डा. आरजुको शल्यक्रिया हुँदै

डा. आरजुको शल्यक्रिया हुँदै


Arju_Deuwa
नेपाली कांग्रेसकी सांसद एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवाको उपचार नयाँदिल्लीस्थित फोर्टिज अस्पतालमा हुने भएको छ । ‘हिप ज्वाइन्ट’मा समस्या उत्पन्न भएपछि सहजै हिँडडुल गर्न र भर्‍याङ चढ्नसमेत गाह्रो भएकोले नेपालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकहरूले उहाँलाई ‘हिप ज्वाइन्ट रिप्लेसमेन्ट’ गर्नुपर्ने अवस्था आएको बताएका थिए । डा. देउवाको वैशाख ८ गते फोर्टिज अस्पतालमा शल्यक्रिया गरी ‘हिप ज्वाइन्ट रिप्लेसमेन्ट’ गरिने भएको छ । उपचारका लागि डा. आरजु वैशाख ४ गते नयाँदिल्ली प्रस्थान गर्नुहुने बुझिएको छ ।

सभापति देउवा आफ्नी धर्मपत्नीको अप्रेसनको अघिल्लो दिन (वैशाख ७ गते) नयाँदिल्ली जानुहुने र पत्नी आरजुको स्वास्थ्य अवस्था सामान्य रहेमा वैशाख १० गते नै स्वदेश फर्कनुहुने भएको छ । देउवा यसपटक केवल पारिवारिक कारणले निजी भ्रमणमा जान लाग्नुभएको भए पनि उहाँको सम्भावित दिल्ली भ्रमणलाई लिएर राजनीतिक वृत्तमा अनेकौँ अड्कलबाजी सुरु भएका छन् । कतिपयले सरकार परिवर्तनका निम्ति परामर्श गर्न देउवा दिल्ली जान लाग्नुभएको भन्ने टिप्पणी गर्नसमेत भ्याएका छन् ।

तर, देउवानिकटको सूत्रले जनाएअनुसार यसपटक नयाँदिल्लीमा उहाँको राजनीतिक भेटघाटको सम्भावना कमै मात्र रहेको छ । अहिलेसम्म कुनै भारतीय नेतासँग विशेष भेटवार्ता गर्ने कार्यक्रम तय भएको पनि छैन । पत्नी आरजुको उपचारबाहेक देउवाको भ्रमणको अर्को कुनै उद्देश्य नरहेको बताइएको छ । डा. आरजुको उपचार दुई महिनाअघि नै गरिसक्नु भनी चिकित्सकहरूले सुझाएका भए पनि कांग्रेस महाधिवेशनका कारण समयमै उहाँको उपचार हुन सकेको थिएन । अप्रेसनपछि उहाँले करिब डेढ महिना आराम गरेर अस्पतालमै रहनुपर्ने बुझिएको छ ।