ऋण काडेर ‘मृत्यु’ खरिद

ऋण काडेर ‘मृत्यु’ खरिद


वैदेशिक रोजगारी
स्याङ्जाको ढकालथोकबाट मुख र मुठी लिएर आएका ग्लोबल करियर प्रा.लि. ओरिन्टेसनका सञ्चालक विजय ढकाल मान्छे बेचेरै करोडपति बनेका छन् । मा जाने व्यक्तिहरूलाई अभिमुखीकरण तालिम दिने संस्था खोलेर ढकालले मानव बेचबिखन गर्ने गरेका छन् । सामान्य गरिब किसान परिवारमा जन्मेका उनको अहिले काठमाडौं, पोखरा, भैरहवा, चितवन, पोखरा, बुटवललगायतका स्थानमा घरघडेरी र लाखौँ बैंक ब्यालेन्स रहेको छ । उनी त एउटा उदाहरण मात्रै हुन्, उनीजस्ता हजारौँ मानवतस्करले गरिब नेपालीलाई आफ्नै मृत्यु किन्न लगाएर विदेशी भूमिमा मारेका छन् भने हजारौँ नेपाली विदेशी जेल र कोठीमा बेचिन बाध्य भएका छन् ।

यता, गोंगबुमा रहेको मेडिसिन बुद्ध पोलिक्लिनिक प्रा.लि.का सञ्चालक पासाङ लोप्चनका आधा दर्जन आफन्त इराकनजिकैको तुर्किस्तानमा अलपत्र रहेको जानकारी प्राप्त भएको छ । उनीहरूसँगै दर्जनौँ नेपालीलाई उमेश भन्ने व्यक्तिले वैदेशिक रोजगारीका लागि तुर्किस्तान पठाएका थिए । अवैध र नक्कली कागजातका आधारमा वैदेशिक रोजगारीमा गएका उनीहरू काम नपाएपछि आफ्नै खर्चमा नेपाल फर्कने तयारीमा रहेका छन् ।

स्वदेशमा मान्छे मारे जेल सजाय भोग्नुपर्ने, तर विदेशमा मारे कमाइ हुने हुँदा युवकदेखि वृद्ध, युवतीदेखि वयस्कसम्म सबैले मान्छेकै व्यापार गर्ने गरेका छन् । मानव बेचबिखनजस्तो जघन्य अपराधलाई नेपालमा कडा सजायको व्यवस्था नहुँदा मानव बेचबिखन बढेको विभिन्न अनुसन्धानले देखाएको छ । पछिल्लो समय नेपाल प्रहरीले मानव बेचबिखनविरुद्ध सक्रियता देखाए पनि राजनीतिक हस्तक्षेपका कारण प्रहरीको कारबाही सफल हुनेमा आशङ्का उत्पन्न भएको छ ।

यसैबीच वैदेशिक रोजगारीका नाममा गरिब नेपाली ‘बेच्न’ नपाउने परिस्थिति निम्तिन लागेपछि म्यानपावर व्यवसायीहरूले काम ठप्प पार्ने निर्णय गरेका छन् । गत असार २१ गतेदेखि सरकारले लागू गरेको शून्य लागतलाई वैदेशिक रोजगार विभागका कर्मचारी र म्यानपावर व्यवसायीले अघोषित रूपमा तुहाएपछि पछिल्लो समय नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले अनुसन्धान सुरु गरेको थियो । यसक्रममा अनियमित ढङ्गले काम गर्ने केही म्यानपावर एजेन्सीहरू कारबाहीको दायरामा तानिएका छन् भने म्यानपावर व्यवसायीले त्यसको विरोध गरेका छन् ।
– विनोद कार्की