मृग भाग्ने, बाघ लखेट्ने

मृग भाग्ने, बाघ लखेट्ने


Birendramani-Paudel
:: वीरेन्द्रमणि पौडेल ::

प्रकृतिलाई ठीक तरिकाले अध्ययन गर्ने हो भने सजिलैसँग बुझ्न सकिन्छ कि जन्मकालदेखि मृग भागेको भाग्यै छ । ज्यान जोगाउनकै लागि उत्पत्ति कालदेखि नै मृग स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेर भागेको छ । मृगले आजसम्म कसैलाई लखेटेको छैन । ऊ सिर्फ भाग्छ । भाग्नमै उसको अस्तित्व टिकेको छ । बाघले आजसम्म मृगलाई लखेटेको लखेट्यै छ । भोकलाग्दा मृगलाई लखेटी–लखेटी थकाएर मार्छ । आफ्नो भोक साम्य पार्छ । बाघ लखेट्ने र मृग भाग्ने खेल चलेको युगौँयुग बितिसकेको छ, तर न बाघले लखेट्न छाडेको छ न मृग भाग्न छाडेको छ । न मृग मर्नबाट जोगिएको छ न बाघ मार्नलाई थकाई नै मारेर बसेको छ । तर, यति भईकन बाघको आहाराको रूपमा मर्नका लागि जन्मिएका मृगहरू जङ्गलमा सकिएका छन् न बाघको सधैँका लागि भोक मेटिएको छ । त्यसकारण यसलाई यसरी भन्न सकिन्छ कि यो बाघ र मृगबीचको भाग्ने र लेखेट्ने खेलको अन्त्य आजसम्म भएको छैन, हुने पनि छैन ।

अब यसलाई जित–हारको रूपमा व्याख्या गर्ने हो भने पनि वा थिचोमिचो र अन्यायसँग जोडेर व्याख्या गर्ने हो भने पनि आजसम्म बाघले लखेटेर मृगलाई जित्न सकेको छैन । मृग भागेर पनि हारेको छैन । यहाँनेर न त बाघले मृगलाई थिचोमिचो र अन्याय गरेको भन्न मिल्छ न त मृगले आफ्नो अस्तित्व नै बाघले समाप्त पारिदिने भयो भन्ने सुर्ता नै मान्नुपर्ने अवस्था छ । यो त सिर्फ एउटा चक्र मात्रैको रूपमा रहेको छ । कसैले नजित्ने कसैले नहार्ने । कुरा चरित्र र विशेषतासँग गाँसिएको मात्रै छ त्यसबाहेक चर्चालायक अरू केही देखिँदैन । हात्ती लस्किएर सडक वा जङ्गल वा कतै हिँड्दा आँखाले देख्न मुस्किल हुने खालका हजारौँ–हजार कमिला किचिएर मारिएका हुन्छन् । मर्नुअघि तिनले हात्तीको पैतालामा जोडबल लगाएर टोकेका पनि हुन्छन् भलै हात्तीलाई नदुख्ने मात्रै होइन, थाहा पनि हुँदैन, तर पनि कमिलाहरू ठूलो सङ्ख्यामा मारिन्छन् यो सत्य हो ।

साथमा अर्को सत्य यो पनि हो कि परापूर्वकालदेखि हात्तीजस्तै अन्य अन्य ठूला र शक्तिशाली जीव–जीवात्माको कुल्चाइबाट करोडौँ–करोड कमिला मारिने क्रम निरन्तर छ, तर आजसम्म कमिला जतिसुकै कमजोर भए पनि सकिएको छैन । मरेर कमिला आजसम्म सकिएको छैन । बरु यसको ठीक उल्टो कमिलालाई कुल्चिएर परमधाम पठाउने ठूला र शक्तिशाली हात्तीजस्ता जीवहरूको सङ्ख्या विश्वबाट विस्तारै–विस्तारै लोप हुन लागिरहेका छन् । कमिला कमजोर छ, तर सकिने छाँटकाँट छैन । हात्ती निकै बलियो र शक्तिशाली छ तैपनि यो लामो समय जोगिएलाजस्तो छैन । यहाँ पनि हार्न वा कुल्चिएर मर्न जन्मिएको कमिलाले हारेको देखिँदैन न त कुल्चिने हात्तीहरूले नै जितेका छन् ।

उदाहरण अरू पनि दिन सकिन्छ । नदी वा समुद्रमा ठूला माछाले साना माछालाई कप्लककप्लक पार्छन् । ठूला माछाले साना माछालाई निलेको निल्यै छन् । हिजो र आज मात्रै होइन, माछा जगत्को उत्पत्तिकालदेखि नै यो क्रम भङ्ग भएको छैन निरन्तर छ । सकेसम्म ज्यान बचाउन साना माछाहरू भागिरहेकै छन् तैपनि ठूला माछाको आहारा बन्नु यिनको नियति बनेको छ र फेरि पनि भन्न सकिन्छ कि जतिसुकै मरेको मर्‍यै गरे पनि साना माछाको अस्तित्व समाप्त भएको छैन र ठूला माछाहरूले पनि पूर्ण रूपमा जित हासिल गरेका छैनन् । सिर्फ यो प्रक्रियाले गति मात्रै पाएको छ । बिरालोलाई मात्रै होइन सर्पलाई पनि मुसाको मासु औधी मनपर्छ । बिरालोले भेट्टाए पनि मारेर खाने सर्पले भेट्टाए पनि मारेर खाने गरे पनि आजसम्म मुसाको वंश समाप्त भएको छैन । सकेसम्म बिरालो र सर्पबाट ज्यान जोगाउने प्रयास गर्दा पनि जोगिन नसकेका मुसा यिनको आहारा बनेको युगौँयुग बितिसकेको छ, तर न त मुसा धर्तीबाट सकिएको छ न यसले हारेको छ नै भन्न मिल्छ । बरु जति मुसा खाए पनि नअघाउने भएको हुँदा बिरालो र सर्प थकित भएका छन् । मुसा मर्दै गर्दा पनि हार्न परेको छैन । न मुसाले हार्‍यो न बिरालो र सर्पले नै जिते ।

अब यो प्रसङ्ग मानिससँग पनि लगेर गाँस्न सकिन्छ । बलियो मानिसले कमजोरलाई सीधा वा घुमाएर हेपेको वा कुटेको छ । लुटेको पनि छ । बलियोले कुटेकोकुट्यै छ कमजोर कुटिएको कुटियै छ तैपनि सत्य यही सावित भएको छ कि बलियोले आजसम्म जितेको छैन । कुटाइखाने कमजोरले आजसम्म हारेको छैन । यो त एकप्रकारको बानी र संस्कार मात्रै बन्न गएको छ कि बलियोले कुट्छ कमजोर कुटिन्छ । हेपाइको कुरा पनि त्यस्तै हो । सक्नेले नसक्नेलाई हेपेको छ नसक्ने हेपिएको छ । धनीले गरिबलाई ङ्याक्ने कारण पनि त्यही हो । फुर्तिफार्ती लाउने पनि कारण त्यही हो । विश्वप्रसिद्ध चाणक्य नीतिमा आचार्य चाणक्यले यसो भनेका छन्, ‘धनीले धनको तुजुक देखाएन भने मान्नु त्यसले धन कमाएकै छैन अर्थात् जसले धन कमाएको छ उसले आफूभन्दा गरिबलाई हेप्न थालिहाल्छ वा त्यो नगरे पनि अस्वाभाविक प्रकारको तुजुक देखाउन थालिहाल्छ ।’

आज पनि चाणक्य नीतिलाई संसारमा एक नम्बरको नीति मानिन्छ राजपाठ सञ्चालनका दृष्टिले । शायद यस्ता विषयहरू प्राकृतिक हुन् र यो प्रकृतिसँग पनि जोडिएको छ जब कि प्रकृतिको कुनै पनि विशेषतालाई मान्छेले चाहेर वा नचाहेर काट्न सक्दैन । कुनै पनि हालतमा स्वीकार गर्नैपर्छ । छड्के कुनाबाट एउटा सानो उदाहरण प्रस्तुत गर्ने हो भने एउटा मोटो मानिसलाई पनि उदाहरण बनाउन सकिन्छ । एउटा बसभित्र तीनजनाका लागि एउटा सिट छ । मोटो मानिसको आकार सामान्य मानिसभन्दा दोब्बर छ । दुईजना सामान्य मानिस पहिल्यै सिटमा बसेका छन् । जब मोटो मानिस सामान्य मानिसको बीचमा बस्छ स्वाभाविक रूपमा छेउछाउका दुई सामान्य साइजका मानिसमध्ये कुनै एक भुइँमा लड्न पुग्छ । यहाँनेर यो घटनालाई प्राकृतिक मान्न सकिन्छ जब कि मानिसले बनाएको न्यायको सिद्धान्तको व्याख्या गर्ने हो भने मोटो मानिसले दुब्लो वा सामान्य साइजको मानिसलाई अत्याचार गरिएको भन्नुपर्ने हुन्छ । अब यसलाई सानो आकारको देश र ठूलो आकारको देशसँग लगेर जोड्न पनि मिल्छ ।
संसारमै ठूला आकारका र शक्तिशाली सावित देशहरूले साना मुलुकहरूलाई देखिने गरी पेले पनि नदेखिने गरी घोचघाच र छेडछाड गरे पनि स्वाभाविक मान्नुपर्ने अवस्था सिर्जना हुँदोरहेछ जब कि अस्वाभाविक भन्ने हो भने बाघले मृगलाई लखेट्ने प्रक्रियालाई पनि अस्वाभाविक र अत्याचार मानेर व्याख्या गर्नुपर्ने हुन्छ । यसपटक विशाल क्षेत्रफल भएको हाम्रो निकै पुरानो छिमेकी मित्रदेश भारतले नेपाललाई नाकाबन्दी लगाएर चिमोट्यो । नाकाबन्दी लगाएको छैन, चिमोटेको छैन पनि भन्यो । प्राकृतिक न्यायको सिद्धान्तबमोजिम मृग भाग्नुपथ्र्यो, तर बाघको अघिल्तिर परेको मृग भाग्नुको सट्टा आँखा जुधायो । हो हुजुुर, हुन्छ हुजुर । भैहाल्छ नि हुजुर भन्दै मृग भागे जसरी भागेर सम्मान गर्नुपथ्र्यो, तर त्यो भएन । मृगसँग बाघ रिसाएझैँ भारत नेपालसँग रिसायो ।

शक्तिशालीले कमजोरलाई ङ्याक्ने चलन विश्वभरि छँदै छ । भारतले नाकाबन्दी लगाएर नेपाललाई ङ्याकेको थियो । प्रकृतिले प्रतिपादन गरेको सिद्धान्तभन्दा भारत बाहिर गएको पनि होइन । यो बुझेर नेपालले सोहीबमोजिम आफूलाई उभ्याउनुपथ्र्यो । तरिका पुर्‍याएर छल्ने र भाग्ने नै गर्नुपथ्र्यो । बाघसँग मृग भागेको भाग्यै गर्छन् । यही तरिकाले बाघलाई जित्न दिएका छैनन् । तर, जब मृगहरू आफ्नो विशेषताभन्दा बाहिर गएर भाग्न छाड्छन् तब बाघको पञ्जामा पर्न जान्छन् । मृगको भगाई प्राकृतिक कूटनीति हो । यस्तो कूटनीतिलाई नेपालजस्तो मुलुकले सधैँ अपनाउनुपर्छ । मृग कूटनीतिले अस्तित्व जोगाउन सकिन्छ । त्यसबखत थिचोमिचो र अन्यायका कुराहरू गर्न आवश्यक नै पर्दैन ।