एक महामानवको सम्झनामा…-देवप्रकाश त्रिपाठी

एक महामानवको सम्झनामा…-देवप्रकाश त्रिपाठी


दन्त्यकथाको रोचक पात्र प्रतीत हुने रूपचन्द्र विष्टको भौतिक देहले बिदा लिएको एघार वर्ष पूरा भई बाह्रौं वर्ष प्रवेश हुँदा उहाँको अनुपस्थिति धेरै देशप्रेमीलाई दिलै निमोठ्ने गरी खट्किएको हुनुपर्छ । क्रियाशील राजनीतिक दल तथा तिनका अगुवाहरूप्रति वितृष्णा बढ्दै गएको वर्तमानमा रूपचन्द्र विष्ट र उहाँले चलाउने गर्नुभएको ‘थाहा आन्दोलन’प्रतिको चासो र तृष्णा थप बढेको महसुस गर्न थालिएको छ । जीवित रहँदा कम्युनिस्टहरूको कोपभाजनमा परेर निरास तुल्याइनुभएका विष्टलाई मृत्यर्ुपर्यन्त केही मानिस कम्युनिस्ट बनाउन/भनाउन कस्सिएका छन् । सधैं जनता र चेतनाका कुरा गर्ने तथा दुःखी एवम् गरिब जनताको जीवनस्तरमा बाँच्न अभ्यास गर्ने भएकोले कतिपयले रूपचन्द्रलाई कम्युनिस्ट ठानेका पनि हुन सक्छन्, तर खासमा उहाँ स्वतन्त्र चिन्तक, विचारक, दार्शनिक एवम् प्रजातन्त्रप्रति प्रतिबद्ध देशभक्त नेपाली हुनुहुन्थ्यो । एउटा स्वतन्त्र चिन्तक या विचारक कहिल्यै कम्युनिस्ट हुन सक्दैन । आफ्नो मौलिक चिन्तन र विचारसहित कोही पनि व्यक्ति कम्युनिस्ट बन्न पनि मिल्दैन । र, यस अर्थमा मौलिक चिन्तनको गुञ्जाइस नरहने पार्टी कम्युनिस्ट हो भन्न सकिन्छ । कम्युनिस्टहरूमा चिन्तन गर्न पनि पहिले कम्युनिस्ट नै हुनुपर्छ । कम्युनिज्मका लागि कम्युनिस्ट भएर कम्युनिस्ट शैलीमा मात्र विचार-चिन्तन गर्न पाइने अवस्थामा रूपचन्द्र विष्ट सत्य, इमानदारी र निस्वार्थका पक्षमा एकलै उभिएर चेतना छर्न सक्रिय हुनुभएको थियो । यद्यपि असली अर्थात् वास्तविक कम्युनिस्टहरूका प्रति उहाँको सहानुभूति नभएको होइन, तर उहाँको कम्युनिस्टहरूका प्रति सहानुभूतिभन्दा ठूलो गुनासो थियो । घटना र विचारसँगको वार्तालापका क्रममा पनि विष्टले आफ्नो असन्तुष्टि या असहमति प्रकट गर्नुभएको थियो । कम्युनिस्ट हुनु भनेको एकप्रकारले आफूले आफैंलाई हरतरहले बन्धनमा राख्नु पनि हो । कम्युनिस्ट बनिसकेपछि अरू केही बन्न पाइँदैन, माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङका सूत्रहरूलाई कण्ठ गर्नु तथा तिनकै प्रतिलिपि जीवन बाँच्ने, बाँच्न कोसिस गर्ने या बाँच्नुपर्छ भन्दै आफूलाई क्रियाशील बनाउन पाइन्छ । त्यस्तो जीवन बाँच्नेहरू कम्युनिस्ट हुन्, स्वतन्त्र चिन्तन त्यहाँ वरि्जत छ । रूपचन्द्र विष्ट आफैंमा स्वतन्त्र हुनुहुन्थ्यो । स्वतन्त्र चिन्तन र विचारसहितको साधारण जीवनशैलीलाई उहाँले आफ्नो विशेषता बनाउनुभएको थियो । अर्काको सुख, शान्ति र सन्तुष्टिका लागि बाहेक विष्टले आफ्ना लागि कहिल्यै सोच्नुभएन । अर्को महत्त्वपूर्ण पक्ष रूपचन्द्र विष्टमा पदीय महत्त्वाकाङ्क्षा, शासकीय आकाङ्क्षा या सत्तामुखी सोचको लेस मात्र पनि थिएन । तर, कम्युनिस्टहरूको अन्तिम गन्तव्य अर्थात् ‘परमधाम’ भनेकै सत्ता हो, जसले सत्तालाई अन्तिम गन्तव्य मान्दैन, त्यो कम्युनिस्ट होइन । रूपचन्द्र विष्ट कार्लमाक्र्स र लेनिन मात्र होइन महात्मा गान्धीलाई पनि त्यत्तिकै आदर गर्नुहुन्थ्यो । फायरवाख, हिगल, कान्ट, लाइब्निज, जिन ज्याक रुसो, कन्फुसिएस, अरिस्टोटल र प्लेटोलाई पनि त्यत्तिकै आदर गर्नुहुन्थ्यो, तर उहाँले कसैको जीवनशैली या चिन्तनधारालाई उधारोमा लिएर प्रतिलिपि जीवन बाँच्ने सोच भने कहिल्यै बनाउनुभएको महसुस गरिएन । कम्युनिस्ट हुनु भनेको प्रतिलिपि जीवन बाँच्नु हो भन्ने सत्य घामजत्तिकै र्छलङ्ग छ । आफ्नै मौलिक चिन्तन र जीवनशैलीसहितका रूपचन्द्रलाई कम्युनिस्ट भन्ने आरोप लगाएर केही कम्युनिस्टहरूले उहाँको उचाइदार व्यक्तित्वलाई किन खसाउन खोजेका हुन् मैले बुझन सकेको छैन । साधारण र अति साधारण जीवनशैली भएकै कारण विष्टलाई कम्युनिस्ट भनिएको हो भने के अब गान्धीलाई पनि कम्युनिस्ट भन्ने – विद्रोही स्वभावका कारण कसैलाई कम्युनिस्ट ठान्ने हो भने सबैभन्दा ठूलो विद्रोह त बिल लादेनले गरिरहेको छ, के उसलाई पनि कम्युनिस्ट भनिदिने – रूपचन्द्रजस्ता महान् तथा विशिष्ट इतिहासपुरुषलाई कम्युनिस्ट भएको आरोप लगाएर उहाँको अपमान नगर्न म सम्बद्ध सबैमा विनम्र आग्रह गर्ने चाहना राख्दछु ।
रूपचन्द्र विष्टलाई मैले २०३८ सालमा सम्पन्न तात्कालिक राष्ट्रिय पञ्चायतको निर्वाचनको समयदेखि सुनेको हुँ । उहाँ त्यसताक ‘थाहा’ लेख्दै मेरो गाउँ -मलेखु) तिर पनि आइरहनुहुन्थ्यो । तर उहाँको रुखो व्यवहारका कारण उहाँलाई बुझन नसकेर म नजिक पर्न भने सकेको थिइनँ । विष्टसँग भेट्ने मौका मलाई ०४९ सालमा मिल्यो । केशवराज पिँडाली प्रकाशक र हरिहर विरही सम्पादक रहनुभएको विमर्शमा म आबद्ध थिएँ र मैले विष्टलाई भेटेर एउटा अन्तर्वार्ताका लागि अनुरोध गरेको थिएँ । तर, उहाँले पिँडालीजीलाई गाली गर्दै ‘शत्रुदासका पनि दासहरूले चलाएको पत्रिकामा तँ भाते अन्तर्वार्ता लिन आइस् भन्दैमा मैले अन्तर्वार्ता दिनुपर्दैन । तँ आफैं सम्पादक भइस् भने तँलाई अन्तर्वार्ता दिउँला’ भन्नुभयो । यस्तो निर्णय सुनाइसकेपछि लामो बहस गर्नुको अर्थ थिएन म चुपचाप फर्कें त्यसबेला । संयोगवश ०४९ कै मध्यतिर म विमर्शबाट बाहिरिएँ र त्यस समयको लोकप्रिय जनमञ्च नामक साप्ताहिक म्यागेजिनको कार्यकारी सम्पादक भएँ । त्यसपछि म फेरि विष्टको कालिमाटीस्थित निवासस्थानमा पुगेर अन्तर्वार्ताका लागि अनुरोध गर्दै भनेँ, ‘दाइ म जनमञ्चको कार्यकारी सम्पादक भएको छु, अब अन्तर्वार्ता दिनुपर्‍यो ।’ उहाँ फिस्स हाँस्नुभयो, हाँसोमै यस्तो तीर छोड्नुभयो कि मैले बुझिहालेँ- फेरि पनि कुनै बहानामा अन्तर्वार्ता दिनुहुन्न भनेर । उहाँले हाँस्दै भन्नुभयो, ‘मुलुकको राजस्व छल्ने, मानिसहरूलाई जुवामा भिडाएर आफू मोजमस्ती गर्ने, विदेशी टटलजस्ता व्यक्तिले चलाएको पत्रिकामा तँ सम्पादक भइस् भन्दैमा मैले अन्तर्वार्ता दिन मिल्ने देखिँदैन । पत्रिकामा नछाप्ने सर्तमा अनेक कुरा गर्नचाहिँ सकिन्छ ।’
यसपटक मलाई अलिक झोक चल्यो र मैले जवाफ फर्काएँ, ‘त्यसो भए चोर, डाँकु, लुच्छा, फटाहाहरूले पनि बास बस्ने गरेको यो धर्तीमा हामी किन बस्ने – बस्नुभएन नि, अखबार सञ्चालनमा जसको लगानी भए पनि तपाईंको नाममा छापिने सामग्री शुद्ध भए त भइहाल्यो नि ।’ त्यसपछि विष्टले भन्नुभयो, ‘मैले तँसँग तर्क-वितर्क गर्नका लागि अन्तर्वार्ता नदिने भनेको होइन, मैले भन्ने भनिसकेँ, बुझने-नबुझने तेरो कुरा । विदेशी दलालले चलाएको पत्रिकामा तैंले जतिपटक भने पनि मैले अन्तर्वार्ता दिन मिल्दैन ।’ जुन दिन तँ आफैं सम्पादक/प्रकाशक भएर अखबार चलाउँछस्, त्यसै दिन आउनू, म तँलाई अन्तर्वार्ता दिउँला ।’ रूपचन्द्रले निर्णय सुनाइसकेपछि प्रायः बदलिँदैन थियो, मैले फेरि पनि अन्तर्वार्ताका लागि ढिपी गरिनँ । केहीबेर कुराकानी गरेर फर्किएँ । यस घटनापछि मैले उहाँको अन्तर्वार्ता लिन कोसिस गरिनँ । तीन वर्षपश्चात् -०५२ सालमा) घटना र विचार साप्ताहिक पत्रिका प्रकाशन सुरु हुने -२०५२ असार ७ गते) भएपछि म पहिलो अङ्कका लागि अन्तर्वार्ता लिन उहाँको घर पुगेँ । जेठ -०५२) को महिना थियो, गते बिर्सिएँ । रूपचन्द्रको अघिल्तिर उभिएर भनेँ, ‘दाइ, अब हामी आफैंले पत्रिकाको प्रकाशन सुरु गर्‍यौँ, अब अन्तर्वार्ता दिनुपर्‍यो ।’ यसपटक पनि उहाँ हाँस्नुभयो तर यसपालि हाँसोमा व्यङ्ग्य थिएन । पत्रिकाको नाम र अन्य विवरणबारे जानकारी माग्नुभयो, मैले दिएँ । त्यसपछि विष्टले मलाई अन्तर्वार्ता दिनुभयो, जुन घटना र विचार साप्ताहिकको पहिलो अङ्कमा छापिएको छ ।
०५५ सालको माघमा मैले सहकर्मी सुशील भट्टराईसँग ‘सुशीलजी ‘नेपालले चिन्न नसकेको एक महामानव’ रूपचन्द्र विष्टबारे एउटा सामग्री तयार गर्नुपर्‍यो, तपाईंले लेख्नुपर्छ कुराकानीका लागि तपाईं पनि जाउँ है भनेको थिएँ । उहाँलाई लिएर म विष्टकहाँ गएँ र सुशीलजीसँग परिचय गराएँ । केहीबेर कुराकानी गरेर हामी फर्कियौं । यसपटक अन्तर्वार्ता लिनु थिएन । रूपचन्द्रबारे मैले तयार पारेको अवधारणाका आधारमा मात्र लेख्दा कृत्रिमजस्तो हुन सक्छ भनेर मैले सुशीलजीलाई उहाँबारे बुझन साक्षात्कार गराएको थिएँ । छलफलपश्चात् हामी फर्कियौं, घटना र विचारको ०५५ फागुन ५ गते बुधबारको अङ्कमा ‘नेपालले चिन्न नसकेको एउटा महामानव’ शीर्षकमा रूपचन्द्र विष्टको बारेमा एउटा सङ्क्षिप्त सामग्री प्रकाशत भएको छ । सो सामग्री प्रकाशित हुँदाको समयमा पनि उहाँ सिकिस्त बिरामी पर्नुभएको रहेछ र उहाँको स्याहारसुसारका लागि भाइ झलकचन्द्र विष्टले आफ्नो घरमा लिएर जानुभएको रहेछ । झलकचन्द्र विष्टका अनुसार रूपचन्द्रका बारेमा लेखिएको सामग्री प्रकाशित भएका दिन सिकिस्त भए पनि उहाँ झलकचन्द्रकै घरमा हुनुहुन्थ्यो । आफ्नोबारेमा ‘त्यसरी’ लेखिएको देखेर रूपचन्द्र अत्यन्त खुसी हुनुभयो भन्ने भनाइ भाइ झलकचन्द्र विष्टको छ । झलकचन्द्रका अनुसार रूपचन्द्रले भित्तामा अडेस लागेर मुस्कुराउँदै भन्नुभयो, ‘भाते’, उहाँले हामीलाई सम्मान गर्दै ‘भाते’ भन्नुभएको थियो । विष्ट जीवित रहेकै समयमा ‘नेपालले चिन्न नसकेको एउटा महामानव’ शीर्षकमा सामग्री सम्प्रेषण गर्न पाएको कुराले मलाई बेग्लै सन्तुष्टि दिएको छ । यद्यपि शीर्षकलाई पुष्टि गर्ने सामर्थ्य त्यस सङ्क्षिप्त लेखले दर्शाउन नसकेकोमा भने दुःख लागेको छ ।
रूपचन्द्र विष्टकहाँ मेरो जाने-आउने क्रम चलिरहन्थ्यो । त्यसबीचका स्मरणीय सन्दर्भहरू मैले दशकअघि नै यस साप्ताहिकमा उल्लेख गरिसकेको छु । ०५६ सालको संसदीय निर्वाचनमा रूपचन्द्र पनि उम्मेदवार बन्नुहुने भन्ने सुनेपछि म सहकर्मी सुशील भट्टराईलाई लिएर उहाँको घरमा पुगेँ र चुनावअघि अन्तर्वार्ता दिनु उपयुक्त हुने कुरा सुझाएँ । तर, यसपटक त उहाँले धरौटी राख्नुपर्ने कुरा पो गर्नुभयो । मैले किन चाहियो धरौटी भनेर प्रश्न राखेँ । उहाँले भन्नुभयो, ‘चुनावको बेला छ, राम्ररी प्रकाशन गर्न सक्यौ भने यो धरौटी रकम फिर्ता हुन्छ, होइन भने जफत हुन्छ, गल्तीअनुसार केही रकम कट्टी गरेर केही मात्र फिर्ता हुन पनि सक्छ भन्नुभयो । मैले स्वीकार गरेँ । दुई हजार रुपैयाँ दिएपछि विष्टले एउटा भर्पाइ गरिदिनुभयो र अन्तर्वार्ताका लागि तयार हुनुभयो । करिब डेढ घन्टा कुराकानी भए, जुन अन्तर्वार्ता ०५६ को वैशाखमा प्रकाशित भएको छ । अन्तर्वार्ता तयार गर्ने काम सुशीलजीले गर्नुभएको थियो । प्रकाशित भइसकेपछि म धरौटी रकमबारे कुराकानी गर्न उहाँको घरमा गएँ । उहाँले प्रकाशनका क्रममा भएका त्रुटिहरू औंल्याउँदै पूरै पैसा फिर्ता गर्न नमिल्ने बताउनुभयो, तर पछि आइन्दा ‘त्यस प्रकारका’ गल्ती नगर्न चेतावनी दिँदै उहाँले पूरै रकम फिर्ता गर्नुभयो ।
०५६ को निर्वाचनमा रूपचन्द्र विष्ट -काठमाडौं १ बाट) पराजित हुनुभयो । म सहानुभूति प्रकट गर्न उहाँको निवासस्थान पुगेँ । विष्टले जम्मा एकासी मत मात्र प्राप्त गर्नुभएको थियो र, त्यस कुराले मेरो मन साँच्चै कुँडिएको थियो । प्राप्त मतको विषयलाई लिएर मैले दुःख प्रकट गरिरहँदा उहाँ हाँसिरहनुभयो । मेरा कुरा सकिएपछि रूपचन्द्रले बडो प्रसन्नताका साथ भन्नुभयो, ‘हेर भाते, काठमाडौंको एक नम्बर क्षेत्रमा एकासीजना चेतनशील र स्वार्थरहित मानिस बसेका रहेछन्, एउटा निर्वाचन क्षेत्रमा एकासीजना निस्वार्थ इमानदार मानिस हुनु भनेको सानो कुरा होइन, निर्वाचन परिणामबाट म अत्यन्त खुसी छु ।’ ‘लौ, त्यसो भए हामी पनि खुसी भइदिउँला’ भनेर म त्यहाँबाट बिदा भएँ ।
मेरो पत्रकारिता जीवनमा रूपचन्द्रको उपस्थिति विशिष्ट प्रकारको छ, म उहाँलाई भुल्न कदापि सक्नेछैन, देशले कहिल्यै भुल्न नमिल्ने मानिस रूपचन्द्र विष्ट हुनुहुन्छ, हामीपछिका पुस्ताले पनि उहाँको स्मरण गरिरहून्- मेरो चाहना यही छ । -पाठकहरूको जानकारीका लागि विष्टबारे उहाँ जीवित हुनुहुँदै प्रकाशित उक्त सामग्री करिब बाह्र वर्षपछि पुनः प्रकाशित गर्न उचित ठानिएको छ ।)