गत २६ जनवरीको दिन समग्र भारत गणतन्त्र दिवस मनाइरहँदा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी भने विश्वभरका खानाका परिकारको स्वाद लिइरहेका थिए । प्रत्येक वर्ष यस विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्गठन ‘अन्तर्राष्ट्रिय विद्यार्थी सङ्घ’ले जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय खाना मेला’को आयोजना गर्ने चलन रहेको छ । मेलामा यस विश्वविद्यालयमा अध्ययनरत विभिन्न देशका विद्यार्थीले आफ्नो देश र समुदायलाई प्रतिनिधित्व गर्ने खानाको परिकारहरू पस्किने गर्छन् ।
हरेक वर्षको मेलामा नेपाली खानालाई विश्वभरिका विद्यार्थीले मीठो मानेर खाने गरेको पाइन्छ । विगत वर्षका मेलामा नेपाली खानाको परिकारहरूमा विशेषगरी पहाडी भेक र समुदायलाई मात्र प्रतिनिधित्व गर्ने खानाका परिकार म:म, छोयला, कचिला, तामाको सुप आदि राख्ने परम्परा रहेको थियो । यसपालि नेपाली विद्यार्थीले सो परम्परालाई तोड्दै समावेशी खानाका परिकार राखेका थिए । पहाडी समुदायलाई प्रतिनिधित्व गर्ने खानाको परिकारहरूमा म:म: र तामाको सुप राखिएको थियो । मुस्लिम र मधेसी समुदायका खानाका परिकारहरूमा बिर्यानी, माछाको इस्टु, चिउरा, आलु–सस्र्युंको अचार, तरुवा, गाँजा, घुघुनी, मालपुवा, ठेकुवा, मटरको अचार, सकरौरी र पान राखिएको थियो । सकरौरी र पान भने मेलाभरिकै स्वादिलो परिकारमध्येका एक रहेको थियो ।
नेपालको समावेशी परिकारहरूको स्वाद लिन भारतीय र विदेशी विद्यार्थीबाहेक नयाँदिल्लीस्थित नेपाली राजदूतावासका सम्पूर्ण कर्मचारी र भारतको औपचारिक भ्रमणमा रहेका नेपालका नागरिक समाजका अगुवाहरू दमननाथ ढुङ्गाना, विजयकान्त कर्ण, दीपन्द्र झा, तुलानारायण साह, शङ्कर लिम्बू र कृष्णराज चौधरीसमेतको उपस्थिति रहेको थियो । समावेशी परिकारहरूको स्वाद लिँदै नेपालका प्रशासनिक र सामाजिक अगुवाहरूले जेएनयूबाटै नेपालको समानुपातिक समावेशी र गणतन्त्रको सुरुवात भयो भनी प्रतिक्रिया दिँदै गरेको सुनिन्थ्यो ।
मेलाको भोलिपल्ट दक्षिण एसियाली अध्ययन केन्द्रको संयोजकत्व र तराई–मधेस अध्ययन समूहको सहकार्यमा नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन तथा अध्यक्षता प्राध्यापक संगीता थपलियालले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक अगुवा दमननाथ ढुङ्गानाले यो संविधान शासक वर्गले शासक वर्गद्वारा शासक वर्गको लागि बनाएको हो भनी ठोकुवा गर्नुभयो । साथै उहाँले यो संविधानले ‘हामी’ भन्ने भावनालाई प्रतिनिधित्व गर्न नसकेको ठोकुवा गर्नुभयो । कार्यक्रममा नेपाली र भारतीय विद्यार्थीको व्यापक उपस्थिति रहेको थियो ।
– राजेश सिंह (नयाँदिल्लीबाट)
प्रतिक्रिया