेत यिनी भटाभट पक्रन सफल भएका छन् । यतिबेला चितवनका जनताले पुलिस होस् त वसन्तबहादुर कुँवरजस्तो होस् भन्न थालेका छन् । यिनले नयाँ केही गरेका होइनन् सिर्फ कानुनअनुसार आफ्नो कर्तव्यपालन गरेका मात्र हुन् । तर, परिणाम आयो सोचेभन्दा ज्यादा सकारात्मक । यही कारण हो आज चितवनको शान्तिसुरक्षाको अवस्था ज्यादै तारिफ गर्नलायक महसुस गरिएको छ ।

यही जिल्ला हो जहाँ सवारी दुर्घटनामा परी प्रत्येक दिन दुई–चारजनाको ज्यान गएकै हुन्थ्यो । तर, ट्राफिक प्रहरी इन्स्पेक्टर राजन भेटवालले यतिसम्म मिहिनेत गरे कि यिनको मिहिनेतले आज सडक दुर्घटनामा ह्वात्तै कमी आएको छ । यिनले विभिन्न सवारीसाधनका चालकलाई मात्रै दुर्घटनाका कारणबारे प्रशिक्षण दिएनन् चितवनका हजारौँ विद्यार्थीलाई समेत दुर्घटनाका कारण र बच्ने उपायबारे प्रशिक्षण दिए । विभिन्न सामाजिक सङ्घ–संस्थाहरूसँग हातेमालो गरेर सडक अतिक्रमण गर्नेहरूलाई निरुत्साहित पारे । एउटा ट्राफिक प्रहरीको इन्स्पेक्टरले गर्नुपर्ने कर्तव्य यिनले पूर्ण रूपले पालना गरे । यसको परिणाम हरेक कोणबाट मानवीय र अन्य भौतिक क्षति न्यून हुन पुग्यो । प्रमाण यी दुई प्रहरी कर्मचारी हुन् कि इमानदारीपूर्वक कर्तव्यपालन गर्ने हो भने समाज र राष्ट्रलाई लाभ पुग्न सक्छ ।

फेरि एकपल्ट कल्पना मात्र गरौँ– उदाहरण बन्न पुगेका यतिबेलाका चितवन प्रहरी प्रमुख वसन्तबहादुर कुँवर र ट्राफिक प्रहरी इन्स्पेक्टर राजन भेटवालजस्तै देशभरिका प्रहरी इमानदार हुन सके, देशैभरिका निजामती कर्मचारीहरूले इमानदारीपूर्वक कर्तव्य पालन गरे, डाक्टर पैसामुखी नभएर डाक्टरैजस्तो हुन सके, राजनीतिज्ञ तस्करजस्तो हुन छाडेर राजनीतिज्ञजस्तै हुन सके, जसले जे पेसा अँगालेको छ त्यही पेसाप्रति इमानदार र कर्तव्यनिष्ठ हुन सके केही समयभित्रै यो मुलुक कस्तो हुन्थ्यो होला ? जवाफ केपी ओली नेतृत्वको सरकारले मात्रै दिनुपर्छ भन्ने होइन, प्रतिपक्षमा बसेको नेपाली काङ्ग्रेस वा अन्य राजनीतिक दल वा समाजका अन्य कुनै पक्षमध्ये जसले दिए पनि हुन्छ ।