करारका कर्मचारी करारमै रहने -श्रीविक्रम भण्डारी

करारका कर्मचारी करारमै रहने -श्रीविक्रम भण्डारी


राजनीतिक दलहरूले आफ्नो दुनो सोझ्याउन खेलकुदलाई कार्यकर्ताहरूको भर्तीकेन्द्र बनाएपछि खेलकुदमा विवादको बिउ रोपिएको यथार्थ कसैबाट छिपेको छैन । जागिर खुवाउने निहुँमा जथाभावी खेलकुदमा कार्यकर्ता भर्ती गर्ने चलन मुलुकमा प्रजातन्त्र आएपछि भित्रिएको थियो । प्रमुख राजनीतिक दलहरूले आफ्नो भोटबैंक बढाउन खेलकुदलाई बलिको बोका बनाएदेखि नै खेलकुदमा राजनीतिको हावी भएको थियो । तत्कालीन खेलकुदमन्त्रीहरूले पार्टीको निर्देशन भन्दै आफ्ना क्षेत्रका कार्यकर्तालाई सयौंको सङ्ख्यामा खेलकुदमा भित्र्याएपछि खेलकुदमा राजनीतिको फोहोरी खेल शुभारम्भ भएको थियो । एक-दुई हजार कार्यकर्ता पनि आफू मन्त्री भएको बेलामा घुसाउन सकिएन भने भोलि कसरी राजनीति गर्ने भन्ने नेताहरूले खेलकुदलाई त्यसबेलादेखि नै भेडाको गोठमा परिणत गरेका थिए । अहिले पनि त्यही समस्याबाट ग्रसित भएको खेलकुदलाई थाङ्नामा सुताउने कार्य यस्तै कार्यकर्ताहरूले गर्दै आएका छन् । र्
वर्तमान अवस्थामा खेलकुदलाई लँगौठी लगाउने कार्य पूर्वसदस्य सचिव जीवनराम श्रेष्ठले पार्टीको निर्देशनमा जथाभावी भर्ती गरेका कार्यकर्ताले गर्दै आएका छन् । पार्टीको इसारामा दरबन्दीभन्दा बढी एमालेका कार्यकर्ताहरूलाई खेलकुदमा भर्ती गरेका श्रेष्ठले नालायकीपन देखाएको कसैबाट छिपेको छैन । आफू सदस्यसचिव रहँदा करारका कर्मचारीको भविष्यको बारेमा कुनै ख्याल नगरेका श्रेष्ठले अहिले उनीहरूलाई उचालेर आगोमा घ्यू थप्ने कार्य भने गर्दै आएका छन् । तरल राजनीतिक अवस्थाको फाइदा उठाउने क्रममा करारका कर्मचारीलाई उचालेर खेलकुदमा वितण्डा मच्चाइरहेका छन् । सोही कुरोको फाइदा उठाउँदै करारका कर्मचारीहरूले राष्ट्रिय खेलकुद परिषद्मा गुण्डागर्दी गर्दै तोडफोड गर्नसमेत पछि परेका छैनन् । ती करारका कर्मचारीहरूले नियमसङ्गतभन्दा पनि आफूलाई तुरुन्तै स्थायी गर्नुपर्ने माग राखेर खेलकुदको प्रतिष्ठालाई बेलाबेलामा लिलाम गर्दै आइरहेका छन् । जुन दृश्य खेलकुद परिसरमा अघिल्लो साता पनि दोहोरिएको छ ।
जुन थालमा खायो त्यसै थालमा आची गर्ने क्रममा गत साता करारका कर्मचारीहरूले खेलकुदमा उपद्रो मच्चाएका छन् । सो क्रममा उनीहरूले राखेपको मूल ढोकामा ताला लगाउनुको साथै परिषद्मा राखिएका सोफासेट, गमला तोडफोड गरेका थिए । उनीहरूले आफ्नो स्थायी गर्नुपर्ने एकसूत्रीय माग राख्दै सदस्यसचिव हरिबाबु चौधरी र परिषद्का पदाधिकारीहरूका विरुद्धमा नारासमेत लगाएका थिए । ती कर्मचारीहरूले परिषद्ले लामो समयदेखि आफूहरूलाई झुलाउँदै आएको बताउँदै समस्या समाधान नभएपछि वाध्यतावश तोडफोड र विरोधमा उत्रिनुपरेको बताएका छन् । करार प्रशिक्षक सङ्घर्ष समितिका संयोजक काजीमान श्रेष्ठले गत जेठ ३० गते परिषद्ले पाँच दिनमा सम्पूर्ण समस्या समाधान गर्ने बताए पनि अहिलेसम्म आलटाल गरेको कारणले विरोधमा उत्रिनुपरेको बताए । उनले निस ट्रेनिङ गरी करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने बताएका छन ।
घटनापछि निकै गम्भीर बन्नुभएका राखेपका सदस्यसचिव हरिबाबु चौधरीले यो सबै असहमति र असमझदारीको प्रतिफल हो भनेका छन् । उनले घटना र विचारसँग कुरा गर्दै अहिले परिषद्मा विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि रहे पनि सामूहिक निर्णय बन्न नसक्नाका कारणले कुरो बिग्रिरहेको बताए । सहमति र सहकार्यको स्थिति छ भन्दै सदस्यसचिव चौधरीले किन सामूहिक निर्णय हुन सकेको छैन त्यो आफूले बुझ्न नसकेको बताए । सबै पदाधिकारीकारीहरूले राजनीतिक तरलताको फाइदा उठाएको आरोप लगाउँदै सामूहिक निर्णयबिना यो कुरा सम्भव नहुने बताए । सदस्यसचिव चौधरीले करारका कर्मचारी भए पनि तलब परिषद्ले नै खुवाइरहेको बताउँदै आफ्नैै कार्यालयप्रति यस्तो उद्दण्डता देखाउनु दुर्भाग्य भएको बताए । सबै काम परिषद्को नियम कानुनसम्मत हुनुपर्ने कुरामा जोड दिँदै प्रक्रियामा रहेका कुराहरूप्रति अविश्वास प्रकट गरेर तनाव सिर्जना गर्न नहुने तर्क अघि सारेका थिए । यो खेल कसले खेलाइरहेको छ त्यो आफूले बुझ्न नसकेको खुलासा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्मा एक सय ८० टेक्निकल र प्रशासनिक दरबन्दी खाली छन् । तर, पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले परिषद्को नियमविपरीत दुई सय ३७ जना कार्यकर्तालाई जथाभावी भर्ना गरेपछि समस्या उत्पन्न भएको थियो । महिनैपिच्छे करारका कर्मचारीले परिषद्मा रडाको मच्चाएपछि आहत बनेका सदस्यसचिव चौधरीले यो सबै फसादको जड जीवनराम भएको बताएका छन् । चौधरीले श्रेष्ठले आफैंले छिनोफानो गरेर जानुपर्ने कुरालाई बेवास्ता गरेको आरोप लगाउँदै अहिले मुख्य विवाद नै यही भएको बताए । नियमसङ्गतभन्दा पनि करारका कर्मचारीहरूको लिँडेढिपीले गर्दा समस्या समाधानमा ढिलो भइरहेको उनले बताए । चौधरीले बिनाप्रशिक्षण कसैलाई स्थायी गर्न नसकिने बताउँदै त्यसका लागि पहिले प्रशिक्षणमा सफल हुनुपर्ने बताए । त्यसो भए कहिले प्रशिक्षणको व्यवस्था गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा चौधरीले छिट्टै सूचना निकाल्न गइरहेका छौँ, त्यसपछि प्रशिक्षण सुरु हुने बताएका थिए । चौधरीले पहिले सबै करारका कर्मचारीलाई हटाएर प्रशिक्षण गर्ने भने पनि ती कर्मचारीले त्यसो गर्न नमानेको खुलासा गरेका थिए । सीधै हटाउँदा करारको जागिर पनि जाने भयले गर्दा उनीहरूले त्यसो गर्न नमान्ने चौधरीले सुनाए ।
समय छँदा करारका कर्मचारीको स्थायीको बारेमा सहमति र सहकार्यबाट सामूहिक निर्णय गर्न नसकेका खेलकुदका पदाधिकारीहरू अहिले ठूलो भुमरीमा परेका छन् । गणतन्त्र र लोकतन्त्रको नाममा तर्साउने र थर्काउने कार्यमा मात्र समय व्यतीत गरेका करारका कर्मचारीहरूको जागिर अहिले धरापमा परेको छ । प्रधानमन्त्री माधवकुमार नेपालले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको भोलिपल्टै कुनै पनि मन्त्रालयले महत्त्वपूर्ण कार्यको निर्णय नगर्नू भनेपछि अहिले यो समस्या अझ चुलिएर गएको छ । अझ प्रधानमन्त्री राष्ट्रिय खेलकुद परिषद्को संरक्षक भएको नाताले समस्या सङ्गीन बनेको छ । अर्को प्रधानमन्त्री नबनुन्जेल त्यसै थाँतीमा पर्ने यो मुद्दाले चाँडै निकासा पाउने छाँटकाँट देखिँदैन । नेपालको राजनीतिमै सहमति र सहकार्य हुन नसकेको अवस्थामा करारका कर्मचारीलाई स्थायी गर्न कसले सहमति र सहकार्य गरिदेला यो निकै चिन्ताको विषय बनेको छ । त्यसैले एकजना खेलकुद पदाधिकारी भन्दै थिए, ‘करारका कर्मचारी वीरबलको खिचडी हुन्, पाकेको दिन कसरी पाक्छन् त्यो एकदमै रमाइलो हुनेछ, हेर्न लायक हुनेछ ।’ र पनि करारका कर्मचारी करारमै रहे भने पनि अन्यथा मान्नुपर्ने छैन ।

सेप
ब्लाटरले माफी मागे
विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष सेप ब्लाटरले माफी मागेका छन् । रेफ्रीको गलत निर्णयका कारण इंग्ल्यान्ड र मेक्सिकोले विश्वकपबाट बाहिरिनुपरेकोले ब्लाटरले माफी मागेका हुन् । यी खेलमा रेफ्रीको कमजोरीका कारणले फिफाको व्यापक आलोचना भएपछि सुधारका लागि उच्च प्रविधिबारे छलफल गर्ने बताएको छ । ब्लाटरले अब पनि गोललाइन प्रविधिका बारेमा छलछल नगर्नु भनेको मूर्खता हो भन्दै आफूहरू चाँडै यो विषयको छलफलमा जुट्ने बताए । ब्लाटरले जर्मनीविरुद्धको खेलमा गोललाइन काटिसकेको बललाई गोल नदिनु यसको ज्वलन्त उदाहरण भएको बताउँदै यसको प्रविधिका बारेमा बोर्डमा छलफलका लागि राखिने बताए । साथै फिफाले योे विश्वकपमा रेफ्रीको निर्णयको बारेमा कुनै परिवर्तन नगरिने बताएको छ । फुटबलको नियममा केही परिवर्तनको खाँचो भएको स्वीकार्दै नौलो प्रविधिमा जानुअघि दूरदर्शी भएर जानुपर्ने ब्लाटरले बताएका छन् । यो विवाद चुलिएपछि यस्तो विवाद नआओस् भन्दै तुरुन्तै गोललाइन प्रविधिको प्रयोग गर्नुपर्छ, अन्यथा ब्लाटरले राजीनामा दिनुपर्छ भन्ने स्वरहरू पनि गुन्जिएका थिए ।

नाइजेरियामाथि प्रतिबन्ध, फिफाद्वारा अस्वीकार्य
नाइजेरिया विश्वकप फुटबल समूह चरणबाटै बाहिरिएपछि नाइजेरियाका राष्ट्रपति गुडकल जोनाथलले राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएका छन् । जोनाथलले दुई वर्षका लागि राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बन्देज लगाएका हुन् । टोलीमाथि व्यापक भ्रष्टाचार भएको आरोप लागेपछि राष्ट्रपति जोनाथलले नाइजेरिया फुटबल सङ्घको हरेक आर्थिक कारोबारमाथि छानबिन गर्नसमेत निर्देशन दिएका छन् । सङ्घले विश्वकपमा नाइजेरियाको कमजोर प्रदर्शनप्रति सरकार र समर्थकसँग माफी मागिसकेको बताउँदै राष्ट्रपतिको त्यस्तो किसिमको कुनै पनि पत्र अहिलेसम्म नआएको बताएको छ । सन् २०१० को विश्वकपमा नाइजेरियाले एक खेल पनि जित्न सकेको थिएन । नाइजेरिया लिग चरणमा अर्जेन्टिना र ग्रिससँग पराजित भएको थियो भने दक्षिण कोरियासँग बराबरी खेलेको थियो । नाइजेरियाले सन् १९९८ देखि विश्वकपमा एउटै पनि खेल जित्न सकेको छैन । नाइजेरिया फुटबल टिममाथि राजनीतिक हस्तक्षेप भएपछि फिफाले आफूलाई उक्त कुरा स्वीकार्य नहुने बताएको छ ।

एनेल्का सदाका लागि प्रतिबन्धित
विश्वकप फुटबलका दौरान प्रशिक्षक रेमोन्ड डामोनेकसँग विवाद परेपछि घर पर्किएका फ्रान्सका स्ट्राकर निकोलोस एनेल्का सदाका लागि प्रतिबन्धमा परेका छन् । उक्त कुराको जानकारी फ्रान्स फुटबल सङ्घका प्रमुख पिइरी इस्कालेटले दिएका छन् । एनेल्कालाई स्वदेश फिर्ता गरेकोमा विश्वकपको अन्तिम खेलमा खेलाडीहरूले विरोध गर्दै प्रशिक्षणसमेत गरेका थिएनन् । फ्रान्स दक्षिण अफि्रकासँग भएको उक्त खेलमा दुई-एकले पराजित भएको थियो । फ्रान्सले शुभारम्भको खेल उरुग्वेसँग बराबरीमा खेले पनि बाँकी दुई खेलमा पराजित भएको थियो । आपसी विवादका कारणले समूह चरणबाटै बाहिर पुगेको फ्रान्स गत वर्षको विश्वको उपविजेता टोली हो । यो घटनापछि फ्रान्सको राजनीति तात्नुको साथै समर्थकहरूले पनि निकै आक्रोश पोखेका थिए । पछि यो घटनालाई साम्य पार्न प्रशिक्षक रेमोन्ड र एनेल्काले खेलकुद हेर्ने संसदीय समितिमा बयानसमेत दिनुपरेको थियो ।

पासा पल्टियो

विश्वकपमा युरोपको दबदबा
समूह चरण र प्रिक्वार्टरफाइनलमा युरोपका दिग्गज टोलीहरूलाई मात दिएर अगाडि बढेका दक्षिण अमेरिकी टोलीहरू क्वार्टरफाइनलमा मुसो सावित भएका छन् । आर्श्चर्यचकित नतिजा निकाल्दै दक्षिण अमेरिकाका चारवटा टोली ब्राजिल, अर्जेन्टिना, उरुग्वे र पराग्वे क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । यी प्रभावशाली टोली क्वार्टरफाइनलमा पुगेपछि धेरैले यसपटकको विश्वकप दक्षिण अमेरिकाले जित्ने अड्काल काटेका थिए । तर, अहिले यी अड्कल र अनुमान गलत सावित भएका छन् । उरुग्वेबाहेक अन्य सबै टोली घर फर्किसकेका छन् । फुटबलका महारथीका रूपमा चिनिने र प्रमुख दाबेदारका रूपमा गनिएका यी टोलीहरूलाई नेदरल्यान्ड, जर्मन र स्पेनले पराजित गरेर घरतर्फको बाटो देखाइदिएका छन् । क्वार्टरफाइनलमा प्रवेश गरेको एक मात्र अफि्रकन टोली घाना उरुग्वेसँग दुर्भाग्यपूर्ण तरिकाले पराजित भोग्दै बाहिरिएको थियो । हारेर पनि जितेको भाग्यमानी उरुग्वे मात्र अब यो विश्वकपमा रहेको छ । अब विश्वकपको सेमिफाइनलमा तीनवटा युरोपका मुलुक पुगेका छन् भने एउटा दक्षिण अमेरिका ।
विश्वकपको क्वार्टरफाइनलमा दक्षिण अमेरिकी मुलुकको दबदबालाई समाप्त पार्दै युरोपका टोलीहरूले शतप्रतिशत नतिजा निकालेका छन् । नेदरल्यान्डको चमत्कारी प्रदर्शनसँगै शुभारम्भ भएको युरोपको उत्कृष्ट प्रदर्शनलाई जर्मनी र स्पेनले पनि निरन्तरता दिएका थिए । यो क्रममा नेदरल्यान्डले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई सनसनीपूर्ण खेलमा पराजित गरेर ठूलो उलटफेर गरेको थियो । त्यस्तै यो विश्वकपमा शानदार प्रदर्शन गरेर विश्वकपको प्रमुख दाबेदार मानिएको म्याराडोनाको अर्जेन्टिनालाई जर्मनीले उसको औकात देखाइदिएको थियो । लिग चरणदेखि नै सङ्घर्ष गर्दै आएको स्पेनले पराग्वेलाई पाखा लगाउने क्रममा पनि निकै सङ्घर्ष गर्नुपरेको थियो । यसरी दक्षिण अमेरिकी टोलीमाथि युरोपका टोलीहरू हावी भएपछि यसपटकको विश्वकप पनि युरोपले नै भित्र्याउने प्रायः निश्चित भएको छ ।
दक्षिण अफि्रकामा सञ्चालन भइरहेको विश्वकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल ब्राजिल र नेदरल्यान्डबीच भएको थियो । खेलअघि ब्राजिलको तुलनामा नेदरल्यान्डलाई निकै कमजोर आँकिएको थियो । यो कुरालाई पुष्टि गर्दै ब्राजिलले सफल सुरुवात गरेको पनि थियो । तर, अन्डरडगको रूपमा विश्वकपमा छाइरहेको ओरेन्ज जर्सीको नेदरल्यान्डले एक गोलले पछि पर्दा पनि हिम्मतचाहिँ हारेन । पहिलो हापसम्म एक गोलले पछि परेको नेदरल्यान्डले दोस्रो हापमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दुई-शून्यले पराजित गरेको थियो । यसरी प्रशिक्षक डुङ्गाको ‘डुङ्गा’ बीचैमा डुबाउन नेदरल्यान्ड सफल भएको थियो । विश्वकप फुटबलमा सन् १९७४ पछि ब्राजिलमाथि नेदरल्यान्डले जित हासिल गरेको यो पहिलो अवसर हो । ब्राजिलका चर्चित स्ट्राइकर रोबिन्होले सुरुवाती गोल गरेर ब्राजिललाई अग्रता दिलाए पनि त्यसपछि भएको आत्मघाती गोलबाट नेदरल्यान्डले बराबरी गर्न सफल भएको थियो । खेलको उत्तर्रार्द्धमा नेदरल्यान्डका वेस्ले स्नाइडरले सुन्दर ढङ्गबाट हेडले निर्णायक गोल गर्दै नेदरल्यान्डलाई सेमिफाइनलमा पुर्‍याएका थिए । यसरी विश्वकपमा डबल ह्याटि्रक गर्ने ब्राजिलको सपना सपनामै सीमित हुन पुगेको थियो ।
क्वार्टरफाइनलको दोस्रो खेल उरुग्वे र घानाबीच भएको थियो । निकै सनसनीपूर्ण रहेको उक्त खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । निर्धारित समयसम्म एक-एकको बराबरी रहेको उक्त खेल अतिरिक्त समय हुँदै पेनाल्टीसम्म पुगेको थियो । अतिरिक्त समयको अन्तिम समयमा घानाले प्रहार गरेको बलले जाली चुम्न लाग्दा डेबिड सुआरेजले जानी-जानी हातले रोक्दा घाना विजयबाट विमुख हुनुपरेको थियो । अन्तिम सिठ्ठी फुक्नुअघि घानाले पेनाल्टी पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा खेल पेनाल्टीतर्फ मोडिएको थियो । पेनाल्टी प्रहारमा उरुग्वेले घानालाई चार-दुईको अन्तरले पराजित गर्दै सेमिफाइनलको ढोका उघारेको थियो । हातले बल रोकेर नायक बनेका उरुग्वेका स्ट्राइकर सुआरेजले रातो कार्ड खाएर मैदानबाट बाहिरिए पनि उनले अपनाएको रणनीतिले उरुग्वे सेमिफाइनलमा पुगेको थियो । यसरी घानाको उत्कृष्ट प्रदर्शनलाई छायामा पार्ने काम सुआरेजले गरेका थिए ।
क्वार्टरफाइनलको तेस्रो खेल दुई महारथी जर्मनी र अर्जेन्टिनाबीच भएको थियो । अडकल र अनुमान लगाउन गाह्रो यो खेलमा जसले पनि बाजी मार्न सक्ने देखिन्थ्यो । तर खेल सोचेअनुरूप भएन । जर्मनीले खेल शुभारम्भ भएको दुई मिनेटमै गोल गरेर अर्जेन्टिनामाथि दबाब बनाएको थियो । त्यसपछि अर्जेन्टिनाले गोल फर्काउन अथक प्रयास गरे पनि सफल भएन । अन्त्यमा जर्मनीले अर्जेन्टिनामाथि चार-शून्यको जित हात पार्दै चौथोपटक विश्वकप जित्ने निकटतालाई बढाउन सफल भयो । अर्जेन्टिनालाई निरस पार्ने क्रममा जर्मनीको तर्फबाट थोमस मुलर, मिरोस्लाभ क्लोज र र्एर्ने फि्रइडले गोल गरेका थिए । जर्मनीसँग नमिठो पराजय भोगपछि विश्वकपका नायकका रूपमा चिनिएका म्याराडोनाको तेस्रोपल्ट अर्जेन्टिनालाई विश्वकप दिलाउने सपना चकनाचुर भएको छ । क्वार्टरफाइनलको चौथो खेल स्पेन र पराग्वेबीच भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा कछुवाको चालमा अघि बढ्दै गएको स्पेनले पराग्वेलाई एक-शून्यको अन्तरले पारजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियोे । फुटबलको महारथी भएर पनि विश्वकप अहिलेसम्म जित्न नसकेको स्पेन ६० वर्षपछि सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।
सेमिफाइनलका खेलहरू आज असार २३ गते बुधबारदेखि सञ्चालन हुने कार्यक्रम रहेको छ । सेमिफाइनलको पहिलो खेल नेदरल्यान्ड र उरुग्वेबीच हुनेछ भने दोस्रो खेल बिहीबार जर्मनी र स्पेनबीच हुनेछ ।