यसरी चुनिन्छन् अमेरिकामा राष्ट्रपति

यसरी चुनिन्छन् अमेरिकामा राष्ट्रपति


Donald-Trump-Hillary-Clinton-JR
२०१६ को अमेरिकी राष्ट्रपति चुनावलाई इतिहासकै सबभन्दा महँगो चुनाव ठानिएको छ । अमेरिकामा आमचुनावका लागि यस वर्ष अर्थात् आगामी ८ नोभेम्बर मंगलबारको दिन मतदान हुनेछ । यस हिसाबले मतदानको लागि झन्डै १० महिना बाँकी छ, तर मतदाताले प्रत्याशीहरू छान्ने उपक्रम सुरु गरिसकेका छन् ।

वास्तवमै अमेरिकी चुनावलाई निकै जटिल मानिन्छ, तथापि यस प्रक्रियाको सुरुवातचाहिँ एकदम सरल किसिमबाट हुन्छ । जसलाई अमेरिकी राष्ट्रपति बन्नु छ, उसले मुख्यतया तीन मापदण्डमा खरो उत्रिनुपर्ने हुन्छ । त्यो के भने, उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष हुनुपर्छ, ऊ बितेको १४ वर्षदेखि अमेरिकाको निवासी रहेको हुनुपर्छ र उसको अमेरिकी नागरिकता जन्ममा आधारित हुनुपर्छ । चुनावअघि उम्मेदवारहरूले ककस, प्राइमरी, सम्मेलन र टेलिभिजन डिबेटजस्ता चरणबाट गुज्रनुपर्ने प्रचलन अमेरिकामा छ ।

प्राइमरी तथा ककसको परिणामसँगै रिपब्लिकन पार्टीबाट डोनल्ड ट्रम्प र डेमोक्रेट केन्डिडेटमा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन अगाडि देखिँदै आएका छन् । दुवै पार्टीका तर्फबाट आधिकारिक रूपले राष्ट्रपतिको उम्मेदवारको घोषणा जुलाई महिनामा गरिनेछ, तर मे महिनामा सबभन्दा बलियो दाबेदारी कुन उम्मेदवारले प्रस्तुत गर्न सक्छन् भन्ने कुरा यहाँनेर निकै ध्यान दिनुपर्ने विषय हुन आउँछ ।

अमेरिकामा प्राइमरी तथा ककसको सुरुवात अयोवा र न्युह्याम्सर राज्यबाट हुन्छ । ट्रम्पलाई अयोवामा पराजय हासिल भएको थियो, तर उम्मेदवारप्रतिको आममतदाताको यो प्रारम्भिक मत हुनाले यसै भन्न सकिने अवस्था थिएन । राज्यसँग पार्टी–सदस्य जुटाउने दुई तरिका हुन्छन् । प्राइमरी र ककसमार्फत यी सदस्यहरू नै उम्मेदवारको चुनाव गर्छन् । प्राइमरीको मतलब ज्यादाजसो मानिस परम्परागत रूपबाट भोटिङबारे के सोचिरहेका छन् भन्ने हो । नागरिकले नजिकको पोलिङ बुथमा गई आफ्नो उम्मेदवारको निम्ति ब्यालेटमा मत भोट खसाल्छन् । ककसचाहिँ बिल्कुल फरक हुन्छ । यसमा केही घन्टासम्म सक्रिय सामुदायिक सहभागिताका साथ बहस हुन्छ । कुनै सार्वजनिक स्थानमा बेलुकीपख यसको आयोजना गरिन्छ ।

अमेरिकी निर्वाचनमा मार्च महिनाले अत्यन्त महत्त्व राख्दछ । राजनीतिक गतिविधिको हिसाबले अत्यन्त व्यस्त महिना हुन्छ यो । २६ राज्यमा १५ दिनभित्र बचेका उम्मेदवारका लागि मतदान हुन्छ । यसमा डिबेट तथा क्याम्पेन पनि उच्च हुन्छ । मार्चको एक मंगलबार बाह्र राज्यमा उम्मेदवार छनोट गर्नको निम्ति ‘प्राइमरी’ हुन्छ । उक्त मंगलबारलाई अमेरिकामा ‘सुपर ट्युजडे’ भन्ने चलन छ । अलबामा, अलास्का, अमेरिकन समोआ, अर्कान्सा, कोलोराडो, जर्जिया, म्यासाच्युसेट्स, मिनेसोटा, नर्थ डकोटा, ओकाहोमा, टेनेसी, टेक्सस, वेमन्ट, भर्जिनिया र वाइयोमिङमा मे र जुनसम्म उम्मेदवारी छनोटका लागि भोटिङ जारी रहन्छ । यसपछि मात्र दुवै पार्टीका तर्फबाट को–को उम्मेदवार बन्न सक्छन् भन्ने प्रस्ट हुन्छ ।

जुलाईमा दुवै पार्टीका तर्फबाट आधिकारिक तवरले उम्मेदवारको घोषणा हुन्छ । यसपछि दुवै उम्मेदवारको वास्तविक क्याम्पेन सुरु हुन्छ । उनीहरू देशभर पुग्छन् । मतदातासँग जमेर उनीहरू सम्पर्क गर्छन् । यसैक्रममा उपराष्ट्रपतिबारे पनि स्थिति प्रस्ट हुन्छ । प्रत्येक राज्यका विजेता पार्टी मेम्बर्स जुटाउँछन् । यिनै सदस्यहरूले कन्भेन्सनमा आधिकारिक उम्मेदवारलाई भोट दिन्छन् । रिपब्लिकन उम्मेदवारको लागि एक हजार दुई सय सैंतीस र डेमोक्रेटिक उम्मेदवारका लागि दुई हजार तीन सय त्रियासी डेलिगेट्स आवश्यक पर्छ ।

देशभर क्याम्पेन चलिसक्दा दुई प्रतिस्पर्धी उम्मेदवारबीच निकै कटुतासमेत पैदा भइसक्छ । यसपछि अन्तिम ६ सातामा दुवै उम्मेदवार तीन टीभी डिबेटमा सामेल हुन्छन् र अन्तिम मतदानचाहिँ निर्वाचनकै दिन हुन्छ । ७ नोभेम्बर इलेक्सन डे हुन्छ । भोटिङ सिस्टमअन्तर्गत इलेक्टोरल कलेजले पाँच सय ३८ इलेक्टर्स विजेता चुन्दछ । राष्ट्रपति हुनका लागि दुई सय ७० आवश्यक पर्छ । सबै महत्त्वपूर्ण इलेक्टर्स स्टेट पार्टी कन्भेन्सन या स्टेट पार्टी सन्ट्रल कमिटीमा चुनिन्छन् । सबै राज्यबाट इलेक्टर्स लिइन्छ । यिनको सङ्ख्या जनसङ्ख्याका आधारमा तय हुन्छ । क्यालिफोर्नियाबाट ५५ इलेक्टर्स आउँछन् जब कि डिस्ट्रिक अफ कोलम्बियाबाट केवल तीन इलेक्टर्स आउँछन् । प्राविधिक रूपबाट हेर्ने हो भने त अमेरिकी जनता भोटिङ डेको सदन राष्ट्रपतिका लागि मतदान गर्दैनन् भन्न मिल्छ । वास्तवमा उक्त दिन त अमेरिकी जनता इलेक्टर्सका लागि मत दिन्छन् ।

यी सब प्रक्रियापछि दुई राज्यमा जुन उम्मेदवारले बढ्ता इलेक्टर्स जित्ने सफलता पाउँछ उसैको विजय सुनिश्चित हुन्छ । हरेक राज्यमा विजेता उम्मेदवारले इलेक्टर्सको घोषणा गर्छ । इलेक्टर्सले डिसेम्बरमा आफ्नो मत दिन्छन्, तर ६ जनवरीमा मात्र औपचारिक नतिजा घोषणा गरिन्छ । नयाँ राष्ट्रपतिले २० जनवरी २०१७ का दिन ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा स्विङ स्टेटको भूमिका अहम् हुन्छ । स्विङ स्टेट भन्नाले त्यस्ता राज्यलाई जनाउँछ जहाँ कुनै पनि प्रत्याशीलाई इलेक्टोरल मतमा भारी समर्थन हासिल हुँदैन । चुनावका दौडान यस्ता राज्यको क्याम्पेनमा विशेष ध्यान पुर्‍याइन्छ । यस्ता राज्यमा जित भएमा उम्मेदवारको मार्ग सहज हुन पुग्छ । नन स्विङ स्टेटलाई चाहिँ सुरक्षित राज्य मानिन्छ, किनकि यस्ता राज्यमा धेरै अनिश्चितता रहँदैन । सामान्यतया रिपब्लिकन पार्टीलाई टेक्सस राज्यको भरोसा रहने गरेको छ भने न्युयोर्क र क्यालिफोर्नियामाथि डेमोक्रेटिक पार्टीको भरोसा रहँदै आएको परम्परा नै छ । अमेरिकामा राष्ट्रपतिको उम्मेदवार स्विङ स्टेटमा ज्यादा पैसा र समय खर्च गर्छन् । पारम्परिक तवरले फ्लोरिडा, नेवाडा, ओहियो, भर्जिनिया, कोराडो, नर्थ क्यारोलिनालाई स्विङ स्टेट मान्ने गरिन्छ ।