नाम कमाउन भन्दा जोगाउन गाह्रो हुन्छ- (गायक) आनन्द कार्की

नाम कमाउन भन्दा जोगाउन गाह्रो हुन्छ- (गायक) आनन्द कार्की


akarkiनेपाली सांगीतिक धरातलमा लगभग तीन दशकको सेरोफेरोमा पनि आफूलाई अग्र स्थानमा राख्दै आएका सदावहार गायक आनन्द कार्की यसबेला बेलायतका बिभिन्न स्थानहरुका सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त देखिन्छन् | बि.स. २०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी तीन हजारभन्दा बढी गीत गाइसकेकाछन् | नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ | सुमधुर स्वरका धनी आनन्द कार्कीले भारतको लखनउ तथा मुम्बईबाट संगीतसम्बन्धी शिक्षा हासिल गरेका छन् | सर्वप्रथम “जीवनमा धेरै खोला तर्नुछ ” बोलको गीत शक्ति बल्लभको संगीतमा गाएका थिए | सन् १९९९ मा लण्डनमा भएको सारेगम अन्ताक्षरीको उपाधिदेखि छिन्नलता, प्रवल गोर्खा दक्षिणबाहु लगायतका दर्जनौं पुरस्कारहरुबाट सम्मानित भइसकेकाछन् | हाल उनी बेलायत भ्रमणमा छन् तर पटक पटक नेपाल जाने कार्यक्रमलाई स्थगित गर्दै बेलायतका बिभिन्न स्थानमा गरिने सांगीतिक कार्यक्रम र भेटघाटमा ब्यस्त छन् | साेही अवसरमा गायक आनन्द कार्कीसँग गरिएको कुराकानीहरु यस प्रकार छन् |

सर्वप्रथम, तपार्इलाई यूकेले निकै मोहनी लगायो कि कसो ? लामै समय बस्नुभयो, कसरी बित्दैछ यहाँको दिनचर्या ?
आनन्द कार्की :- तपार्इले एकदमै ठीक भन्नुभयो । म यहाँ एकदम ब्यस्त भएकोछु, सांगीतिक कार्यक्रम लगायतका भेटघाटले गर्दा घुमफिर गर्ने फूर्सद पनि पाएको छैन |

खास यहाँ यसरी लामो समय बस्नुको मुख्य कारण के हो ? आर्थिक पक्ष, दर्शक स्रोताहरुको माया या दुबै ?
आनन्द कार्की :- वास्तवमा भन्नुपर्दा दर्शक र स्रोताहरुको मायाले गर्दा नै हो । यदि उहाँहरुको माया नभएको भए पटक पटक टिकट सार्दै बस्ने औचित्य नै हुनेथिएन | टेलिभिजनमा देखेको आनन्द कार्कीलाई सबैले प्रत्यक्ष्य देख्न चाहन्छन् र मैले पनि सबैको इच्छा पूरा गर्ने प्रयास गरिराखेकोछु |

कलाकारहरुले भाउ खोज्ने गर्छन् भन्ने चर्चा चल्छ नि । के छ तपार्इको धारणा साच्चिकै भाउ खोज्छन् ? को खोज्नैपर्छ ? के छ तपाईंको धारणा ?
आनन्द कार्की :- कलाकार जो कोहीले पनि ठूलो संघर्ष गरेको हुन्छ, जस्तो मेरै प्रसंगमा भन्नुपर्दा मैले २८/३० बर्ष संघर्ष गरेर बिताएकोछु, र मलार्इ कस्तो भूमिका दिने र कुन स्थानमा राख्ने भनेर आयोजक र दर्शकहरुलाई नै जिम्मा दिएकोछु | थुप्रै कार्यक्रमहरु गरेकोछु । कतिपय ठाउँमा बजेट नभएको गुनासो आउँछ त्यस्तो ठाउँमा भन्ने गर्छु । आफूले खाने खानापिनमा केही कटौती गरेर कलाकारलाई छुट्याउँदा पनि त हुन्छ नि, तर कतिपय कार्यक्रमहरु सामाजिक कार्यका लागि गरिएका हुन्छन् । त्यस्तो कार्यमा भने हाम्रो पनि दायित्व हुन्छ, त्यस्तोमा खुलेर सहयोग गर्छु र गर्नु पनि पर्छ | कलाकारको पेशाको पनि सम्मान हुनुपर्छ, दर्शकलाई मनोरंजन दिलाएबापत कलाकारले पनि केही हिंसा पाउनुपर्छ सबै कुरा दोहोरो भएमा सबैलाई राम्रो हुन्छ | नाम कमाउन भन्दा कमाएको नामलाई जोगाएर राख्न झन् गाह्रो हुन्छ | त्यसैले भाउ खोज्नुभन्दा पनि कलाकारले पनि आफ्नो इज्जत र सम्मानको ध्यान पुर्यानु पर्ने हुन्छ, दर्शक स्रोताहरु नभए हामी कलाकारको कुनै अर्थ हुँदैन, त्यसैले सबै कुरा दोहोरो हुनुपर्छ |

यस क्षेत्रमा लाग्न कत्तिको संघर्ष गर्नुपर्यो र हाल आफैमा कत्तिको सन्तुष्ट हुनुहुन्छ त यो क्षेत्रबाट ?
आनन्द कार्की :- संघर्ष त अवश्य नै गर्नुपर्छ, संघर्ष बिना सफलता पाउन सम्भव हुँदैन र त्यही संघर्षले गर्दा नै म अहिले यो ठाउँमा आइपुगेकोछु | जो मानिस संघर्ष गर्न डराउँछ उसले जीवनमा सफलता र निरन्तरता दिन सक्दैन | यस क्षेत्रमा लागेर म एकदमै सन्तुष्ट छु इज्जत छ, प्रतिष्ठा छ, देश विदेशका स्रोता दर्शकहरुले माया गर्नुभएकोछ, मिडियाहरुबाट पनि प्रशस्त सहयोग पाएकोछु | पैसा मात्र ठूलो कुरा होइन र मैले यस क्षेत्रमा लागेर जे पाएकोछु त्यो मेरो लागि पर्याप्त छ |

अब आउने बाँकी दिनहरुमा गीत संगीतको क्षेत्रभन्दा अन्य क्षेत्रमा जाने सोच राख्नुभएको छ कि छैन ?
आनन्द कार्की :- म संगीतमा हुर्केको, संगीतमै बढेको हुनाले मा संगीतकै सेरोफेरोमा रहेर काम गर्छु । भावी पुस्ताहरु बीचमा पनि आफ्नो अनुभवहरु शेयर गरेर अघि बढ्ने लक्ष्य राखेकोछु | विदेशतिर पनि शाखा खोलेर नेपाली संस्कृति, नेपाली संगीतलाई निरन्तरता दिने सोंच पनि राखेकोछु |

यसरी सफलता पाउनको लागि परिवारको भूमिका कत्तिको महत्वपूर्ण ठान्नुहुन्छ र तपाईलार्इ अघि बढ्न आफ्नी श्रीमतीको कत्तिको योगदान छ त ?
आनन्द कार्की :- यसमा परिवारको सहयोग भएन भने त अगाडि बढ्नै सकिन्न । कुनै पनि लोग्ने मानिसलाई सफलता दिलाउनुमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ | धेरैजसो समय बाहिर रहनुपर्ने हुँदा एक अर्का प्रतिको विश्वास र समझदारीको आवश्यकता पर्दछ | म अहिले महिनौं विदेशमा बसेकोछु, यदि यो कुरालाई मेरी श्रीमतीले नस्वीकारेको भए मा दर्शक स्रोताहरुको चाहना पूरा गर्न सक्ने थिइँन् होला, जुन कुरा मेरो सफलताको बाधक बन्न पुग्नेथियो | यस बिषयमा भन्नुपर्दा मलार्इ सफलतामा पुर्याउन श्रीमतीको ठूलो हात छ, मेरो प्रारम्भिक चरणदेखि नै उनको महत्वपूर्ण भूमिका रहेकोछ | यो कुरा सबैको लागि नै लागू हुन्छ, यदि घर परिवारबाट सहयोग भएन भने आफ्नो गन्तव्यमा पुग्न त्यति सजिलो हुँदैन |

निकै लामो समयदेखि यस क्षेत्रमा निरन्तरता दिँदै आउनुभएकोछ, यस बीचमा थुप्रै कलाकारहरु आउने जाने कर्म चलिरह्यो । के कुरामा ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ, आफूलाई लामो समयसम्म टिकार्इ राख्न ?
आनन्द कार्की :- सबैभन्दा ठूलो अनुशासन, इमान्दारिता र लगनशीलता नै हो | सुखमा मात्तिने र दुःखमा आत्तिने गर्नुहुन्, र मिहिनेत र परिश्रम गर्न छाड्नु हुँदैन । यति गर्न सक्यो भने पक्कै पनि आफ्नो लक्ष्य र गन्तव्यतिर निरन्तर लाग्न सकिन्छ |

सांगीतिक पृष्ठभूमिलार्इ हेर्ने हो भने कस्तो छ देश (नेपाल ) को अवस्था र यस क्षेत्रमा लाग्नेहरुको लागि विदेशमा बस्ने नेपालीहरुको भूमिका कत्तिको आवश्यक देख्नुहुन्छ ?
आनन्द कार्की :- वास्तवमा नेपालको परिप्रेक्ष्यलाई हेर्ने हो भने स्थिति एकदम दयनीय नै छ । पहिला जस्तो सीडी, भीसीडीको प्रचलन हराइसकेकोछ | म्यूजिक क्षेत्रको व्यवसाय अंगाल्ने सबैलाई कठिन परिस्थिति छ यतिबेला | अहिले कलाकारहरुको रोजीरोटी भनेकै विदेशको आम्दानी हो, जे जति भइरहेको छ, सबै विदेशमा बस्ने नेपालीहरुकै तर्फबाट भइराखेकोछ | हामी कलाकारहरुले इज्जत, सम्मान, पैसा सबै कुरा पाइराखेकाछौं | विदेशमा आउँदा आफ्नो व्यस्त समयलाई पनि मिलाएर कलाकारहरुलाई भेट्न टाढा टाढासम्म गएर सहयोग गरिदिनु भएकोछ, यसको जति नै सराहना गरे पनि कमै हुन्छ |

अन्तमा हाम्रो कुराकानीमा छुटेक र भन्नैपर्ने केही कुराहरु छन् भने राखिदिनुस् न ।
आनन्द कार्की :- सबैभन्दा ठूलो एकता हो । हामी जहाँ भए पनि सबै मिलेर एकता भएर बस्नु पर्दछ । जातभात र भेदभाव कसैले पनि गर्नुहुँदैन | आफ्नो देश नेपालप्रति सबैले माया ममता र सद्भाव राख्नुपर्दछ, एकापसमा हाँसीखुशी मिलेर बस्न सबैलाई आग्रह गर्न चाहन्छु |

[youtube]http://www.youtube.com/watch?v=Z9Aci5ZF2ns[/youtube]
प्रस्ताेताः नरेन्द्र बस्नेत बेलायतबाट