सभापतिका निम्ति को उपयुक्त ?

सभापतिका निम्ति को उपयुक्त ?


– हरदम कोइराला

ser-bahadur-ramchandra

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन विचार र नीतिकेन्द्रित हुनुपर्ने समयको माग र अपेक्षाविपरीत यो पूर्णत: नेतृत्वकेन्द्रित हुन पुगेको छ । पार्टीको महाधिवेशनमा कांग्रेसले लिनुपर्ने नीति र विचारबारे केन्द्रदेखि तल्लो तहसम्म बहस–छलफल हुन सकेन, सभापतिका सम्भावित उम्मेदवार तथा तिनको जय–पराजयलाई काङ्ग्रेसभित्र र बाहिर मुख्य चर्चा र बहसको विषय बनाइएको छ या बनिरहेको छ । कम्युनिस्टहरूले आफ्नो स्थापनाकालदेखि नै गणतन्त्र, नयाँ जनवाद या राजनीतिक समाजवाद र धर्मनिरपेक्षताको पक्षमा आफूलाई प्रस्तुत गरिरहँदा कांग्रेसले संवैधानिक राजतन्त्र, बहुलवादमा आधारित संसदीय प्रजातन्त्र र देशको मौलिक धर्म–संस्कृतिको पक्षमा उभ्याउँदै आएको हो ।

असोज ३ गते (२०७२ वि.सं.) जारी गरिएको संविधानले कम्युनिस्टहरूको धर्म र मर्मअनुरूपको ‘आत्मा’ ग्रहण गर्दर्ै गणतन्त्र, समाजवादउन्मुख समावेशी एवम् समानुपातिक राजनीतिक व्यवस्था र धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा अङ्गीकार गरेको छ । सङ्घीय, लोकतान्त्रिक, समावेशी, समानुपातिक, गणतन्त्रात्मक, धर्मनिरपेक्ष मुलुकको रूपमा नेपाललाई ‘अघि बढाउन’ कांग्रेस र कम्युनिस्टबीच सहमति भएपछि नेपालमा कांग्रेस र कम्युनिस्टबीचको अन्तर प्राय: मेटिएको छ । समावेशी–समानुपातिक राजनीतिक प्रणालीले संसदीय प्रजातन्त्रको मूल चरित्रलाई खलबल्याउने काम गरेको छ ।

भादगाउँले कालो टोपी शिरमा धारण गरी आफू पाल्पाली ढाकाटोपीको पक्षमा रहेको दाबी गर्नु र समावेशी–समानुपातिक प्रणालीलाई आत्मसात् गर्दै बहुलवादमा आधारित संसदीय प्रजातन्त्रको पक्षमा प्रवचन दिनु सारमा उस्तै हो । कांग्रेसले विगतमा अनुशरण गरी आएका मार्गदर्शन सिद्धान्त र विचार परिवर्तन गर्दा कांग्रेस र कम्युनिस्टबीचको आधारभूत अन्तर धुमिल बनेको परिप्ेरक्ष्यमा हुँदै गरेको तेह्रौँ महाधिवेशनले कांग्रेसको धरातल स्पष्ट गर्ने अपेक्षा गरिएको थियो, छ । गाउँ, क्षेत्र र जिल्ला तहसम्मको अधिवेशन कसलाई हराउने र कसलाई जिताउने भन्ने विषयमा केन्द्रित रह्यो । राष्ट्रिय महाधिवेशन पनि विचार–दर्शन स्पष्ट गर्ने ‘झमेला’तिर नलागी कसलाई हराउने–जिताउने भन्ने परिधिमा नै सीमित हुने सम्भावना छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा एक–डेढ वर्षअघि नै भावी राष्ट्रपतिको विषयलाई लिएर बहस–चर्चा सुरु भएजस्तै नेपालमा नेपाली कांग्रेसको भावी सभापतिबारे एक वर्षअघिदेखि नै चर्चा प्रारम्भ भयो । अमेरिकामा व्यक्तिको चर्चासँगै उसका मूल्य–मान्यता र एजेण्डाहरूबारे पनि बहस हुने गर्छ, तर कांग्रेस नेताहरू वैचारिक बहस गर्ने–गराउने मामिलामा उदासीन देखिएका छन् । त्यसैले फिगरको विषयले मात्रै यहाँ प्राथमिकता पाएको छ । बाह्रौँ महाधिवेशनबाट निर्वाचित भएपछिका ६ वर्षभित्र नेतृत्वबाट भए–गरेका कामको मूल्याङ्कन या समीक्षासमेत नगरी कांग्रेसका प्रतिनिधि कार्यकर्ता–नेताहरू सोझै कसलाई जिताउने र कसलाई हराउने भन्ने विषयमा प्रवेश गरेका छन् ।

कम्युनिस्ट पार्टीमा झैँ रातारात नेता पैदा हुन कांग्रेसमा कठिन मात्र होइन असम्भवप्राय: छ । त्यसैले सातवटा कम्युनिस्ट पार्टीलाई एकैपटकमा नेतृत्व दिनसक्ने क्षमता र हैसियतका कतिपय काङ्ग्रेस नेताहरूले तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा जाहेर गर्दा पार्टीपङ्क्तिभित्र त्यसलाई गम्भीरतापूर्वक लिइएन, पदाधिकारी बन्न गरिएको ‘बार्गेनिङ’ मात्र मानियो । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई सम्भावित प्रतिस्पर्धी या सभापतिका रूपमा बुझिरहँदा सुशील कोइराला पुन: उम्मेदवार बन्ने कल्पना डा. सशाङ्क कोइरालाबाहेक सम्भवत: धेरै कमले मात्र गरेका थिए, तर कोइरालाको देहावसानपछि यो अध्याय समाप्त भएको छ ।

कोइरालाको निधनले हालको संस्थापन पक्षभित्र छटपटी बढाएको छ । सुशीलको स्थान लिनसक्ने हैसियतमा परिवारभित्रका कोही पनि देखिएका छैनन् । त्यसैले रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार स्वीकार गर्न कोइराला परिवार बाध्य हुने स्थिति छ । तथापि सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकोले अब उनी आफैँ अग्रसर हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन । उता कृष्ण सिटौला पनि सभापतिका आकाङ्क्षी बनेका छन् । सुशील कोइरालाको विरासत आफूले धान्न सक्ने दाबी सिटौलाले गरे भने आश्चर्य मान्नुपर्ने छैन । त्यसो त प्रकाशमान सिंहले पनि सुशीलपछिको नेताका रूपमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । यी आकाङ्क्षीहरूको व्यवस्थापन गर्न सक्दा हालको संस्थापनको नेतृत्व रामचन्द्र पौडेलबाट हुने सम्भावना अधिक छ । होइन भने कोइराला क्याम्पलाई विभिन्न गुट–उपगुटमा विभाजित हुनबाट रोक्न सकिने छैन ।
चिन्तक र बौद्धिक नेताका रूपमा चिनिनुहुने रामचन्द्र पौडेलले आफूलाई हालको संस्थापन पक्षको उम्मेदवार भनिरहनुहुँदा सुशील कोइरालाले संस्थापनको नाममा पौडेल अघि सर्नुभएको ठ्याम्मै मन पराउनुभएको थिएन ।

‘संस्थापन भनेको कोइराला र कोइराला भनेकै संस्थापन ठान्नेहरूले आफ्नो पक्ष विजयी हुने आधारको रूपमा केवल संस्थापन पक्षको हुनुलाई लिएका छन् । पार्टीको सत्तामा जो पुग्छ त्यही नै संस्थापन पक्ष बन्छ भन्ने बुझ्न नभ्याएका कार्यकर्ताहरूले तेह्रौँ राष्ट्रिय महाधिवेशनको तिथिसम्म पुग्दा यो तथ्य पनि बोध गरिसक्ने अपेक्षा गरिएको छ । रामचन्द्र पौडेल स्थापित नेता हुनुहुन्छ र उहाँले सभापति पदमा उम्मेदवारी दिइरहँदा ‘संस्थापन’ नामको बैसाखी टेकिरहन आवश्यक छैन र त्यसो गर्नु वाञ्छनीय पनि होइन । कुनै गुट–उपगुटको नेता नरहेको बताउँदै आउनुभएका पौडेलले एउटा पक्षविशेषको उम्मेदवारका रूपमा आफ्नो पहिचान बनाउनु उहाँ स्वयम् र कांग्रेसका निम्ति समेत उचित होइन । सुशील कोइरालाका कारण उत्पन्न अड्चन हटेपछि अब रामचन्द्र पौडेलको उम्मेदवारी सुनिश्चित भएको छ । उहाँलाई सभापति स्वीकार गर्नुपर्ने बाध्यता कांग्रेसका एकथरी नेताहरूलाई आइलागेको छ ।

त्यस्तै माओवादी हिंसात्मक क्रियाकलापलाई नियन्त्रणमा लिन लगाइएको ‘सङ्कटकाल’ थप गर्ने–नगर्ने विषयमा उत्पन्न विवादको पृष्ठभूमिमा प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवालाई पार्टीबाट हटाएको घोषणा गर्ने गिरिजाप्रसाद कोइरालसँग पुन: सम्बन्ध स्थापित गरी कोइरालालाई नै आफ्नो नेता स्वीकार गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन देउवाले पुर्‍याउनुभएको योगदान पनि यतिबेला स्मरण गरिँदै छ । आफूले यो वा त्यो पक्ष भनी कसैका प्रति पूर्वाग्रहपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता पनि देउवाले प्रकट गर्दै आउनुभएको छ । विगतमा कोइराला पक्षकै नेताका रूपमा चिनिएका डा. रामशरण महत र अर्जुननरसिंह केसीदेखि लक्ष्मणप्रसाद घिमिरे तथा डा. अमरेशकुमार सिंहदेखि चन्द्र भण्डारीसम्मलाई देउवाले जसरी समेट्ने प्रयास गर्नुभएको छ, यसले उहाँ कसैका प्रति आग्रह राख्ने मानसिकतामा नरहनुभएको दर्शाउँछ । ‘फ्लेग्जिबल’ नेताका रूपमा सुपरिचित देउवामा नरम या उदार र त्यत्तिकै कठोर बन्न सक्ने क्षमता रहेको छ ।

पार्टीका तर्फबाट तीनपटक प्रधानमन्त्री बनिसक्नुभएका र तीनैपटक (०५३ मा गिरिजाप्रसादबाट र ०५९ तथा ०६१ मा राजाबाट) अपदस्थमा परी पदमुक्त गरिनुभएका शेरबहादुर देउवामा बहुपक्षसँग सहमति बनाउने र राजनीतिक स्थिरता कायम राख्ने सामथ्र्य रहेको यसअघि नै प्रमाणित भइसकेको छ । यदि नेपाली कांग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध प्रजातान्त्रिक पार्टी हो भने यो कुनै जात या थरविशेषको बिर्ता होइन भनेर बुझ्नुपर्ने हुन्छ र यो अहिलेसम्म कसैको बिर्ता बनिरहेको छ भने इतिहासमा बीपी कोइरालाले लागू गर्नुभएको बिर्ता उन्मूलन नीतिको कार्यान्वयन कांग्रेस पार्टीभित्र आवश्यक छ । यसपटक ‘बिर्ता उन्मूलन हुने’ अवसर बनेर तेह्रौँ महाधिवेशन आएको छ । सुशीलको निधनले कोइराला परिवारको राजनीतिलाई रक्षात्मक अवस्थामा पुर्‍याइदिएको छ । यो देशमा गणतन्त्रको घोषणापश्चात् कांग्रेस–कम्युनिस्ट आम्नेसाम्ने भएका छन् र आगामी दिनमा मुलुक, प्रजातन्त्र, विकास, समृद्धि र कांग्रेस स्वयम्का निम्ति कम्युनिस्टहरू नै चुनौती बन्ने हुन् । वर्तमानमा कांग्रेसमा उपलब्ध शीर्षस्थ नेताहरूमध्ये कम्युनिस्टसँग मुकाबिला गर्ने सामथ्र्य भएका नेताका रूपमा शेरबहादुर देउवा व्यवहारत: प्रमाणित भइसक्नुभएको छ । रामचन्द्र पौडेलमा वैचारिक मुकाबिला गर्ने क्षमता भए पनि उहाँ व्यवहारसिद्ध हुन बाँकी छ ।

कम्युनिस्टहरूले आर्थिक उदारीकरण, राष्ट्रको मौलिक धर्म, परम्परा, संस्कृति र प्रचलित प्रजातन्त्र तथा राष्ट्रका विरुद्ध पैदा गर्न सक्ने अड्चन हटाउन लिनुपर्ने जुनसुकै ‘एक्सन’ निम्ति तयार हुनुहुने देउवाको नेतृत्वमा कांग्रेसले तत्कालको चुनौतीसँग मुकाबिला गर्न सम्भव छ । देउवाको विगतले यस तथ्यको पुष्टि गरेको छ । कोइरालाहरूको घेराबाट बाहिरिने सामथ्र्य दर्शाउन पहिले नै सकेको भए रामचन्द्र पौडेलको छवि पनि देउवाको झैँ ‘बोल्ड’ देखिन सम्भव थियो । अब कांग्रेस र प्रजातन्त्र पक्षधर शक्तिसँग परीक्षण गरिरहने अवस्था र समय नभएको हुँदा मानिसको ध्यान देउवातर्फ आकर्षित भएको छ । पार्टीको नीतिगत एवम् वैचारिक स्पष्टता हुन बाँकी भए पनि देउवा आफैँमा कांग्रेसको एउटा ‘सिम्बोल’ बनिसक्नुभएकोले उहाँको नेतृत्वमा कांग्रेसले लिने दृष्टिकोणबारे स्वत: अनुमान या विश्वास गर्न सकिन्छ । तर, रामचन्द्र पौडेललाई पनि सभापतिको निम्ति अयोग्य या अनुपयुक्त भन्न सकिन्न । यो महाधिवेशनले पौडेल या देउवा जसलाई सभापति बनाए पनि पार्टीमा नयाँ गति पैदा हुने विश्वास गरिएको छ ।