नेता खड्कालाई टुँडिखेलमा उभ्याइयोस्

नेता खड्कालाई टुँडिखेलमा उभ्याइयोस्


संविधानसभाको विघटनपश्चात् माओवादीले गर्न चाहेको के हो भनेर बुझ्न खोजेजस्तो गरेका काङ्गे्रस र एमालेका केही नेताहरू अहिले आएर माओवादीले धोका दियो भनेर कुर्लिरहेका छन् । यो संविधानसभा विघटित हुनुभन्दा पनि यसको आयु दुई वर्ष बढाउने कार्यमा विशेषत: एमालेका झलनाथ खनाल र वामदेव गौतमहरूको भूमिका अत्यन्त महŒवपूर्ण रहन पुग्यो भने काङ्गे्रसका कृष्णप्रसाद सिटौलाहरूको भूमिका पनि कम जिम्मेवार रहेन । एमालेका नेताहरूको विषयमा पङ्क्तिकारले चर्चा गरिरहनु उपयुक्त नहोला तर आफू एक प्रजातन्त्रवादी र नेपाली काङ्गे्रसको जिम्मेवार सिपाहीको हैसियतले घटना र विचारमार्फत काङ्गे्रसका नेताहरूलाई भने केही लेख्न बाध्य भएँ ।
मैले यसै अखबारको गत ३ गतेको अङ्कमा ‘महामन्त्रीलाई खुलापत्र’ शीर्षकमा पत्र लेखेको थिएँ । त्यस लेखोटको आशय महामन्त्री सिटौलाको भूमिका यस्तै रहेमा हामीजस्ता काङ्गे्रसी कार्यकर्ता पार्टी र प्रजातन्त्रको भविष्य खोज्दै जङ्गलतिर जानुपर्ने बाध्यता अब धेरै छैन भन्ने थियो । दुई साता नपुग्दै परिणाम त्यस्तै–त्यस्तै आयो । अब काङ्गे्रसी कार्यकर्ताहरू प्रजातन्त्र र काङ्गे्रसको भविष्य खोज्दै आन्दोलनमा होमिनुपर्ने विडम्बना आइपरेको छ । कृष्णप्रसाद सिटौलाले केही दिनका लागि मन्त्रीको झण्डा हल्लाउने रहर राखिदिँदा अविश्वास प्रस्ताव ल्याएर बाबुराम भट्टराई सरकारलाई हटाउने काङ्गे्रस, एमाले र मोहन वैद्यहरूको प्रयास त्यसै तुहिन पुग्यो भने अब भट्टराई–सरकार हटाउन दलहरूसँग वैधानिक कुनै बाटोसमेत नरहने गरी थप सङ्कट निम्तिएको छ । यी सबै दृष्टान्तबाट कोही नेपाली अन्जान नरहेकाले यसबारे धेरै टीका–टिप्पणी गर्नु उपयुक्त नहुन सक्छ, तर आफू जन्मजात एक प्रजातन्त्रवादी र काङ्गे्रसको कार्यकर्ता भएको हुँदा काङ्गे्रसको भविष्यबारे केही बोल्नैपर्ने आवश्यक ठानेर कोसिस गरेको हुँ ।
संविधानसभाको चुनाव भयो, काङ्गे्रस पराजित भयो, तत्कालीन गृहमन्त्रीले चुनाव हारे र भने, ‘बुथ क्याप्चरको मारमा परेर चुनाव हारँे ।’ हामीले पत्यायौँ र स्वीकार गर्‍यौँ । काङ्गे्रसको महाधिवेशन भयो, उनै गृहमन्त्रीलाई केन्द्रीय सदस्यको हैसियतमा नेताहरूले पुर्‍याए । त्यसको केही समयपछि नै ती व्यक्ति काङ्गे्रसको महामन्त्रीमा मनोनीत हुन पुगे र टुप्पाबाट पलाएका तिनले काङ्गे्रसलाई आफ्नो मुठ्ठीमा राख्ने प्रयत्न गर्न थाले । संविधानसभा विघटन हुनुअघि पनि काङ्गे्रसको नेतृत्व गरेर उपप्रधानमन्त्री रहेका उनले आफू लोकतान्त्रिक पार्टीको महामन्त्री भएकोसमेत बिर्सिएर कानुनी राज्यको उपहास गर्दै संविधानसभाको म्याद थप गर्ने र फेरि तीन महिना मुलुकलाई पछाडि धकेल्दै माओवादी नै मुलुकको प्रमुख पार्टी हो भनेर चिनाइदिने हेतुले संसद् सचिवालयमा विधेयक दर्ता गर्न पुगे । त्यतिखेरसम्म उनलाई आफूले गरेको निर्णय कार्यान्वयन हुन्छ र आफ्नोअगाडि पार्टी र पार्टीसभापतिले घुँडा टेक्छन् भन्ने पूर्णविश्वास रहेको देखिन्छ । तर, हरदम उनको विश्वास गर्दा मुलुकबाट काङ्गे्रस नै लोप हुने स्थितिमा पुगेपछि त्यही दिन बेलुका काङ्गे्रस सभापतिले ऐतिहासिक निर्णय गर्दै भन्नुभयो, ‘कुनै पनि हालतमा संविधानसभाको म्यादथपको पक्षमा काङ्गे्रस जाँदैन ।’ तत्पश्चात् ती पात्र छाँगाबाट झरेझैँ भई बर्बराउन थाले । हावामा पीपलपात फर्किएझैँ फनक्क फर्किएर उनले निर्लज्जताका साथ आफूलाई चोख्याउने असफल प्रयास गर्दै भने, ‘म बाध्यतामा परेर सही गरेँ, नचाहिने विधेयक दर्ता गरेँ, यसमा मेरो सहमति छैन र म सरकारमा बस्नुको औचित्य छैन ।’
काङ्ग्रेसको एउटा जिम्मेवार नेता क्याबिनेटमा माओवादीको गलत हर्कत र दुस्प्रयासविरुद्ध केही बोल्न सक्दैन, गृहमन्त्री भएर चुनाव गराउँदा आफैं बुथ क्याप्चरमा परेर चुनाव हारेँ भन्छ भने अब त्यस्तो नेताबाट कार्यकर्ताले के अपेक्षा गर्ने ?
सम्भवत: मुलुक केही समयभित्रै सहमतीय सरकार बनेर निर्वाचनमा जाँदै छ । माओवादीको गलत क्रियाकलापको भण्डाफोर गर्न संयुक्त रूपमा यही २६ गते खुलामञ्चमा काङ्गे्रसलगायतका दलले विरोधसभाको आयोजना गर्दै छन् । यस्तो अवस्थामा काङ्गे्रसको नेतृत्वले सोच्न जरुरी छ अब अगाडि कसलाई बढाउने ? २६ गतेको खुलामञ्चमा काङ्गे्रसको तर्फबाट मन्तव्य राख्ने वक्ताहरू को–को हुनेछन् ? सर्वत्र काङ्गे्रसी कार्यकर्ताको जिज्ञासा र छलफलको विषय बनेको छ यो । चार वर्षअगाडि नै अब माओवादीसँग वार कि पारको लडाइँ लड्नुपर्छ भन्ने सटिक अभिव्यक्ति दिने खुमबहादुर खड्काजस्ता जुझारु र कार्यकर्तापङ्क्तिमा लोकप्रिय नेताहरूलाई चाटुकार प्रवृत्तिका कथित नेताहरूको छलछामका कारण पछाडि पारिएको थियो । खुमबहादुर खड्काले चार वर्षअघि औंल्याएको कुरा अहिले सिद्ध भएको छ । कतिपय नेताहरूको अदूरदर्शिताका कारण काङ्ग्रेस आज कुण्ठामा परेको अवस्था छ । २६ गते खुलामञ्च पुग्ने कार्यकर्ता माओवादीसँग लड्नका लागि एजेण्डाको अपेक्षा गरेर आउनेछन् । तसर्थ, उक्त दिन काङ्गे्रस, एमालेलगायतका दलबाट संयुक्त कार्यक्रमको आयोजना भएको हुँदा काङ्ग्रेस पार्टीका तर्फबाट बोल्ने वक्ता सीमित हुन सक्छन् । सीमित वक्ता हुने भए पनि अहिले आएर खुमबहादुर खड्काजस्ता नेताहरूको अपरिहार्यता सिद्ध भएको परिवेशमा काङ्गे्रसका पदासीन नेताहरूले यदि व्यक्तिगत आकाङ्क्षाभन्दा माथि उठेर पार्टीका लागि सोच्ने हो भने २६ गतेको काङ्गे्रसको वक्तामा खुमबहादुर खड्काको नाम छुटाउने गल्ती गर्न हुँदैन । काङ्गे्रसी कार्यकर्ताका लागि उक्त दिन अत्यन्त महŒवपूर्ण हुनेछ । त्यस दिन खुलामञ्च पुग्ने कार्यकर्ताले गाउँमा गएर ‘एमालेले जति हाम्रा नेताले बोलेनन्, काङ्गे्रसमा कोही रहेनछ’ भन्दै हीनताबोध गर्ने परिस्थिति पैदा नगराउनुहोस् । काङ्गे्रसका आदरणीय नेताज्यूहरू ज–जसले बोल्नुहुन्छ, त्यस दिनका लागि आफ्नो समय पनि खुमबहादुर खड्कालाई प्रदान गर्नुहोस् । यति त्याग देखाउनुहोस्, अनि माओवादी एजेण्डामा काङ्गे्रसलाई हिँडाउने मनोनीत महामन्त्रीलाई मञ्चमा नराख्नुहोस् । झलनाथ खनाललाई आफ्नै कार्यकर्ताले गालामा हानेको झाडपको स्मरण गर्नुहोस् । २६ गते कृष्णप्रसाद सिटौलालाई टुँडिखेलमा जान रोक्नुहोस् । काङ्गे्रस नेताहरूलाई यही अनुरोध र फेरि पनि काङ्गे्रसलाई खुमबहादुर खड्काको जस्तो जुझारूपन, प्रजातन्त्र, पार्टी र कार्यकर्ताप्रतिको लगावका साथ पार्टी–सङ्गठनलाई अघि बढाउन आग्रह गर्दछु । इमानदार सच्चा कार्यकर्ताको रूपमा व्यक्त गरिएको यस आवाजको सुनुवाइ होस् । काङ्गे्रसको नाममा भिजिलान्तेको प्रयोग रोक्न आग्रह गर्दै आगामी निर्वाचनमा काङ्गे्रसको जित सुनिश्चित हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु । जयनेपाल ।
– शरद अधिकारी
नेपाली काङ्गे्रस बाह्रौँ महाधिवेशन बुथ प्रतिनिधि, धादिङ