पार्टी–नीतिअनुरूप व्यवहार गर्दा पार्टीबाट कारबाही !

पार्टी–नीतिअनुरूप व्यवहार गर्दा पार्टीबाट कारबाही !


biraj-bahadur-bista
राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा चमत्कारी बाबा या जादुगर होइनन्, तर नेपाली राजनीतिमा प्रचण्डले भन्दा पनि अस्वाभाविक कर्म गरेर उनी बेलाबेला चर्चा र विवादमा आउने गर्दछन् । यो साता उनले पार्टीको नीतिअनुरूप सार्वजनिक अभिव्यक्ति दिएको र पार्टीको विचारअनुरूप आयोजित एक कार्यक्रममा सहभागी भएको ‘आरोप’ लगाउँदै आफ्नो पार्टीबाट मन्त्रिमण्डलमा सहभागी विराज विष्टलाई कारबाही गरेर चर्चामा आएका छन् । पार्टीबाट कसैलाई कारबाही गर्नु या निष्कासन गर्नु नेपाली राजनीतिमा एउटा सामान्य परम्परा बनेको छ । तर, अहिलेसम्म जुन पार्टीबाट जो–जसलाई कारबाही गरिए पनि त्यस्ता व्यक्तिमाथि पार्टीको सिद्धान्त र नीतिविपरीत गतिविधि गरेको आरोप लगाइने गरिन्थ्यो । कमल थापाले भने पार्टी लाइनअनुरूप क्रियाकलाप गरेको आरोपमा कारबाही गरेर नयाँ कीर्तिमान राखेका छन् ।

सहायकमन्त्री विराज विष्टले गत साता नारायणहिटी राजदरबार सफाइ गर्न युवाहरूद्वारा आयोजित एक कार्यक्रममा सहभागी भई राप्रपा नेपाल हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको पक्षमा दृढतापूर्वक उभिएको बताउँदै आफ्नो उद्देश्य पूरा गर्न कटिबद्ध रहेको अभिव्यक्ति दिएका थिए । विष्टले उद्देश्य प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने विचार पनि सो अवसरमा प्रकट गरेका थिए । यसरी राजतन्त्र र हिन्दू राष्ट्रका पक्षमा गतिविधि गर्नु संविधानविपरीत भन्दै राप्रपा नेपालले विराज विष्टलाई मन्त्रिमण्डलबाट फिर्ता बोलाउने निर्णय लिएको छ । विष्टको गतिविधिलाई लिएर सत्ता गठबन्धनका वामपन्थी समूहसम्बद्ध नेताहरूले गम्भीर आपत्ति जनाएका थिए । तर, यसअघि उपप्रधानमन्त्री एवम् जनमोर्चाका नेता चित्रबहादुर केसीले सङ्घीयताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै देशव्यापी सङ्घर्षमा सहभागी हुने निर्णय गर्दा भने उनीमाथि कारबाहीको कुरा उठेको थिएन ।

राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षताको निम्ति अगुवाइ गर्ने एमाओवादी र एमाले गठबन्धनको सरकारमा राप्रपा नेपाल सामेल हुनुलाई यसअघि अस्वाभाविक मानिएको थियो । कतिपयले कमल थापाको यस्तो नीतिको आलोचना गर्दै उनी राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको पक्षमा नरहेको टिप्पणी गरेका थिए । विराज विष्टमाथि भएको कारबाहीले राप्रपा नेपाल हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा नरहेको, आफ्नो राजनीतिक स्वार्थसिद्धिका लागि मात्र उनले राजा र हिन्दूको नाम प्रयोग गर्ने गरेको पुष्टि भएको छ । केही दिनअघि राप्रपा नेपालका नेता केशरबहादुर विष्टले कमल थापा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा नरहेको आरोप लगाउँदा विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय लिइएको थियो । यसरी हिन्दूराष्ट्र र राजतन्त्र पुनस्र्थापनाको पक्षमा अभिव्यक्ति दिने नेताहरूलाई धमाधम कारबाही गर्न थालिएपछि कमल थापा र राप्रपा नेपालमाथि गम्भीर प्रश्न उठेको छ । आफ्ना विचार र सिद्धान्तबाट नेपालका अधिकांश राजनीतिक दलहरू चुक्दै गएको परिप्ेरक्ष्यमा कमल थापाले अपनाएको शैली उदाहरणीय बन्न पुगेको छ । नेपालका अधिकांश दल तथा तिनका नेताहरूको सिद्धान्त र व्यवहार ठीक विपरीत रहेको देख्नेहरू सही भएको यस घटनाले पुष्टि गरेको छ ।