महासङ्घ–एनआरएन सहकार्यबारे बेलायतमा छलफल

महासङ्घ–एनआरएन सहकार्यबारे बेलायतमा छलफल


UK fnj
लण्डन । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले महासङ्घको विधानमा परिमार्जन गरिने र विदेस्थित शाखाहरूको गठन तथा निर्वाचनमा एकरूपता कायम गरिने बताएका छन् । महासङ्घको बेलायत शाखाको अधिवेशन सम्पन्न भई करिव एक साता लामो लण्डन बसाइपछि नेपाल फर्कने क्रममा बेलायतमा कार्यरत पत्रकार विपिन निरौलासँगको कुराकानीमा अध्यक्ष विष्टले महासङ्घ अब संविधानको कार्यान्वयन र प्रेस जगतको हितमा अझ सशक्त ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । खासगरी बेलायत शाखाको अधिवेशन र निर्वाचनका क्रममा उठेका प्रश्न, सुझाव र विवादका सन्दर्भमा डा. विष्टले चाँडै नै केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय लिइने जानकारी दिए ।

यसअघि बेलायतस्थित विभिन्न सङ्घ–संस्थाको कार्यक्रमलाई अध्यक्ष विष्टले सम्बोधन गरेका थिए । नेपाल फर्कनुअघि गैरआवासीय नेपाली सङ्घ युरोप संयोजक कुल आचार्यद्वारा आयोजित दिवाभोजसहितको छलफल कार्यक्रममा महासङ्घ र युरोप एनआरएनबीच पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिको लागि तालिम, सञ्चारक्षेत्रमा लगानी र समग्र आर्थिक विकासको विषयमा के–कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भनी छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा पहासङ्घकी केन्द्रीय उपाध्यक्ष अनिता बिन्दुले नेपालको नयाँ संविधानमासमेत महिलाहतको हकअधिकार र समान सहभागिताको प्रत्याभूति गरेको बताउँदै एनआरएन र बेलायत शाखामा महिलाहरूको सहभागिता न्युन रहेकोमा गुनासो गर्दै बेलायतजस्तो महिला राष्ट्रप्रमुख (महारानी) भएको देशमा आगामी दिनमा महिला सहभागिता व्यापक बनाउन उनले जोड दिइन् । सञ्चारमन्त्रीका सल्लाहकार पत्रकार मात्रिका पौडेलले पनि सो अवसरमा नेपाल सरकारले सञ्चार सङ्ग्राहलय बनाउन लागेको जानकारी दिएका थिए ।

उक्त अवसरमा उपस्थित स्थानीय पत्रकारहरूले आफूले अध्ययन गरेको युनिभर्सिटी र ट्रेनिङ सेन्टरहरूमा नेपालका पत्रकारहरूले तालिमको लागि आवेदन दिन सक्ने बताएका थिए भने एनआरएन अगुवाहरूले यस्तो तालिम लिन आएका सञ्चारकर्मीलाई आवासलगायतका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बेलायतमा रही क्रियाशील सञ्चारकर्मीहरू नवीन पोखरेल, विमला सेन, विपिन निरौला, एभरेष्ट गौतम, चिरञ्जीवी ढकाल, रामशरण सिंखडा र पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमसमेतले पत्रकार महासङ्घ र एनआरएनको सहकार्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।