चोरी–सिकारी नियन्त्रण गर्ने सहमति

चोरी–सिकारी नियन्त्रण गर्ने सहमति


वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गर्नका लागि सघन रूपमा कार्यक्रम अगाडि बढाउन नेपाल र भारतका वन अधिकारी प्रतिबद्ध भएका छन् । गत साता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सम्पन्न दुवै देशका वन अधिकारीको संयुक्त बैठकले वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले बाघ संरक्षणको कार्य चुनौतीको विषय भएकाले यसको रोकथामका लागि समन्वयात्मक ढङ्गले कार्य गर्नुपर्नेमा सहमति जुटाएको छ ।

बैठकका क्रममा नेपालका तर्फबाट भारतीय पक्षले महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भइरहेको बालुवा उत्खनन गर्ने कार्य रोक्नका लागि पहल गर्नुपर्ने प्रस्तावसमेत गरिएको थियो । सोको प्रतिक्रियास्वरूप भारतीय पक्षले बालुवा उत्खननको कार्य रोक्न बैठकमा प्रतिबद्धता व्यक्त गरेको बुझिएको छ । संयुक्त बैठकमा हालसम्म भएका कामको समीक्षा र आगामी योजना निर्माण गर्ने विषयमा छलफल पनि भएको छ । उक्त बैठकमा नेपालका तर्फबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारी, भारतको उत्तराखण्ड वन विभागका कर्मचारी, डब्लूडब्लूएफ इन्डियाका कर्मचारीको सहभागिता रहेको थियो ।

यसैबीच नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेसनको पहलमा भारतको मणिपुर प्रान्तमा गत बिहीबार भारत–नेपाल आख्यान विमर्श सम्पन्न भएको छ । नेपाली संस्कृति सुरक्षा परिषद् मणिपुर स्थानीय आयोजक रहेको उक्त कार्यक्रममा समालोचक रामप्रसाद पौड्यालले ‘भारतीय नेपाली कथा परम्परा र मणिपुर’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमार्फत समालोचक पौड्यालले भारतमा सवाइ साहित्यको जन्मभूमि मणिपुरले आशारानी राई, पदमबहादुर राई, देवीप्रसाद थापा मामा, राहुर राई बोगीको जस्ता कथाकारले नेपाली आख्यान साहित्यमा कथाको परम्परालाई दर्बिलो बनाएको उल्लेख गर्नुभएको छ ।

सो कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यको श्रीवृद्धिमा मणिपुरको योगदान सदैव स्मरणीय रहँदै आएको बताउनुभयो । द्विदेशीय साहित्यिक अनुष्ठानका अवसरमा नेपालका मातृका पोखरेल, कृष्ण प्रसाईं र विवश पोखरेलसँगै स्थानीय साहित्यकार भवानी अधिकारी, टंकनाथ खतिवडा, खुमप्रसाद पौड्याल, कीर्तिमणि खतिवडा, दीपक पन्थ, हरि बस्नेत आदिले आ–आफ्ना रचना पाठ गरेका थिए भने प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेसनका तर्फबाट मणिपुरेली साहित्यकारलाई सम्मान गरिएको थियो ।
nepal-bharat-flag

फत्ते बाल आँखा अस्पतालको पूर्वाधार निर्माण गर्न पाँच करोड

नेपालगन्जस्थित फत्ते बाल आँखा अस्पतालमा पाँच करोड रुपैयाँको लागतमा थप भौतिक पूर्वाधार निर्माण हुने भएको छ । भारतीय राजदूतावासको आर्थिक सहयोगमा बाँके जिल्ला विकास समितिमार्फत निर्माणकार्य अघि बढाउन राजदूतावास, जिविस र अस्पताल व्यवस्थापनबीच त्रिपक्षीय सम्झौता भएको छ । गत चैत २९ गते भएको सम्झौताअनुसार अस्पतालमा थप आधुनिक शल्यक्रिया कक्ष, जनरल तथा प्राइभेट वार्ड, स्वास्थ्य शिक्षा हल र चिकित्सक आवासगृह निर्माण गरिनेछ । एक साताभित्रै बोलपत्र आह्वान गरी सम्झौताअनुसार निर्माणको काम सुरु गरिने र डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको स्थानीय विकास अधिकारी जीवलाल भुसालले जानकारी गराए ।

स्मरणीय छ, विगत ३० वर्षदेखि नेपालको मध्यपश्चिम तथा छिमेकी मित्रराष्ट्र भारतका बिरामीलाई प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको फत्ते बाल आँखा अस्पतालले वार्षिक करिब एक लाखभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा तथा सरदर १२ हजारलाई शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।