उपप्रधानमन्त्री नै इन्धनमा ठगिएपछि

उपप्रधानमन्त्री नै इन्धनमा ठगिएपछि


करोडौँका ठेक्का अलपत्र

– मुक्तिनाथ भुसाल

नाकाबन्दीको प्रभाव हालसम्म पनि कायम रहेको कारण अर्घाखाँची जिल्लाका विकास–निर्माण अलपत्र परेका छन् । विकास–निर्माणका काम र सोअनुरूप बजेट पनि निकै भएको अर्घाखाँचीमा इन्धन बिक्री गर्ने पम्प जम्मा दुईवटा मात्रै भएका कारण माग धान्न नसकेका हुन् वा पम्पवालाले नै पर्याप्त इन्धन नपाएका हुन् बुझ्न सकिएको छैन । जिल्लाभित्रका ठेकेदारहरूका स–साना ठेक्का भएका कारण गत सातादेखि कामको सुरुवातका लागि जुटेका र काम गर्न चाहने ठेकेदारहरूलाई अर्घाखाँचीमा इन्धनको अभाव नभएको प्रचार केही पात्र तथा प्रशासनले गरे पनि सत्यता भिन्नै रहेको छ । सर्वसाधारणले अझै पनि पाँच लिटर इन्धन पम्पबाट सहजै पाउन सकेका छैनन् । राष्ट्रिय महत्व बोकेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत गत आर्थिक वर्षमा कञ्चन खोलादेखि निहालीसम्म बीटी जयबाबा जेभीलाई चार करोड ३७ लाख, निहालीदेखि बलेवाङ सडक तुदी बिरुवा शिवशक्ति जेभीलाई सात करोड २९ लाख, बलेवाङ–हंसपुर सडक द कञ्चनजङ्घा मोतीदान जेभीलाई चार करोड ७२ लाख र हंसपुरदेखि करिब पुर्कोटदहसम्म अरनिको बामती जेभीलाई एक करोड ६० लाखमा सडक स्तरोन्नति अर्थात् ग्राभेलको ठेक्का र सम्झौता गरिएको भए पनि उनीहरूमध्ये कसैले पनि कामको सुरुवात गर्न सकेका छैनन् ।

उनीहरूसँगको सम्झौताअनुसार निहाली–बलेवाङ सडकबाहेक अन्य ठेक्काहरू चालू आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने भए पनि इन्धन अभाव प्रमुख चुनौती भएको सडक योजनाका इन्जिनियर तथा सूचना अधिकारी होमबहादुर एसीले जानकारी गराएका छन् । एसीका अनुसार ठूला रकमका ठेकेदारहरूलाई एक वा दुई सय लिटर इन्धन दिएर नपुग्ने र पर्याप्त इन्धनको ग्यारेन्टी दिन आफूहरू असमर्थ भएको कारण उनका मेसिन तथा सयौँ कामदारलाई ताकेता लाउन नसकिएको हो । सामान्यतया ६ महिना समयअवधि थप गर्न पाउने ठेकेदारहरूले यसपालि इन्धन अभावको कारण थप सात महिना समय दिनुपर्ने बुझिएको छ र समस्या चाँडो समाधान नभएमा अझै कति समय दिनुपर्ने भन्ने विषय यकिनसाथ बताउन मिल्दैन । यो सडकखण्डमा सात मिटर चौडाइमा सडक ग्राभेल र पिच हुने योजनाअन्तर्गत नौदेखि १२ मिटरसम्म सडक चौडा नाकाबन्दीपूर्व खनिएको थियो ।

अघोषित नाकाबन्दी खुलेलगत्तै गृहजिल्ला आएका उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको विकास निर्माणमा इन्धनको कमी हुन नदिन भलबारी डिपोमा सम्पर्क गरी दुवै पम्पलाई दैनिकी दुई ट्याङ्कर इन्धन उपलब्ध गराउने प्रक्रिया मिलाएर काठमाडौं लागेका र उपप्रधानमन्त्री रायमाझीको बुझाइमा अर्घाखाँचीमा इन्धन समस्या नभएको उनीसम्बद्ध एक सहयोगीले जानकारी गराएका छन् । जसअनुसार मन्त्री राययाझीलाई खुसी तुल्याउन सञ्चालनमा आएका स–साना कामहरूको उदाहरणसहितको रिपोर्टिङ सम्बद्ध व्यक्तिहरूबाट हुने गरेको सुइँको प्राप्त भएको छ । यदि अर्घाखाँचीमा पर्याप्त इन्धन भएको भए किन करोडौँका महत्वपूर्ण ठेक्काहरूमा काम सञ्चालन हुन सकेको छैन ? भन्ने विषयलाई अध्ययन गर्दा कसैलाई पनि पिरोल्न नचाहने मन्त्री रायमाझी भ्रममा रहेको बुझ्न सकिन्छ । त्यसो त मन्त्री रायमाझी आफ्नो विवेकले चल्नेभन्दा पनि अर्काको विश्वासमा भरपर्ने र बोलेको कुरा तत्कालै भुल्ने स्वभावका नेता भएको गुनासो उनीनिकट व्यक्तिहरूले बेलाबखत बताउने गर्छन् ।

तथापि, मन्त्री रायमाझी जिल्लाको विकासका लागि ज्यान फालेर लागेका र सबैजनाको प्रिय व्यक्तिका रूपमा परिचित रहेका छन् । गत संविधानसभाको चुनावमा पनि मन्त्री रायमाझी पार्टीको भन्दा पनि व्यक्तिगत छविका आधारमा करिब ११ सय मतले विजयी भई सांसद बनेका थिए । विकासका लागि बजेट प्रशस्तै भिœयाएका मन्त्री रायमाझीले सुशासन प्रवद्र्धनमा ठण्डा दिमागले सोचेर विवेक प्रयोग गर्ने हो भने उनको नाम इतिहासका पानामा अमर रहने र उनले भिœयाएको बजेटमा बिचौलियाले चलखेल गर्न पनि नसक्ने सीआईजी सदस्य सुमित्रा मुखियाको धारणा छ ।

यसैगरी, राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम जिल्ला प्राविधिक कार्यालय अर्घाखाँचीको मातहतमा सञ्चालन भएको छ । गत आर्थिक वर्षमा सन्धिखर्क कुर नुवाकोट असुरकोट हँुदै प्युठानको जोगिटारीसम्मको सडकका लागि सात दशमलव एक किलोमिटर सडक खानी निर्माण सेवालाई तीन करोड ६५ लाख १४ हजारमा र सन्धिखर्क अर्घा–धरमपानी मैदान आठ किलोमिटर सडक सुनौला खिम्ती कन्ट्रक्सनलाई चार करोड तीन लाख रुपैयाँमा सडकको स्तरोन्नति अर्थात् ग्राभेलका लागि ठेक्का भएको थियो । चालू आवमा सकिसक्नुपर्ने काम इन्धन अभावका कारण गत सातादेखि काम सुरु गर्ने तयारीमा जुटेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी बालकृष्ण अर्यालले जानकारी गराएका छन् । उनका अनुसार थोरै–धेरै इन्धन मिले पनि अन्य सामग्रीको मूल्य आकाशिँदा थप समस्या उत्पन्न भएको छ । SNRIP को काम सम्बन्धमा गहिरिएर बुझ्दा माथि उल्लिखित सडकखण्डमा तीन दशमलव ७५ मिटर मात्रै चौडाइ सडक खन्ने र ग्राभेल गर्ने केन्द्रीय नीतिअनुसार यो सडकमा केवल झारा टार्ने र राज्यको ढुकुटी समाप्त पार्ने योजनामा उपल्लो निकाय लागेको स्पष्ट भएको छ । यसै कार्यक्रमअनुसार सन्धिखर्क–धारापानी चुँदाठाटी सडकअन्तर्गत खाकाबेसीमा दुई करोड सात लाखको ठेक्कामा पक्की पुलको काम सुरु गरिएको र यसै सडकअन्तर्गत ग्राभेल नभएको बाँकी खण्डका लागि १० करोडमा ठेक्का भइसकेको भए पनि अलिकति मोटो रकम भएकाले कतिपय ‘आन्तरिक कुरा’ मिलाउन यो समाचार तयार पारुन्जेलसम्म ठेक्का भएर पनि सम्झौता नगरिएको बुझिएको छ ।
3 Top 5
यसै कार्यक्रमअन्तर्गत चालू आवमा घुम्टी पाल्पा, च्यानडाँडा डिभर्ना खनदह, सन्धिखर्क धारापानी चुजाठाँटी र गच्छेदेखि धनचौरसम्मका लागि प्रत्येक तीन किलोमिटर सडकमा एकजना लेन्थ वर्करको नियुक्ति गरिएको र माथि उल्लिखित प्रत्येक चारवटा सडकका लागि वार्षिक ३०–३० लाख रकम छुट्याइएको बुझिन्छ । यसैगरी खगडी दुन्द्रुक बल्कोट, पिपलनेटा गोखुङ्गा, सल्लीकोट डिभर्ना जरेखोला ठूलापोखरा र भञ्ज्याङ धातिवाङ झन्झेक सडकखण्डलाई पनि यस वर्षदेखि वार्षिक ३०–३० लाख बजेट विनियोजन गरिएको छ । जसअनुसार वर्षात्को समयमा पनि सडक सुचारु गर्नका लागि प्रतितीन किलोमिटरबराबर एकजना लेन्थवर्कर राखिने तयारी भइरहेको जानकारी मिलेको छ । माथि उल्लेखित ३०–३० लाख रकम सम्बन्धमा स्थानीयले देख्ने गरी सम्बन्धित गाविसमा होर्डिङ बोर्ड हालसम्म पनि नलगाइएको कारण सो बजेट साँच्चै सडकमा खर्च गरिने हो वा अरू नै केही हो भन्ने सवाल तीव्र प्रतीक्षाको विषय बनेको छ ।