‘पहाड मात्र नेपाल होइन, मधेस मात्र पनि नेपाल होइन’

‘पहाड मात्र नेपाल होइन, मधेस मात्र पनि नेपाल होइन’


gosthi 26594864789_n
शहीद स्मृृति प्रतिष्ठानले ‘राष्ट्र निर्माणमा सम्वैधानिक पहुँच’ विषयक एक दिने कार्यशाला गोष्ठी राजधानीमा सम्पन्न गरेको छ । फ्रेडरिक इवर्ट स्टिफ्टुङ (एफईएस)को सहयोगमा राजधानीमा आयोजित सो गोष्ठी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि निधिले संविधान कार्यान्वयनको चरणमा रहेका बेला यस्ता गोष्ठी गरेर संविधानबारे जनचेतना फैल्याउने काम गरेकोमा आयोजक शहीद स्मृति प्रतिष्ठान र कार्यक्रमलाई सहयोग गर्ने एफईएसलाई धन्यवाद दिनुभयो । नेता निधिले चाँडोभन्दा चाँडो कानून बनाएर संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान उत्कृष्ट बनेको बताउँदै केही समुदायको असन्तुष्टि रहेको र विशेष गरेर मधेशी र जनजातिको असन्तुष्टिलाई वार्ता मार्फत समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता निधीले मधेशी दलले उठाएका तीन वटा मागमा नेपाली कांग्रेसको पनि सहर्थन रहेको उल्लेख गर्दै नागरिकताको सवाल, सिमांकनको हेरफेर र संसदका दुवै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्छ भन्ने मधेशवादी दलको मागमा नेपाली कांग्रेसको समर्थन रहेको प्रस्ट्याउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहाड मात्र नेपाल हो भन्ने र मधेशवादी दलले मधेश मात्र नेपाल हो भन्ने सोच राख्न नहुने विचार व्यक्त गर्दै नेता निधीले संवैधनिक बाटोमा सबै हिँड्नुपर्ने बताउनुभयो ।

सो गोष्ठीको उद्घाटन सत्रमा एफइएस नेपालका प्रमुख डा. देवराज दाहालले प्रजातान्त्रिक मूल्यमान्यताको पालना भएमात्र प्रजातन्त्र बलियो हुने विश्लेषण गर्दै राष्ट्र निर्माणमा राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रष्ट पार्दै शहीद स्मृति प्रतिष्ठानका महासचिव खिलानाथ दाहालले भर्खरै जारी भएर कार्यान्वयन प्रक्रियामा रहेको संविधान कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर श्रम क्षेत्रका व्यक्ति, राजनीतिक दलका प्रतिनिधि युवाहरुकावीचमा छलफलका लागि गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो । शहीद स्मृति प्रतिष्ठानले शहीदको उद्देश्यलाई कसरी साकार पार्न सकिन्छ, शहीद परिवार र समग्र जनताको आर्थिक जीवनस्तर कसरी उठाउन सकिन्छ, कसरी सामाजिक रुपमा समानता कायम गर्न सकिन्छ, राजनीतिक रुपमा कसरी सवैको प्रतिनिधित्व गराउन सकिन्छ र सांस्कृतिक रुपमा सवैको समावेशी करण कसरी गर्न सकिन्छ भन्ने बारेमा शहीद स्मृृति प्रतिष्ठानले काम गर्दै आएको उहाँको कथन थियो ।

gosthi 751746335564122_n

गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक युवराज गौतमले ‘राष्ट्रियता, प्रजातन्त्र र सञ्चारमाध्यम’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमा हरिकृष्ण शाहले टिप्पणी गर्नुभएको थियो । गौतमको कार्यपत्रमा प्रजातन्त्रका नाममा छाडातन्त्र मौलाएको, नेपालीहरुमा नेपाली हौ भन्ने भावना गौण बन्दै गएको र मधेशी पहाडी, हिमाली, राई, मगर, क्षेत्री, वाहुन लगायतका हौ भन्ने भावना प्रवल भएकाले राष्ट्रियता कमजोर बन्दै गएको उल्लेख गर्नुभएको छ । उहाँले हिन्दु राष्ट्र हटाएर क्रियश्चियन राष्ट्र बनाउनु खोजेको, संघीयताका नाममा राष्ट्र खण्डित गर्न खोजिएको, सञ्चारमाध्यममा पनि विदेशी लगानीको प्रभाव परेको र राष्ट्रियताका सवालमा, धर्मसंस्कृतिको बारेमा सञ्चारमाध्यहरुमा एकरुपता नदेखिएको, विखण्डनका स्वरहरुले प्राथमिकता पाएको उल्लेख गर्नुभएको थियो । उहाँले राष्ट्रियता, प्रजातन्त्र र सञ्चारमाध्यम एक अर्काका पुरक भएकाले समाजका प्रवुद्ध विचारक, चिन्तक, विश्लेषकदेखि लिएर राजनीतिक नेता, कार्यकर्ताले समेत राष्ट्रियता र प्रजातन्त्रलाई केन्द्रविन्दुमा राखेर त्यसको भावनाको समान गर्ने हो भने अधिनायकवाद कुनै पनि किसिमको प्रजातन्त्रविरोधी शक्ति प्रवल हुने सम्भावना नरहेने उल्लेख गर्नुभएको थियो ।

त्यस्तै सर्वोच्च अदालतका अधिवक्ता दिनेश त्रिपाठीले ‘नयाँ संविधान र राष्ट्र निर्माण’ विषयक कार्यपत्र पेश गर्दै नयाँ संविधानमा केही त्रुटी भएपनि त्यसलाई सच्याउँदै कार्यान्वयन गर्नुको विकल्प नभएको वताउनुभयो । लोकतान्त्रिक प्रक्रियामा हिंसाका लागि कुनै स्थान नहुने बताउँदै अधिवक्ता त्रिपाठीले संविधानमा भएका त्रुटी संवैधानिक प्रक्रयाद्वारा नै सम्बोधन गर्न सकिने बताउनुभयो । उहाँले सबै सरोकारावालसँग सार्थक संवाद गरेर संविधान कार्यान्वयनका लागि मार्गप्रसस्त गर्नुपर्ने, कानूनहरु तत्काल निर्माण गर्नुपर्ने संविधान कार्यान्वयनका लागि अनुकुल वातवारण तयार गर्न व्यापक सामाजिक एवं राजनीतिक संवाद थालनी गर्नुपर्ने विशेषज्ञहरुको आयोग गठन गनर्गुपर्ने, संघीय सिमानाहरुको विवादलाई तत्काल हल गर्नुपर्ने, संविधानले परिकल्पना गरेवमोजिमको न्यायपालिकाको संरचना परिवर्तन गर्नुपर्ने, राज्यका निर्देशक सिद्धान्तहरुको कार्यान्वयनका लागि तत्काल राष्ट्रिय राजनीतिक योजना बन्नुपर्ने बताउनु भयो । उहाँको कार्यपत्रमाथि प्राध्यापक अमुदा श्रेष्ठले टिप्पणी गर्नु भएको थियो ।

पूर्वमन्त्री, वरिष्ठ राजननीतिज्ञ तथा शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष तथा गोष्ठीका सभापति ढुण्डीराज शास्त्रीले प्रजातन्त्र निर्विकल्प भएपनि यसले जनताको हितमा केन्द्रित हुन नसकेमा विकृति आउने चर्चा गर्नुभएको थियो । सो गोष्ठीमा वुद्धिजीवी, राजनीतिकर्मी, मजदुर, पत्रकारलगायतको उल्लेख्य उपस्थिति थियो ।