चीन भ्रमणबारे विज्ञले दिए यस्ता सुझाव

चीन भ्रमणबारे विज्ञले दिए यस्ता सुझाव


Prakash

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तिथि नजिकिँदै जाँदा यसबारे विभिन्न सल्लाह र सुझाव दिने उपक्रमले तीव्रता पाएको छ । यसै विषयमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत् प्रधानमन्त्रीलाई सम्बन्धित विज्ञहरुले सुझाव दिएका छन् । राजनीतिमा समेत सक्रिय रहेका उनीहरुले चीन भ्रमणका क्रममा राष्ट्रहित र छिमेकीको चासो बुझेर सम्झौता गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले देशभित्र लगानी भित्र्याउने र सामान ल्याउन लैजान बिनाभन्सार सहुलियतको व्यवस्था भ्रमणमा प्रधानमन्त्रीले गर्नुपर्ने सुझाव दिएका छन् भने पूर्वऊर्जामन्त्री तथा परराष्ट्रराज्यमन्त्री डा. महतले नेपालको स्थिरता कायम नगरेसम्म छिमेकबाट फाइदा लिन नसक्ने भएकाले प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालमा संविधान निर्माण भएर स्थायित्व कायम भएको विषयमा आश्वस्त पानुपर्नेमा जोड दिए ।

कार्यक्रममा एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले छिमेकीसँगको सन्तुलित सम्बन्ध राष्ट्रिय हितमा हुने बताउँदै राष्ट्रहितलाई ध्यानमा राखेर प्रधानमन्त्रीले चीन भ्रमणमा सन्धिसम्झौता गर्नुपर्ने सुझाव दिए । पूर्वअर्थमन्त्री रहेका पुनले संविधान कार्यान्वयनमा छिमेकीको सद्भाव प्राप्त गर्ने, पुनःनिर्माणमा सहयोग जुटाउने र आर्थिक विकासका लागि चिनियाँ लगानी भित्र्याउने काम गरे प्रधानमन्त्रीको भ्रमण सफल हुने धारणा अघि सारे ।

यस्तै नेकपा (एमाले)का नेता डा. राजन भट्टराईले चीनबाट समेत भूपरिवेष्ठित नेपालले पारवहन अधिकार पाउने विषय र चीनबाट इन्धन ल्याएर एकतर्फी निर्भरता हटाउन इन्धन आपूर्ति सम्झौता गर्नुपर्ने उल्लेख गर्दै परराष्ट्रविद् डा. भट्टराईले जलस्रोतको विकास र बजार खोज्ने, भारततर्फको व्यापार निर्भरता घटाउन राष्ट्रहितका लागि व्यापार विविधीकरण गर्ने, चक्रपथ विस्तार, उत्तरदक्षिण राजमार्ग निर्माण, इन्धन भण्डारण, कृषिको आधुनिकीकरण र पर्यटन विकासको विषयमा छलफल हुने बताए । उनले भने– “छिमेकीको चासो सम्बोधन गर्नुपर्छ र सम्बन्धलाई थप उचाइमा पु¥याउने गरी भ्रमणलाई भरपुर उपयोग गर्नुपर्छ ।”

यसैगरी परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणले सहज रहेको दुई देशबीचको सम्बन्धलाई अझै सहज बनाउने विश्वास व्यक्त गर्दै नेपाल र चीनको सम्बन्धको कुरा गर्दा त्यसमा भारतको आँखाले हेर्न नहुने तर्क गरे। उनले भने– “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा चीनको लगानी ल्याउने अनि नेपालमा ल्याउन हुँदैन भन्नु हुँदैन ।”