सांसददेखि सर्वसाधारणसम्म अवैध हतियारको पहुँच

सांसददेखि सर्वसाधारणसम्म अवैध हतियारको पहुँच


Lahrkyal Lama
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका एमाओवादी सांसद् ल्हारक्याल लामा बैंक लकरमा गोली लुकाएको भेटिएपछि यतिबेला प्रहरीको पाहुना बन्न पुगेका छन् । छानबिन गर्ने क्रममा नेपाल इन्भेस्टमेन्ट बैकमा रहेको ल्हारक्यालको लकर खोल्दा १४ वटा गोली फेला पारेपछि अख्तियारले उनलाई प्रहरीको जिम्मा लगाएको हो । बुढानिलकण्ठस्थित ल्हा¥क्यालको निवासमा खानतलासी गर्दा भने प्रहरी रित्तै हात फर्कनु परे पनि विगतदेखि नै अत्यन्त रहश्यमयी र विवादास्पद पात्रका रूपमा चिनिएका ल्हारक्याल लामामाथि अख्तियारका साथै प्रहरीले पनि आफ्नो छानबिन जारी नै राखेको छ । कुनै साथीले राख्न दिएकोले आफूले बैंक लकरमा गोली थन्क्याइदिएको बयान दिएका ल्हा¥क्यालले त्यसरी गोली थन्क्याउन दिने व्यक्तिको नाम भने खुलाएका छैनन् । यसबाट ल्हा¥क्याल झनै रहश्यमयी पात्रका रूपमा देखापरेको प्रहरी–विश्लेषण छ ।

सांसद् ल्हारक्याल यसरी अवैध गोली प्रकरणमा मुछिएको एकदिन अघि मात्र नेपाली सेनाको जागिर छोडेर आपराधिक गतिविधिमा संलग्न रहेका सुमन खड्कालाई महानगरीय प्रहरी परिसरले हतियार र गोलीसहित पक्राउ गरेको थियो । रामेछापको बेताली–५ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय खड्कालाई गत शुक्रबार दिउँसो राजधानीबाटै पक्राउ गरिएको हो । राजधानीको बानेश्वर एरियामा लुकिछिपी बस्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोसाकको प्रहरीटोलीले संगमचोकबाट खड्कालाई नियन्त्रणमा लिएको हो । खड्काको शरीर तलासी लिँदा ०१७११० लेखिएको पेस्तोल एक थान, त्यसको म्यागजिन र गोलीसमेत फेला पारिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जनाएका छन् ।

थप खानतलासीका क्रममा उनको साथबाट पेस्तोलमा लाग्ने गोली दुई राउन्ड, विभिन्न बैंकहरूका चार वटा एटिएम, प्रिपेड मोबाइलको दुई थान सिमकार्ड, सिंगापुर डलरको नोट, कोरियन नोट, पाउण्ड, इन्डोनेसियन नोट, अमेरिकन डलर, नेपाली सेनाको फोटो टाँसिएको उनकै नामको सवारी चालक अनुमतिपत्र र मोबाइल एक थानसमेत बरामद भएको बताइएको छ । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाका अनुसार खड्का ०६५ सालमा नेपाली सेनाको जवान पदमा भर्ना भई हालसालै छोडेका व्यक्ति हुन् भने खड्का रामेछाप, काभ्रे, दोलखालगायत जिल्लामा पेटी कन्ट्रयाक्टरको रूपमा काम गर्ने ठेकेदारहरूका साथै ठेक्कापट्टा, टेन्डरमा संलग्न व्यवसायीलाई हतियार देखाइ रकम असुल्ने र लुटपाट गर्ने कार्यमा संलग्न रहेका व्यक्ति हुन् । उनीविरूद्ध हतियार तथा खरखजना मुद्दामा कारबाही सुरू भएको छ ।

यसरी सर्वसाधारणदेखि सांसद्सम्मले अवैध हतियार प्रयोग गरिरहेका घटना धमाधम सार्वजनिक भएबाट आमनागरिकमा त्रास बढेको छ भने यस्ता मामलाको अनुसन्धान तथा कारवाहीमा प्रहरी प्रशासनले विशेष गम्भीरता दर्शाउनुपर्ने सर्वसाधारणको माग छ ।