कांग्रेसमा कस–कसलाई बनाइँदै छ पदाधिकारी र सदस्य

कांग्रेसमा कस–कसलाई बनाइँदै छ पदाधिकारी र सदस्य


मनोनयन प्रक्रियाद्वारा पूर्ति गरिनुपर्ने नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यमा को–कसको चयन होला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । रिक्त उपसभापतिमा खुमबहादुर खड्का र महामन्त्रीमा विमलेन्द्र निधिको चयन हुनसक्ने अनुमान महाधिवेशनको समयदेखि नै हुँदै आएको हो । तर, कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको हैसियत प्राप्त गर्न धेरै नेताहरूले इच्छा जाहेर गरेकोले कसलाई के जिम्मेवारी प्राप्त हुने हो यकिन भइसकेको छैन । गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिसमेत पार्टीको उपसभापति तथा पूर्णबहादुर खड्का र डा. प्रकाशशरण महत, महामन्त्री बन्न इच्छुक भएकोले विधान संशोधन गरेर महामन्त्री र उपसभापतिहरूको सङ्ख्या थप्नुपर्ने सुझाव पार्टीका नेताहरूले सभापति देउवालाई दिएका छन् । तर, विधान संशोधन गर्न महासमितिको बैठक बस्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव देखिएको छैन ।

कांग्रेसको विधानअनुसार महाधिवेशन सम्पन्न भएको मितिले दुई महिनाभित्रै पदाधिकारी तथा सदस्यहरूको मनोनयन भइसक्नुपर्ने हुन्छ र देउवाले महाधिवेशनमा दुई महिनाभित्रै मनोनयनद्वारा पदपूर्ति गरी कार्यसमितिलाई पूर्णता दिने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो । त्यसैले वैशाख मसान्तभित्रै कांग्रेसको केन्द्रीय कार्यसमितिले पूर्णता प्राप्त गरिसक्ने विश्वास गरिएको छ । वैशाखको अन्तिम सातामा शेरबहादुर देउवा सभापति बन्नुभएको दुई महिना पूरा हुँदै छ । वैशाखभित्रै कार्यसमितिलाई पूर्णता दिइएमा कुनै अन्यथा नभए उपसभापतिमा खुमबहादुर खड्का र महामन्त्रीमा विमलेन्द्र निधिको चयन हुनसक्ने सम्भावना बढी रहेको छ । त्यसपछि गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्कीलगायत मध्येबाट पदाधिकारी बनाइने सम्भावना छ । पदाधिकारी भन्नाले सहमहामन्त्री, महामन्त्री, उपसभापति, कोषाध्यक्ष र सभापति भन्ने बुझिन्छ ।

सभापति देउवामाथि संसदीय बोर्डमा रहन चाहने नेताहरूको दबाब पनि बढिरहेको छ । निर्वाचनमा उम्मेदवार किटान गर्ने संसदीय बोर्डमा पर्न यतिबेला दर्जनभन्दा बढी नेता इच्छुक छन् । विधानअनुसार पदाधिकारीबाहेक केन्द्रीय समितिका सदस्यमध्येबाट बढीमा आठजनालाई सभापतिले संसदीय समितिमा मनोनीत गर्न सक्नेछन् । समितिमा सभापति शेरबहादुर देउवा, डा. शशाङ्क कोइराला, खुमबहादुर खड्का, सीतादेवी यादव, विमलेन्द्र निधि र पूर्णबहादुर खड्काबाहेक रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र सुजाता कोइरालामध्येबाट केही संसदीय समितिको सदस्यमा मनोनयन हुने सम्भावना छ । यसअघिका सभापति सुशील कोइरालाले भने दुई महिनाभित्र पूर्णता दिइनुपर्ने कार्यसमितिलाई चार वर्षपछि पूर्णता दिएका थिए भने संसदीय समिति अपूर्ण राखेरै काम चलाएका थिए । तर, सभापति देउवा विधानको पालना पूर्ण रूपले गर्ने पक्षमा रहनुभएकोले वैशाख मसान्तभित्रै कार्यसमितिले पूर्णता पाउने विश्वास गरिएको हो ।
Deuwa NC Flag6
कार्यसमितिको सदस्यमा पर्न महाधिवेशनमा उम्मेदवार बनेर पराजित भएकाहरूले सभापति देउवालाई बढी दबाब दिने गरेको बुझिएको छ । सदस्यमा पराजित तथा अन्य कतिपय व्यक्तिहरू सभापति देउवाको निवासस्थानमै आफ्नो जत्थासहित गएर पनि केन्द्रीय सदस्य मागिरहेका छन् । त्यसरी दलबल देखाएर आफूकहाँ आउनेहरूलाई देउवाले ‘ठीकै छ, हेरौँला’ भनेर फिर्ता पठाउने त गर्नुभएको छ, तर त्यसरी जत्था देखाएको भने उहाँलाई मन नपरेको बताइन्छ । २१ मध्ये सात सदस्यमा रामचन्द्र पौडेलदेखि उमाकान्त चौधरीसम्मको नियुक्ति भइसकेको छ । बाँकी चौध स्थानमा सभापतिलाई सफल बन्न सघाउन सक्ने विभिन्न क्षेत्रका मानिसलाई मनोनयन गर्ने सोच सभापति देउवाले बनाउनुभएको बुझिएको छ । हाल त्यस्ता योग्य व्यक्तिहरूको खोजी भइरहेको सम्बद्ध सूत्रले जनाएको छ ।