एक अनुभवको अन्तरविचार — प्रस्तुति : प्रकाश के.सी.

एक अनुभवको अन्तरविचार — प्रस्तुति : प्रकाश के.सी.


rajendraमलायामा रहेको ब्रिटिश सेनाको क्याम्पमा जीवनको शुरुवात गरेका राजेन्द्र क्षेत्रीले त्यहीं नै सन् १९५८ मा गोर्खा चिल्ड्रेन स्कूलमा जम्मा चार कक्षासम्म नेपाली भाषामा आधारित रहेर पढाइ गर्न भ्याएका थिए । उक्त क्याम्पमा मिड वाइफ तथा नर्स भई आफ्नो सेवा लगातार ३५ वर्षसम्म अविछिन्न रुपमा प्रदान गर्ने स्व. शोभा कुमारी क्षेत्रीले हुर्काएकीले हुनुपर्दछ, राजेन्द्र क्षेत्रीको मनमा पनि सोही पेशा अपनाएर मानिसहरुको सेवा गर्ने चाहना प्रवल भएको थियो । गोर्खा स्कूलबाट छुटाइएका क्षेत्रीले मलायामा नै क्याम्ब्रिज्ड युनिभर्सिटि ओभरसिज सिन्डिकेटद्वारा सञ्चालित अंग्रेजी स्कूलमा स्कुलर्शिप पाई त्यहींबाट एसएलसी उतीर्ण गरेका थिए । त्यसको लगत्तै स्कूलर्शिपअन्तर्गत नै उनी सन् १९६९ मा स्टेट रजिस्टर्ड नर्सिङ्ग कोर्स अध्यययनको लागि यूके भित्रिएका थिए ।

लगातार ४५ वर्षसम्म यूकेमा नै एनएचएसमा अविछिन्न रुपमा काम गरेर भर्खरै मात्र ६८ वर्षको उमेरमा अवकाश प्राप्त गरेका क्षेत्रीले विगतका दिनहरुमा कुनै न कुनै अवसरमा नेपालको प्रतिनिधित्व आफ्नो स्तरबाट गर्दैआएका छन् । जतिबेला उनी यूकेमा एक नवयुवा विद्यार्थीको रुपमा भित्रिएका थिए, तब उनले मुश्किलले कुनै नेपाली भेट्दथे । स्कूल तथा कलेजमा हुने कार्यक्रमहरुलगायत आफू बस्ने कम्युनिटिमा नेपालको प्रतिनिधित्व उनले बाराम्बार दिँदै आएका थिए र सोही क्रममा उनलाई वरपर एक्लो नेपाली भनेर चिनिने गरिन्थ्यो । सायद त्यसैले पनि हुनसक्छ, उनलाई अझै आफ्नो नामको पछाडि एक्लो नेपाली भनेर जोड्ने बानी छुटेको छैन ।
उनी यूकेमा पहिलो नेपाली पुरुष नर्स हुन् । डे हस्पिटल म्यानेजरबाट अवकाश प्राप्त गरेपछि उनी केही अवधि कम्युनिटि साइक्याट्रिक नर्सेसको फ्याकल्टीमा टिम लिडर भएर काम, सोही जागीरको सिलसिलामा अन्त्यमा गरेका थिए । कामबाहेक उनी विभिन्न संघसंस्थामा आवद्ध छन्, तीमध्ये Hospice, Alzheimer Cafe & Alzheimer Society, British Gurkha Veterans, Servicemen, One World Cultural Show, Co-Founder of Surrey Minority Ethnic Forum आदि छन् । स्टेट पेन्शनवाहक क्षेत्री अवकाशको समयलाई अध्ययनमा बिताउँदछन्, त्यसका लागि उनले मानवशास्त्रसम्वन्धी विविध भाषा, संस्कृति तथा कलालगायत देशविदेशका बारेमा विभिन्न कितावहरु पढ्दैछन् ।

हाल सरीस्थित वकिङ्गमा एक छोरा र डच श्रीमतीका साथ रहने क्षेत्रीलाई उनकै जीवनका बारेमा, उनले भोगेको समयहरुको बारेमा केही चर्चा गर्ने क्रममा केहीअगाडि, हामी क्याम्बर्लीस्थित एक नेपाली रेष्टुरेन्टमा जम्मिएका थियौं । मानिसले जीवनमा सधैं पाउने मात्र होइन, गुमाउने पनि गर्दछ, फरक यति हो कि उसले गुमाउनु र पाउनुबीच ज्यादाजसो पाएकोलाई नै महत्व दिएको हुन्छ । क्षेत्रीले आफ्नो जीवनको ऊर्जाशील अवधिहरु यूकेमा बिताएका छन्, सम्झनामा धमिलिएर मलायामा बिताएका नेपालीपनहरु रहेका होलान् उनका तर त्यसमाथि उनको सम्झनामा कसरी नेपाल झल्मलाएका होलान् भन्ने यो बसाइको आशय रहेको थियो ।
१) राजेन्द्रजी, तपाईले आफ्नो जीवनको बारेमा भन्नुपर्दा कहाँबाट शुरु गर्नुहुन्छ त ?

: अहिलेसम्म मेरो मेमोरीबाट मैले गुजारेको मलायाका समयहरु त मेटिएका छैनन् । गोर्खा रेजिमेन्टअन्तर्गत रहेको मलायाको उक्त मिलिट्री क्याम्पमा बसी गोर्खा स्कूलमा पढ्दा हामीहरु नेपालको एक गाउँमा नै रहेर हुर्किएको हुन्थ्यौं । दशैं, तिहार जस्तै अरु चाडपर्वहरुको सम्झना कहिल्यै बिर्सनै नसक्ने खालको छ । नेपालमा नजन्मेको भए तापनि नेपाली परिवेशमा नेपाली परिवारमा जन्मी हुर्केको हुँ । र त्यसैले पनि म आफूलाई नेपालमा नै जन्मेको लाग्ने गर्दछ । मेरो ‘योङ-मेमोरी’मा मलायाको गुर्खा क्याम्प नै नेपाल जस्तो भई आँखामा आउँदछ । सत्तरीको दशकमा, अध्ययनकै क्रममा मलायालाई छोड्नुभन्दा अघिको मेरो सबै टाइमहरु अब त मेरो मेमोरीभित्र जस्ताको तस्तै नै छ ।

२) आफू जन्मेको ठाउँ छोडेर पहिलोपटक विरानो मुलुकमा आउँदा तपाईँलाई त्यतिसानो उमेरमा जीवन कस्तो महशुस भएको थियो ?

: मलायाको उक्त क्याम्प ठूलो नभए पनि व्यवहारको हैसियतमा त्यो निक्कै ठूलो थियो । गोर्खा चिल्ड्रेन स्कूलबाट नेपाली भाषामा चार कक्षा मात्र पढेपछि सिभिल स्कूलमा एसएलसी पास गरेको थिएँ । एक प्रकारले पूरा देश नेपाललाई नै झलक दिने त्यो बेलाको बसाइ र आमाको ज्यादा माया ममताले गर्दा सानो उमेरमा विरानो मुलुकमा आउँदा मन त खुशी हुने कुनै कुरै थिएन । तर बाराम्बार आमाले भन्नुभएको के सम्झन्थेँ भने ‘…जसले अरुको सेवा गर्दछ, त्यसको जीवन सधैं सफल र राम्रो हुन्छ, भगवानले साथ दिन्छन्………….।’ त्यसैले आमा जो त्यतिबेला सोही क्याम्पमा नै ‘एज अ मिड वाइफ, (नर्स)’ भएर काम गर्दै हुनुहुन्थ्यो, उहाँको पेशालाई अँगाल्न जाँदै गरेकोमा भने थप हौशला मिलेको थियो । पानी जहाजको बोरिङ यात्रा गरेर यहाँ स्टेट ‘रजिस्टर्ड नर्स ट्रेनिङ’मा अध्ययन गर्न थालेको हुँ । जीवन त्यसैले पनि ब्राइट देखेको थिएँ र त्यसैले ‘एक्साइटेड’ पनि थिएँ ।

३) आफ्नो संघर्षको बारेमा केही भन्नुहोस् न, र त्यो बेलामा आफ्नो बैवाहिक जीवन शुरु हुँदाको बारेमा पनि भन्न नछुटाउनु होला ।

: संघर्ष त त्यस्तो केही गर्नु परेन भने पनि हुन्छ । म पढ्ने कलेजदेखि लिएर म बस्ने ठाउँवरपर कतै पनि कोही नेपाली थिएनन् । त्यस्तो बेला साह्रै नै एक्लो ठान्थेँ । चिठि पठायो भने महिनौं लाग्दथ्यो जवाफ पाउन । बिस्तारै आफ्नो मनलाई पढाइमा लगाउँदै गएँ र साथसाथमा सानोतिनो काम पनि यसो गर्न थालेँ । काम तथा पढाइमा व्यस्त भएपछि भने सबै सरल लाग्दै गयो । यसरी मैले समय बिताउँदै गएको थिएँ । पछि एन.एच.एस.अन्तर्गत नै मेल नर्स भएर काम गर्न थालेँ । म नै यूकेमै पहिलो मेल नर्स हुँ । त्यहीबेला त्यहीं नै एक डच युवतीसँग चिनाजानी भयो । उनले मलाई विशेष ख्याल राख्ने गर्दथिईन्, साथीको रुपमा हामी क्लोज भएका थियौं । पछि–पछि सबै ‘नेचुरली’ लाग्दैगयो र हामीले विवाह पनि ग-यौं केही समयपछि । मान्छेको भावना मिलेपछि सबै सिम्पल लाग्दछ नै ।

४) अन्तरजातीय विवाह मुश्किल पर्ने कालमा तपाईँले अन्तर्राष्ट्रिय विवाह गर्नुभयो । उतिबेला आफूलाई एक्लो नेपाली भनाउँदै हिँड्ने तपाईँलाई आफ्नो मौलिक संस्कृतिमा उक्त अन्तर्राष्ट्रिय विवाहपछि कत्तिको ‘एडजस्ट’ गर्नुप-यो ?

: लामो समयदेखि भन्नुपर्छ, एक्लै बसेको थिएँ । यहाँ मेरा केही पनि थिएनन् र विवाह दुई व्यक्तिबीच हुने रिलेशन भएकोले मलाई त्यसमा सहमति पाउन त्यति मुस्किल परेन । आमालाई सोधेको पनि थिएँ र आमाले मेरो खुशीमा नै सहमति जनाउनु भयो । एक्च्योली, म ‘ट्राडिसनली ब्रोडअप’ भएको होइन । उता मलायामा पनि सिभिल स्कूलमा अंग्रेजी माध्यममा पढेदेखि नै म आम सोंचदेखि एक प्रकारले बेग्लो भएको थिएँ । हुन सक्छ, मेरी श्रीमतीलाई मसँग ‘एडजस्ट’ हुन केही गाह्रो भयो कि ? किनकि उनको फ्यामिलीसँग उनको ‘रेगुलर टच’ थियो । यता मेरो मौलिक संस्कृतिको कुरा गर्नु भयो, जसरी र जस्तोसँग बसे पनि मन त सधैं नेपाली नै हो नि, घरमा श्रीमतीले आफ्नो प्रकारले चलाउँदथिईन्, म ‘अब्जेक्सन’ गर्दिनथिएँ पनि । मलाई कुनै पनि विषयमा कसैलाई टीकाटिप्पणी गर्न मन लाग्दैन । घरायसी सम्वन्ध राम्रैसँग भने चलेको थियो । त्यसैले भन्छु, मलाई एडजस्ट हुनु नै परेन, हामी एकै थियौं । केहीपछि हाम्रो छोरो जन्मियो जसको नाम मनि राज राखियो । अनि यसबीच नेपालमा आमा बित्नुभयो ।

५) आफ्नो छोरा तथा श्रीमतीलाई यहाँको नेपाली समाजमा घुलमिल गराउनेतर्फ केही प्रयास गर्नुभयो कि छोरा र श्रीमतीले नै कुनै तत्परता तथा उत्सुकता लिएको पाउनुभएन ?

: बच्चा भएपछि परिवार चलाउन मैले ज्यादा काम गर्न थालेँ, मेरो वाइफ घरमा छोरोलाई खेलाएर बस्नुपर्दथ्यो र मचाहिँ लामो लामो आवरमा ओभरटाइम गर्दथेँ । बच्चाले शब्दहरु सिक्ने बेलामा नेपाली भाषा मबाट सिक्न पाएन, मलाई सिकाउनका लागि समय नै भएन । हामी अंग्रेजीमा नै बातचित गर्दछौं । छोरो पनि यही समाजमा त्यसरी नै ब्रोडअप हुँदै गयो । मैले कसैलाई पनि केही कुरामा फोर्श गर्दिन र गरिन पनि । विवाह भएर बसेको केही समयपछि बिस्तारै अन्य नेपाली समुदायहरुसँग पनि उठबस भयो । म बेलाबेलामा दोभाषेको काम पनि गर्दथें । अहिलेजस्तो नेपालीहरुको पपुलेसन त्यस्तो थिएन । मुस्किलले कार्यक्रमहरु हुन्थे, मेरोतिर त नेपालीहरु त्यसरी रहँदै रहेनन् । त्यसैले हुनसक्छ, तिनीहरुले खासै चाख लिएनन् र मैले पनि त्यसबारे सोँचिन । छोरो भने आफ्नो नेपाली ब्याकग्राउण्डबारे केही चाख राख्दछ र पत्रपत्रिका वा समाचारहरुमा नेपालको बारेमा बताइयो भने मलाई बोलाउँदछ र हेर्न लगाउँदछ तर पनि ऊ आफै नै कीन छैन नेपालीहरुसँग घुल्मुल हुन । उसको नेपाली साथी पनि छैन ।

६) तपाई कति हदसम्म श्रीमतीको समाज तथा परम्परा वा संस्कृतिभित्र आफूलाई समाहित गराउनुभयो त?
: उनको पनि केही रिलाटिभसहित क्लोज ‘फ्रेण्डस् सर्कल’ छ, तिनीहरुसँग आउनेजाने क्रम हुन्छ, त्यत्ति हो । म ज्यादा अध्ययन गर्न मन पराउँदछु । विचार भने जोसँग पनि मिल्न सक्दछ ।

७) अहिलेको अवस्थासम्म, जीवन कस्तो रह्यो तपाईँको सफलता तथा असफलताको सवालमा सम्झनुपर्दा ?
: एउटा लामो अवधि ४५ वर्ष सरकारी काम गरेर बिताएको छु । साथीहरु चिनेको छु । विभिन्न संघसंस्थासहित च्यारिटि वर्कहरुमा ‘अट्याच्ड’ छु । छोरोको आफ्नै दुनिया छ, बेलाबेलामा हाम्रो राम्रो छलफलहरु हुन्छ । उसैले नै मलाई ‘रिटायर्ड’ हुन भनिरहेकोथियो । अब त समय नै समय छ । मज्जाले अध्ययनहरु गर्दछु । नेपाली भेलाहरुमा जान्छु । साथीभाइहरु बनाउँदछु । लामो समयसम्म सेवा गरेँ, मेरी आमाले ३५ वर्ष यो पेशामा बिताउनुभयो भने मैले त १० वर्ष बढी बिताएको छु । त्यसैले गड विल लूक आफ्टर अस । खुशी छु र सफल पनि भएको झैं लाग्दछ । डोन्ट फर्गेट….म मलायाका मिलिट्री क्याम्पबाट जीवन पाएको मान्छे हुँ ।

९) यतिखेर तपाईँलाई नेपाली समाज वा नेपाली परिवेशभित्र घुल्मुलिने चाहना पहिलेको भन्दा ज्यादा लागेको छैन त ?

: लागेको छ नि । किनभने पहिलो मेरोमा टाइम नै खाली थिएन । अहिले त खाली, खाली छु । कितावहरु पढ्छु । यताउता हिंडिरहन्छु । नेपाली भाषा बोल्न मन लाग्दछ, अहिले त चारैतिर नेपालीहरु भेटिरहन्छन्, जान्छु भेट्छु अनि कुराहरु गर्दछु । आफूले जानेको कुराहरु बताइदिन्छु । म नेपाली समाजसँग ‘अट्याच्ड’ मनदेखि नै छु । हामी नेपालीहरु जुट्ने काम भएको छ । वाइफ र सनलाई हिँड भनेको छु तर तिनीहरु त्यति ‘इन्टेरेस्टेड’ देखिएका छैनन् । मलाई समाजको कार्यक्रम जहाँ भए पनि जाऊँ जस्तो लाग्दछ, तर म ड्राइभ गर्दिन र एक्लै जान कहिलेकाहिँ टाढा भए गाह्रो हुन्छ । मलाई डाइबिटिज पनि छ, त्यसैले ।

ranadkc१०) यहाँसम्म आइदिनुभयो, त्यसको लागि धन्यवाद नदिई रहन सकेको छैन । तपाईँले आफ्नो जीवनको निक्कै नै ऊर्जाशील समयहरु यो ठाउँमा बिताउनुभएको छ, जसको फलस्वरुप तपाईसँग अमूल्य अनुभवहरु छन्, ती अनुभवहरुलाई खासगरी नेपाली समाजमा बाँड्नेतर्फ केही गर्न नचुक्नुहोला । हामी जहाँ रहे पनि, जति समयसम्म रहे पनि हामीले आफ्नो ‘रुट’ भुल्नुहुँदैन । आफ्ना सन्ततिलाई पनि त्यसो नभुल्न लगाउनु हाम्रो दायित्व हो । हस् त, तपाईँसँग नेपाली भेलाहरुमा, जमघटहरुमा अवश्य नै भेट हुने विश्वास लिन्छु ।

: म सक्दो, क्षेत्री समाजको कार्यक्रममा भेला हुन्छु । कुराहरु गर्छु । खस भाषा बोल्न कति मन लाग्छ, पढ्न मन लाग्दछ तर पढ्न सक्दिन । हामी जहाँ गए पनि हामी पहिला नेपाली हौं, त्यसपछि हामी आफू आफू हुन्छौं । क्षेत्रीहरुका पनि अन्यका जस्तो संस्था छ, यो ठूलो हुनुपर्दछ र क्षेत्रीहरु अनि नेपालीहरुको लागि कामहरु गर्नु पर्दछ । हाम्रो आफ्नो ‘कल्चर र ट्राडिसन’लाई ‘प्रिजर्भ’ गर्नुपर्दछ, नयाँ पुस्तको लागि ‘इक्जाम्पल’ बन्नुपर्दछ । धन्यवाद तपाईँलाई, मलाई मेरो कुरा राख्ने मौका दिनुभयो ।