सुशीलले उधारे, सुधार्ने जिम्मा देउवामा

सुशीलले उधारे, सुधार्ने जिम्मा देउवामा


Rajendra Pathak
:: राजेन्द्रप्रसाद पाठक ::

‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने प्रचलित नेपाली उखानसँग हामी सबै परिचित नै छौँ । दिल्ली प्रवास हुँदै दिल्ली सम्झौतादेखि दिल्ली भ्रमणसम्मको इतिहास र वर्तमान हुँदै–हुँदै भविष्यसम्मै नटुङ्गिने अनवरत यात्रा जोसँग अत्यन्तै पुरानो र परिपक्व लेनदेन कायमै छ । नुनदेखि सुनसम्म, रोटीदेखि बेटीसम्म र फलामदेखि सलामसम्म इत्यादि हाम्रो छिमेकीसँगको कटुसत्य नै हुन् । बहुआयामिक सम्बन्ध जसभित्र हाम्रो संस्कार, संस्कृति, भाषा, भेष, भावना र बन्धुत्व यिनै कारणहरूले हामीलाई धेरै परसम्म जानै दिँदैन । उन्मादमा कागले कोइली छोडेर बकुल्लासँग मीत लाउन गएको देख्दा हाँसहरूको हाँसोको फोहोराले तलाउ नै गुञ्जायमान भएको कथाले जेनतेन काग र कोइलीको बीच गुणात्मक भिन्नता भए पनि बाहिरी आवरण र मात्रात्मक भिन्नता कम नै देखिन्छ । त्यसैले अन्तत: मित्रता काग र कोइलीबीच नै सुहाएको जस्तो अनुभूति सबैले गर्दछन् ।

तत्काल जवाफ फर्काउन सक्ने र टिप्पणी गरिहाल्न सक्ने कौवाको जस्तो कटु वाक्पटुता भएका हाम्रा प्रधानमन्त्री ओलीको बोली दिल्ली भ्रमणको दही–चिउराले लोलाएको छ । उनको राजनीतिक दाउपेच स्वयम्को पार्टीभित्र मात्र सीमित नरहेर बाहिरसम्म नै अत्यन्तै पेचिलो रूपमा देखापर्नुले कांग्रेसको भारतसँगको पुरातन सम्बन्ध र उध्रिएको अवस्था र कोइरालाको अवसानसँगै ओलीको दिल्ली अलाप ‘आफैँ बोक्सी आफैँ धामी’सम्म पुगेर परिभाषित भएको छ । गृह प्रवेश गर्न चाहनेले दिल्लीको दैलो उधार्न जान्नुपर्दछ भन्ने पछिल्लो उदाहरण प्रस्तुत गर्न कमरेड ओली सफल भएका छन् । आवरणमा राष्ट्रप्ेरम अलाप्ने आन्तरिक विवरणमा आफूलाई बलियो बनाउने दस्तावेज प्रस्तुत गर्न सक्नु ओलीको अर्को उपलब्धि ठहर भएको छ ।

सुशीललाई काँधमा चढाएर राष्ट्रवादको नाममा छिमेकीको तगारोमा अक्षेता मन्साएका थिए ओली ‘धामी’ले । उनको सहायक भूमिकामा प्रचण्डबाबुको अग्रता अझै पेचिलो थियो । कुमालकोटी नामक बारुलोजस्तो देखिने किटले माकुरोलाई लठ्याएर कान फुक्दाफुक्दै माकुरोभित्र अर्को कुमालकोटी उत्पादन गर्दछ र माकुरोको इहलीला समाप्तै पारिदिन्छ । जसरी माथिको उदाहरण प्रस्तुत भए त्यसैगरी सुशीलबाबुको पनि इहलीला समाप्तिसँगै कांग्रेसलाई कुटुम्बसामु मुख देखाउन कठिन अवस्था सिर्जना भएको अनुभव गर्न थालिएको छ । अर्काको काँधमा चढेर निर्णय गर्नेहरूको हविगत इतिहासदेखि वर्तमान हुँदै भविष्यसम्म नै यस्तै–यस्तै हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

भनिन्छ, ‘स्वधर्मे मरणं श्रय परधर्मो भयावह’ । अर्काको बुटीले लामो जीवन जिउनुभन्दा आफ्नु बुद्धिले अल्पायुमै मर्नु वेश भनिन्छ । अर्काको बुई चढेर बेत्रावतीको यात्रा गर्दै थिए कोइराला, बोक्नेले बाटैमा बिसाइदियो । आफैँ वामे सर्ने प्रयास गर्दागर्दै जीवनले विश्राम लिएपछि १३औँ महाधिवेशनमा खडा भएको कांग्रेस त्यसमाथि पनि संस्थापन भनिनेहरूलाई उम्मेदवार खडा गर्नसमेत हम्मे–हम्मे परिरहेको पीडाले पार्टी धर्मराएको छ । अबको छिमेकीसँगको, विशेषगरी भारतसँगको सम्बन्धलाई कायम र अझ विस्तार गर्ने जिम्मा आगामी कांग्रेसको नेतृत्व सम्भवत: देउवा नेतृत्वले नै लिन सक्नुपर्ने देखिन्छ ।

नेपालका कम्युनिस्टहरूले कोइरालालाई काँध चढाएर उधारेको (च्यातेको) सम्बन्धलाई सुधार्ने या सिलाउने जिम्मा लिन सक्ने प्रखर पात्रका रूपमा देउवा खडा हुनुपर्ने आजको आवश्यकता हो । आवरणमा जनताको अगाडि ‘भारतीय विस्तारवाद’को नाममा आफू राष्ट्रवादी ठहर हुनाका खातिर छिमेकीलाई गाली गर्दै पद, पैसा र प्रतिष्ठाको बार्गेनिङ गर्न हाम्रो देशका कम्युनिस्टहरू माहिर नै देखिएका छन् । अन्तत: आफूलाई भारतपरस्त बनाएरै उनीहरूको टुङ्गो लाग्ने गरेको छ । यो दशकको सुरुवातीमा पनि कम्युनिस्टहरूले राष्ट्रवादको नाममा बालकदेखि वृद्धसम्मलाई भारतविरोधी बीउ छरेर आफूलाई भने सजिलो बनाउन सफल देखिएका छन् । ०४५ सालयता विगतको केही दशकमा नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा एकदमै सुध्रिएको अवस्थामा थियो । भलै भविष्यमा पनि दुवैतर्फको सत्प्रयासबाट सुदृढ रहला, तर वर्तमानको अवस्थामा भारतप्रतिको दृष्टिकोणमा नकारात्मक प्रदर्शन गर्न–गराउन सुशील, ओली र प्रचण्डलगायतका प्रोपोगाण्डीहरू सफल नै देखिए । अन्तत: दुई छिमेकीबीच राखिनुपर्ने कूटनीतिक सन्तुलित व्यवहार त्यसमाथि पनि भारतसँगको नेपालको बहुआयामिक अन्तरसम्बन्ध जसभित्र इतिहासको पनि इतिहास अन्तर्निहित छ, त्यति ठूलो प्रगाढ सम्बन्धलाई सतहसम्म ल्याएर छताछुल्ल बनाई प्रस्तुत गरिनुले आन्तरिक गुलियोमा तीतो मिसाएको अनुभव सबैतर्फ महसुस भएको छ ।

राजनीतिक हिसाबले मात्र मूल्याङ्कन गर्ने हो भने पनि प्रजातन्त्रदेखि लोकतन्त्रसम्मको भारतको लगानी हेर्दा विकल्पमा हामीले अन्त हेर्ने अवस्था नै छैन । यसको मतलब यो होइन कि देश र जनताको दु्रततर विकासका खातिर बहुपक्षीय सम्बन्ध कायम त गर्नैपर्दछ । तर यसो गर्दै गर्दा निकटतम् छिमेकीलाई केन्द्रमा राखेर मात्र यो काम सम्पन्न गर्न सकिन्छ भन्ने लेखको निष्कर्ष हो । छिमेकी भारतका लागि अनन्य मित्रशक्तिको रूपमा आफूलाई खडा गर्न सफल भएको नेपालको पुरानो एक मात्र राजनीतिक लोकतान्त्रिक मित्रशक्ति भनेको नेपाली कांग्रेस पार्टी नै हो । यति ठूलो ऐतिहासिक पृष्ठभूमि बोकेको पार्टीको आसन्न १३औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको छ । सम्भवत: आगामी नेतृत्व विगतको जस्तो कच्चा हर्कत छिमेकीसामु प्रस्तुत गर्नेछैन ।

परिपक्व र अग्रगामी सोच भएकाहरूको समूहले नै नयाँ पार्टी–परिवेश सम्हाल्ने पक्कापक्की नै भएको अवस्थामा कांग्रेसीहरू सच्चा कांग्रेस नेतृत्वको छनोटमा अवश्यमेव चुक्ने छैनन् । पार्टीको विगतको कमजोरीलाई दोहोर्‍याउने होइन, त्यसलाई सुधार गर्दै दूरगामी सोच र सोको साधनामा सम्पूर्ण कार्यकर्तासहित पार्टी एक ढिक्का भएर देश विकासमा अगाडि लाग्न सकोस् भन्ने आमचाहना पनि छ । छिमेकी र विश्व परिवेशमा देशलाई अझ अग्रगामी तौरतरिकाबाट २१औँ शताब्दीमा देश र जनतालाई विश्वका शक्तिशाली र विकसित राष्ट्रहरूसामु सहयात्री र सबल राष्ट्रसङ्घीय सदस्यराष्ट्रको रूपमा हाम्रो देशलाई चिनाउने र अघि बढाउने जिम्मा काङ्ग्र्ेरसजस्तो लोकतन्त्रप्रति इमानदार इतिहास बोकेको पार्टीले निर्वाह गर्न सक्नुपर्दछ । त्यसको समग्र जिम्मेवारी आगामी अधिवेशनले छनोट गर्ने नयाँ नेतृत्वले प्राप्त गर्ने नै छ, हाम्रो अग्रिम शुभकामना ।

(लेखक आर्यावर्त (भारत वर्ष) युवा समाजका अध्यक्ष हुन् ।)