शिवरात्रि सर्वधर्म स्वीकार्य पर्व

शिवरात्रि सर्वधर्म स्वीकार्य पर्व


Ram Singh

:: ब्रह्माकुमार रामसिंह ऐर ::

सदीयौँदेखि विविध रीतिरिवाजका साथ मनाइरहेको देख्दा र विचार गर्दा शिवरात्रि पर्व हिन्दू धर्मावलम्बी तथा सनातान मान्यताका आस्थावान्हरूको मात्रै महत्त्वको पर्व हो भन्ने महसुस हुन्छ । किनकि शिव नाम हिन्दूहरूका वेद, पुराण, उपनिषद् गीता, महाभारत, रामायण आदि शास्त्रमा बढी महत्त्व र आस्थाका साथ उल्लेख एवम् महिमाका साथ बखान र वर्णन गरिरहेको पाइन्छ । प्रत्येक वर्ष फागुन कृष्ण पक्षको चौधाँै रात्रिको बेला शिवरात्रिलाई महान् धार्मिक पर्वका रूपमा हिन्दूहरूले नै धुमधामसँग श्रद्धा–भक्तिपूर्वक भव्यताका साथ मनाउने गर्दछन् । व्रत बस्ने, जागरण गर्ने, उपासना गर्ने, ध्वनि जलाउनेलगायतका रीतिरिवाज र विधिविधान पनि हिन्दू मतावलम्बीहरूमा बढी गाढा भएको देखिन्छ । यी प्रचलित रीति–थिति र मान्यताको अध्ययनकले साधारणतया उल्लेखित तथ्य नै प्रस्ट हुन्छ ।

तर, समग्र प्राचीन शास्त्र, पुराण, प्राचीन सभ्यता र संस्कृति, सबै मूल धर्म आदिले प्रकाश पारेको गहन मान्यता र पुष्ट्याइँलाई आत्मसात् गर्ने हो भने यो पर्व सर्वाधिक महत्त्व तथा सम्पूर्ण मानव जातिको नै आस्था, श्रद्धा र मान्यताको पर्वका रूप सत्य सिद्ध हुन पुग्दछ । यस पर्वको सर्वोपरी सत्ता शिव परमात्मा कुनै एक जाति, धर्म र रङ्ग–लिङ्गको मात्रै दाइजो नभई समस्त प्राणी जगत्को नै पालनहार तथा तारनहार हो भन्ने शाश्वत सत्यलाई नकार्न सकिँदैन । निष्पक्ष रूपमा सत्यलाई स्वीकार गर्ने शुद्ध सकारात्मक मनोभावबाट हेर्ने हो भने शिवरात्रि पर्व सबैका लागि उत्तिकै महत्त्व तथा श्रद्धाको पर्व हो भन्नुमा अतिसयोक्ति नहोला ।

शिवरात्रि सर्वज्ञ, सर्वोपरी, सर्वोच्च परमज्योतिर्मय स्वरूप परमात्मा शिव कल्याणकारीले यस धर्तीमा साकार प्रजापिता ब्रह्माको मानवी कायामा दिव्य प्रवेश भई महान् कर्तव्य गरेको यादगार पर्व हो । किनकि परमात्माको जन्म हामी मनुष्यको जस्तो आमाको गर्भमा प्रवेश गरेर नभईकन ब्रह्माको भाग्यशाली रथमा प्रवेश गरेर हुने गर्दछ । पूर्वीय दर्शनका सबै साहित्य, कथा, पुराण आदिमा शिव ज्योतिर्मयको सर्वश्रेष्ठ स्थान रहेको पाइन्छ । शिव परमात्माको वर्णन सबै सभ्यता र संस्कृतिका धुरीका रूपमा रहेको देखिन्छ । प्राचीन इतिहास कथा तथा भाषाको आरम्भसमेत शिवबाट भएको उल्लेख छ । पुराणमा उल्लेख भएअनुसार जब संसारको महाविनाश भयो त्यसबखत पृथ्वीको ठूलो हिस्सा जलमग्न अवस्थामा थियो ।

त्यसबेला अण्डाकार प्रकाश (शिव) प्रकट हुनुभयो । त्यसको यथार्थतालाई थाहा पाउन ब्रह्माजी गम्भीर भएर लाग्नुभयो । अन्तमा त्यस ज्योतिले आदेश गर्‍यो– ब्रह्मा अब तिमीलाई नयाँ सृष्टिको स्थापनाका लागि निमित्त बन्नुपर्दछ । यस्तै प्रकारको उल्लेख मनुस्मृतिमा पनि छ । सृष्टिको आरम्भमा एक अद्भूत अण्डाकार ज्योति प्रकट भयो जो अत्यन्तै तेजश्वी र प्रकाशमान थियो । यजुर्वेदका कतिपय शब्दहरूमा पनि वर्णन छ कि सृष्टिको रचना गर्न विद्युत् पुरुष (ज्योतिर्लिङ्गम्) प्रकट हुनुभएको थियो ।

सम्राट विक्रमादित्य, राजा भ्रतृहरि सबैले शिवलाई भक्तिको केन्द्रबिन्दु बनाएका थिए । कालिदासको मेघदुतमा शिवको नै महिमा छ भने प्रसिद्ध गायक तानसेनले समेत शिवभक्ति अर्थात् शिवलाई आफ्नो आराध्य देवका रूपमा मान्दथे । जान्नुपर्ने र नोट गर्नुपर्ने महत्त्वपूर्ण पक्ष के भने ती सबैले शिवको स्वरूपलाई प्रकाशमय नै वर्णन गरेका छन् । वाल्मीकि रामायणमा र महाभारत ग्रन्थमा पनि शिव परमात्मालाई आराधना र उपासनाको केन्द्रबिन्दुका रूपमा स्वीकार गरिएको छ तथा प्रकाशमय रूपमा नै व्याख्या गरिएको छ ।
हिन्दू तथा सनातन मान्यताभन्दा भिन्दै आस्था र विश्वास गर्ने अन्य मुख्य धर्ममा समेत कुनै न कुनै रूपमा शिव ज्योतिर्मयलाई नै आफ्नो परमेश्वरका रूपमा लिएको पाइन्छ । उहाँहरूलाई पनि ज्योतिर्मय परमात्म सत्ताको साक्षात्कार भएका प्रसङ्गहरू पाइन्छन् ।

हजरतसँग त्यस अलौकिक ज्योतिले प्रत्यक्ष वातार्लाप गरेको र आफूलाई जोहेवा परमेश्वर भएकोसमेत बताएको यहुदीहरूको विश्वास छ । इजरायल देशमा वेलफेगो अर्थात् वाले नामको शिव प्रतिमालाई ढोग्ने तथा त्यसलाई साक्षी राखी कसम खाने, शपथ लिने चलनसमेत छ । त्यसैको ठीक मिल्दोजुल्दो नाम भारतमा बालेश्वर नामले शिवलिङ्गको पूजा–अर्चना गरिन्छ ।
त्यसैगरी इस्लाम अर्थात् मुसलमान धर्ममा समेत शिवरात्रि जस्तै शबेरात वा शबिबरातलाई धुमधामसँग प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउने चलन छ । शोधकर्ताहरूको तर्क छ कि शबिबरात शिवरात्रिको नै अपभ्रंश हो । मुसलमानको पवित्र तीर्थ मक्का (अरबस्थित) मा संगें–असवत नामको शिवलिङ्गको आकाराको चिह्नलाई नमन गरिने तथा त्यसको सातपटक परिक्रमा गर्ने चलन छ । भारतमा मकेश्वर नामको शिवलिङ्गको पूजा गरिने गर्दछ । पवित्र ग्रन्थ कुरानमा अल्लाहलाई नूर ज्योतिका रूपमा नै स्वीकार गरिएको छ ।

प्रसिद्ध इतिहासकार कर्नाल टाँट र हट्टनका शोधकार्यबाट सिद्ध भएको छ कि अरबको सबभन्दा प्राचीन सहरको नाम नै शिवम् थियो । पछि शिवशव हुन पुग्यो अर्थात् अधर्मको कारण त्यसको विलय भयो । बेबोलियन सभ्यतामा शिवलिङ्गलाई शिउन नामले पुकारिन्छ । मिश्रको सभ्यतामा, चिनी सभ्यता तथा शर्मा आदि देशमा पनि शिव प्रतिमाको नै गायन र मान्यता छ । अत: संसारभरका प्राचीन सहरमा चाहे अमेरिकाको टेन्सी सहर होस् या दक्षिण अमेरिकाको सुरिनाममा वा जापानको आइसिस नगरमा अथवा इरानजस्ता देशदेखि युरोपका अन्य देशमा समेत इतिहासकालमा शिव प्रतिमा पूजन र गायनको केन्द्रबिन्दु मात्रै नभएर म्युजियमहरूमा समेत राखेको पाइन्छ ।

उपरोक्त सम्पूर्ण तथ्य तथा आँकडाबाट के सिद्ध हुन्छ भने मुख्य धर्मका धर्मपिता र पीर पैगम्बरले समेत परमात्माको स्वरूपबारे जुन सन्देश दिएका छन् त्यसमा ज्योतिर्मय स्वरूपको नै उल्लेख र महिमा गरिएको छ । प्रत्येकका अंगुली परमात्मातिर जाँदा उहाँ प्रकाशमय ज्योतिर्मय नै हुनुहुन्छ भन्ने सङ्केत हुन्छ । संसारभरि प्राप्त शिवलिङ्गको प्रतिमाले त्यही सत्य स्वरूपलाई पुष्टि गर्दछ । भगवान् कुनै भौतिक शरीरधारी नभएर एक शाश्वत प्रकाश स्वरूप हुनुहुन्छ ।

शिवरात्रि पर्वको महत्त्वलाई अझ प्रभावकारी र कल्याणकारी बनाउन सम्पूर्ण मानव जगत्लाई यस सत्यको बोध हुनु जरुरी छ कि यो पर्व हामी सबै मनुष्य आत्माका पारलौकिक पिता परमात्मा शिवज्योतिर्बिन्दुले दिव्य अवतरण लिई समस्त जगत्लाई अज्ञानताको अन्धकारबाट मुक्त गर्न गर्नुभएको महान् दिव्य कर्तव्यको यादगार दिवस हो । जतिखेर समस्त जगत् विकारको वशीभूत भई त्राहीमान र भयभीत थियो, मानिसले मानिसँग गर्ने आसुरी व्यवहार र दानवी कुकृत्यबाट पीडित थियो । त्यस अज्ञानको घोर रात्रिमा नै आएर मुक्तेश्वर, पापकटेश्वर, सर्व दु:ख हरेश्वर, पापहरोहर, ओमकारेश्वर परमात्मा शिव भगवान् पशुपतिनाथले ज्ञानको सत्य प्रकाशबाट सबैको अज्ञान अन्धकार मिटाई कल्याण गर्नुभएको थियो । धर्म, जाति, लिङ्ग, रङ्ग अनेक प्रकारका मतभेदबाट विभक्त मानव समाजलाई आत्मचेतनाको ज्ञान दिई सबैलाई ईश्वरका सन्तान भाइ–भाइ हौँ भन्ने साक्षात्कार गराउनुभएको थियो । त्यही महान् कर्तव्यको यादगार पर्व शिवरात्रिपछि रीतिरिवाजका रूपमा मनाउने प्रचलन हुन गयो ।

पुन: वर्तमान अज्ञानको घोर रात्रिको बेलामा परमात्मा शिवले नन्दी अर्थात् वृद्ध मानव प्रजापिता ब्रह्माको साकार शरीरमा प्रविष्ट भई संसारको पापाचार, अन्याय र अत्याचारको अन्त्य तथा श्रेष्ठाचार, सदाचार र पवित्र सृष्टिको स्थापनाको कार्य गरिरहनुभएको छ । मानव प्राणीलाई आफ्ना मनोविकारलाई सफा गर्ने तथा दैवी गुण धारण गरी विश्वबन्धुत्वको स्नेह र सम्बन्धमा गाँसिने बेला आएको छ । यस वर्ष ब्रह्माकुमारी मिसनले आफ्नो ८०औँ शिवजयन्तीलाई दिगो सुख–शान्तिका लागि सहज राजयोगको नाराका साथ मनाइरहेको छ । यस चेतनाका साथ शिवरात्रि मनाउनाले यस पर्वको विश्वव्यापी महत्त्व पुन: स्थापित हुनेछ, सबैको बुद्धियोग एक परमात्मासँग जुट्न गई मानव आत्माको दिव्यीकरणबाट सुख, शान्तिमय संसारको पुनस्र्थापना हुनेछ ।