ओली अलमलिँदा नवीनालाई मार

ओली अलमलिँदा नवीनालाई मार


Nabina-Lama-www.gorkhalinews
केपी ओली सरकारको असफलताको मार उनकै विद्यार्थी कार्यकर्ताले व्यहोर्ने स्थिति निर्माण भएको छ । अनेरास्ववियुको आसन्न २२औँ महाधिवेशनका लागि अध्यक्षको एउटा उम्मेदवार टुङ्गो लगाउन नसकेर अहिले देशभरि ओली पक्षधर विद्यार्थी कार्यकर्ता अन्योलमा छन् भने अर्कातिर सोही महाधिवेशनलाई लिएर गुटभित्रै स्पष्ट दुई धार बन्दा प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन् ।

माधव नेपाल पक्षबाट दीपक गौतम अध्यक्षका एक्ला दाबेदारका रूपमा मेचीदेखि महाकालीसम्म पुगिसकेका छन् । तर, ओलीले ऐनबहादुर महर र नवीना लामामध्ये एकको टुङ्गो नलगाउँदा चुनावी माहोल निर्माणमा समस्या आएको बुझिन्छ । स्वभावैले विद्यार्थी प्रतिपक्षी मानसिकताका हुन्छन् । त्यसमाथि देशलाई ‘दाउरे युग’मा पुर्‍याउनेदेखि हास्यव्यङ्ग्य गर्दै चलाउन खोज्ने सरकारप्रति युवाजमात्मा व्यापक असन्तुष्टि पैदा भएको छ । त्यस्तो असन्तुष्टिको मात्रा एमालेकै विद्यार्थी जमात्मा बढेको छ । देशभरबाट साढे १४ सय प्रतिनिधि छानिँदा ओली पक्षधर भनी चिनिएका विद्यार्थीको सङ्ख्या पाँच सयभन्दा बढी नाघ्न सकेको छैन । अखिलमा माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री छँदा भएका महाधिवेशनमा ती नेताका गुटले चुनाव हारेको इतिहास छ । यसपटक ओली प्रधानमन्त्री हुनाले मात्रै होइन, गुटभित्रको झगडासमेत थपिँदा स्थिति दयनीय बनेको हो ।
रामकुमारी झाँक्रीपछि अखिलमा दोस्रो महिला अध्यक्ष हुने ऐतिहासिक अवसर पाएकी नवीना लामाले गुटकै झगडाका कारण गुमाउने अवस्था निम्तिएको अखिलसम्बद्ध विद्यार्थीको कथन छ ।
Dipak-Nabina
ऐनबहादुर महरका पक्षमा गुटका अधिकांश नेता रहनु र नवीना एक वर्षदेखि मात्र गुटमा आबद्ध हुनुका कारण उनी यस्तो समस्यामा पर्न लागेकी हुन् । अर्कातिर उनी अध्यक्षकै उम्मेदवार बनिन् भने पनि प्रतिनिधि छनोटबाटै बिग्रिएको माहोल कुनै आश्चर्य भएन भने सुध्रिने सम्भावना नरहेको बताइन्छ । उनको राजनीतिका अग्रज सहयात्री मानिने रामकुमारी झाँक्रीलगायतका महिला अगुवा यतिबेला दीपक गौतमको पक्षमा खुलेर लागेका छन् । उनैले विकास गरेर ल्याएकी भक्तकुमारी लामा र राधिका खतिवडाहरू पनि दीपक गौतम प्यानलबाट उपाध्यक्ष र महासचिवका उम्मेदवार छन् । एउटा पक्ष आफ्ना नीति र कार्यक्रम बोकेर देशभरका प्रतिनिधिमाझ पुगिसक्दा उम्मेदवारीको टुङ्गो नलागेका कारण नवीना र ऐन कहिले बालुवाटार त कहिले शीतलनिवासको फन्को लगाउनमै व्यस्त छन् ।

अध्यक्षका प्रत्याशी दीपक गौतमले आफू अहिले आफ्ना मान्यताहरू तल्लो तहसम्म पुर्‍याउने र अध्यक्षको दाबेदारीबारे स्पष्ट पार्नमै व्यस्त रहेको बताएका छन् । उनले भने, ‘विवेकपूर्ण ढङ्गले नेतृत्व चयन गर्न सकेमा विद्यार्थी आन्दोलनलाई गति प्रदान गर्न सकिने कुरामा दुईमत छैन । शैक्षिक नीति, राष्ट्रियताको सन्दर्भ, उत्पादनसँग जोडिएका कार्यकर्तापङ्क्तिको निर्माण हाम्रासामु रहेका महत्त्वपूर्ण कार्यभार हुन् । यिनै चुनौतीलाई बोक्न सक्षम नीति र सबल नेतृत्व चयनसँगै २२औँ महाधिवेशनको सफलतामा जुट्नु अहिले हाम्रो मुख्य दायित्व हो ।’