नेपालले चिन्न नसकेको एक महामानव

नेपालले चिन्न नसकेको एक महामानव


जंगबहादुरको पालामा अङ्ग्रेज सेनालाई सहयोग गरी भारतीय जनविद्रोहलाई दमन गर्न लखनउ गएका नेपाली -गोर्खाली) सेनाले त्यहाँका दरबारहरूमा भेट्टाएको मोती फ्याँकेर सुन ल्याएको कुरा इतिहासमा पढ्न पाइन्छ । हातमा परेको मोती फ्याँकेर सुन खोज्ने त्यस्ता दृष्टान्त हाम्रो इतिहासमा एक होइन अनेक भेटिन्छन् । भीमसेन थापा सेरिएर मर्नुपरेको, लक्ष्मीप्रसाद देवकोटा र भक्त कटुवालहरू भोकभोकै मर्नुपरेको । यो देशमा प्लेटो, रुसो, होमर, कन्फ्युसियस, आइन्स्टाइन, ग्यालिलियोजस्ना दार्शनिक र वैज्ञानिकहरू जन्मिएका भए पनि आज तिनीहरूलाई संसारले चिन्न पाउने थिएन । इतिहासमा धेरै दार्शनिकहरू जन्मिएका पनि हुन सक्छन् यहाँ, तर उनीहरू आफ्नो पहिचान पनि दिन नसक्ने गरी हराएर गए । वर्तमानमा देश र सम्पूर्ण जनताले नै चिन्न नसकेको एउटा महामानवले त्यही नियति भोग्नुपरेको छ । पश्चिमा मुलुकको कुनै सचेत समाजमा जन्मन पुगेको भए विश्वभरि चर्चाको शिखरमा रहने व्यक्ति आज अकल्पनीय दुःखी जीवन बिताउँदै हुनुहुन्छ । र, उहाँको नाम राखिएको छ- रूपचन्द्र विष्ट ।
झुस्स दाह्री पालेको, गाला धस्सिएको, भोको अनुहार, मैलो लुगा लगाएको, अग्लो एउटा मानव आकृति । रूपचन्द्र विष्टको बाहिरी स्वरूप यति नै हो । झट्ट हेर्दा पागल अथवा माग्नेजस्तो देखिने यो व्यक्तिभित्र संसारलाई नवीन सोचमा डोर्‍याउने अथाह ऊर्जा छ भनेर कसले पत्याएको छ र आज – हरेक विषयलाई बेग्लै ढङ्गले सोच्ने र सोचविचार नगरी नबोल्ने कम राजनीतिज्ञ र बढी दार्शनिक रूपचन्द्र विष्ट आचरणका दृष्टिले कट्टर कम्युनिस्टजस्तो देखिनुहुन्छ । तर, कम्युनिस्टहरूको गलत रवैयाका बारेमा कटु आलोचना गर्न पनि पछि नपर्ने विष्टको प्रखर स्वभावबाट तर्सिएर उहाँलाई ‘मण्डले’ भनेर बद्नाम गर्ने दुस्प्रयास गरे कतिपयले । यो पञ्चायती व्यवस्थाको अन्ततिरको कुरा थियो । यसबारे टिप्पणी गर्दै उहाँले भन्नुभएको थियो, ‘अहिलेका एमाले भन्नेहरू रूपचन्द्र विष्ट बिग्रियो, मण्डले बन्यो भनेर हिँडे, अनि मण्डलेहरूले हो हामीले बिगार्‍यौं त्यसलाई भनेर भने । काङ्ग्रेस, मसाले आदिले हो त्यो बिग्रेकै हो भनेर हिँडे, जनसाधारणले हो रे हो रे भने । झुटो बढी मनपराउने स्वभाव हाम्रो नेपालको समाजको मनोविज्ञान छ । सत्य जतिपटक भने पनि असरै नपर्ने झुटो छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाने हुँदोरहेछ ।’
प्रजातन्त्र पुनर्स्थापनापछि दुई-दुईपटक संसदीय निर्वाचनमा उम्मेदवार भएर हार्नुभएका विष्टलाई यहाँका जनता देखेर निराशाले यति साह्रो घेर्‍यो कि उहाँ आफैं मर्ने विचार गर्नुभयो । तर काल नआई मरिँदैन भनेझैं पछि के-के आशा पलाएछ फेरि चाँडै मर्ने धारणा उहाँले त्याग्नुभयो । यसबारे उहाँ भन्नुहुन्छ, ‘म कसैलाई काम नलाग्नेरहेछु भनी जाने -मर्ने) विचार गरेको थिएँ तर फेरि चाँडै गएर पो के हुने हो र भन्ठानेर बस्ने निधो गरेँ । अहिले स्वास्थ्यस्थिति अलि सुध्रिएको छ ।’ रूपचन्द्र विष्ट निष्पक्षता र सक्रियताका लागि ‘थाहा’ आन्दोलन सुरु गर्नुहुन्छ । तर, जनता नबुझेर हो वा बुझी-बुझी बुझपचाएर हो उहाँलाई साथ दिन उत्साही छैनन् । यस सम्बन्धमा उहाँको सटिक टिप्पणी छ, ‘मान्छेका आकारका पशुका प्रकारले बाँचिरहेको मान्छेभित्रको मान्छे जगाउने प्रयासस्वरूप ‘थाहा’ आन्दोलन गरियो या त मान्छे जाग्दै जागेनन्, जे-जति जागे लुच्छा फटाहालाई नै काम लागे ।’ रूपचन्द्र विष्ट आर्थिक दृष्टिले त्यति कमजोर नभए पनि उहाँको जीवनशैली बडो विरक्त किसिमको छ । काठमाडौं कालिमाटीजस्तो चहलपहल भएको ठाउँमा रहेको चारतले घरमा उहाँ बस्नुभएको छैन । त्यही घर नजिक रहेको सानो टुक्रो जग्गामा ड्रमले छाएको एउटा कटेरोमा उहाँ बस्नुहुन्छ । एउटा नेपालीले पाउने जति दुःख व्यहोर्न रहर लागेर होला सायद उहाँले यस्तो गर्नुभएको । रूपचन्द्र विष्टको वास्तविक रूप नचिन्नेहरूले उहाँको उक्त कटेरोलाई ‘पागलखाना’ भन्ने गर्दछन् । यसप्रति उहाँको चित्त दुखाइ पनि छैन । कोही भेट्ने मान्छे आए टुटे-फुटेका भाँडामा नुन र जडीबुटी मिसाएको चियाले सत्कार गर्नु उहाँको सौखको विषय हो । उहाँ आफैं चिया बनाउने र आफैं भाँडा माझने गर्नुहुन्छ । सम्पत्तिले पुगेर पनि यति दुःखलाग्दो किसिमले जीवन धान्ने मानिस सायद अन्यत्र खोजेर पाइँदैन । मन लागेको बेलामा त्यही झुपडीमा खाना बनाएर खानु, मन नलागे त्यसै सुतिदिनु उहाँको दिनचर्या । पुराना मोडेलको ‘मर्सिडिज’ कार उहाँको ग्यारेजमा थन्किएको छ । त्यसको बदलामा उहाँको सवारी साधन छ- एउटा पुरानो साइकल । उहाँले लगाउने गरेको कपडा जस्तै झुत्रा र मैला देखिन्छन् ।
उहाँको ‘थाहा आन्दोलन’ प्रचार गर्दाको सवारी स्कुटर पनि म्युजियममा राख्न लायकको भएको छ । उमेरमा उहाँ कतिसम्म बलवान् हुनुहुन्थ्यो भने बाटोमा स्कुटर लिएर हिँड्दाहिडँ्दै स्कुटर बिग्रियो भने काँधमा स्कुटर बोकेर ग्यारेजसम्म पुर्‍याउनुहुन्थ्यो । फलामको रड बंग्याउने तागत थियो उहाँमा । त्यसो त विष्ट कुस्तीवाद -रेस्लर) पनि हुनुहुन्थ्यो कुनै समय ।
विष्टको पारिवारिक कुरा गर्दा उहाँको वैवाहिक जीवनलाई पनि भुल्नुहुँदैन । अहिले ब्रह्मचारीझैं देखिने रूपचन्द्रले कुनै समयमा बिहे गरेर घरजम गर्नुभएको थियो । उहाँले बिहे गर्नु भो राणाकी छोरी काम भने नोकर्नीलाई झैं लगाउने । त्यसपछि उहाँको वैवाहिक जीवन त्यति सुमधुर हुन सकेन । काम गर्न नसक्ने आइमाई रूपचन्द्रको स्वास्नी हुन सक्दैन भनेर उहाँले श्रीमतीलाई छाडिनै दिनुभयो र सुरु भयो वैराग्य जीवन । सम्पत्तिले पुगे पनि एउटा गरिबभन्दा गरिब नेपालीको जीवन जस्तै बनाउनुभयो उहाँले आफ्नो जीवन ।
बहुदलीय व्यवस्था आइसकेपछि पनि देशले एउटा निश्चित दिशा र गति लिन नसकेकोमा उहाँको सबभन्दा ठूलो चित्तदुखाइ छ । यसबारे उहाँ भन्नुहुन्छ- ‘हजारौंको बलिदान गरेर लाखौंले तपस्या गरेर ल्याएको प्रजातन्त्र करोडौंलाई वास्ता भएन । राजनेताबाट जनताले असम्बन्धित आश्वासन पाए । फटाहाले नहुने कामको कबुल गरेर भोट हालेर चुनाव जिताइदिन्छ । डिल्लीरमण रेग्मीजस्ता तपस्वी चुनाव हार्छन्, जोगे -जोगमेहर श्रेष्ठ) जस्ताले चुनाव जित्छन् ।’ जान्न नखोज्ने तर जानेको स्वाङ पार्नेहरूको यहाँ बाहुल्यता रहेको चर्चा गर्दै उहाँ अगाडि भन्नुहुन्छ, ‘आगोले पोल्छ भन्ने सुनेपछि ए आगोले पोल्छ भन्दै हिँड्ने तर सचेत नहुनेहरू यहाँ थुपै्र छन् ।’
कुनै समय राजा महेन्द्रका ‘फ्यान’ बन्नुभएका विष्ट राजा महेन्द्रलाई नै सबभन्दा ठूलो कम्युनिस्ट भन्न पनि पछि पर्नुहुन्न । तर हाल आफू कम्युनिस्ट हुन नसकेको तीतो सत्य यसरी बताउनुहुन्छ, ‘मोटरमा हेर्न गयो ड्राइभर कम्युनिस्ट नहुने मोटरमालिकचाहिँ कम्युनिस्ट हुने, खेतमा हेर्न गयो भने कुत खाने कम्युनिस्ट जोताहा कम्युनिस्ट होइन । रिक्साचालकचाहिँ कम्युनिस्ट होइन रिक्सा चढ्नेचाहिँ कम्युनिस्ट । सानो कर्मचारी कम्युनिस्ट होइन हाकिमचाहिँ कम्युनिस्ट । साहुको नोकर कम्युनिस्ट होइन साहुचाहिँ कम्युनिस्ट । यो कुन जाली-फटाहा तरिका परेको छ कम्युनिस्टलाई – यिनै जाली फटाहा कम्युनिस्टहरूमा सामेल हुन सकिएन ।’
देशको राजनीतिमा मात्र होइन संसारभरि धर्ममा पनि विकृति आएको टिप्पणी उहाँ गर्नुहुन्छ । यसबारे प्रतिक्रिया व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, ‘दिनु धर्म लिनु पाप लेनदेन बराबर न धर्म न पाप । अहिले धर्मका नाममा अधर्म गरिरहेका छन् । क्राइष्टले हरेक मानवीय समस्याको समाधान बताए, आचरण पनि गरे, क्रिश्चियनहरू नै अरू धर्मावलम्बीहरूलाई घृणा गर्दछन् । इमानमा जोड सायद महम्मदले जति कसैले दिएका छैनन् । बेइमानीलाई युक्तिको प्रयोग गर्नेहरू मुसलमानमै धेरै देखिए । हिन्दू ऋषिमुनिहरूले सत्यमा जोड दिए तर हिन्दू हुँ भन्नेहरू जति फटाहा अरू छैनन् । चेतना -थाहा) मा बुद्धले जोड दिए । बुर्द्धधर्मलाई तन्त्रको रूपमा दुरुपयोगहरू पनि भइरहेका छन् । तर, अरूको दाँजोमा यसलाई त्यति बिगार्न सकेनन् । धार्मिक हुनु ठीक धार्मिक सम्प्रदाय हुनु बेठीक छ ।’

कस्सिए माधव नेपाल
बाईस दलको समर्थन यथावत् रहेपछि प्रधानमन्त्री माधवकुमार नेपाल दृढतापूर्वक अघि बढ्ने हुनुभएको छ । माओवादी शान्ति र संविधानका प्रति उदासीन रहेका कारणले पनि प्रधानमन्त्री नेपाललाई राष्ट्रिय दायित्वबोध भएको र एउटा सकारात्मक टुङ्गोमा नपुर्‍याई सरकार नछोड्न उहाँ कृतसंकल्पित भएको बुझिन्छ । यही सङ्कल्पका बीच उहाँ संसद्को अधिवेशन बोलाई वारि्षक बजेट तथा सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न कटिबद्ध हुनुभएको छ । माओवादीले संसद्को कारबाही सञ्चालन गर्न कदाचित दिएनन् भने वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि बजेट ल्याउने सोच प्रधानमन्त्री नेपालले बनाउनुभएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिइएमा तत्काल संसद्को बैठक अन्त्य गराउने र बजेट पनि अध्यादेशमार्फत ल्याउने सरकारी योजना छ । असार ३१ गतेभित्र बजेट पेस भई पेसी खर्च विधेयक पारित नभएमा साउन १ गतेदेखि राज्यको सम्पूर्ण आर्थिक प्रक्रिया पूर्ण अवरुद्ध हुनेछ र देशमा ठूलो सङ्कटको अवस्था सिर्जना हुनेछ । यही कारणले सरकार दृढतापूर्वक अघि बढ्ने निष्कर्षमा पुगेको बताइन्छ । सरकारले असार २१ गते संसद्को अधिवेशन बोलाउने, २३ गते राष्ट्रपतिद्वारा सम्बोधन हुने र २८ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम बनाएको छ । तर, माओवादीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्को बैठक चल्नै नदिने घोषणा गरेको छ । माओवादीसँग सहमतिका लागि एक वर्षदेखि निरन्तर प्रयासमा रहनुभएका प्रधानमन्त्री नेपाल पनि अब थाक्नुभएको छ र उहाँ अब देशमा शान्ति र नयाँ संविधानका लागि कुनै पनि वैकल्पिक उपाय अवम्बन गर्न कटिबद्ध देखिनुभएको छ ।

प्रचण्डलाई नौ गाली
विस्तारित बैठकले धेरै कुराहरूको टुङ्गो लगाउने
राजा-महाराजाझैं सधैं प्रशंसा र वाहवाही मात्र ग्रहण गर्ने बानी परिसकेका प्रचण्डले यसपटक आफ्नै पार्टीभित्र ज्यादा आलोचना र टिप्पणी बेहोर्नु परेपछि उहाँ नराम्रोसँग तिलमिलाउनुभएको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा आफ्नोभन्दा डा. बाबुराम भट्टराईको नाम ज्यादा चर्चामा आउन थालेपछि त्यस्तो चर्चालाई निस्तेज गर्ने उद्देश्यले बोलाइएको पोलिटब्युरो बैठकमा प्रचण्ड स्वयम्ले कठोर प्रहारको सामना गर्नुपर्‍यो । बैठकका सहभागीहरूले उहाँलाई दम्भी, अहंकार, आत्मकेन्द्रित, व्यक्तिवादी, सारसङ्ग्रहवादी, दक्षिणपन्थी, मौकापरस्त, चलखेलवादी र बोलीमा अस्थिरता भएकोजस्ता नौ गम्भीर आरोप लगाए, जसको प्रतिवाद गर्न प्रचण्डलाई मुस्किल पर्‍यो । आफू पार्टीप्रमुख भएको करिब साढे दुई दशकमा सबैभन्दा नराम्रोसँग आलोचित भएको महसुस प्रचण्डले गर्नुभएको छ र यस्तो हुनुका पछाडि उहाँले ‘सत्रुहरूको गम्भीर षड्यन्त्र’ देख्नुभएको छ । बैठकमा कठोर आलोचना बेहोर्नुपरेपछि प्रचण्डले आफू आफ्नै भन्नेहरूबाट घेराबन्दीमा परेको भन्ने सार्वजनिक अभिव्यक्तिसमेत दिनुभएको छ । प्रचण्डको यस्तो अभिव्यक्तिलाई माओवादी पार्टीका नेताहरूले अत्यन्त गम्भीरताका साथ लिएका छन् र पार्टीको आगामी बैठकमा उहाँसँग स्पष्टीकरण लिने बताइएको छ । तर, केही नेताहरू प्रचण्डले आफ्नो अभिव्यक्तिका बारेमा तत्कालै स्पष्टीकरण दिनुपर्ने या सार्वजनिक रूपमै आत्मालोचना या खण्डन गर्नुपर्छ भन्ने माग राख्दै छन् । माओवादी पोलिटब्युरोको गत साता सम्पन्न बैठकमा प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई सुल्टाएर पारित गरिएको छ । आफ्नो नेतृत्वमा सरकार गठन हुन नसक्ने स्थितिलाई प्रचण्डले प्रतिवेदनमा माओवादीकै नेतृत्वमा सरकार गठन हुन नसक्ने भनी उल्लेख गर्दै प्रतिपक्षमा बसेर सशक्त ढङ्गले सङ्घर्ष अघि बढाउनुपर्ने बताउनुभएको थियो । बैठकले माओवादीकै नेतृत्वमा सरकार गठन हुनुपर्ने कुरालाई जोड दिएको छ । माओवादीको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने व्यहोराको निर्णय हुनुलाई धेरैले डा. बाबुराम भट्टराईको विजयको रूपमा चर्चा गरेका छन् । तर, स्मरणीय कुरा के छ भने बैठकले ‘प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने’ भनी यसअघि पटक-पटक गरिएका निर्णयहरूलाई खारेज नगरी यथावत् राखेको छ । पुरानो निर्णय खारेज नहुनुलाई प्रचण्डले आफू प्रधानमन्त्री बन्ने कुरा यथावत् राखिएको भनेर बुझनुभएको छ भने अन्य नेताहरूले चाहिँ माओवादीलाई अवसर प्राप्त भएको र अब जोकोही पनि नेताले सरकारको नेतृत्व गर्न सक्ने भनेर बुझेका छन् । अध्यक्ष प्रचण्डलाई पोलिटब्युरो बैठकमा धेरैले कठोर आलोचना गरेका भए पनि अहिलेसम्म उहाँलाई हटाएर नेतृत्वमा अरू कसैलाई स्थापित गर्ने सोच कसैले बनाएको बुझिँदैन । तर, निकै आलोचना भएको हुनाले पुल्पुलिएका छोराछोरी सानोतिनो गालीले पनि रुवाबासी गर्ने तहमा पुगेझैं भएको छ यतिबेला प्रचण्डलाई । प्रचण्डले आफूलाई संयम राख्न सक्नुभएन भने पार्टीको विस्तारित बैठकले नेतृत्वकै बारेमा पनि पुनरि्वचार नगर्ला भन्न सकिन्न ।
महाधिवेशनको तयारीमा रहेको माओवादीले तत्काल महाधिवेशन गर्न सक्ने, गर्न हुने र गर्न मिल्ने अवस्था नरहेको ठहर गर्दै आगामी असोजमा विस्तारित बैठकको आयोजना गर्ने भएको छ । पार्टीको जिल्लास्तरीय नेताहरू, भ्रातृ सङ्गठनका प्रतिनिधि तथा राज्य समितिका सदस्यहरूसमेतले भाग लिने विस्तारित बैठकलाई महाधिवेशनपछिको ठूलो रूप मानिन्छ र यो बैठकले चाहेमा पार्टीमा धेरै ठुल्ठूला परिवर्तन पनि ल्याउन सक्छ । प्रचण्ड पहिले-पहिलेभन्दा बढी क्रान्तिकारी र देशभक्त देखिन कसरत गर्दै हुनुहुन्छ । उहाँ पार्टीले सङ्घर्षबाट मात्र उपलब्धि हासिल गर्न सक्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ र नयाँ प्रकृति र नयाँ कोटिको विद्रोहको स्थिति कसरी पैदा गर्न सकिन्छ भन्ने ‘अनुसन्धान’मा प्रचण्ड लाग्नुभएको छ । विस्तारित बैठकलाई आफ्नो पक्षमा पार्न प्रचण्डले अहिल्यैदेखि कसरत सुरु गरिसक्नुभएको छ । आफ्ना आलोचकहरूलाई ठेगान लगाउन सकिन्छ भन्नेबारेमा गृहकार्य सुरु गरिसक्नुभएका प्रचण्डले आउँदा तीन महिनाभित्र के-कस्ता नौटंकी रच्नुहुने हो, प्रतीक्षाको विषय बनेको छ ।
प्रचण्डको जतिसुकै आलोचना गरिएको भए पनि मोहन वैद्य, डा. बाबुराम भट्टराई र रामबहादुर थापाबीच समन्वय भई प्रचण्डविरुद्ध सशक्त मोर्चा बन्न सक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । प्रचण्डलाई अलिक साइजमा राख्ने हदसम्मको क्रियाकलापमा मात्र तीन नेता एक भएजस्ता देखिएका हुन् । किरण र बादल प्रचण्डलाई छोडेर बाबुरामसँग नजिक पुग्छन् भनी माओवादीलाई ठ्याम्मै नबुझेकाहरूले मात्र अनुमान र विश्वास गरेका हुन् । कुनै एक दैनिक अखबारले प्रचण्डविरुद्ध तीन नेताहरू एक ठाउँमा रहेको भनी प्रचार गर्नुलाई त्यस्तै अपरिपक्वताको दृष्टान्तको रूपमा लिइएको छ । वैद्य र बादल निश्चित कालखण्डमा बाबुराम भट्टराईसँग जतिसुकै नजिक देखिए पनि अन्ततः उनीहरू प्रचण्डकै पक्षमा उभिने छन्, यसलाई माओवादी पार्टी नेतृत्वको विशिष्टताका रूपमा बुझन उपयुक्त हुनेछ । राजा-महाराजाको झैं गाली सुन्ने सामर्थ्य गुमाइसकेका कारणले प्रचण्डमा छटपटी पैदा भएकोले मात्र माओवादीमा ठूलै विवाद र तनाव सिर्जना भएजस्तो देखिएको हो ।

टिम निर्माणमा गल्ती भए क्षति पुग्न सक्ने
सुशील पहिलो र देउवा तेस्रो स्थानमा
नेेपाली काङ्ग्रेस पार्टीले आफ्नो बाह्रौं अधिवेशनको अन्तिम तयारी गरिरहँदा नेतृत्वका लागि पार्टीभित्र प्रतिस्पर्धा सुरु भएको छ । पार्टीमा सभापति पदका निम्ति चार नेताको नाम विभिन्न स्तरमा चर्चामा रहेका छन् । चर्चामा रहेका सुशील कोइराला, खुमबहादुर खड्का, शेरबहादुर देउवा र केबी गुरुङमध्ये अन्ततः कोइराला र देउवा मात्र मैदानमा खडा हुने अनुमान राजनीतिक विश्लेषकहरूको छ । काङ्ग्रेसलाई बाहिरबाट मात्र हेर्नेहरूले सभापति पदमा सुशील कोइराला र शेरबहादुर देउवाबीच कडा प्रतिस्धर्पाको स्थिति रहने ठानेका छन्, तर वास्तविकता बाहिरबाट देखिएभन्दा नितान्त भिन्न रहेको छ । कोइरालासँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा यतिबेला देउवा हुनुहुन्न, पार्टीभित्र उहाँको स्थिति भनेको खुमबहादुर खड्कासँगको प्रतिस्पर्धामा पनि पछि पर्नुहुने ठानिन्छ । सभापतिमा उल्लिखित चारैजना उम्मेदवार मैदानमा खडा भए भने सबैभन्दा अगाडि सुशील कोइराला आउनुहुनेमा कुनै शङ्का गरिरहनुपर्ने स्थिति छैन, त्यसपछिको बलियो स्थिति खुमबहादुर खड्काको देखिन्छ र देउवा तेस्रो तथा गुरुङलाई चौथो स्थान मिल्न सक्ने अवस्था छ । शेरबहादुर देउवा एमालेमा वामदेव गौतमझैं एक्लो र कमजोर हुनुभएको छ । एमाले विभाजन गर्ने बेलामा वामदेव पक्ष संस्थापन पक्षभन्दा गह्रौं देखिन्थ्यो, वामदेवका पक्षमा एमाले संसदीय दलका बहुमत सदस्य मात्र थिएनन् ‘फेस भ्यालु’का अनेक नेताहरू पनि थिए । तर, अहिले एमालेभित्र वामदेव गौतम एक्लोप्रायः हुनुहुन्छ र आफ्नो पार्टीभन्दा पराय पार्टीलाई नजिकको ठान्ने अवस्थामा पुग्नुभएको छ । शेरबहादुर देउवा पनि ०५९ सालमा पार्टी विभाजन गराउँदा निकै बलियो देखिनुहुन्थ्यो । संसदीय दलमा मजबुत स्थिति रहेको देउवाका पक्षमा पनि ‘एक से एक फेस भ्यालु’का नेता थिए । खुमबहादुर खड्का, प्रकाशमान सिंह, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, बलबहादुर केसी, जेपी गुप्ता, प्रदीप गिरीलगायतका नेताहरू देउवाका साथमा थिए, आजका दिनमा उल्लिखित कोही पनि नेताहरू देउवाका साथमा छैनन् । गच्छदार र गुप्ताले त पार्टी नै परित्याग गरिसक्नुभएको छ । देउवाका पक्षमा प्रभावकारी नेता एकजना मात्रै मानिनुहुन्छ- विमलेन्द्र निधि, जो प्रभावका दृष्टिले काङ्ग्रेसभित्र देउवाबराबर हुनुहुन्छ । देउवालाई बोकेर हिँड्दाभन्दा स्वतन्त्र भूमिकामा निधिको उचाइ अरू माथि पुग्ने विश्वास गरिन्छ । मन्त्रीहरूमध्ये डा. प्रकाशशरण महत र सभासद्मध्ये डा. आरजु राणा देउवा देउवाका पक्षमा दृढतापूर्वक उभिने देखिएको छ । नेता गोपालमान श्रेष्ठ प्राविधिक कारणले मात्र देउवाका पक्षमा देखिन बाध्य हुनुहुन्छ । त्यसैले यतिखेर सभापति पदमा प्रतिस्पर्धा हुँदा देउवा तेस्रो स्थानमा पर्ने देखिनुहुन्छ भन्ने सत्य स्वीकार गर्न काङ्ग्रेसबाहिरकालाई मुस्किल परे पनि वास्तविकताचाहिँ यस्तै देखिन्छ ।
सभापति पदमा कतिजना उम्मेदवार बन्दै छन् भन्ने कुराको निर्धारण शीर्षस्थ नेता सुशील कोइरालाले आफ्नो टिम कसरी निर्माण गर्नुहुनेछ भन्ने कुराले गर्ने देखिएको छ । पार्टीमा उपाध्यक्ष र महामन्त्री पदका लागि योग्य नेताहरूको सङ्ख्या ठूलो छ र ती पदमा दाबी गर्नेहरू पनि धेरै छन् । रामचन्द्र पौडेल, खुमबहादुर खड्का, प्रकाशमान सिंह, डा. रामशरण महत, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, चक्र बास्तोला, गोपालमान श्रेष्ठ, लक्ष्मणप्रसाद घिमिरे, गोविन्दराज जोशी, कुलबहादुर गुरुङ, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, नरहरि आचार्य, चित्रलेखा यादव, सुजाता कोइरालालगायतका नेताहरूमध्ये कुन नेतालाई कुन जिम्मेवारीमा कसले कसरी ‘सेट’ गर्छ भन्ने कुराले महाधिवेशन परिणाममा प्रभाव पार्ने भएकोले सुशील कोइराला यस विषयमा विशेष रूपले गम्भीर हुनुपर्ने देखिएको छ । सुशील कोइरालाले आफ्नो टिममा पार्न नसकेका व्यक्तिहरूलाई आफ्नो टिममा सामेल गर्ने सोच देउवाले बनाउनुभएको छ । त्यसैले टिम निर्माण गर्ने बेलैमा कोइरालाले विशेष ध्यान पुर्‍याउनुपर्ने अवस्था आएको हो । अहिलेसम्मको स्थितिमा देउवाले आफू सभापतिमा उठ्दा विमलेन्द्र निधिलाई महामन्त्रीको उम्मेदवार बनाउनुहुने सम्भावना छ । तर, खुमबहादुर खड्कालाई आफ्नोतर्फबाट महामन्त्रीको उम्मेदवार बनाउने कसरत पनि देउवाले गरिरहनुभएको छ । खड्कासँग कुरा मिलाउन देउवा सफल भएमा निधिलाई के गर्नुहोला, सो स्पष्ट हुन सकेको छैन । देउवाले खड्कालाई आफ्नो टिममा सामेल गर्न अति उच्च प्रयास गरिरहनुभएको बुझिन्छ । महामन्त्री पदका लागि इच्छुक नेताहरू कम्तीमा चारजना रहेका छन्, तर खुमबहादुर खड्का भने आफू सभापति पदमा उम्मेदवार हुन प्रयासरत देखिनुहुन्छ । खड्का यसरी सभापतिको उम्मेदवार बन्ने कसरतमा लाग्नुभएको भए पनि सुशील कोइरालाले चाहनुभएमा खड्काको साथ कोइरालालाई सहजै प्राप्त हुन सक्ने सम्भ्ाावना छ । तर, पार्टीका केही व्यक्तिहरू कोइराला र खड्काबीच मिलाप हुन नदिन अनेक ढङ्गले सक्रिय रहेका छन् । प्रवक्तासमेत रहनुभएका अर्जुननरसिंह केसीलाई पनि सम्भावित महामन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ । तर, सुजाता कोइराला कुनै पनि हालतमा केसीलाई महामन्त्री बन्न नदिन सक्रिय रहने अनुमान गरिएको छ । सुजाता आफैं महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना कम छ, तर उहाँले अर्जुनबाहेक अरू कसैलाई महामन्त्रीमा समर्थन गर्ने सम्भावना बढी देखिएको छ । डा. रामशरण महतलाई उच्चस्तरका नेता मानिन्छ, तर उहाँले अहिलेसम्म कुनै उच्च पदमा दाबी गर्नुभएको जानकारीमा आएको छैन । कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरे र चक्र बास्तोलाले पनि आफू कुन पदका लागि तयार रहने हो भन्ने कुराको सङ्केत दिनुभएको छैन ।
काङ्ग्रेसमा यतिबेला सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, खुमबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पार्टीको मेरुदण्ड मानिन्छ । केबी गुरुङ, डा. रामशरण महत, अर्जुननरसिंह केसी, लक्ष्मणप्रसाद घिमिरे, गोविन्दराज जोशी, पूर्णबहादुर खड्का र डा. नारायण खड्काको भूमिकाले पार्टीलाई धेरै ठूलो प्रभाव पार्ने देखिन्छ । उल्लिखित नेताहरूमध्ये बहुसङ्ख्यक जता उभिन्छन् पार्टी त्यतै रहने विश्वास गरिन्छ । त्यर्सथमा शेरबहादुर देउवाको स्थिति अहिलेसम्म कमजोर मात्र होइन टिठलाग्दो नै ठानिएको छ । विमलेन्द्र निधि एकजनाले पनि साथ नदिएको स्थिति हुन्थ्यो भने देउवा भूविक्रम नेम्वाङ हराएझैं हराउने थिए भन्ने धेरैको भनाइ छ । देउवालाई बलियो बनाउँदा काङ्ग्रेस पुनः विभाजन हुने हो कि भन्ने त्रासका कारणले पनि मानिसहरू देउवालाई साथ दिन हिचकिचाइरहेका छन् । आफ्नो राजनीति बलियो बनाउन पछिल्लो समयमा देउवा परिवार धन सङ्ग्रहमा केन्द्रित रहेको देखियो, तर अहिले त्यही धनका कारण देउवा पार्टीमा बद्नाम हुनुभएको छ र कार्यकर्ताहरू उहाँबाट टाढिएका छन् । सुशील कोइरालाको स्वच्छ छवि, इमानदारी र लाभको पदबाट जीवनभर वञ्चित हुनुलाई काङ्ग्रेसमा अत्यन्त सकारात्मक रूपमा लिइएको छ । गिरिजाप्रसाद कोइरालाबाट भएका गल्ती सच्चाएर अघि बढ्न प्रतिबद्ध सुशील कोइरालालाई पार्टीको नेतृत्व सुम्पिन कार्यकर्ताहरू हतार गर्दै छन्, तर उपसभापति, महामन्त्री र सदस्यहरूको चयनमा चुक्नुभयो भने सुशील कोइरालाले पनि क्षति बेहोर्नु नपर्ला भन्न सकिन्न, विश्लेषकहरूको यस्तै भनाइ छ ।

त्रिहत्तर मिनेटसम्म के बोले थाहा भएन
एक साताभन्दा बढी समयसम्म चलेको माओवादी पोलिटब्युरोको बैठकमा यसपटक सहभागीहरूले निकै खुलेर आफ्ना विचार प्रकट गर्ने मात्र गरेनन् बोल्ने क्रममा उनीहरूले निकै लामो-लामो समय पनि लिए । बैठकको अन्तिम दिन गत साताको मंगलबार -असार ८) खड्गबहादुर विश्वकर्माले करिब छपन्न -५६) मिनेट, सोनामले अठसी -६८) मिनेट, हरिभक्त कँडेलले पचपन्न मिनेट र नारायण शर्मा -कमलप्रसाद) ले सबैभन्दा बढी त्रिहत्तर -७३) मिनेट समय लगाएर बोल्नुभएको थियो । बैठकमा सुरुदेखि नै प्रचण्डको व्यापक आलोचना भएकोले क्रूद्ध बन्नुभएका नारायण शर्माले त्रिहत्तर मिनेट लगाएर प्रचण्डका पक्षमा प्रतिवाद गर्ने कोसिस त गर्नुभयो, तर उहाँले के भन्न खोज्नुभएको थियो भन्ने सहभागीहरूले बुझेनन् । जसका पक्षमा बोलिएको हो उसैलाई -प्रचण्डलाई) समेत पट्यारलाग्ने गरी बोलेपछि बैठककक्षमा नारायण शर्मा हास्यको पात्र बन्नुभएको बताइन्छ । नारायण शर्मा बोलिरहुन्जेल सबैले सुनिरहे, तर कसैले पनि केही बुझेनन् । त्रिहत्तर मिनेटसम्म शर्माले के बोल्नुभएको थियो र उहाँको भनाइको निचोड के थियो भन्ने खोजी अहिले माओवादी पार्टीभित्र भइरहेको छ ।

ओलीको बाटो छेक्न यस्तो प्रयास
संविधान निर्माण तथा शान्ति स्थापना कार्यलाई सम्पन्न गर्न नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली र अर्का परिपक्व नेता भरतमोहन अधिकारीलाई संविधानसभा सदस्य बनाउने तयारी भएपछि एमाले अध्यक्ष झलनाथ खनाल नराम्रोसँग छटपटिनुभएको छ । ओलीलाई प्रधानमन्त्री बनाउनका लागि संविधानसभामा पुर्‍याउन लागेको ठानेर खनाल त्यसरी छटपटाउनुभएको हो । माधव नेपाललाई राजीनामा गराउन पाए प्रधानमन्त्री बन्ने पालो आफूलाई आउने ठानिरहनुभएका झलनाथ खनालले ओलीलाई संविधानसभामा प्रवेश हुनबाट रोक्न सम्पूर्ण प्रयास गर्नुहुने देखिएको छ । खनालले ओलीका लागि सिट खाली गर्न तयार भएको भन्ने ठानिएका सभासद्हरूलाई भेट गरी कुनै हालतमा राजीनामा नदिन फकाउनुभएको मात्र छैन, राजीनामा दिए भविष्यमा पार्टीले कुनै प्रकारको जिम्मेवारी नदिने भनेर तर्साउनु पनि भएको छ । खनालनिकटको एक सूत्रले जनाएअनुसार अहिलेसम्म खनालले पासाङ शर्ेपा र अर्की एक महिला सभासद्लाई अलग-अलग भेटी राजीनामा नदिन चेतावनी दिनुभएको छ । पासाङलाई खनालले तर्साउनुभएको, तर पासाङले जे परे पनि व्यहोर्ने, केपी ओलीका लागि ठाउँ खालीचाहिँ नगरी नछोड्ने दृढता प्रकट गर्नुभएको बताइन्छ । पासाङलाई राजीनामा दिनबाट रोक्न सक्ने मानिसको खोजी यतिबेला खनालले गरिरहनुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । उता भरतमोहन अधिकारीलाई सभासद् बन्न नदिनका लागि भने खनालले बेग्लै युक्ति-बुद्धि प्रयोग गर्नुभएको बुझिन्छ । अब बन्ने सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्रीसहित नेतृत्व गर्ने अवसर दिने वचन दिएर खनालले अधिकारीलाई फकाउनुभएको र अधिकारीलाई खनालको प्रलोभनले निकै प्रभाव पारेको बुझिएको छ ।
केपी ओली आफू सभासद् बन्नका निम्ति लागिपर्नुभएको बुझिँदैन । तर, एमालेका अधिकांश नेताहरू ओली र अधिकारीजस्ता वरिष्ठ नेताहरूलाई संविधानसभामा प्रवेश गराउँदा संविधान निर्माणकार्य अघि बढाउन र शान्ति स्थापना प्रक्रियालाई परिपक्व ढङ्गले सम्पन्न गर्न ठूलो सहयोग पुग्ने विश्वास गर्दछन् । तर, खनाललाई भने संविधान र शान्ति स्थापनाको भन्दा पनि आफ्नै चिन्ताले सताएको छ । ओलीको दर्बिलो साथ रहेको माधवकुमार नेपाललाई प्रधानमन्त्री पदबाट हटाएर र केपी ओलीका विरुद्ध सकिनेजति गुटबन्दी गरेर राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री बन्ने सपना झलनाथ खनालले देख्नुभएको छ । नेपाल र ओलीले जे चाहन्छन् त्यही निर्णय हुने स्थिति एमालेभित्र जीवित छ, वास्तविकता यस्तो हुँदाहुँदै पनि खनाल उहाँहरू दुई वरिष्ठ नेतालाई सक्नेजति चिढ्याउँदै हुनुहुन्छ । यसै साता सम्पन्न काङ्ग्रेस-एमालेको शीर्ष बैठकमा काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले झलनाथ खनाललाई काङ्ग्रेसविरुद्ध जथाभावी नबोल्न चेतावनी दिनुभएको थियो । घिमिरेले संविधान निर्माणमा काङ्ग्रेस र माओवादी बाधक भनी खनालले गर्नुभएको टिप्पणीको जवाफ दिँँदै काङ्ग्रेसले शान्ति स्थापना र संविधान निर्माणकार्यलाई कसरी व्यवधान पैदा गराएको छ भनी प्रश्न गर्नुहुँदा खनाल अक्न न बक्क हुनुभएको थियो । राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न चाहने व्यक्तिले दलहरूलाई जथाभावी बोलेर नचिढ्याउन पनि घिमिरेले चेतावनी दिनुभएको थियो । पछि भरतमोहन अधिकारीले हस्तक्षेप गरेपछि मात्र स्थिति सामान्य भएको थियो । यसप्रकारले खनालको काङ्ग्रेससँगको सम्बन्ध कस्तो छ भन्ने सङ्केत गरेको छ । एमाले, काङ्ग्रेसलगायतका दलहरूलाई चिढ्याएर झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारको प्रमुख बन्ने सपना कसरी देख्नुभएको हो आर्श्चर्यको विषय भएको छ ।

जन्मोत्सव मनाउन झन् ठूलो तयारी
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउनका लागि यसपटक विगतका वर्षहरूमा भन्दा निकै ठूलो तयारी गरिएको छ । राजाको संवैधानिक हैसियत नभए पनि जन्मदिनको तयारी गरिरहेको शुभजन्मोत्सव समारोह समितिले भने ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको ६४औं शुभजन्मोत्सव’ भनी तयारी गरिरहेको छ । राजाको जन्मोत्सव मनाउनका लागि प्रा. डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा १५६४ जना सम्मिलित नागरिक समिति गठन भएको छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता एवम् प्रजातन्त्रको संरक्षण र सर्म्बर्द्धनका लागि प्रतिबद्धता लेखिएका ठूला तुल, पर्चालगायतका प्रचार सामग्रीहरू बनिसकेको र सोही विषयमा प्रज्ञा प्रतिष्ठानमा प्रवचन कार्यक्रम राखिएको शुभजन्मोत्सव आयोजक समितिले जनाएको छ ।
प्राप्त जानकारीअनुसार, यही असार २२, २३ र २४ गते तीन दिनसम्म पूर्वराजाको जन्मोत्सव धुमधामसँग मनाइनेछ । असार २३ गते उहाँको जन्मदिन हो । असार २२ गते विभिन्न मठ, मन्दिर तथा शक्तिपीठहरूमा पूजापाठ, भजनकर्ीतन गरिने र सोही दिन बत्तीसपुतलीस्थित ‘शासकको हाम्रो घर’ नामक अनाथ आश्रममा मिठाइ वितरण गरिने भएको छ । २२ गते नै साँझ भक्तपुरको नवदर्ुगा मन्दिरमा पूजापाठ गरिनेछ, सो पूजा भक्तपुरका एकजना पूर्वमेयरको सक्रियतामा हुने जनाइएको छ । यस्तै, असार २३ गते पशुपतिनाथमा विशेष पूजा हुने, मखनस्थित महादेव मन्दिरमा रुद्री-चण्डी पाठ तथा हवन गरिने बताइएको छ । सो कार्यमा राजन महर्जनको सक्रियता रहनेछ । असहाय बालबालिकाहरूका लागि लुगाकपडा वितरण, कमलादी गणेश मन्दिरमा दीपावली, गुह्येश्वरीको प्रणवानन्द आश्रमका विद्यार्थीलाई भोजनलगायतका कार्यक्रमहरू पनि राखिएका छन् । सोही बिहान साढे नौ बजे चक्रपथस्थित नारायणगोपाल चोकमा सर्वसाधारणहरू जम्मा भएर बाजागाजासहित निर्मलनिवास जाने कार्यक्रम रहेको छ । उक्त दिन पत्रकारहरूका निम्ति पौने ११ बजेदेखि निर्मलनिवास खुल्ला हुने पनि जनाइएको छ । त्यस दिन निर्मलनिवासभित्रका गतिविधिको रिपोरि्टङ गर्नका लागि पत्रकारहरूले लाइन बस्नुपर्ने छैन तर परिचयपत्र भने अनिवार्य रूपमा लिनुपर्ने बताइएको छ । पत्रकारहरूले पूर्वराजासँग कुरा गर्न पाउने या नपाउने भन्नेचाहिँ स्पष्ट हुन सकेको छैन ।

राजदूतसँग निराश छन् जापानका नेपाली
विकासको चरमचुलीमा पुगेको मुलुक हो जापान । आर्थिक उन्नति तथा विकासको चरम रफ्तारमा अगाडि बढिरहेको त्यही मुलुकभित्र एउटा ‘नेपाली दूतावास’ पनि छ । त्यस्तो विकसित मुलुकमा रहेको दूतावासले भने जापानमा रहेका नेपालीको थोरै मन पनि जित्न सकिरहेको रहेनछ । आफ्ना देशका नागरिकको हितका लागि आवाज उठाउनु त परै जाओस्, सानो समस्या लिएर नेपाली दूतावासको ढोका ढक्ढक्याउन पुग्ने नेपालीजन पनि निकै निराश भएर र्फकने गरेका छन् । नेपाली राजदूतावास तथा जापानका लागि नेपाली राजदूत गणेश योञ्जनको रुखो र असहयोगी क्रियाकलापसँग भुक्तभोगी नेपाली आफ्नै मुलुकको दूतावासको नाम कसैले लिँदा पनि झर्किन्छन्, रिसाउँछन् । चितवननिवासी २५ वषर्ीय राम कार्की तिक्तता व्यक्त गर्छन्, ‘होइन, यहाँ नेपालको दूतावास पनि छ र भन्या – त्यसले के गर्छ खै थाहा छैन ।’ कुनै आपतकालीन अवस्थामा भिसाको मिति सार्नुपर्दा नेपाली दूतावासप्रति स्थानीय नेपाली ठूलै आश गर्दारहेछन्, तर दूतावासले एउटा औपचारिक पत्र पनि नलेखिदिँदा जापानमा रहेका नेपाली ठूलै समस्यामा पर्ने गरेका छन् । जापानमा रहेका नेपाली वास्तवमा व्यक्तिगत रूपमा राजदूत योञ्जनसँग अत्यन्त रुष्ट देखिएका छन् । ‘राजदूत भनेको देशको पुल हो । तर, आफ्नै मुलुकको राजदूतसँग भेट्न पनि जापानका प्रधानमन्त्रीलाई भेट्नुभन्दा गाह्रो छ,’ यो गुनासो पोखे काठमाडौं असनका नीरज श्रेष्ठले ।
जापान पुगेकी पाटननिवासी विनिता महर्जन विगत नौ महिनादेखि हराइरहेकोमा जापानवासी नेपाली निकै चिन्तित छन् । तर, उनको खोजीमा नेपाली दूतावासले कुनै पहल नगरिदिएकोमा दूतावासमाथिको विश्वास टुटेको छ नेपालीहरूको । ‘हामीले राजदूतलाई व्यक्तिगत रूपमा भेटेर नै विनिताको बारेमा विस्तृत जानकारी गरायौँ तर दूतावासले कुनै चासो नै देखाएको छैन,’ जापानमा बस्ने नेपालीहरू भन्छन् । जापानमा रहेका कुनै नेपालीलाई आपत परी दूतावासको गाडी प्रयोग गर्दा खोज्दा त्यहाँका कर्मचारीहरूले गाडी बिग्रिएको छ भनेर कुरै गर्न नचाहने व्यवहारले स्थानीय नेपालीको मन कुँडिएको छ । आफ्नो मुलुकका जनताप्रति निभाउनुपर्ने थोरै दायित्वप्रति पनि जिम्मेवार नहुँदा मनमनमा बस्नुपर्ने दूतावास र कर्मचारीहरू अहिले स्थानीय नेपालीको आँखाको कसिङ्गर बन्न पुगेका छन् । बरु जापान सरकारले नै स्थानीय नेपालीलाई लामो समयदेखि कानुनसम्मत सहयोग गर्ने गरेको अनुभव सङ्गालेका छन् जापानका नेपालीले । जापानको मिनामी गोयोटोको भन्ने बजारमा एउटा ठूलो लाइब्रेरी छ र त्यो लाइबे्ररीमा अधिकांश मुलुकको झण्डा तथा पुस्तकहरू पाइन्छन् । सोही लाइबे्ररीमा नेपालको झन्डा र केही नेपाली पुस्तक राख्नका लागि पनि राजदूतावासले त्यसै चासो नदेखाएको र पहल नगरिदिएको आरोप जापानमा रहेका नेपालीको रहेको छ । ‘व्यक्तिगत पहलले केही हुँदैन तर सरकारी पहलका लागि दूतावासले अल्छी गर्‍यो । जापानभरका मान्छे आएर भ्रमण गर्ने त्यो लाइबे्ररीमा पनि हामीले नेपालीलाई राख्न सकेनौँ,’ खिन्न छन् नेपाली ।
– राजन घिमिरे, जापाबाट फर्किएपछि

बारको नेतृत्व लिन लोकतन्त्रवादी समूह अग्रसर
सर्वोच्च अदालत बार एसोसिएसनको आगामी २६ गते शनिबार हुन लागेको निर्वाचनमा लोकतन्त्रवादी समूहले कृष्णप्रसाद सापकोटालाई अध्यक्षको उम्मेदवार बनाएको छ । १३ सदस्यीय लोकतन्त्रवादी समूहको उपाध्यक्षमा विजयकुमार सिंह, सचिवमा मेघराज पोखरेल र कोषाध्यक्षमा राजु बस्नेतलाई खडा गरिएको छ । यसैगरी सदस्य पदका लागि कमलबहादुर खत्री, दयाराम हुमागाईं, राजीव बास्तोला, गणेशबहादुर खत्री -के.सी.), थानेश्वर काफ्ले -राजेश), पदमप्रसाद निरौला, रामबहादुर थापा, पूर्णचन्द्र दाहाल र कमलेश द्विवेदीलाई उम्मेदवार बनाइएको छ । २६ गते शनिबार नेपाल बार एसोसिएसन भवन प्राङ्गणमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने बुझिएको छ ।

शाहीको डकुमेन्ट्रीमा काङ्ग्रेस
नेपाली काङ्ग्रेसका युवा नेता तथा साहित्यकार भुपेन्द्रजंग शाहीद्वारा निर्देशित डकुमेन्ट्री ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेस’को विशेष प्रदर्शन गरिएको छ । करिब दुई वर्ष लगाएर निर्माण गरिएको उक्त डकुमेन्ट्रीमा नेपाली काङ्ग्रेसको इतिहासलाई चरणबद्ध रूपमा कैद गरिएको छ । बीपी कोइराला साहित्य तथा अध्ययन प्रतिष्ठानले निर्माण गरेको यो वृत्तचित्रले नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्रका लागि नेपाली काङ्ग्रेसको सङ्घर्ष र योगदानलाई समेटेको छ ।
वृत्तचित्रको विशेष प्रदर्शन समारोहमा निर्देशक शाहीले २००७ सालदेखि दोस्रो जनआन्दोलनसम्मका घटनालाई एक घन्टामा समेट्नु चुनौतीपूर्ण रहेको बताए । वृत्तचित्रको लेखन युवानेता शाही र अर्का युवानेता सभासद् तथा लेखक शोभाकर पराजुलीले संयुक्त रूपमा गर्नुभएको छ । वृत्तचित्रको प्रथम विशेष प्रदर्शनको शुभारम्भ नेता रामचन्द्र पौडेलले गर्नुभयो भने नेता प्रकाशमान सिंह, शोभाकर पराजुलीलगायतले वृत्तचित्रको बारेमा बोल्दै नेपाली काङ्ग्रेसको इतिहासका महत्त्वपूर्ण पाटाहरूलाई वृत्तचित्रले समेटेको बताउनुभयो । यसलाई नेपालका विभिन्न जिल्ला र मुलकबाहिर छरिएर रहेका नेपालीबीच पुर्‍याइने जानकारी शाहीले दिनुभएको छ । घटना र विचारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘नेपाली काङ्ग्रेसको इतिहास सबै नेपाली र विदेशीहरूले समेत बुझ्नु जरुरी छ, त्यसैले यसलाई विश्वव्यापी बनाइनेछ ।’

महासचिवलाई कारबाही गरेर जनमोर्चा आन्दोलनमा
राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्य पार्टीकारवाहीमा परेका छन् । उनीमाथि पार्टीका नीति वा संगठनविरुद्ध विचार प्रकट गरेको आरोप लगाउँदै केन्द्रिय समितिको सर्वसम्मत निर्णयबाट आचार्यलाई महासचिव पद, केन्द्रीय सदस्य र पार्टीको सदस्यताबाट समेत ६ महिनाका लागि निलम्बन गरिएको छ । आचार्यका स्थानमा हरि आचार्यलाई कार्यवाहक महासचिव र कार्यवाहक सचिवको पदमा कृष्ण अधिकारीलाई केन्द्रीय समितिले मनोनित गरेको बताइएको छ ।
यसैगरी सो पार्टीले देशव्यापी रुपमा जनजागरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । शान्ति र संविधानबारे सीघ्र सहमति कायम हुनुपर्ने, सहमति कायम भएपछि वर्तमान सरकारलेे राजिनामा दिएर बहुमतका आधारमा राष्ट्रिय सरकार बन्नुपर्ने, देशमा बढिरहेको विदेशी चलखेल र हस्तक्षेपको अन्त हुनुपर्ने र संघीयता वा त्यससम्बन्धी जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश-एक प्रदेश, बहुराष्ट्रिय राज्य आदि अवधारणाहरुलाई संविधानमा सामेल गर्न नदिन आन्दोलन र जनदवावको सिर्जना गर्नेलगायतका एजेण्डाका साथ जनजागरण कार्यक्रम सञ्चालन गरिने पार्टी अध्यक्ष चित्रबहादुर केसीले जनाएका छन् ।

इलामका खोलाजति झोलामा
विद्युत् उत्पादन गर्ने नाममा विभिन्न खोला-नदीहरू ओगट्ने क्रम बढेको छ । निजीक्षेत्रलाई सरकारले विद्युत् उत्पादनका लागि अनुमति -लाइसेन्स) प्रदान गरे पनि अनुमति लिएका अधिकांश उत्पादकले काम नगरेका कारण खोला मात्रै ओगट्ने काम भएको हो ।
इलामका मात्रै विभिन्न खोलाबाट १९ वटा कम्पनीले विद्युत् उत्पादनको अनुमति लिएका छन् । तर, अनुमति लिएकामध्ये तीनवटा आयोजनाले मात्र अहिले काम गर्दै छन् । इलामको माईखोलाबाट छुट्टाछुट्टै आयोजना निर्माणका लागि आठवटा लाइसेन्स लिइएको छ । यसैगरी, जोगमाई खोलाबाट १३ मेघावाट विद्युत् उत्पादनका लागि पाँचवटा, पुवाखोलाबाट तीन दशमलब दुई मेघावाटका लागि दुई, देउमाई खोलाबाट २८ मेघावाट विद्युत् उत्पादनका लागि सरकारले एउटा लाइसेन्स दिएको छ ।
यस्तै, बिरिङ खोलाबाट दुई मेघावाटका लागि एउटा, सिद्धिखोलाबाट तीन मेघावाटका लागि एक र खोरङ्गा खोलाबाट दुई मेघावाटका लागि एक लाइसेन्स प्रदान गरिएको छ । तर, अनुमति लिइएकामध्येे हिमाल दोलखा हाइड्रोपावर कम्पनी प्रालिले चार दशमलब पाँच मेघावाटको आयोजना माईखोलामा सञ्चालन गरेको छ । जसको लगभग ९० प्रतिशत काम पूरा भएको कम्पनीका प्रमुख वीरेन्द्र न्यौपानेले बताए । यस्तै, २० मेघावाटको सानिमा हाइड्रो प्रोजेक्ट, अपरमाई हाइड्रो प्रोजेक्ट र जोशी हाइड्रो प्रोजेक्ट निर्माणाधीन छन् ।
सरकारले लाइसेन्स वितरण गरेपछि अनुगमन र निरीक्षण प्रभावकारी बनाउन नसक्दा विद्युत् उत्पादकहरूले काम नगरेको जानकारहरूको भनाइ छ । यता, हिमाल दोलखाका प्रमुख न्यौपाने भने लाइसेन्स लिएपछि पनि विभिन्न मन्त्रालयबाट अनुमति प्रक्रिया जटिल भएकाले ढिलाइ भएको बताउँछन् । ‘आयोजना सञ्चालनका लागि वन, भूमिसुधार, रक्षा मन्त्रालयमा समेत अनुमति लिनुपर्ने भएकोले प्रक्रिया केही झन्झटिलो छ,’ न्यौपानेले भने । संरचना र पूर्वाधार विकासमा जग्गाका लागि भूमिसुधार मन्त्रालयमा, रूख काट्नुपर्ने भएकाले वन मन्त्रालयमा तथा ब्लास्टिङ गर्नुपर्दा रक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले पनि प्रक्रिया केही लामो भएको उनले जानकारी दिए । त्यसो त अन्य जिल्लामा भन्दा इलामका लागि लाइसेन्स लिएका उत्पादकहरूले काम छिटो गरेको न्यौपानेको दाबी छ । राज्यको नीति र दायित्व कडाइ भएमा निजीक्षेत्रले सहज तरिकाले काम गर्ने उनको भनाइ छ ।
नेपालमा हरेक वर्ष ११ मेघावाटको हाराहारीमा निजीक्षेत्रले विद्युत् उत्पादन गरे पनि माग भने झन्डै ६० मेघावाट रहेको छ । हाइड्रोपावरको प्लानिङमा सरकारी नीति प्रभावकारी नभएकाले पनि लाइसेन्स लिएका कम्पनीले तदारुकताका साथ काम गर्न नसकेको कम्पनी सञ्चालकहरू बताउँछन् ।
– फणीन्द्र संगम

तिवारीको हत्यामा माओवादी हात नरहेको दाबी
गत १२ गते वीरगञ्जमा भएको नेपाल हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्या प्रकरण अनुसन्धानको सिलसिलामा प्रहरीले माओवादीका केन्द्रीय सल्लाहकार तथा मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य जालिम मुखिया पक्राउ परेपछि माओवादीले सोको विरोधमा मुख खोलेको छ । माओवादीलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्रका साथै तराईमा हिन्दु मुस्लिमबीच साम्प्रदायिक दङ्गा भड्काउने योजनासहित उक्त घटना घटाइएको दाबी गर्दै सो पार्टीका प्रवक्ता दिनानाथ शर्माले आफ्ना कार्यकर्ताहरुलाई अबिलम्व रिहा गर्न अपिल गरेका छन् ।

सञ्चार केन्द्रको अधिवेशन
क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको सञ्चालक समितिको जिल्ला अधिवेशन असार ३० गते राजविराजमा गर्ने निर्णय भएको छ । समितिका अध्यक्ष हर्ष सुब्बाको अध्यक्षतामा हालै सम्पन्न बैठकले राजविराजमा अधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल प्रेस इन्स्टिच्युटसँग आबद्ध रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरमा सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, सिराहा, उदयपुर, र्सलाही, सिन्धुली, महोत्तरी र धनुषाका पत्रकार महासङ्घ तथा सक्रिय पत्रकारहरू सदस्य रहेका छन् ।
दुई वर्षअघि गठन भएको सञ्चालक समितिले संस्थाको हकमा खासै काम गर्न नसकेको र वारि्षक साधारणसभासमेत सम्पन्न नगरेको भन्दै शनिबारको बैठकमा पदाधिकारीहरूले आक्रोश व्यक्त गरेका थिए ।

रौतहटमा अवैध हतियारको बिगबिगी
भारतको बिहार राज्यसँगको खुल्ला सीमाका कारण रौतहट जिल्लामा अवैध हतियारको ओसारपसार तथा बिक्री-वितरण हुने गरेका कारण जिल्लामा हुने सानातिना झगडामा समेत ती हतियार प्रयोग हुने गरेको छ । लाइसेन्स प्राप्त हतियारको तुलनामा अवैध हतियार बोकेर हिँड्नेहरूको सङ्ख्या रौतहटमा दैनिक बढ्दै गएका कारण सानातिना विवादमा समेत भारतमा निर्मित ती हतियारको प्रयोग बढेको प्रहरीको भनाइ छ ।
भारतीय सीमा नाकाबाट जतिखेर पनि हतियार खरिद गरेर नेपाल भित्र्याउन सकिने भएका कारण अवैध हतियार सिक्सर, नलकटुवा, थ्री फिप्टिन, अमेरिकामा निर्मित गरिएको भनिएको ९ एमएमको पेस्तोल जिल्लाका विभिन्न स्थानमा सहजै उपलब्ध हुने गरेको एक खरिदकर्ता बताउँछन् । भारतसँग सीमा जोडिएको बिहारको नरकटियागन्ज, बैरगनिया, ढेंग तथा सीतामढीलगायत सीमाक्षेत्रका बजारबाट दुईदेखि १५ हजार नेपाली रुपैयाँमा विविधखाले पेस्तोल सजिलै पाइने गरेको छ । पछिल्लोपटक तराईको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएका कारण भारतमा निर्मित हतियारहरूको बिक्री-वितरण रौतहटमा बढेको जानकारहरू बताउँछन् । व्यक्तिगत सुरक्षाका लागि बन्दुक तथा पेस्तोल राख्न जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने प्रावधान भए पनि त्यो प्रावधान लागू भएको पाइँदैन ।
जिल्लाभित्र हुने गरेका स-साना झैझगडा पनि यिनै हतियार प्रयोग हुने गरेबाट पनि रौतहटमा प्रसस्त मात्रामा अवैध हातहतियार भएको एक प्रहरी अधिकृतले भने । गत ८ गते मंगलबार पनि प्रेमपुर गोनाही गाविसमा घरायसी जग्गा विवादमा झडप हुँदा गोली चल्यो । सामान्य विषयमा दुईपक्षबीच झडप हुँदा विपक्षी समूहले आक्रोसित भएर गोली चलाएको थियो । उक्त गाविस- १ बस्ने चन्देश्वर यादव र जगन्नाथ यादव समूहबीच जग्गाको विषयलाई लिएर दोहोरो झडप हुँदा घरेलु हतियारदेखि थ्री फिप्टी पेस्तोलबाट गोली चलेको थियो । उक्त घटनामा घाइते भएका प्रयागराय यादव, विश्वनाथ यादव, चन्देश्वर यादव र प्रमोद यादव घाइते भएका छन् । हाल उनीहरूको वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।
त्यस्तै, पोठियाही गाविस- ९ बस्ने दीपेन्द्र यादव पनि हालै एक थान थ्री फिप्टी पेस्तोल र ६ थान गोलीसहित पक्राउ परेका छन् । गौर नगरपालिका- ५ मा डेरा गरी बस्दै आएका यादव विशेष सुराकीको आधारमा पक्राउ परेका व्यक्ति हुन् । उनी अवैध हातहतियार लिएर सदरमुकाम गौर संवेदनशील क्षेत्रमा हिँडिरहेका थिए ।
उनी प्रहरीमा कार्यरत भएको पनि रहस्य खुलेको छ । उनको शङ्कास्पद गतिविध रहनु र विगतका वारदातमा उसको संलग्नता छ-छैन अनुसन्धानको विषय भए पनि त्यो नगरिनाले पनि अवैध हतियारको बिगबिगी जिल्लामा बढेको सदरमुकाम गौरका अनिल थापाले बताए ।
रौतहटमा विभिन्न सुरक्षा निकायले जिल्लाको शान्तिसुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न विभिन्न स्थानमा घुमुवा प्रहरी परिचालन गरेको भए पनि जिल्लामा आपराधिक गतिविधि घट्नुको साटो बढेको बढ्यै छ । घुमुवाहरू नै तोकिएको काममा नलागेर शङ्कास्पद व्यक्ति समूहसँग मिलेर अन्य काममा लागेको कारण आपराधिक गतिविधि बढ्न गएको जानकारहरूको भनाइ छ । स-साना विवादमा पनि गोली चल्नु सामान्य विषय भइसकेको रौतहटमा निर्वाचनको क्रममा राजनीतिक दलका उम्मेदवारका कार्यकर्ताहरूले भारतबाट हातहतियार ल्याउने गरेका छन् । चुनाव तथा भूमिगत समूहका कारणले अवैध हतियारको प्रयोग बढेको प्रहरीको भनाइ रहेको छ । प्रहरीले तदारुकता देखाए हतियारको अवैध धन्दा तथा यसको सञ्जाल सार्वजनिक हुन सक्ने स्थानीय बासिन्दाहरूको कथन छ ।- नरहरिराज आचार्य

सहिदका सन्तान पढ्ने स्कुलमा निःशुल्क स्वास्थ्य शिविर
हाँसपोसा -सुनसरी) । माओवादी, मधेस, थरुहट, जनआन्दोलनलगायतमा सहिद भएकाहरूका छोराछोरी पढ्ने स्कुलमा डा. श्यामकुमार रौनियारसहितको स्वास्थ्य टोलीले निःशुल्क उपचार र औषधि वितरण गरेको छ । स्वास्थ्य पहुँच नपुगेको ठाउँमा हरेक महिना शिविर अभियान सञ्चालन गर्दै आएका सुनसरी दुहबीनिवासी कोसी अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन डा. रौनियारसहितको टोलीले दुई सयभन्दा बढीलाई स्वास्थ्य परीक्षण गरेको थियो ।
चारकोसे जङ्गल दक्षिणपश्चिमतर्फ रहेको स्कुलमा उपचारका क्रममा अधिकांश छालाका बिरामी देखिएका थिए । जङ्गल नजिक भएकाले छाला रोग देखिएको हुनसक्ने लख चिकित्सक टोलीले काटेको थियो । यसै वर्षदेखि प्राथमिकबाट निम्नमाध्यमिक विद्यालय भएको स्कुलमा सोलुदेखि संखुवासभाका विद्यार्थी अध्ययनरत छन् ।
स्कुलमा यसखाले शिविर पहिलोपटक पुगेको हो । विद्यालयका अध्यक्ष राम कोइरालाले र प्रधानाध्यापिका रीता फुँयालले आर्थिक समस्या सामना गरिरहेको स्कुल खोज्दै सहरबाट चिकित्सक आएकोमा धन्यवाद दिएका थिए । डा. रौनियारले आफूले सुरु गरेको अभियानपछि धेरै ठाउँबाट अफर आएको तर, अब कारागार, वृद्धाश्रम र मुस्लिम बस्तीमा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिए । एमाओवादीका नेता शिव डाँगीले डाक्टरहरू सेवामुखीभन्दा पैसामुखी भएको आरोपबाट बच्न नसकेको बेला डा. रौनियारले थालेको अभियान स्मरणीय र उदाहरणीय रहेको बताएका थिए ।
स्वास्थ्य टोलीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग विशेषज्ञ मनोज श्रीवास्तव र छाला रोगका अमितकुमार गुप्तासहित नोबेल अस्पतालका प्रशिक्षार्थी चिकित्सक तमालकान्ति चौधरी र अमितकुमार सहभागी थिए । – हरिप्रसाद ओझा

सिनेमा खेलाउने नाममा ठगी गर्ने पक्राउ
सप्तरी । महिला कलाकारलाई फिल्ममा खेलाइदिन्छु भन्दै ठगी गर्ने सुनसरीका सीताराम चौधरी थुनामा परेका छन् । सुनसरी भासी- ७ निवासी सीताराम चौधरीले सप्तरी र उदयपुरका नवोदित कलाकारहरूलाई फिल्ममा रोल दिन्छु भन्दै ठगी गरी हिँडेको आरोपमा सप्तरी कलाकुञ्जका सचिव गोपाल चौधरीले पक्राउ गरी प्रहरीमा बुझाएको बताएका छन् । चौधरीले सप्तरी कलाकुञ्जसँग आबद्ध सप्तरी फत्तेपुरकी कृष्णा विश्वकर्मा र उदयपुर पुरन्दाहाका करिश्मा थारूलाई ललाइफकाई दुई सातासम्म सिराहामा राखेको र त्यस समयमा दुई कलाकारको शरीरका गहनासमेत बेचिदिएको आरोप सचिव चौधरीको छ ।
सिराहाको माडरमा निरहुआ फिल्मको सुटिङ हुने र त्यसमा हिरोइन र अन्य रोल दिने भन्दै आफूसहित दुई युवती तथा सप्तरीका अन्य युवकहरूलाई प्रलोभन दिँदै लगेको र लग्ने व्यक्ति सीतारामले भनेअनुसार फिल्मको सुटिङ कहीँ नभएको तथा कलाकारहरूबाट रकम माग गर्न थालेपछि डेढ साताअघि युवकहरू घर फर्किसकेको पुरन्दाहाकी करिश्माले बताइन् । युवकहरू भागेपछि आफू र फत्तेपुरकी कृष्णा विश्वकर्मा लहानको भोटिया टोलनिवासी घुरन चौधरीको घरमा काम पाउने आशामा बसे पनि कुनै काम नपाएको र त्यसबेला आफूहरूको जिउमा रहेको सुनका गहना पनि प्रलोभन दिएर ठग चौधरीले लिएको करिश्माले बताइन् ।
सप्तरी र उदयपुरका युवतीलाई प्रलोभन देखाई ठगी गर्ने सुनसरी भासीका सीतारामले चेलिबेटी बेचविखन गर्ने मनसायले सिराहाको लहानबाट अन्यत्र लैजान खोजेपछि गत शुक्रबार सिराहाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय रूपनीलाई बुझाएको सप्तरी कलाकुञ्जका सचिव गोपालले बताए । ठग चौधरीले फत्तेपुरकी कृष्णा विकको नाम आफैंले परिवर्तन गरी सविता चौधरी बनाएर फिल्ममा रोल दिने नक्कली सम्झौतासमेत गरेको सचिव चौधरीले दाबी गरेका छन् ।
ठगी र चेलिबेटी बेचविखनको आरोपमा पक्राउ परेका चौधरीलाई अड्डासार गरी गत शनिबार इलाका प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । – हेमशङ्कर सिंह