अमेरिकन राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा जारी

अमेरिकन राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा जारी


डोनाल्ड ट्रम्प र  हिलारी क्लिन्टन

एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी रहदा डेमोक्रयाट पार्टी र रिपव्लिकन पार्टीका प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी रहेको छ । डेमोक्र्याट पार्टीको तर्फवाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन र भरमण्डका सिनेटर वर्नी स्याण्डर्स मैदानमा रहेका छन भने रिपबिलकन पार्टीको तर्फवाट अझै तीनजना मैदानमा रहेका छन् । अर्बपति धनाढ्य डोनाल्ड ट्रम्प,टेड क्रुज र जोन कासिक रहेका छन् ।
डेमोक्र्याट पार्टीको हिलारी क्लिन्टनको अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म उनले कूल ४७६५ मध्ये १७९० प्रतिनिधी मत ९डेलिगेटस० पाएकी छन् । उनको पार्टीका अर्का प्रत्यासी बर्नी स्याण्डर्सले १११३ मत पाएर पछ्याइरहेका छन् ।

अब बाँकी रहेको मतमध्ये बर्नीले आफूलाई मनोनयनमा पार्नका लागि ६५ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । हिलारी भने ५९३ मत ल्याएको खण्डमा उनी मनोनयनमा पर्नेछिन् । आगामी १९ तारिखमा हुने न्यूयोर्कको प्राथमिक निर्वाचनले एउटा स्पष्ट खाका आउने संभावना रहेको छ ।

न्यूयोर्कको कूल २४६ र पेन्सलभेनियाको १८९ डेलिगेटस भोटले हिलारी अग्रस्थानमा बस्न सफल भइन भने उनको मनोनयनको लागि मार्ग प्रशस्त हुनेछ । न्यूयोर्क किन पनि यी दुई उम्मेदवारका लागि महत्वपूर्ण रहेको छ भने वर्नी न्यूयोर्कमा जन्मिएका हुन भने क्लिन्टनको कर्मथलो न्यूयोर्क हो । त्यसैले दुबैको मजबुत आधारशीला भएको स्थानको रुपमा न्यूयोर्कलाई लिइएको छ ।

गत मङ्गलवार मात्रै मोमाउथ युनिभर्सिटीले गरेको एक सर्वेक्षणमा क्लिन्टनले ५१ प्रतिशत र वर्नी स्याण्डर्सले ३९ मत प्राप्त गरेका थिए । यसले क्लिन्टनको अग्रता कायम रहने अनुमान सञ्चारमाध्यमहरुको रहेको छ । यस्तै, गत बिहीबार भएको सिएनएनको सार्वजनिक बहस कार्यक्रममा दुबै प्रत्यासीले इराक युद्ध, वाल स्ट्रेटको मुद्दालगायतका विषयमा रक्षात्मक टिप्पणी गरेका थिए । सो बहसमा वर्नी स्याण्डर्सले हिलारीमाथि प्रश्न गर्दे उनको निर्णयमाथि प्रश्न भनेका थिए, वर्नीको भनाई थियो–इराक युद्ध, धनी वर्गका व्यक्तिहरुसँगको सम्बन्ध जस्ता विषयले उनको योग्यतामाथि प्रश्न उठेको छ ।

त्यसको प्रत्युत्तरमा हिलारी क्लिन्टनले मलाइ दुईपटक सिनेटमा जिताएर विदेशमन्त्रीको रुपमा जनताले अनुमोदन गरिसकेका छन् । अमेरिकामा सञ्चारमाध्यमहरुले बिहीबारको क्लिन्टनको प्रस्तुतिलाई अब्बल मानेका छन् ।

उनले नीतिगत विषयमा मजबुततर्क पेस गरेकी थिईन् । यद्यपि क्लिन्टनलाई वर्नीको सुधारात्मक अवधारणाको लागि रोक्ने एउटा प्रयास आगामी अप्रिल १९ तारिख नै हुनेछ । न्यूयोर्कका डेलिगेटसहरुले सहयोग गरेर हिलारीलाई फराकिलो अन्तरले वर्नीलाई हराए भने वर्नी राष्ट्रपतिको दौडबाट घर फर्किनुपर्ने हुन्छ ।

उता रिपब्लिकन पार्टीमा पनि चुनावी दौड जारी रहेको धनाढ्य डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धा दिँदै टेड क्रुजले पछाएका छन् । यो समाचार तयार पार्दासम्म ट्रम्पले ७३८ डेलिगेटस भोट पाएका छन भने क्रुजले ५३८ मतका साथ पछ्याइरहेका छन् ।

एकपछि अर्को विवादस्पद अभिव्यक्ति दिँदै आएका ट्रम्पको लोकप्रियता पछिल्लो समयमा केही खस्किएको छ । रिपब्लिकन पार्टीको पनि आगामी अप्रिल १९ तारिखमा न्यूयोर्कमा ९५ डेलिगेटस र अप्रिल २६ मा पेन्सलभेनियामा ७१ मतसहितको प्राथमिक निर्वाचन हुने भएको छ ।

रिपब्लिकन पार्टीको जुन महिनामा मात्रै कसको मनोनयन हुन्छ भन्ने खाका आउने सम्भावना छ । किनकी जुन महिनामा उक्त पार्टीको क्यालिफोर्नियासहित पाँच राज्यमा ३०३ डेलिगेटसले मतदान गर्नेछन् ।

आगामी नोभेम्वर ८ तारिखमा हुने निर्वाचनमा यी दुई पार्टीको तर्फबाट कसले मनोनयन पाउने छ भन्ने जान्नका लागि अरु केही समय कुर्नुपर्ने भएको छ ।