प्रधानमन्त्री ‘गफ गर्न’ दिल्ली जानुहुँदै

प्रधानमन्त्री ‘गफ गर्न’ दिल्ली जानुहुँदै


Oli Points Media
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अन्तत: निश्चित भएको छ । प्राप्त जानकारीअनुसार नयाँदिल्लीले भ्रमण कार्यक्रम दुई दिनका लागि तय गर्न खोजेको भए पनि प्रधानमन्त्री ओलीको आग्रह र चाहनाबमोजिम यो पाँच दिनको तुल्याइएको छ । उहाँ फागुन ७ गते गएर ११ गते स्वदेश फर्कनुहुनेछ । भ्रमण दलमा व्यापारीबाहेक मन्त्री, सांसद र सचिवलगायत चालीसजनाको सहभागिता रहने बुझिएको छ । त्यस्तै नेपाल टेलिभिजनका दुई, राससका एक र रेडियो नेपालका एक सञ्चारकर्मीलाई भ्रमण टोलीमा सामेल गरिने भएको छ । निजी क्षेत्रका पत्रकारहरूलाई भ्रमणमा सामेल गराउने सम्भावना कम रहेको छ । बालुवाटार सूत्रले जनाएअनुसार बुधबार (फागुन ५ गते) बस्ने मन्त्रिपरिषद्को बैठकद्वारा एजेण्डाका साथै भ्रमण दलबारे टुङ्गो लगाइनेछ ।

प्रधानमन्त्री ओलीको यो भारत भ्रमण दुईपक्षीय सम्बन्ध सहज बनाउन केन्द्रित रहने बताइएको छ । तर, असहज सम्बन्धलाई सहज र सरल तुल्याउन के गर्ने भन्ने विषयमा सरकारी पक्ष स्पष्ट हुन अझै सकेको छैन । भारतका केही सुरक्षा चासोलाई सम्बोधन गर्ने सोच प्रधानमन्त्रीले बनाउनुभएको छ, तर त्यति मात्रले या प्रधानमन्त्री ओलीले दिने ‘गफ’ मात्रले दुईपक्षीय सम्बन्धलाई सहज बनाउने सम्भावना कम देखिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी, मुक्तिनाथ र रामजानकी मन्दिर यात्रा गर्नबाट रोकिएपछि चिसिएको सम्बन्ध संविधान जारी गर्ने क्रममा भारतको आग्रहलाई पूरै उपेक्षा गरिएपछि थप तनावग्रस्त भएको थियो । प्रधानमन्त्री मोदीले काठमाडौंमा विशेष दूत पठाएर संविधानको घोषणा केही दिन पछि सार्न गरेको आग्रहलाई नेपालले पूरै उपेक्षा गरेको थियो । केही दिन पछि सारेर संविधानको अन्तर्वस्तुमा के–कस्ता कुरा समेट्नुपर्छ भन्ने भारतको सम्भावित सुझावबारे नेपालले त्यसबेला कुनै चासो राखेको थिएन । बरु अनुमानकै भरमा प्रचण्ड र ओलीले भारतविरुद्ध प्रचारबाजी सुरु गरेका थिए । सम्बन्ध सुधारका निम्ति जहाँबाट असमझदारी सुरु भएको छ, त्यहीँ पुग्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीले यस सम्बन्धमा कस्तो दृष्टिकोण बनाउनुभएको छ त्यसबारे स्पष्ट हुन सकेको छैन ।

प्रधानमन्त्री ओली भारतसँग सम्बन्ध सुधार गर्न दिलैदेखि इच्छुक भएको महसुस नयाँदिल्लीले नगरेको बताइन्छ । औपचारिकतावश प्रस्तुत हुने कलात्मक शब्दहरूले मात्र सम्बन्धलाई मित्रवत् बनाउने विश्वास गरिएको छैन । भारतसँग सम्बन्ध सुमधुर बनाउने अवसर उपलब्ध गराइनुपर्छ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुरूप नेपाली प्रधानमन्त्रीलाई दिल्लीमा स्वागत गर्न लागेको बुझिएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेलबाट औपचारिक भ्रमणका अवसरमा नयाँदिल्लीलाई आश्वस्त तुल्याइने प्रयास भएको थियो । यसबीचमा अनौपचारिक तहमा पनि दुईपक्षीय सन्देशहरू आदानप्रदान भइरहेका छन् । प्रधानमन्त्री ओलीनिकटको एक सूत्रले जनाएअनुसार मोदीसँग एकल भेटवार्ता गर्ने मौका मिलेको अवस्थामा नेपाललाई हिन्दू राष्ट्र बनाउने प्रतिबद्धता जाहेर गर्न पनि ओली तयार हुनुभएको छ र नयाँदिल्लीले यस कुराको सूचना पाइसकेको पनि बुझिएको छ । तर, भारतीय प्रधानमन्त्री मोदीले यसबारे चर्चा गर्नुहुने विश्वास भने कूटनीतिज्ञहरूले गरेका छैनन् ।

अनौपचारिक भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको निरन्तरताका लागि सद्भाव प्राप्त गर्ने अपेक्षा पनि प्रकट गर्नुहुने बुझिएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेलले पनि अनौपचारिक भेटवार्ताका क्रममा ओली नेतृत्वको सरकारलाई कम्तीमा एक वर्ष निरन्तरता दिन भारतको सद्भाव आवश्यक भएको बताएका थिए । तर, प्रधानमन्त्री ओली भने ‘कुरैकुरामा लट्ठयाएर’ आफू सफल भएको ठान्दै स्वदेश फर्कनुहुने अनुमान जानकारहरूले गरेका छन् ।

भारत प्रस्थान गर्नुअघि ओलीको यस्तो तयारी
kp-oli
सीमाङ्कन लगायत विषयमा सिफारिस गर्न आफ्नो भारत भ्रमणअघि नै राजनीतिक समिति निर्माण गरिने जानकारी प्रधानमन्त्री केपी ओलीले दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको दोस्रो बैठकमा सार्वजनिक महत्वको विषयमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले सहमतिका आधारमा तीन महिनाको अवधिमा नमिलेका विषय मिल्नेमा आफू विश्वस्त रहेको बताए । आफ्नो आसन्न भारत भ्रमणबारे संसदलाई जानकारी दिने सिलसिलामा प्रधानमन्त्री संसदलाई सम्बोधन गरिरहेका थिए ।

सो क्रममा नेपालको राजनीति नयाा चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने– ‘संविधान अपरिवर्तनीय होइन, तथ्यका आधारमा संशोधन गर्नुपर्ने हुन्छ, हामीबीच खासै समस्या छैन, विकास निर्माणका निम्ति राष्ट्रिय एकताको प्रयास भएको छ र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि सघन छलफल हुनेछ । संविधान जारी भएसागै जनताका सङ्घर्षका प्रतिफल संस्थागत भएका, विकासनिर्माणका काम अघि बढाउने मार्गप्रशस्त भएको र सामाजिक न्यायका क्षेत्रमा उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रलाई समृद्धिको बाटामा अघि बढाउने महायज्ञमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

नेपालको राष्ट्रिय हित प्रवद्र्धन, नेपाल–भारत मैत्रीलाई अझ सुदृढ बनाउन समझदारी विकास गर्न तथा अपेक्षित उपलब्धि हासिल गर्न भ्रमण सफल हुने विश्वास उनले व्यक्त गरे भने बाह्य सम्बन्ध सुदृढ गर्न सरकार लागिपरेको भन्दै समग्रमा आफ्नो भारत भ्रमण सकारात्मक, फलदायी एवम् नेपालको हितमा हुने दाबीसमेत प्रधानमन्त्री ओलीले गरे ।