मातृवर्ग नै सर्वोपरि

मातृवर्ग नै सर्वोपरि


श्री बबिता बस्नेतज्यू,
म तीन आमा, तीन छोरी, तीन छोरापछि आफ्नै आमाबाट हजुरआमा एक, अरू घिमिरे हजुरआमाहरू, न्यौपाने हजुरआमाहरू, आचार्य हजुरआमाहरू, पहरी हजुरआमाहरूको आशीर्वाद र ईश्वर पुकारको कारणले सातौँ छोराछोरीको क्रममा जन्मेर बाँचेर–बचाउँदै आएको पाँच छोरीको बाबु हुँ । अहिलेसम्म म पृथ्वीमाताकै काखमा खेलेर हुर्किरहेको छु । यसोभन्दा पिताज्यूलाई आरोप नलागोस्– यो पनि प्रस्ट पार्दछु । दुवै आमा र दाजुदिदी बितेर मेरी आमाबाट पनि दाजु र दिदी बितिसकेपछि सम्पूर्ण आशीर्वादले म जिउँदो जन्मेपछि जन्मेका हामी आठ भाइ–बहिनी छौँ ।
उपरोक्त चिनारी जोड्दै प्रसङ्गमा आऔँ । वि.सं. ०६९ आगमनको उपलक्ष्यमा गत चैत ३० गते आयोजित एक विचारगोष्ठीमा स्वागत मन्तव्य व्यक्त गर्ने सिलसिलामा मैले विश्वको एक मात्र हिन्दू राष्ट्रको पहिचानलाई समाप्त पारिएको, अब यस्तै अवस्था कायम रहे कैयौँ धर्मावलम्बीको आशाको केन्द्रबिन्दु रहेको विक्रम सम्वत् पनि उखेलेर फ्याँकिदिने हुन् कि भन्ने त्रास पैदा भएको र वि.सं. हटाउने भित्रभित्रकै योजनाको अति मूर्खतापूर्ण कार्य भएकोले भविष्यमा हाम्रा छोरानातिले ‘हिम्मत र ज्ञान नभएकाहरूको कारणले विश्वका एक मात्र हिन्दूराष्ट्रको पहिचान रहेको देशको प्रतिष्ठा अनावश्यक रूपले गुम्यो’ भनी विरोध गर्नेछन् भनेको थिएँ ।
यस सम्बन्धमा बबिताजीले स्वागतमन्तव्य व्यक्त गर्दा ‘नाति’ ‘छोरा’ मात्र भन्नुभयो तर ‘छोरी’ ‘नातिनी’ किन भन्नुभएन भनी मलाई सङ्केत गर्नुभयो । रिजालजीले छोरी–नातिनीलाई टाढा या पर राख्नुभयो भन्न खोजेको होइन तर आशा गरिरहेका मातृवर्गलाई भौतिक आनन्द दिन सक्नुभएनसम्म भन्न खोजिएको पनि उहाँले भन्नुभयो । यस विषयमा म के भन्छु भने मैले मातृवर्गलाई स्मरण गर्न बिर्सेको होइन, महत्व नदिएको पनि होइन । जति कठोर भए पनि मातृवर्गले ममतापूर्वक ढङ्गले व्यहोरा प्रस्तुत गरी सम्झाउने–बुझाउने गरेर यति–यति भूमिका यस विषयमा हाम्रो पनि पुगेन भनी आफूलाई समेत दोषी तुल्याएर पितृवर्गको दोषलाई पारदर्शी तुल्याएर सो धर्ममा पुर्‍याउँछन् । त्यसैले मैले छोरी–नातिनी नभनी छोरा–नाति मात्र भनेको हुँ, जो बिलकुल आफू अति चोखो भएर अरूलाई दोष थुपारेर उपल्लो हुन खोज्दछ ।
सर्वप्रथम हामीले समानता भन्ने आजको नारामा महिलाको विशेष कर्म र क्षमताको विषयमा भौतिक रूपले मात्र होइन आध्यात्मिक रूपले पनि पारदर्शी तुल्याउनुपर्छ । यसैको सिलसिलामा आमाको जिम्मामा आजभोलिकै जस्तो आमाको जिम्मा समाज हुँदा आमाले कुनै पनि पुरुष र तत्वलाई विश्वासमा लिन नसकेर आफ्नै बाहन बाघबघिनी हरेक द्वारमा पोथीलाई बायाँतर्फ र भालेलाई दायाँतर्फ रखवाला बनाएर राख्नुभएको छ । अझ विशेष मन्दिरमा सिंह र सिंहिनीलाई त्यस्तै गरेर द्वारपाल तुल्याएर राख्नुभएको छ । अर्कोतर्फ चारै तत्व सबैले संरक्षण र उपयोग गर्न सक्दछन् भनेर आफू रहेको ठाउँमा आकाश खुला राखेर प्रकृति र पुरुषको मिलनले ब्रह्माण्डमा आवश्यक सुधारको व्यवस्था पनि गर्नुभएको छ । हो, त्यस्तै अहिले नेपालमा पनि पिताज्यूले केही नलागेर आमाको हातमा अधिकार छोडिदिनुभएकोले आमाको हातमा नेपाल र नेपालीको व्यवस्था टिकिरहेको छ, चलिरहेको छ ।
जसरी भागवतमा व्यासले राधा भन्ने शब्दको उच्चारण गर्न साथ समाधि लागेर केही पनि देख्न नसक्ने भएको हुनाले गोपी आदि विविध नामद्वारा राधाको प्रतिनिधित्व गराएर १८ हजार श्लोकको भागवत पूरा गर्नुभएको थियो त्यस्तै अहिले मैले छोरी–नातिनी नभनीकन पशुपति आराध्यदेवको पूजा समाप्त भएपछि शिरमा श्रीयन्त्र लेखेर पूजा, अर्चना र आरती समाप्त हुन्छ । त्यही रूपले कर्म भइरहेको छ । हो, त्यस्ता अपूर्व रूपले व्यवहारमा हेर्ने पनि हेर्न नजान्दा र देख्नेले पनि आफ्नो गुण, पन र रूप नदेख्दा जथाभावी गरेर बोलेर ठूलो शक्तिको ह्रास भइरहेको छ । त्यति शक्तिशाली पुजनीय पृथ्वी रूप नारीले त्यस पृथ्वीमा फल्ने रूख बोटबिरुवा वा आदि रूपको नरहलाई बराबर हौँ भनेर आफ्नो अथाह शक्ति र गुणको अवमूल्यन भइरहेको व्यहोरा आ–आफैंले चिन्तनमनन गरेर प्रस्ट हुन सकौँ ।
अब आउँछ कुरो बलियो र कमजोरको । हो, तरबार अति बलियो छ तर कलममा बल भन्ने कुरो केही देखिँदैन । तर रकेट, एटमबम, गोली–गठ्ठालाई पनि कलमद्वारा लिखित ईश्वरीय शक्तिले क्षणभरमा ठेगान लगाएर अनावश्यक समय र अवस्थामा फुट्नसम्म पनि नपाउने अवस्थाको सिर्जना भएको हुन्छ । बालबच्चा र नारी फूलको थुँगाबराबरका सुन्दर सुवासी र रङ्गीबिरङ्गीका सौन्दर्यता हुन् तर त्यसलाई खेलौना बनाउने काम भने नेपालमा मात्र होइन विश्वमा कुरै नबुझी कुन आनन्दको खेलौनामा परिणत गरिएको छ ? त्यसैले मानिसले दु:ख र कष्ट भोगेर आफ्नो नैसर्गिक अधिकार आनन्दलाई हिलोमा डुबाइरहेका छौँ ।
बबिताजी, छोरा–नाति भनेर जसले जति कौलासोस् तर छोरी–नातिनीको शक्तिबिना विश्व चल्न सक्दैन । तर, अहिले आएर आमाले आमालाई आउन नदिने वातावरणलाई बाबुले पनि साथ दिएर आफ्नो घुँडामा आफैंले बन्चरो चलाएको विषयमा नेपाल र भारतले अति बुद्धि पुर्‍याएर अगाडि बढ्नुपर्नेछ । अन्यथा एक अर्बको सुर्तीजन्य वस्तु बिक्री गरेर दश खर्बको औषधि आयातित गरेकोभन्दा पनि जटिल समस्यामा यो वैदिक सनातनी धर्मवलम्बीहरूले डुबुल्की मारेर उत्रिन अति गाह्रो पर्नेछ ।
– लक्ष्मीप्रसाद रिजाल, काठमाडौं जिल्ला अध्यक्ष
(राष्ट्रिय धर्मसभा नेपाल)

वैदेशिक रोजगारमा नयाँ सेटिङ
वैदेशिक रोजगारीका लागि जाने नेपाली महिला कामदारको हाउसमेड भिसालाई भिजिट बनाएर अध्यागमनका कर्मचारी र दलालको मिलेमतोमा पठाउन थालिएको छ । यसरी पठाउँदा प्रतिमहिला अध्यागमनमा तीस हजार लिने गरिन्छ । यसलाई दलालको भाषामा सेटिङ भनिन्छ । सेटिङको माध्यमबाट पुरुषभन्दा महिला कामदार बढी जाने गर्दछन् ।
घरेलु कामदारको रूपमा विदेश जाँदा वैदेशिक रोजगार विभागले कडा निगरानी र अनुगमन गर्न थालेपछि मानवतस्करहरूले सेटिङबाट पठाउन थालेका हुन् । विभागमा कडा निगरानी हुँदा जहिलेसुकै यस्तै हुने गर्दछ । वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर मात्र जानुपर्ने सरकारी नियमको बेवास्ता गर्दै सरकारकै अर्को निकाय अध्यागमनले भने यसरी नेपाली कामदार पठाउँदै आएको छ ।
घरेलु कामदारको रूपमा जाने नेपाली महिला कामदारहरूको भिजिट भिसा तयार पारेपछि सम्बन्धित व्यक्तिलाई अध्यागमन प्रवेश गर्नका लागि पाँच सय अमेरिकी डलर र भिजिटमा जाँदा आवश्यक पर्ने कागजात दिइन्छ, जब अध्यागमन पार गरिन्छ त्यसपछि त्यो पाँच सय अमेरिकी डलर र कागजात अध्यागमनका कर्मचारीमार्फत फिर्ता गरिन्छ । यसरी दैनिक सयाँैको सङ्ख्यामा पठाउने गरिएको छ । विभागले पछिल्लो समयमा आएर कडा निगरानी र अनुगमन गर्न थालेपछि अत्तालिएका मानवतस्करहरूले भारतको बम्बई सेटिङ गर्न थालेको समाचार प्राप्त भएको छ । बम्बई सेटिङबाट महिला तथा पुरुष दुवै थरी नेपाली कामदार कामको खाजीमा खाडीलगायतका मुलुकमा जाने गरेका छन् । बंगलादेशको ढाकामा नयाँ कन्सुलर आएका कारण तत्काललाई ढाका सेटिङ भने बन्द भएको छ । भारतको बम्बई हुँदै नेपाली कामदार पठाउनेमा अधिकांश म्यानपावर कम्पनीहरू रहेका छन् । ठूला म्यानपावरहरूले समेत यसरी एयरपोर्ट र भारतको बाटो हुँदै नेपाली कामदार पठाउने गरेका छन् । यस कार्यबाट प्रत्यक्ष वा परोक्ष रूपमा असर पुग्ने सरोकारवाला सबैको ध्यान यसप्रति समयमै पुगोस् ।
– यज्ञनाथ अधिकारी र साथीहरू