ओलीले मनपरी ‘मन्त्री’ बाँड्दा झलनाथलाई पीएको अभाव

ओलीले मनपरी ‘मन्त्री’ बाँड्दा झलनाथलाई पीएको अभाव


JN-khanal
देशकै दोस्रो ठूलो दलको महासचिव, अध्यक्षदेखि मुलुककै प्रमुख कार्यकारी पद प्रधानमन्त्रीसम्म बनेका र हाल सत्ताको नेतृत्व गरिरहेको दलले पनि ‘वरिष्ठ नेता’को दर्जा दिएको हाइप्रोफाइल व्यक्ति यतिबेला साथमा एउटा पीएसम्म पनि नपाएर पिरिइरहेका होलान् भनी सोच्न सकिन्न । तर, मौका परे अझै प्रधानमन्त्री र राष्ट्रपतिजस्ता ओहोदामा आसीन हुन्छु भन्दै राजनीतिमा सयमा सय नै सक्रिय रहेका एमाले नेता झलनाथ खनाल एउटा पीएसम्मले पनि नपत्याएको नियति भोग्न विवश बनेका छन् ।

कुनै बेला आफूले निकै स्नेह र विश्वास गरेर पीए बनाएका दीपकचन्द्र अमात्यलाई सुशील कोइरालाको पालामा खनालले नै विशेष पहल गरी मन्त्री बनाइदिए । आफूसँग रहेका विभिन्न ‘मालदार’ योजनालाई कार्यान्वयनमा ल्याएर यसो भविष्यको जोगाड गरौँला भन्ने सोचका कारण आफ्ना ‘एस म्यान’को रूपमा चिनिएका र पीएसमेत रहेका अमात्यलाई खनालले पर्यटनमन्त्री बनाएका थिए । तर, मन्त्री भएपछि उद्देश्य पूर्तिमा ढाल बनिदेलान् भन्ने ठानिएका अमात्यले उल्टै खनालका चालकलाई नै आफ्नो पीए बनाएर लगिदिए । लामा थरका ती चालक आफ्नो पूर्वपीएकै पीए बन्न पुगेपछि निकै समय पीएबिना नै काम चलाएका खनालले पछि निकै प्रयास गरेर अर्का एक युवकलाई पीए बनाएर निवास भित्र्याएका थिए । तर, बल्लतल्ल जोगाड गरेको उक्त पीएमाथि पनि आफ्नै पुत्रको नजर लाग्यो । बाबुले पीए बनाएर ल्याएका पात्रलाई छोरा निर्भीकले हितैषी ‘दोस्त’ बनाएर बोक्न थाले । खनाल फेरि पनि हेरेको हेर्‍यै भए । यतिबेला एमालेबाट खास जिम्मेवारी नपाएका नेता माधव नेपालसँग त बरु पीएको जिम्मेवारी निर्वाह गरिदिने तीन–चारजना छन् । नेपाललाई भेट्ने पार्टीइतर र भितरका मानिसको लाइन नै लागिरहेको हुन्छ । तर, हेर्दै खाइलाग्दा खास नेता देखिने खनालकहाँ भने न भेटघाट र चाकडी गर्नेको लर्को छ न त भेटघाटको चाँजोपाँजो मिलाइदिने कुनै एउटा पीए नै ।

नपत्याउँदानपत्याउँदै र नचाहँदानचाहँदै केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको कुर्सीसमेत कब्जा गरिदिएपछि आफूलाई एमालेको ‘प्राण’ नै ठान्ने खनालजस्ता नेता एकप्रकारले पाखा परेका छन् । खनाल त विरोधी गुटका परे, लौ पाखा पर्नु पनि स्वाभाविकै होला, तर ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाउन मरिमेटेर लागेका वामदेव गौतमको समेत यतिबेला बिल्लीबाठ भएको एमाले स्रोतको कथन छ । आफूलाई निकै शक्तिशाली र किङमेकर ठान्ने गौतम यतिबेला प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीबाट अपमानको यस्तो घुट्का पिइरहेका छन् कि हिजो ओलीलाई उकास्न आफूले दिएको साथ–सहयोग सम्झिँदा वामदेवलाई कामज्वरो नै छुट्ने गरेको उनका एक निकटस्थ कार्यकर्ता दाबी गर्छन् । आफूले चाहेको एउटै व्यक्तिलाई पनि मन्त्री त के सहायकमन्त्रीमा समेत ओलीले नियुक्ति नदिएपछि ओलीप्रति मुर्मुरिनुभन्दा पनि ‘किन चाउरिस् मरिच आफ्नै रागले’ भन्ने उक्ति लागू हुने अवस्थामा पुगेका छन् वामदेव अहिले । पार्टीमा दुई–चारजनालाई ठेलपेल गरेरै पनि मन्त्री बनाउने हैसियत राखेका व्यक्तिलाई को मन्त्री बन्यो भनी सञ्चारमाध्यम वा पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने हैसियतमा ओलीले ओरालिदिएको चर्चा एमाले कार्यकर्तापङ्क्तिमा यतिबेला चल्ने गर्छ ।

उता ओली भनेपछि हुरुक्कै हुने बुद्धिजीवी छवि बनाएका प्रखर युवा दयालबहादुर शाहीलगायत जेन्युइन एमाले नेता–कार्यकर्ताहरूलाई पनि ओलीले ‘आकाशमै उडुँ कि रानीपोखरीमा डुबौँ’को मानसिकतामा पुर्‍याइदिएका गाइँगुइँ एमालेभित्र सुनिन्छ । जनसम्पर्क सल्लाहकार या विज्ञका रूपमा बालुवाटार भित्र्याउने वचन ओलीबाट पाएर नियुक्तिको प्रतीक्षामा आँखा तान्दातान्दै शाहीजस्ता सोझा र इमानदार व्यक्तिले युवा सङ्घको अध्यक्ष बन्न आपसमा हातहालाहाल समेत गरेर चर्चामा आएकी निरु पाललाई सो दर्जामा ओलीले बालुवाटार प्रवेश गराएको खबर सुन्नुपर्‍यो । शाही त एक नमुना पात्र मात्र हुन्, प्रधानमन्त्री ओलीबाट उनीझैँ ठगिएका कार्यकर्ता एमालेभित्र कति छन् कति !

आलाकाँचा व्यक्तिलाई ‘वरिष्ठ’ र ‘विज्ञ’ भन्दै मनपरि ढङ्गले सल्लाहकार नियुक्त गरेर यतिबेला प्रधानमन्त्री ओलीले जग हसाउने काम मात्र नगरी आफैँलाई समेत खिल्लीको पात्र तुल्याइरहेका छन् । एमालेभित्रको ठूलो पङ्क्ति प्रधानमन्त्रीसमेत रहेका पार्टीअध्यक्षको तालमाल देखेर अहिले रनभुल्ल परिरहेको छ । प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिँदा ओलीले आफूलाई कुन धरातलमा पाउलान् भन्ने जिज्ञासाले भन्दा पनि उनका शुभचिन्तकहरू एमाले नामक दललाई नै ओलीको बोलीले अवसानको डोली चढाइदिने त होइन भनी चिन्ता व्यक्त गर्न थालेका छन् ।