सिंहदरबार घेर्ने तयारीमा खेलाडी

सिंहदरबार घेर्ने तयारीमा खेलाडी


Nepal Dasarath Rangashala
१२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सरकारले अहिलेसम्म बजेट उपलब्ध नगराएपछि खेलाडीले रोष प्रकट गरेका छन् । छनोट प्रतियोगिताअघि नै सरकारले बजेट दिने प्रतिबद्धता जाहेर गरेको थियो । तर अहिले बन्द प्रशिक्षणको समय गुज्रिसक्दा पनि सरकारले बजेटबारे कुनै चासो नदेखाएपछि १२औँ सागमा नेपालको सहभागिता अन्योलमा परेको छ । सरकारले बजेटबारे आनाकानी गरेपछि अहिले खेलकुदमा सन्त्रास छाएको छ भने सरकारको यस्तो व्यवहारमा षड्यन्त्रको गन्ध आएको छ । पूर्वाञ्चलमा यही मङ्सिरमा आयोजना हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई अन्तिम समयमा सरकारले बजेट नदिएकै कारणले फागुनमा सार्नुपरेको थियो । अब राष्ट्रिय प्रतियोगिता उक्त समयमा हुन्छ या हुँदैन त्यो पनि शङ्काको घेरामा परेको छ ।

सरकारले बजेट नदिए पनि यतिबेला १२औँ सागमा छनोट भएका खेलाडी स्वदेशमै बन्द प्रशिक्षणमा छन् । सम्भावित पदक जित्ने खेलका खेलाडीलाई विदेशमा प्रशिक्षण गराउने तयारी राष्ट्रिय खेलकुद परिषद्ले गरे पनि बजेट अभावकै कारण उनीहरूलाई काठमाडौं, पोखरा, धरान, नेपालगञ्ज र विराटनगरमा सीमित गरिएको छ । स्मरण रहोस्, छनोट प्रतियोगिता सकिएलगत्तै तेक्वान्दोलाई कोरिया, उसुलाई चीन, बक्सिङलाई थाइल्यान्ड र अन्य केही खेलका लागि भारतमा लगेर प्रशिक्षण गराउने राखेपको योजना थियो । त्यो योजनामा सरकारले तुषारापात गरे पनि बास्केटबलका खेलाडीहरू भने वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड पुगेका छन् । १२औँ सागमा सम्भावित स्वर्ण पदकका प्रमुख दाबेदार खेलहरू तेक्वान्दो, उसु र ट्राइथलनका खेलाडीहरू काठमाडौं र पोखरामा सीमित भएका छन् । सरकारको यस्तो रवैयाले सन्निकट आएको सागमा नेपाली खेलाडीले कस्तो प्रदर्शन गर्लान् सोझै अड्कल काट्न सकिन्छ ।

सरकारको असहयोगले सीमा नाघेपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष तथा सागका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले परराष्ट्रमन्त्री कमल थापासँग सागमा नेपालको सहभागिताको सुनिश्चितता र बजेटका लागि गुहार मागेका थिए । परराष्ट्रमन्त्री थापाले सागमा नेपालको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्ने बताए पनि थापाको प्रतिबद्धताले पनि खासै रंग ल्याउन सकेको छैन । तसर्थ सरकारको यस्तो गैरजिम्मेवार हर्कतबाट कायल भएका खेलाडीहरूले टुँडिखेलमा गएर सरकारबिरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् । प्राप्त जानकारीअनुसार यो साताभित्र पनि सागका लागि तोकिएको बजेट नआए सिंहदरबारदेखि राखेप घेर्ने तयारीमा खेलाडीहरू रहेको बुझिन्छ । यसका लागि बन्द प्रशिक्षणमा रहेका सम्पूर्ण खेलाडीलाई उतारिने सूत्रको दाबी छ । साथै १२औँ सागमा सहभागिता नजनाउने पनि उनीहरूले चेतावनी दिएका छन् ।

राखेपले बजेट माग्दा सरकारले नदिएपछि खेलाडीले बजेटका लागि गिडगिडाउनु अहिले लाजमर्दो भएको छ । खेलाडीले खेल्ने हो कि सरकारसँग बजेट माग्ने हो ? त्यो गम्भीर र सोचनीय बनेको छ । यस्तो वातावरणको सिर्जना गर्ने सरकार खुद जवाफदेही हुनुपर्नेमा मुलुकको विषम परिस्थितिको बहनामा आफ्ना गल्ती लुकाउने प्रयासमा लागेको छ । नेपालले शुभारम्भ गरेको र नेपालले स्वर्ण पदक जित्नसक्ने प्रतियोगिताका लागि सरकार आफैं सम्वेदनशील हुनुपर्नेमा अनाहकमा खेलाडीलाई मानसिक तनाव दिने कार्य गरेको छ । खेलाडी बन्द प्रशिक्षणमा रहे पनि उनीहरूमा देशका लागि खेल्नुपर्छ भन्ने भावना उत्पन्न हुन सकेको छैन । तसर्थ १२औँ सागका लागि अन्तिम समयमा सरकारले बजेट दिए पनि त्यसले खेलाडीको मानसिक उपचार गर्ने देखिँदैन । स्वर्ण पदक जित्ने निकै झिनो सम्भावनाका साथ सागमा सहभागिता जनाउने प्रयासमा रहेका खेलाडीले यसपटक स्वर्ण जिते आफ्नै पुरुषार्थमा जित्नेछन्, सरकारले यसको कुनै जस पाउने स्थिति छैन ।

– श्रीविक्रम भण्डारी