कांग्रेस नेतृत्वको जिम्मेवारी देउवाको काँधमा

कांग्रेस नेतृत्वको जिम्मेवारी देउवाको काँधमा


sher_bahadur_deuba_

नेपाली कांग्रेसको १३औँ अधिवशन पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई सभापति चयन गर्दै सम्पन्न भएको छ । सभापति पदका लागि आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पार्टीको विधानत: बहुमत पुर्‍याउन नसक्दा नयाा नेतृत्वका लागि पुन: सोमबार निर्वाचन भएको थियो । दोहोर्‍याएर गरिएको निर्वाचनमा नेता देउवालाई १८२२ मत हासिल भयो भने देउवाका प्रतिद्वन्द्वी उम्मेदवार पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२९६ मतमा चित्त बुझाउनु पर्‍यो । सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानत: बहुमत पुर्‍याउन नसक्दा कांग्रेस इतिहासमै पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो ।

नयाा नेतृत्वका लागि आइतबार राजधानीको राष्ट्रिय सभागृहमा भएको मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त सकेका थिएनन् । पहिलो दिनको निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ५ सय ६४ र कावा सभापति रामचन्द्र पौडेलले एक हजार १ सय ५२ मत प्राप्त गरेका थिए । उक्त मत परिणामअनुसार वरिष्ठ नेता देउवाको अग्रता रहेपनि ११ मत नपुगेकाले विधानत: उनी पार्टी सभापति बन्न सकेका थिएनन् । नेका सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको छ । सभापतिका अर्का प्रत्यासी महामन्त्री कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत ल्याएका थिए । दोस्रो दिनको निर्वाचनमा विधानले गरेको व्यवस्थाअनुसार सिटौला स्वत: बाहिरिएका थिए ।

कांग्रेसका यसअघिका महाधिवेशनमा सभापति पदमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरेपनि यस्तो अवस्था भने कहिल्यै नआएको बताइन्छ ।

विसं २०५७ मा पोखरामा सम्पन्न कांग्रेसको १०औा महाधिवेशनमा नेताहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार थिए, जसमध्ये कोइराला सभापतिमा ठूलै मतअन्तरले विजयी बनेका थिए । त्यस्तै, २०६१ सालमा काठमाडौामा सम्पन्न ११औा महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य उम्मेदवार रहेका थिए भने यसमा पनि कोइराला ठूलो मतअन्तरले विजयी बनेका थिए । काठमाडौामै २०६७ सालमा सम्पन्न पार्टीको १२औा महाधिवेशनमा सभापति पदमा नेताहरु सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरेका भए पनि कोइराला पहिलो चरणमा नै विजयी बनेका थिए ।
Deuwa
सभापतिको दोस्रो चरणको निर्वाचनमा पहिलो दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने विधानको व्यवस्थाबमोजिम कावा सभापति पौडेल र वरिष्ठ नेता देउवाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उनी दोस्रो चरणको निर्वाचन प्रक्रियाबाटै बाहिरिन पुगेका थिए ।

पार्टीसभापतिमा निर्वाचित भएलगत्तै नेता देउवाले कसैलाई काखा र पाखा नगरी आफूले पार्टीलाई एकताबद्ध ढंगमा अगाडि लैजाने बताएका छन् ।