एयरपोर्ट भन्सारमा जरो गाड्ने जवान !

एयरपोर्ट भन्सारमा जरो गाड्ने जवान !


एयरपोर्ट भन्सार
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नियुक्त हुनासाथ देशभरबाट घुमुवा हटाउने उद्घोष गरे पनि उनको त्यो उद्घोष पानीका फोकाजस्तै भएको छ । नेपाल प्रहरीभित्र कार्यालयप्रमुखले घुमुवा राखेर असुली गर्ने परम्परा पुरानै भए पनि विगत लामो समयदेखि पत्यारै नलाग्ने गरी एक जवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तर मारिरहेका छन् । सामान्यता दुई वर्ष सरुवा भएर झिटिझाम्टा बोक्नुपर्ने प्रहरीका अधिकृतहरू दर्जनौँ फेरबदल हुँदासमेत वीरगन्ज दरबन्दी भई विगत नौ वर्षदेखि एयरपोर्टको घुमुवा रहेका जितेन्द्र महतो कसको छत्रछायामा त्यहाँ अडिएका छन्, त्यहाँका अधिकृतहरू नै अनविज्ञ छन् । नौ वर्ष लामो अवधि एयरपोर्टमै बसेर झन्डै पाँच करोडजतिको सम्पत्ति जोड्न सफल महतोको जसोतसो काज फिर्ता भए पनि उनी १५ दिनभित्रै त्यहीँ आउने गरेको बताइन्छ ।

एयरपोर्टमा सबैभन्दा जोखिमपूर्ण र अवैध काम हुने स्थानका रूपमा प्रस्थान कक्षलाई लिइन्छ । तर, सुराकी गर्नुपर्ने घुमुवा महतो भने प्रस्थान कक्षलाई कर्केनजरसम्म पनि नलगाई ड्युटी अविधिभर भन्सारतिरै रुमलिने गरेका छन् । प्राप्त समाचारअनुसार महतोलाई सुरुका दिनमा त्यहाँ ल्याउने अधिकृत रिटायर्ड लाइफ बिताउँदै छन्, तर उनी कसको कृपाबाट त्यहीँ बसेका हुन्, खोजीको विषय भएको छ । एयरपोर्टमा उच्चस्तरका प्रहरी कर्मचारी थचक्क बस्न पाउँदैनन्, उनीहरू हरदम दौडादौडीमै हुन्छन् । तर, जवान महतो भने दिनभर महँगो मोबाइलमा गफिँदै भन्सारकै वरिपरि भेटिन्छन् । त्यहाँ कार्यरत एक जुनियर अधिकृतले जनाएअनुसार महतोको नौ वर्षदेखिको एयरपोर्ट जरागडाइले उनी चानचुने होइनन् भन्ने ठानी हाकिमहरूले त्यति चासो दिँदैनन् ।

एयरपोर्ट भन्सारको अवैध आम्दानीमा रमाइरहेका प्रहरी जवान जितेन्द्र महतोलाई प्रधान कार्यालयको नेतृत्वकर्ताबाट संरक्षण त भएको छैन ? एक प्रहरी प्रश्न गर्छन् । दर्जाले उनी जवान भए पनि उपत्यकाका प्राय: सबै व्यापारीसँग हिमचिम भएका महतोको चुरीफुरी हेर्न लायककै हुने बताइन्छ । भन्सारका कर्मचारीले पनि महतोको निरन्तरता र दिनभर आँखा झिमिक्क नपारी भन्सारमै बसेको देख्दा त्यहीँकै लागि खटाइएका प्रहरी होलान् भन्ने गरेका छन् । एउटा जवानस्तरको कर्मचारीलाई नौ वर्षसम्म एकै ठाउँ घुमुवाको रूपमा देख्नेहरूले अख्तियारको आँखा उच्चस्तरको कर्मचारीमाथि पर्ने भएर होला उनी आफ्नो धन्धामा नियमित लागिरहेको बताउँछन् ।

– नवीन शर्मा पण्डित, काठमाडौं