खड्कामाथि पूर्वाग्रह राख्नेहरूलाई कार्यकर्ताले दिए झापड

खड्कामाथि पूर्वाग्रह राख्नेहरूलाई कार्यकर्ताले दिए झापड


Khum-Bahadur-Khadka
राजनीतिक पूर्वाग्रहका कारण सम्पत्तिको स्रोत नखुलेको भन्दै जेल यातना भोग्न बाध्य तुल्याइनुभएका काङ्गे्रस नेता खुमबहादुर खड्कालाई पार्टीका आमकार्यकर्ता तथा नेताहरूले उच्च मूल्याङ्कन गरेका छन् । खुलातर्फ केन्द्रीय सदस्यका निम्ति भएको निर्वाचनमा करिब दुईतिहाइ मत खड्कालाई प्राप्त भएपछि काङ्गे्रसभित्र उहाँको हैसियत स्पष्ट भएको छ । सभापति शेरबहादुर देउवाको टिमबाट सबैभन्दा बढी मत प्राप्त गर्ने केन्द्रीय सदस्यमा खड्का पर्नुभएको छ । खड्कापछि देउवा पक्षमा सबैभन्दा बढी मत प्राप्त गर्ने राष्ट्रपतिमा पराजित नेता कुलबहादुर गुरुङ हुनुहुन्छ । खड्काले १८४६ मत प्राप्त गर्नुभएको थियो भने गुरुङले १७७३ मत पाउनुभएको छ । कोइराला पक्षबाट सबभन्दा बढी मत हासिल गर्नुहुनेमा डा. शेखर कोइराला हुनुहुन्छ । उहाँले १८४८ मत पाउनुभएको छ ।

यसरी सबैभन्दा बढी मत पाउने नेताहरूमा खुमबहादुर खड्का र डा. शेखर कोइराला पर्नुभएको छ । उहाँहरू दुवै नेता नेपाललाई सनातनी हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । नेता खड्काले त काङ्गे्रसभित्र हिन्दूराष्ट्र स्थापना महाअभियान नै सञ्चालन गर्दै आउनुभएको छ । खड्काले भारी मत प्राप्त गर्नुभएपछि वामपन्थी कित्ता स्तब्ध र आश्चर्यचकित भएको छ । खड्काको पुनरोदयलाई कम्युनिस्टहरूले खतराको सूचक मानेका छन् ।

स्मरणीय छ, ०५९ सालको असोजमा पहिलोपटक तात्कालिक राजा ज्ञानेन्द्रबाट ‘टेकओभर’ भएपछि खुमबहादुर खड्कालाई अकुत सम्पत्ति कमाएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत थुनामा राखिएको थियो । राजाको इच्छाविपरीत पूर्वघोषित आमनिर्वाचन हरहालतमा गर्ने अडान लिएबाट खुमबहादुर खड्कासँग असन्तुष्ट बनेको दरबारको इसारामा तात्कालिक अख्तियारप्रमुख सूर्यनाथ उपाध्यायले अकुत सम्पत्ति सम्बन्धमा मुद्दा चलाएका थिए । विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा सम्पत्तिको स्रोत खुलेको स्पष्ट आधार देखाउँदै अदालतले खड्कालाई सफाइ दिएको थियो ।

०६३ मा राजनीतिक परिवर्तन भएपछि सूर्यनाथ उपाध्यायको विशेष अग्रसरतामा खड्काविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पु¥याइयो राजाको पालामा पूर्वाग्रहपूर्ण ढङ्गले लगाइएको मुद्दा प्रजातन्त्र स्थापनापश्चात् स्वतः खारेज हुने अपेक्षा गरिएको थियो । तर, आफ्नी पुत्रीको राजनीतिक भविष्यलाई लिएर चिन्तित तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खड्कालाई आफ्नो इच्छाको बाधक ठान्नुभयो, सुशील कोइराला त खड्कालाई सधैँ चुनौती ठान्नुहुन्थ्यो नै, रातारात नेता बनाएर गृहमन्त्रीको हैसियतमा पु¥याइएका कृष्ण सिटौलाले पनि खड्कालाई आफ्नो ‘बाटोको काँढा’ ठान्नुभयो । नेपाललाई धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक बनाउन भएका वाम–प्रयासप्रति सकारात्मक बन्न नसकेकोले पनि देशी–विदेशी शक्तिकेन्द्रहरू असन्तुष्ट बने ।

अन्ततः सूर्यनाथलाई हतियार बनाएर सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरियो र अदालतले ९३ (त्रियान्नब्बे) लाख रुपैयाँको सम्पत्तिको स्रोत नखुलेको ठहर गरी खड्कालाई काराबासको सजाय दियो । सम्पत्तिको स्रोत पुष्टि हुन नदिनका लागि खड्का मन्त्री हुँदा प्राप्त भत्तालाई आम्दानीको रूपमा जोडिएन, गृहनगर दाङको सतबरियास्थित पञ्चायतकालमै बनेको घरलाई पनि मन्त्री भएपछि बनाएको भन्दै आम्दानीमा जोडियो । यही दुईवटा कारणले खुमबहादुर खड्काको ९३ लाख रुपैयाँबराबरको स्रोत नखुलेको सम्पत्ति रहेको निष्कर्ष निकाली उहाँलाई दण्डित गर्ने काम भएको थियो । आफ्ना ‘एक्सन ओरिएन्टेड’ नेतालाई यसरी पूर्वाग्रहपूर्ण ढङ्गले दण्डित गरिएपछि देशभरका काङ्गे्रस कार्यकर्ता दुःखी र आक्रोशित बनेका थिए । तेह्रौँ महाधिवेशनमा भारी मत दिएर तिनै कार्यकर्ताहरूले खड्कामाथि पूर्वाग्रह राख्नेहरूलाई बलियो झापड दिएका छन् ।