आन्दोलन जारी रहेको मधेसी-दाबी

आन्दोलन जारी रहेको मधेसी-दाबी


mahantha-thakur 4
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेशी जनताको मागलाई पूर्ण रूपमा बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । उनले मधेशी मोर्चाले आमजनताको जनजीवन अस्तव्यस्त भएकोले नाकाबन्दी र आमहडताल फिर्ता लिए पनि सरकारको कामकाज सन्तुष्टिजनक नरहेको बताएका छन् । केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकपश्चात् बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेशी दलहरूले उठाएको माग सम्बोधन गर्ने तर्फ सरकार गम्भीर नभएको बताएका हुन् । उनले मधेशी मोर्चाले आन्दोलन जारी नै राखेको जिकिर गरे । सरकारले आमजनताको समस्याभन्दा पनि सत्ता टिकाइराख्न मात्र खेलमा लागेको उनले आरोप लगाए । उनले सरकारले आफै वाचा गरेको कुरा पूरा नगरेको आरोप लगाए । सरकारले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा, घाइतेहरूको उपचार र शहीद परिवारलाई क्षतिपूर्ति लगायतका कुराहरू पूरा नगरेको ठाकुरले बताए ।

यसैबीच संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ६ महिनाभन्दा बढी समयको मधेश आन्दोलनले अहंकारी सरकारको कम्मर भाँचेको दाबी गरेका छन् । उनले अबको आन्दोलनले सरकारको टाउको भाँच्ने दावीसमेत गरे । पर्साको भावानीपुलमा बिहीबार फोरम नेपाल पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अलपसंख्यक, उत्पीडित वर्गको अधिकारलाई संविधानमा स्थापित गरेरै छाड्ने बताउँदै अबको आन्दोलन पहाड, हिमाल, तराई चारै तिरबाट हुने चेतावनी दिए ।

मधेशीलाई विदेशी मानेकै कारण तराई–मधेशमा ६ महिना लामो संर्घष र पाँच दर्जन भन्दा बढीले ज्यानको आहुति दिँदा समेत पाहाडी मानसिकताबाट ग्रसित भएको राज्यसत्ताले मधेशीलाई अधिकार नदिइएको आरोप लगाए । उनले रहेको कांग्रेस, एमाले, एमाओवादी लगायतका पहाडवादी चिन्तनले ग्रसित रहेको दलहरूले मधेशीलाई विदेशी ठानेकै कारण अधिकार नदिई उल्टै दमन गरेको आरोप लगाए । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले मधेशी जनता आन्दोलनबाट नथाकेको र फेरि आन्दोलन गर्न तयार रहेको धारणा राखिन् भने जिल्ला अध्यक्ष प्रदिप यादवले मधेशी, मुस्लिम, दलित, पछाडि पारिएका उत्पीडित वर्गको अधिकार संविधानमा समावेश नभएसम्म आन्दोलन जारी नै राख्ने दावी गरेका थिए ।

वक्ताहरूले कांग्रेस, एमाले, एमाओवादी, राप्रपा जस्ता खसवादी सोचबाट ग्रसित रहेका पार्टीहरूले मधेशप्रति देखाएको द्वैध चरित्रकै कारण ती पार्टी छाड्नेको संख्या दिन प्रति दिन बढ्दै गएको र मधेशीको अधिकारका लागि संघर्ष गर्ने फोरम नेपालमा समावेश भएको दावी गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस पर्साका प्रभावशाली नेता ओमप्रकाश साह कानुको नेतृत्वमा सयौँ कांग्रेस कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् । नेपाली कांगे्रस ट्रेड युनियनका कोषध्यक्ष, नन्दकिशोर चौरसिया, ओम प्रकाश साह कानु, जगदिश साह कुर्मी, बिन्दा साह तेली, मुकेश पटेल, पारस राउत कुर्मी, राजेन्द्र साह कुर्मी, बिदियालाल कुर्मी, शिबलाल कुर्मी, भिमबचन पटेल, हिरालाल महतो, बैजनाथ साह कुर्मी, अभिष हुसेन देवान, मकबुल मिया धोवी, चन्द्रीका राउत, ज्ञानचन्द पटेल, अछेलाल साह कानु, पनालाल साह कानु, दिपकलाल साह कानु, देवनाथ सिह राउत, चन्दलाल साह कानु, जगदीश मिया धोवी, नविजान धोवी, विनयराम चमार लगायतका करीब १ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरू फोरम नेपालमा प्रवेश गरेका हुन् ।