ठट्टैठट्टामा देशको समय बर्बाद गर्दै ओली

ठट्टैठट्टामा देशको समय बर्बाद गर्दै ओली


प्रधानमन्त्रीको क्रियाकलाप देखेर चिकित्सकहरू चिन्तित
K-P-Oli
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयताका तीन महिनामा जनताले इतिहासमै सर्वाधिक सास्ती व्यहोर्नुपरेको भए पनि प्रधानमन्त्रीले बेलाबखत दिने अभिव्यक्तिले भने आमनेपालीलाई मनोरञ्जन दिने गरेको छ । नाकाबन्दीका कारण इन्धनको चरम अभाव भएका बेला सहरमा मेट्रो, विद्युतीय रेल र केबलकार निर्माण गरिने सार्वजनिक वक्तव्य दिएर मूल समस्या समाधानप्रति उदासीनता देखाउने उहाँले दुई महिनाअघि एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने घोषणा गर्नुभएको थियो । खाना पकाउन प्रयोग हुने ग्यासको अभावले जनता आक्रान्त भएपछि ओलीले घर–घरमा पाइपलाइनबाटै ग्यास वितरण गरिने जानकारी आमजनतालाई दिनुभएको छ । कहिले फोहोर र हावाबाट बिजुली उत्पादन गर्ने त कहिले चीनबाट पाइप बिछ्याएर तेल ल्याउने गफ दिने प्रधानमन्त्री ओलीले बितेका तीन महिनाभित्र केही ‘ठोस काम’ गर्नुभएको छ भने त्यो ठट्टा नै हो, उहाँले ख्यालठट्टैमा देशको समय बर्बाद गरिरहनुभएको छ ।

kpoli
त्यसो त ठट्टा नै गरे पनि उहाँले गर्नुभएका कुरा पूराका पूरा गलत भने होइनन् । विद्युतीय रेल, केबलकार र मेट्रो निर्माण, हावा र फोहोरबाट विद्युत् उत्पादन तथा पाइपलाइनबाट ग्यास वितरण गर्नेजस्ता कार्य कठिन भए पनि असम्भव भने होइन । तर, देश अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यस्तो स्थितिमा विद्युतीय रेल, हावाबाट विद्युत् उत्पादन र पाइपलाइनबाट ग्यास वितरण गर्ने कुरा गर्नु भनेको तात्कालिक समस्याबाट भाग्न खोज्नु र जनतालाई भुलभुलैयामा राख्ने प्रयास गर्नु मात्र हो भन्ने स्पष्ट बुझिन्छ । प्रधानमन्त्रीका रूपमा केपी ओलीले आफ्नो ‘हनिमुन पिरियड’ ठट्टा र गफ दिएर बिताउनुभएको छ ।

ओलीका कार्यशैली र सोचको अध्ययन गर्दा उहाँबाट समस्या समाधानमा कुनै प्रकारले पनि योगदान पुग्ने विश्वास गरिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भारतको भ्रमणको निम्ता दिनुहुँदा ओलीले फकार्उनुभएको जवाफलाई पनि स्वाभाविक मानिएको छैन । भारत जान नाकाबन्दी हट्नुपर्छ भन्ने सर्त राख्नुले ओलीमा कूटनीतिक व्यवहार र क्षमता नभएको मात्र पुष्टि गरेको छैन, विद्यमान समस्या समाधानप्रति उहाँ किञ्चित चिन्तित र गम्भीर हुनुहुन्न भन्ने पनि सिद्ध गरेको छ ।

ओलीले सल्लाहकारका रूपमा आफ्नावरिपरि बिनाहैसियतका मानिसको भीड लगाउनु, संविधानको भावनाविपरीत मन्त्रिमण्डलको आकार बढाउनु, मन्त्रिमण्डलमा जस्ता पायो त्यस्तै व्यक्तिहरूलाई सामेल गर्नु, इतिहासमै सबभन्दा ठूलो सङ्ख्यामा उपप्रधानमन्त्रीहरू बनाउनु र आफैँले बनाएका उपप्रधानमन्त्रीहरूको अपमान हुने प्रकारले अभिव्यक्ति दिनु, राजा सुरेन्द्र शाहले झैं जतिबेला जे मन लाग्छ त्यही गर्दै जानु, पार्टीभित्र र बाहिरका विपक्षीहरूसँग शत्रुलाई झैँ व्यवहार गर्नु, कसैका कुरा नसुन्नु र कोही भेट हुँदा एकोहोरो आफैँ मात्र बोलिरहनु, बोलीमा अहङ्कार, दम्भ र असन्तुलन प्रकट हुनुले केपीबाट राज्य सञ्चालन हुन नसक्ने स्पष्ट गरिसकेको छ । छिमेकी मित्रराष्ट्र भारतसँग बिग्रिएको असमझदारी हटाउन कुनै पहल नगरी भारतको विकल्प चीनलाई बनाउने बताउनु, तर चीनबाट पनि खासै कुनै ठोस सहयोग प्राप्त गर्न नसक्नुले केपी ओली कामका मानिस नभई कुराको र केवल कुरैको मात्र मान्छे भएको पनि सिद्ध भइसकेको छ ।

कुनै हास्य कलाकारले झैँ केवल हँसाउने मात्र भूमिका निर्वाह गरिरहँदा यतिबेला सिंहदरबार र बालुवाटार प्रधानमन्त्रीको कार्यालय र निवासस्थानभन्दा बढी रङ्गमञ्च झैँ देखिन थालेको छ । प्रधानमन्त्रीका रूपमा ओलीले जिम्मेवार भूमिका निर्वाह गर्न नसकेकाले जनतामा निराशा बढेको छ । तर, ओली भने सधैँ प्रसन्न मुद्रामा प्रस्तुत हुने गर्नुभएकोले उहाँमा जनताले भोगिरहनुपरेको सङ्कटप्रति कुनै प्रकारको संवेदना नरहेको महसुस गर्न थालिएको छ । ओलीको समग्र क्रियाकलाप, अभिव्यक्ति, सोच र शैलीलाई नजिकबाट नियाल्ने कतिपय चिकित्सकहरूले उहाँमा ‘मेगालोमानिया स्टेरोइड इफेक्ट’ देखिन थालेको भनी टिप्पणी गर्न थालेका छन् । कारण जे भए पनि केपी ओली सत्तामा रहिन्जेल देशले निकास नपाउने र जनताले राहत प्राप्त गर्न नसक्नेचाहिँ निश्चित भएको छ ।