चीनसँग इन्धन सम्झौता भएरै छाड्ने आपूर्तिमन्त्रीको दाबी

चीनसँग इन्धन सम्झौता भएरै छाड्ने आपूर्तिमन्त्रीको दाबी


‘चीन सरकारको सहयोगमा पाँचखाल, बट्टार र खैरेनीमा इन्धन भण्डारण स्थल बनाइने’
Ganesh-Man-Pun
चैत ७ गते आइतबारदेखि प्रधानमन्त्री केपी ओलीबाट हुन लागेको चीनको भ्रमण टोली ८४ सदस्यीय हुने भए पनि त्यसमा आपूर्तिमन्त्री गणेशमान पुन अटाउन सकेनन् । चीनसँग इन्धन आपूर्तिसम्बन्धी सम्झौता हुने व्यापक चर्चाका बावजुद आपूर्तिमन्त्री नै भ्रमण दलमा नपरेबाट इन्धन आपूर्तिसम्बन्धी सम्झौता नहुने संकेत मिलेको छ । तर, स्वयम् आपूर्तिमन्त्री गणेशमान पुनले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबारबाट हुन लागेको चीन भ्रमणका क्रममा इन्धन आयात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौताको महत्वपूर्ण आधार तयार हुने दाबी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सम्झौताको महत्वपूर्ण आधार तयार भएको उल्लेख गर्दै प्रमको भ्रमणको क्रममा आयात सम्झौता नभएपनि निकट भविष्यमा नै यो काम हुने स्पष्ट पारे ।चीनबाट इन्धन आयात गर्नेसम्बन्धी सम्झौता भएरै छाड्ने, कोही कसैले रोक्न नसक्ने मन्त्री पुनले दाबी गरे ।

“पूर्व तयारी सबै भएको छ, रोकिनुपर्ने कुनै कारण छैन । हामीले सबै निर्णय मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर गरेका छौँ, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । राजनीतिक, कूटनीतिक तथा व्यावसायिक विषयमा समेत कुराकानी भएको छ । मलाई विश्वास छ इन्धन आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन्छ”, मन्त्री पुनको अभिव्यक्ति थियो । तथापि, पछिल्लो दिनमा भारतबाट इन्धन आयात बढेको जानकारी पनि उनले दिए । यतिबेला पेट्रोल सहज भइसकेको र डिजेल पनि एकाध दिनमा नै सहज हुने विश्वास उनले व्यक्त गरे ।

यस्तै बजारमा अझै खाना पकाउने ग्यासको अभाव भइरहेकातर्फ सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पुनले गत फागुनमा २९ हजार मेट्रिक टन आयात भएकामा चैत महिनाका लागि ३३ हजार मेट्रिक टन माग गरिएको जानकारी दिए ।

सात वटै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउने योजनामा मन्त्रालय रहेको भन्दै उनले संयुक्त राष्ट्र सङ्घको प्रावधानअनुसार न्यूनतम ९० दिनसम्म पुग्ने भण्डारण गर्न सकिने गरी तयारी गरिएको बताए । चीन सरकारको सहयोगमा पाँचखाल, बट्टार र खैरेनीमा इन्धन भण्डारण स्थल बनाइने र त्यसको अध्ययनसमेत भइसकेको उनको कथन थियो ।