नेपाल एअरलाइन्सको यो कस्तो लापरबाही

नेपाल एअरलाइन्सको यो कस्तो लापरबाही


राहदानी नम्बर ०६८४२५२९ वाहक नन्दलाल गणेश निकै दिनदेखि मलेसियाको क्वालालम्पुर विमानस्थलभित्र भोकभोकै अलपत्र परे । २३ फेबु्रअरीका दिन मलेसियाबाट नेपाल एअरलाइन्सको विमानबाट नेपाल फर्कंदै गरेका उनी बोर्डिङ लिएर अध्यागमन पार गरी विमानस्थलभित्र अलमलमा परेका थिए । सो क्रममा उनलाई नेपाल एअरलाइन्सका कर्मचारीले आवश्यक सोधखोज नै नगरी उडान भरेपछि नन्दलाल अलपत्र परेका हुन् ।

जहाज छुटेपछि अलपत्र परेका नन्दलालले आफन्तलाई ००६०१४९८५९५०२ बाट बारम्बार फोन गरी आफू एअरपोर्टभित्रै अलपत्र परेको जानकारी गराएका थिए । ‘म ट्वाइलेटमा छु, केही खान पनि पाएको छैन’ भन्दै अलपत्र अवस्थामा रहेका नन्दलालले २४ तारेखदेखि निरन्तर परिवारका सदस्यलाई फोनमा रुँदै भन्ने गर्थे, ‘मलाई लिन छिटो एअरपोर्ट आऊ ।’
परिवारका सदस्यको अनुरोधमा मलेसियामा रहेका केही साथीभाइ, नेपाल एम्बेसीका लेवर एट्याची र नेपाल एअरलायन्सलाई समेत क्वालालम्पुर विमानस्थलभित्र भोकभोकै अलपत्र अवस्थामा रहेका नन्दलालको उद्धार गर्न आग्रह गर्दै उसले त्यहाँबाट गरेको मोबाइल नम्बरसमेत उपलब्ध गराउँदा पनि दू्रत उद्धारका लागि पहल हुन सकेन । नेपाल दूतावासमा सम्पर्क गर्दा सबै कर्मचारीसँग भित्र जाने पास नहुने भन्दै घटनालाई सामान्य रूपमा लिने र अन्य साथीभाइसँग कुरा गर्दा उनीहरूले पनि भित्र प्रवेश गर्न नपाउने बताएपछि एकातिर विमानस्थलभित्र अलपत्र नन्दलाल चिन्ता र तनाव अनि भोकभोकै रहनुपर्दाको अवस्था, अर्काेतर्फ बढ्दो पारिवारिक तनाव ! मलेसियास्थित नेपाल एअरलायन्सको ०१२३८०९४१४ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफ्नो जिम्मेवारी र दायित्व कुल्चँदै भने, ‘त्यस्तो पागललाई विदेश पठाउने हो ? हामी केही गर्न सक्दैनौँ ।’ सम्पर्क नम्बर टिपाउन खोज्दासमेत वास्ता नगर्ने नेपाल एअरलायन्सका ‘नमकहराम’ ती कर्मचारीको व्यवहारमाथि गम्भीर छानबिनको जरुरी छ ।

लगातार चार–पाँच दिनसम्मको दबाबपूर्ण अनुरोधपछि आइतबार (२८ तारेख) साँझ विक्षिप्त अवस्थामा नन्दलाल विमानस्थलभित्र फेला परे । ‘अध्यागमन पास भइसकेको पेसेन्जरलाई जुनसुकै उपाय लगाएर पनि खोजी गरेर लैजानुपर्ने जिम्मेवारीबाट पन्छिएर नेपाल एअरलायन्सले चरम लापरबाही देखाएको छ,’ नेपाल एम्बेसीका एक कर्मचारीले भने, ‘यो घटनालाई सामान्य रूपमा लिइनु हुँदैन, छानबिन जरुरी छ ।’

नन्दलाल गणेश २०१४ अक्टोबर ३० तारेखका दिन मलेसियाको जेसीवाई कम्पनीमा काम गर्न गएका हुन् । सँगै काम गर्ने साथीका कारण पर्न गएको समस्याले मानसिक समस्यामा पारेपछि उनलाई पठाउने मेनपावर कम्पनीकै आग्रहमा कम्पनीले फिर्ता गरिदिएको हो । एउटै कम्पनीमा काम गर्ने अरू २४ जनाको साथ लागेर आएका उनी अचानक विमानस्थलमा अलमलमा परेपछि छुटेका थिए । उनीसँगै नेपाल फर्केका साथीहरूका अनुसार विमानस्थलमा छुटेका नन्दलालको आवश्यक खोजतलास क्वालालम्पुर विमानस्थलमा भएको थिएन । ‘माइकबाट अङ्ग्रेजीमा उसको नाम लिएर त फुकेको थियो, तर बिचरा ! उसले बुझेन होला कि ? आउने बाटो नै देखेन ?’ सँगै आएका साथीले गुनासो गरे ।
nepal-airlines
– मधु लम्साल