भ्याउने भए भलाद्मी मन्त्रीका छोराले

भ्याउने भए भलाद्मी मन्त्रीका छोराले


सम्पादकज्यू,
म घटना र विचार साप्ताहिकको नियमित पाठक र यस पत्रिकामा आउने विचारसँग म निकट रहेकोसमेत अवगत गराउन चाहन्छु । यही नाताले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा भएका अनियमितता तथा रकमी–कलमीका कामबारे जानकारी दिन यो पत्र लेख्दै छु ।
मैले यहाँ उल्लेख गरेका तथ्यहरु यस मन्त्रालयको इमान्दार कर्मचारी भएर देखेका विषयवस्तुलाई जस्ताको
त्यस्तै राखेको छु ।
वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट देशले ठूलो आशा राखेका भए पनि पहिलो चरणमा मधेसी दलका जुकाहरुले गर्नसम्म सबै मन्त्रालयमा भ्रष्टाचार, अनियमितता गरेको कुरा सर्वविदितै छ । पछिल्लो चरणमा राष्ट्रिय सहमतिको नाममा मन्त्रिपरिषद् पुनर्गठन गर्दा कम्युनिष्ट नेता चन्द्रदेव जोशीलाई हाम्रो मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री जोशीले आफ्नै छोरालाई पीएमा राख्नुभएको छ । पीए छोराले सरुवा–बढुवाको त भेउ नै पाउनुभएको छैन । तर पनि गजबको कुरा के छ भने यो मन्त्रालयले मुक्त कमैया र हलियाको कार्यक्रम पनि हेर्ने गरेकाले मन्त्री जोशी स्वयम् र पीए बनाइएको छोरा जोशीले मुक्त हलिया र मुक्त कमैयाका कार्यक्रमहरु सबै आफ्नो निर्देशन र नियन्त्रणमा सञ्चालन गर्नुपर्ने मन्त्रालयका कर्मचारीहरुकै बैठकमा सार्वजनिक रुपमा भनिसकेका छन् ।
कुरा के हो भन्दा मुक्त हलिया कार्यक्रममा करिब ३५ लाख रुपैयाँका विभिन्न गोष्ठी, सेमिनार, प्रचारप्रसार सामग्री निर्माणका कार्यक्रमहरु अझै बाँकी रहेका छन् । ती कार्यक्रमको जिम्मेवारी मन्त्रीका छोराका संयुक्त पाटर्नरसिपमा रहेको कोटेश्वरको फोर्ज मिडिया हाउसलाई दिने निर्णय मन्त्रीको ठाडो आदेशबाट भएको छ । जेठ मसान्त लाग्दा आफू मन्त्री रहने कि नरहने भन्ने अनिश्चित अवस्थामा मन्त्री जोशीका पीए छोराले आफ्नोसमेत पाटर्नरसिप रहेको फोर्ज मिडिया हाउस कोटेश्वरलाई ३५ लाख रुपैयाँको काम दिन मुक्त हलिया तथा मुक्त कमैया शाखालाई निर्देशन दिइसकेका र टिप्प्णी सदर हुने क्रममा रहेको छ । अर्काेतिर मन्त्रालयका सहसचिव कृष्णबहादुर रावतका आफन्तले समेत सो कार्यक्रमका लागि निकै पहिलेदेखि कोसिस गरेका र रावत आफैं मन्त्रालयको प्रशासन हेर्ने सहसचिव भएकाले सो सबै रकम ३५ लाख एउटै संस्थालाई नदिई केही रकम आफ्ना आफन्तलाई दिने दाउमा रहेका छन् ।
काले–काले मिलेर खाउँ भाले भनेझंै केही रकम सहसचिव रावतका आफन्त र केही रकम मन्त्रीका छोराको लगानी भएको मिडिया हाउसलाई दिई असार लाग्दा फिल्डमा काम नगर्ने तर काठमाडौंमा बसेर रकम झ्वाम पार्ने दाउमा रहेका छन् । सहसचिव रावत माओवादीका सामान्य प्रशासनमन्त्री रामकुमार यादव हुँदा कर्मचारी सरुवामा मोटो रकम लिएको प्रमाणित भएपछि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रले कारबाही गर्न सिफारिस गरेपछि कारबाहीमा परी यो मन्त्रालयमा आएका हुन् ।
सम्पादकज्यू, एउटा स्मरणीय कुरा के छ भने सहसचिव रावतले यसअघि मन्त्रालयअन्तर्गतको प्रशिक्षण केन्द्रको प्रचार–प्रसार सामग्री निर्माणको काम तीन लाखमा एउटी मैनाली थरकी राम्री केटीको संस्थालाई दिएका थिए । ती केटीलाई सहसचिव रावतले कहिलेकाहीँ मन्त्रालयमा समेत बोलाएर घण्टांैसम्म ँगोप्य कुरा’ भन्दै पीएलाई बाहिर राखी भित्र कसैलाई छिर्न नदिने गरेको हल्ला चलेपछि ती पीएलाई सहसचिव रावतले सरुवा गरेका छन् । सहसचिव रावत भूमिसुधार मन्त्रालयका प्रशासन हेर्ने प्रमुख व्यक्ति हुन् ।
अर्काे कुरा मन्त्री जोशी आफू भलाद्मी देखिन खोजे पनि मन्त्रीका छोराले प्रतिदिन १० लिटरका दरले तेलका कुपन विभिन्न विभाग र भ्यालीभित्रका विभिन्न मालपोत र नापी कार्यालयबाट माग्ने गरेका छन् । मन्त्री जोशी आएपछि नै महाराजगञ्जस्थित नेपाल कुष्ठरोग निवारण संस्थाको जग्गा व्यक्तिको नाममा गरेको थाहा भएको छ । सो काण्डमा पनि मन्त्री जोशीका छोरालाई भेट्न डिल्लीबजार मालपोत कार्यालयका उपसचिव सुशील वैद्य प्रत्येक दिन मन्त्रालयमा नै गोप्य बैठक बस्ने गरेको थियो ।
मन्त्रीका छोराका निर्देशनमा डडेल्धुरा घर भएका सहसचिव तेजराज भट्टलाई मुक्त कमैया र मुक्त हलियाको सम्पूर्ण आर्थिक कारोबार गर्ने जिम्मा पनि एक हप्ताअघि मात्र दिइएको छ । विगत चार वर्षदेखि काम गर्दै आएका मुक्त हलिया र मुक्त कमैयाका विषय जाने–बुझेका उपसचिव लक्ष्मणकुमार हमाललाई अधिकारविहीन बनाइएको छ । यसका कारण भनेको ३५ लाख रुपैयाँको कार्यक्रम खुला प्रतिस्पर्धाबाट गरिनुपर्छ भन्ने हमालले विगतका बैठकमा आफ्नो मत राख्दै आउनुभएको थियो । उपसचिव हमाल रहुन्जेल आफ्नो भनेबमोजिमका काम नहुने देखेपछि मन्त्रीका छोराले उपसचिव हमाललाई सरुवा गर्ने धम्कीसमेत दिइसकेका छन् ।
–भूमि सुधार मन्त्रालयको एक इमान्दार कर्मचारी