इतिहासमै सबभन्दा बढी षड्यन्त्रको सिकार किन बने यी नेता ?

इतिहासमै सबभन्दा बढी षड्यन्त्रको सिकार किन बने यी नेता ?


sher-bahadur-deuwa 5

नेपालको इतिहासमा तीनपटक प्रधानमन्त्री बन्ने र तीनैपटक षड्यन्त्रमूलक ढङ्गले पदमुक्त हुने नेताको रूपमा शेरबहादुर देउवाको नाम अङ्कित भएको छ । सरल व्यवहार, उदार स्वभाव, लचकदार कार्यशैली र दु्रत निर्णयक्षमताका कारण देउवा नेतृत्वको सरकार लामो समय चल्ने र त्यसले राजनीतिक स्थिरताको वातावरण पैदा गरी कार्य–परिणाममा समेत सकारात्मक प्रभाव पर्ने भएपछि देउवालाई सरकारको नेतृत्वबाट विस्थापित गर्न षड्यन्त्रको सहारा लिनुपरेको बुझिन्छ ।

०५२ मा पहिलोपल्ट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवालाई पदमुक्त गराउन गुप्त रूपमा गरिएका प्रयास असफल भएपछि गिरिजाप्रसाद कोइरालाले कांग्रेसकै दुई सांसदहरूलाई प्रयोग गर्नुपरेको थियो । संविधानअनुसार तात्कालिक प्रधानमन्त्री देउवा ०५३ पुसमा संसद्को विश्वासको मत लिने प्रक्रियामा हुनुहुन्थ्यो । विपक्षीहरूद्वारा प्रस्तुत अविश्वासको प्रस्तावलाई असफल गराउनुभएका देउवाका निम्ति विश्वासको मत लिनु कुनै ठूलो कुरा थिएन । आफ्नो पार्टीका सम्पूर्ण सदस्यका साथै गैरकांग्रेस पार्टीका र स्वतन्त्र सांसदको समेत गणना गर्दा संसद्को स्पष्ट बहुमत सरकारको पक्षमा थियो । त्यसैले नलिए पनि हुने विश्वासको मत लिन देउवा अग्रसर हुनुभएको थियो ।

बाहिरी पक्षलाई मिलाएर ढुक्क हुनुभएका उहाँलाई आफ्नै पार्टीका दुई सांसद अनुपस्थित गराएर सरकारबाट विस्थापित गर्ने काम भयो । यसरी अन्तत: गिरिजाप्रसाद कोइराला आफैँ ‘एक्स्पोज’ भएर देउवालाई ‘अपदस्थ’ गर्न त्यसबेला सफल हुनुभएको थियो । त्यसनिम्ति उहाँले दीपकजंग शाह र चक्रबहादुर शाही नामक सांसदलाई प्रयोग गर्नुभएको थियो । पहिलोपल्ट आफ्नै पार्टीका नेताको षड्यन्त्रको सिकार बन्नुभएका देउवा त्यसपछि भने तात्कालिक राजाको कोपभाजनमा पर्नुभएको थियो । तर, ०५९ असोज १८ गते भएको ‘टेकओभर’मा भने गिरिजाप्रसाद कोइरालासहित केही अन्य नेताहरूको समेत राजालाई साथ रहेको थियो ।

कांग्रेस विभाजन भएपछि देउवालाई प्रधानमन्त्रीबाट हटाउन जोसँग जस्तोसुकै सम्झौता गर्न पनि तयार हुनुभएका गिरिजाप्रसाद कोइरालासमेतको सहयोगमा राजाले तात्कालिक संविधानको धारा १२७ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार पाएपछि राजाले शाही घोषणामार्फत देउवा नेतृत्वको सरकार २०५९ असोज १८ गते अपदस्थ गरिदिएका थिए । राजाबाट अपदस्थ भएपछि नेता देउवाको हत्या गर्ने प्रयास माओवादीबाट भएको थियो । जिल्ला भ्रमणमा जानुभएका देउवालाई बर्दियास्थित जङ्गलबीचको सडकमा लगातार सैयौँ गोली प्रहार भएको थियो । चालकको कुशलताका कारण उम्कन सफल भएपछि त्यसबेला प्रचण्डले देउवाको हत्या गर्ने योजना नरहेको भनी वक्तव्य जारी गरेका थिए ।

माओवादीविरुद्ध सङ्कटकाल घोषणा गरी सेना परिचालन गर्ने निर्णय लिएका कारण त्यसताक माओवादीहरू देउवासँग क्रूद्ध थिए । ०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका देउवालाई राजाले सोही सालको माघ १९ गते अपदस्थ गरी सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएका थिए । यसरी शेरबहादुर देउवा नेपालको इतिहासमा लगातार तीनपटक षड्यन्त्रमूलक ढङ्गबाट हटाइएको प्रधानमन्त्रीका रूपमा अङ्कित हुनुभएको छ । उहाँले आफूलाई प्राप्त कार्यकालभरि काम गर्न पाउने हो भने देशका लागि ठोस योगदान दिनसक्ने विश्वास जनस्तरमा गरिएको छ । तेह्रौँ महाधिवेशनमा देउवा सभापति पदमा विजयी बन्नुभएमा राजनीतिक स्थायित्वका लागि उहाँको विशिष्ट भूमिका हुने आशा उच्च राजनीतिक तहमा समेत गरिएको छ ।