नयाँ नेपालका लालबुझक्कडहरू

नयाँ नेपालका लालबुझक्कडहरू


– शिरीष रानाभाट
पुरानो नेपालका बहादुर नेपालीले लडेको
नालापानीको होस् या
देउथलको युद्ध होस्
टिष्टादेखि कांगडा फैलिँदा पनि
विदेशीसामु नझुकेको नेपाली शिर
नयाँ नेपालका
कायर लालबुझक्कडहरूको
दिमागी दिवालियापन
दृष्टिविहीनता र परभक्तिका कारण
नुहेको छ पाताल छुनेगरी ।

बचेखुचेको स्वाधीनता पनि
बेचेर पराधीन बन्ने मानसिकता बोकेर
नयाँ नेपालका कपुतहरू
छद्मभेष धर्छन्
कुरूप अनुहार लुकाउन
स्वाङ रच्छन् दिनमा महान् देशभक्तको
लम्पसार पर्छन् अनि रातको अँध्यारोमा
विदेशी प्रभुका चरणमा
आत्मसम्मान धितो राख्दै
फगत व्यक्तिगत चाहना पूरा गर्न ।

सोझा र निमुखा नेपालीबीच भ्रमको खेती गर्दै
एक-अर्काको रगत बगाउन उद्यत्
यी रक्तपिपासुहरू
अभिनय गर्छन् बन्धुत्वको
अनि प्रहार गर्छन् वैमनश्यतारूपी छुरा
कायरहरू पछाडिबाट पीठमा
घरभित्रका यी बैरीहरू
बाहिरका शत्रुको हौवा देखाई एकमुठी खरानीका लागि
आफ्नै घर जलाइरहेछन् ।

पुरानो नेपालका
स्वाभिमानी नेपालीले जोगाएको
नेपाल र नेपालीको पहिचान
नेपाली गौरव र इतिहास
गर्वले फुल्ने छाती अनि उच्चो नेपाली शिर
नयाँ नेपालका
नोकरशाही लालबुझक्कडहरूको
दिमागी दिवालियापन
दृष्टिविहीनता र परभक्तिका कारण
नुहेको छ पाताल छुनेगरी ।