विश्वचर्चित ‘पानामा पेपर्स’सँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको आयोग पवक्ता कृष्णहरि पुष्करले जानकारी दिएका छन् । संसार हल्लाएको सो मामलामा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि अख्तियारको ध्यान यस मामलामा तानिएको प्रवक्ता पुष्करको कथन छ । उक्त ‘पेपर्स लिक्स’मा नेपालका एक दर्जनभन्दा बढी मुछिएको बताइए पनि ती को हुन् र उनीहरूको आर्थिक अवस्था के हो भन्ने खुलाइएको छैन ।
बताइएअनुसार नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि अख्तियारले सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरेको छ भने आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालयलगायतका निकायसँग पनि छलफल गरिरहेको छ ।
‘नेपालका केही व्यक्तिको नाम जोडिनुले अख्तियारले अध्ययन गर्नैपर्ने देखिएको’ भन्दै पुष्करले पहिलो चरणको सामान्य अध्ययन सकिएको बताए । त्यसको विवरणका आधारमा थप अध्ययन हुने उनले बताए । सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एव् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पुर्याएको आयोगको ठहर छ ।
स्मरणीय छ, मध्यअमेरिकी राष्ट्र पानामास्थित कानुनी सेवा प्रदायक कम्पनी मोसाक फोन्साकाले विश्वका गैरकानुनी कारोबार एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी दिइएका सेवाका दस्तावेज सार्वजनिक गरेको थियो । विश्वका सत्तारूढ एवम् चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको उक्त पानामा पेपर्समा उल्लेख गरिएको थियो । गोप्य रुपमा अरूका सम्पत्तिको कर छलीलाई लुकाउन सहयोग गर्ने चौथो ठूलो निकायका रुपमा त्यसलाई हेरिन्छ । त्यस खुलासामा १२ देशका १ सय ४२ नेता र तिनका आफन्तले कर तिर्नु नपर्ने स्थानमा सम्पत्ति जम्मा गर्ने गरेको खुलासा गरेको हो । त्यसमा विश्वका ८० देशका पत्रकारले एक करोड १५ लाख दस्तावेजको अध्ययन गरेर नतिजाबाहिर ल्याएका थिए ।
प्रतिक्रिया