गैँडा चीनलाई, अग्निलाई ‘हात्ती’ !

गैँडा चीनलाई, अग्निलाई ‘हात्ती’ !


chimelong-ocean-kingdom

वनसम्बन्धी एक उच्चस्तरीय बैठकमा सहभागी जनाउने भन्दै गत पुस २८ देखि माघ ३ सम्म चीनको भ्रमण गरी फर्किएका वनमन्त्री अग्नि सापकोटाले ‘चीनले नेपालसँग एकजोडी गैँडा मागेको’ कुरा नेपाली मिडियामा राम्रैसँग प्रचार गराए । चीनले अचानक केका लागि गैँडा माग्यो होला भन्ने जिज्ञासा कतिपयमा पैदा भए पनि धेरैले यसलाई सामान्य विषयको रूपमा लिए । स्वदेश फर्केपछि पनि मन्त्री सापकोटाले यस विषयलाई निकै प्राथमिकता दिए र क्याबिनेटसम्म प्रस्ताव पुर्‍याउन भ्याए । यतिबेला चिनियाँ सरकारको आग्रहअनुसार नेपालले छिमेकी मुलुक चीनलाई एकजोडी एकसिङ्गे गैँडा उपहार दिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका र सोसम्बन्धी आवश्यक प्रक्रिया सुरु गर्न मन्त्री सापकोटालाई निर्देशन दिएको समाचार प्रकाशमा आएको छ । मन्त्री सापकोटाले चाहिँ गैंडा उपहार दिए चीनले भक्तपुरमा प्रस्तावित प्राणी उद्यान, विधि विज्ञान प्रयोगशाला बनाउन र वन क्षेत्रको विकासका निम्ति आर्थिक तथा प्राविधिक सहयोग गर्ने वचन दिएको अभिव्यक्ति दिँदै आएका छन् ।
Agni-Sapkota
के चीन सरकारले नेपालसँग एकसिङ्गे गैँडा मागेकै हो त ? घटना र विचारलाई यससम्बन्धी बेग्लै सूचना प्राप्त भएको छ । विश्वस्त सूत्रका अनुसार वास्तवमा चीन सरकारले नभई चीनको ग्वाङझाउस्थित ‘चिमेलोङ इन्टरनेसनल ओसियन रिसोर्ट’ नामक एक अन्तर्राष्ट्रियस्तरको पर्यटन व्यवसायमा संलग्न व्यावसायिक कम्पनीले आफ्नो सफारी क्याम्पको रौनक बढाउनका निम्ति गैँडा खरिद गर्न लागेको हो । सो कम्पनीले निकै अघिदेखि नेपालबाट गैँडा हासिल गर्न प्रयास गर्दै आएको स्रोतको दाबी छ । यसअघिको सरकारमा वनमन्त्री रहेका महेश आचार्यसम्म पनि यो प्रस्ताव पुर्‍याइएको थियो । तर, आचार्यले यसप्रति खास ध्यान नदिएकाले यो विषय पेन्डिङमा रहेको थियो । यसबीच जाउलाखेलस्थित सदर चिडियाखाना (जू) का कर्मचारीहरूदेखि वन मन्त्रालयसम्बद्ध अन्य उच्चपदस्थलाई पनि चिनियाँ कम्पनी चिमेलोङले सम्पर्क गरिरह्यो । जब वनमन्त्रीमा एमाओवादीका अग्नि सापकोटा नियुक्त भए, उनलाई प्रभावमा पारेर गैँडा हासिल गर्ने चिमेलोङको प्रयत्न फेरि बौरियो । यहाँनेर ख्याल राख्नुपर्ने कुरा के छ भने ‘चीन’ले नभई ‘चिमेलोङ’ले गैँडा मागेको र त्यसबापत लगभग २० करोड रकम उपलब्ध गराउन कम्पनी तयार छ । हो, यही तथ्य ढाकछोप गरी केवल ‘चीनले गैँडा मागेको’ र यसबापत चीनले भक्तपुरमा बन्ने प्राणी उद्यानमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने कुरा मात्र विशेष तवरमा उछालिएको छ ।

अब प्रश्न उठ्छ, कुनै व्यावसायिक कम्पनीले आफ्नो उद्यानको रौनक बढाउनका खातिर गैँडा खरिद गर्न लागेको कुरा ढाकछोप गरी चीन सरकारलाई नै उपहार प्रदान गर्न लागिएको प्रचार गरेर त्यसबापत उपलब्ध हुने करोडौँ रकममाथि लामो हात गर्न को–को लागिपरेका छन् ? वनमन्त्री सापकोटालाई पनि कुनै व्यक्ति या समूहले गुमराहमा पारेको हो कि उनी आफैँ गैँडा उपहार दिएर ‘हात्ती’ हासिल गर्न उद्यत् रहेका हुन् । उनका ‘कति हामीले मात्र माग्ने, हामीले पनि त चीनलाई केही न केही त दिनुपर्‍यो नि’ भन्ने अभिव्यक्ति सुन्दा त ‘चीन’को नाममा ‘चिमेलोङ’लाई दुर्लभ एकसिङ्गे गैँडा बेच्न उनी स्वयम् उद्यत् रहेको आशङ्का स्वत: पैदा हुन्छ । यसबारे आवश्यक बुझबुझारथ गरेर मात्र चीनलाई गैँडा प्रदान गर्नुपर्ने सम्बन्धित विज्ञजनको सुझाव छ । उपहारका नाममा दुर्लभ गैँडा बेच्ने प्रक्रियामा अब ओली सरकार यत्तिकै अघि बढ्छ या आवश्यक अनुसन्धान गरेर मात्र निर्णय दिन्छ, प्रतीक्षाको विषय बनेको छ ।