सत्ताको मोलमा एजेण्डाको विसर्जन

सत्ताको मोलमा एजेण्डाको विसर्जन


:: स्वयम्भूनाथ कार्की
Shoyembhu nath Karki

पछिल्ला ६ संविधानलाई जनताको अपनत्व नभएको आरोप लागेको थियो । नेहरूले अङ्ग्रेजीमा तयार गरेर बीपीको संलग्नतामा अनुवाद गरिएको राजा त्रिभुवनको घोषणामा उल्लेख भएको संविधानसभाले ५६ वर्षपछि मूर्तरूप लियो । यो संविधानसभाको प्रक्रियासँगै संविधान सबै रोगको रामवाण दबाई हो भन्ने कुरा जनताको मस्तिष्कमा घुसाइयो । जे–जसरी भए पनि संविधानसभाले संविधान जारी गरेर आफू व्यवस्थापिका–संसद्मा रूपान्तरण भएको छ । यो व्यवस्थापिका–संसद्को आयु संविधान जारी भएको मितिले हिसाब गर्दा जम्माजम्मी आठ सय ५४ दिन रहेको छ ।

संविधान जारी भएको डेढ महिना काट्न लाग्दा पनि शान्ति सुव्यवस्थामा सुधार हुनुको साटो झन् खराब हुँदै गएको छ । जादुको छडीले जस्तै संविधानले सबै समस्या छुमन्तर गर्ने छ भन्ने बुझाइएकोमा त्यसको हुँदा अवज्ञा नगरेरै पनि संविधानलाई माया गर्ने क्रम विस्तारै कम हुँदै छ । यो संविधानले कुनै किसिमको परिवर्तन गरेको अनुभूति कसैलाई पनि भएको छैन । केही परिवर्तन छ भने त्यो आफ्नो कष्टको मात्रामा वृद्धि मात्र छ । त्यसमाथि सत्ताप्राप्तिको निमित्त बनेको असम्भवप्राय: गठबन्धन कसैले पनि पचाउन सकेका छैनन् ।
यो आठ सय ५४ दिनको समय यसै संविधान अनुसार सङ्क्रमणकाल हो, संवैधानिक सङ्क्रमणकाल । यो समय छिट्टै सक्नचाहिँ मिल्ने प्रावधान छ, तर थप्ने कुनै प्रावधान छैन । यो कालको शासन–प्रशासन सञ्चालन गर्न आवश्यक कुराहरू संविधानको भाग ३३ मा राखिएको छ । यस भागमा सङ्क्रमणकालमा मात्र प्रयोग हुनसक्ने बाधाअडकाउ फुकाउने अधिकारले सङ्क्रमणकालमा संविधान संशोधन नहुने र सङ्क्रमणकाल सकिएपछि बाधाअडकाउ फुकाउने अधिकार प्रयोग नहुने आशय धारा ३०५ ले व्यक्त गरेको छ ।

आन्दोलनको सुरुदेखि नै अलग धार बोकेको भनिएको राप्रपा नेपालले आफ्नो सिद्धान्त र लक्ष्यलाई तिलाञ्जली दिएर आत्मसमर्पण गरिसकेको छ । अब यो त राप्रपा नेपालका कार्यकर्ताले नै निर्णय गर्ने कुरा हो कि यो आत्मसमर्पण सिङ्गो दलको हो वा केही नेताको । राप्रपाबाट फुटेर आउँदाको कमल थापाको कद अहिलेको माउ पार्टीका वरिष्ठ र खारिएका नेताहरूको भन्दा ठूलो भएको छ । यो केवल राप्रपा त्यागेको सिद्धान्त र लक्ष्य अपनाएको कारण मात्र भएको हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । बारम्बार नेपाली काङ्ग्रेसलाई बीपीको सिद्धान्त छोडेको आरोप लगाइरहने कमल थापाले अब भन्ने कुरा अनुमान गर्न सकिन्छ । उनले भन्नेछन्– हाम्रो एजेण्डा स्थापित गर्न आवश्यक सङ्ख्या थिएन । फेरि प्राप्त परिस्थितिमा अधिकतम् लाभ लिएको कुरा पनि आउने नै छ । उनको यो दाबीलाई राप्रपा नेपालका सात लाख मतदाताले त पत्याउने आधार छैन नै, विरोधीहरूले पनि पत्याउने छैनन् । यो माओवादीले भन्ने गरेकोजस्तो प्राप्त उपलब्धि उपयोग गरेर थप सङ्घर्षको बाटो खुल्ला राखेकोजस्तो रहेको छैन ।

माओवादीले सुरुदेखि हालसम्म आफ्नो आधारभूत कुरा छोडेको छैन । लागू गर्न नसकेको अवस्थामा बहुमत स्वीकार गरे पनि आफ्नो विपरीत कार्यमा भाग लिएको छैन । माओवादीबाट पद पाएका कसैले ईश्वरको नाममा शपथ पनि लिएका छैनन् । आन्दोलनपछि सत्ता साझेदार हुन आउँदा पनि उनीहरू ०४७ को संविधानअनुसारको प्रतिनिधिसभामा आएनन् । परिस्थितिको उपयोग गर्ने नाममा उनीहरूले बोकेको सिद्धान्तमा आत्मसमर्पण कहिल्यै गरेनन् ।

हो, राप्रपा नेपालको सङ्ख्या कम थियो, तर त्यो आफ्नो लक्ष्यविपरीत भएको कुरालाई सर्वसम्मत हुन नदिन पर्याप्त थियो । अलग धारको अस्तित्व जीवित देखाउनेसम्म मात्रको जिम्मेवारी मतदाताले राप्रपा नेपाललाई सुम्पेका थिए । सङ्घीयताको विरोध आफ्नो लक्ष्य बनाएका कमल थापाले त्यो सङ्ख्याले सङ्घीयता रोक्न त सक्ने थिएनन् । तर, वार्ताटोलीमा बसेर प्रान्तको सीमा निर्धारण गर्ने वार्ता गरिसकेपछि उनले भविष्यमा पर्याप्त स्थान हासिल गरेर आफ्नो कुरा लागू गर्नेछन् भनेर मान्न सकिने कुरा होइन ।

संविधानमा समेत धर्मनिरपेक्षताको स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण उल्लेख भएको बेलामा फूलपातीको परम्परा तोडियो । सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको लक्ष्य बोकेको दलको अध्यक्ष उपप्रधानमन्त्री भएको बेलाको यो घटनालाई के भन्ने ? के यो राप्रपा नेपालले हिन्दूराष्ट्रको आफ्नो एजेण्डा विसर्जन गरेको होइन र ? राजासहितको प्रजातन्त्रको नारा घन्काउने राप्रमा नेपाल राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनु नै पनि यो एजेण्डाको विसर्जन हो । सत्ता साझेदारको विवशता थियो भने पनि आपैँm राष्ट्रपतिको उम्मेदवारको समर्थक बस्नु के आत्मसमर्पण नै होइन ?

सत्तासाझेदार भएकाले यो गर्नैपर्ने विवशता थियो भनेर भनिन्छ भने के यो सत्ताको मोलमा एजेण्डाको विसर्जन भएन र ? जब सङ्घर्षभन्दा आत्मसमर्पणको बाटो रोजिन्छ भने त्यो नै विसर्जन हो । अब राप्रपा नेपालका सदस्यहरूले कुन मुखले नेपाली काङ्ग्रेसले बीपीको सिद्धान्त छोडेको भन्न मिल्छ ? बीपीको सिद्धान्तमा राजसंस्था मात्र थिएन । हो काङ्ग्रेसले राजसंस्था छोड्यो, तर सबै सिद्धातको विसर्जन त गरेन । राप्रपा नेपालले जनतासँग मत माग्दा यही तीन कुरालाई आफ्नो सिद्धान्त भनेको थियो ।

यी तीनै कुरा विसर्जन गरेर आत्मसमर्पण गरेको राप्रपा नेपालले अब के त्यो सात लाख मतको प्रतिनिधित्व गर्छ जो ‘एक भोट …लाई अर्को भोट गाईलाई’ भनेर दिइएको थियो । यो नारा राप्रपा नेपालका समर्थकहरूको थिएन, राप्रपा नेपालले बोकेको र आफ्नो दलले छोडेको एजेण्डाको समर्थनमा त्यो नारा थियो । त्यो जनमतको प्रतिनिधित्व कमल थापाले अब गर्दैनन् । यो कुरा सम्पूर्ण राप्रपा नेपालमा मात्र लागू हुन्छ कि हुँदैन भन्ने कुरा आसन्न बैठकले भन्ला भनेर सात लाख मतदाता हेरिराखेका छन् ।